भक्तपुरमा ‘रोजगार मेला’ आयोजना गर्ने

काठमाडौं ।  मध्यपुरथिमि नगरपालिकाले स्थानीय जनशक्तिलाई स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले ‘मेरो वृत्ति मेरो खोजी, मेरो सीप भविष्यको दीप’ भन्ने नाराका साथ ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार’ मेला आयोजना गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लामै पहिलो पटक स्थानीय जनशक्तिलाई तत्कालै स्थानीयस्तरमै रोजगारी उपलब्ध गराउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यही असार १६ गते मध्यपुरथिमि नगरपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय सानोठिमीमा आयोजना हुने मेलामा स्थानीय नागरिकलाई तत्कालै रोजगार उपलब्ध गराउने र आफ्नो सीपलाई पहिचान गर्न नसकेका युवालाई उपयुक्त मार्ग निर्देशन गर्न परामर्श सेवा दिने बताए । उनले भने, ‘दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाता र उपयुक्त रोजगारीको खोजीमा रहेका जनशक्तिलाई एकै ठाउँमा ल्याई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्‍याउने, विद्यालय तहको पढाइ सकेर अब के गर्ने भनेर अन्योल भएका र लक्ष्य पहिचान गर्न नसकेका युवा विद्यार्थीलाई उपयुक्त मार्ग निर्देशन गर्ने उद्देश्यले नगरपालिकाले रोजगार मेला आयोजना गर्न लागेको हो ।’ नगरपालिकाभित्र भविष्य खोज्दै गरेका विद्यार्थी तथा युवालाई लक्षित गरी मेला आयोजना गर्न लागिएको नगरप्रमुख श्रेष्ठले बताए । ‘आगामी शिक्षा के लिने, आफ्नो सीप पहिचान कसरी गर्ने, कुन सीप लिने, हातमा सीप भएकाहरुले के गर्नेलगायत विषयमा परामर्श दिँदै उनीहरुको वृत्ति विकासमा टेवा पुर्‍याउन मेलाले सहयोग गर्नेछ’, उनले भने । मेलामा युवा विद्यार्थीलाई वृत्ति विकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेला सुरु हुनुपूर्व प्याब्सनलगायत केही संस्थाले कोटा तोकेर रोजगारीको सुनिश्चितता गरिसकेका छन् । पत्रकार सम्मेलनमा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मेलामा विभिन्न उद्योग, व्यवसाय एवं रोजगारदाता कम्पनीका १६, मध्यपुरथिमि नगरपालिकाबाट तीन, प्राविधिक शिक्षालयबाट नौ, स्थानीय उत्पादन (मध्यपुर माक्स मेकिङ र हस्तकला) बाट दुई, होटल व्यवसायी दुई, अस्पताल दुई, बैंक तथा वित्तीय संस्था एक, वर्ल्डलिंकको एक, इन्स्योर परियोजनाको एक गरी कूल ३७ वटा स्टल राखिने जानकारी दिए । ‘एक दिनका लागि आयेजित मेलामा करिब पाँच हजारले सहभागिता जनाउने अनुमान गरेका छौँ’ उनले भने । मेलाबाट कम्तीमा दुई हजार युवाले वृत्तिपरामर्श सेवा प्राप्त गर्ने, स्थानीयस्तरमा रहेका उद्योग तथा व्यवसाय एवं रोजगारदातामार्फत दुई सय भन्दा बढी युवाले रोजगारी पाउने अपेक्षा गरिएको उपप्रमुख श्रेष्ठको भनाइ थियो । मेला आयोजना मूलसमारोह समितिका संयोजक एवं नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले रोजगारदाता कम्पनीले मेलामै अन्तरवार्ता लिई रोजगारीको सुनिश्चितता गर्ने, उद्यम व्यवसाय सुरु गर्न चाहनेका लागि उपयुक्त परामर्श दिने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदानप्रदान गरिने बताए । रासस

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा मोर सर्वसम्मत, सीएनआईलाई नयाँ उचाईमा पुर्याउने

काठमाडौं । लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघ (सीएनआई) को उपाध्यक्षमा निर्वाचित भएका छन् । उनी परिसंघको २०औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नवनिर्वाचित उपाध्यक्ष मोरले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाईमा पुर्याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् । साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठुलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रो पटक सम्मान गरेको छ । परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा कदर सम्मान गरेको थियो । सो सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरेका थिए । विभिन्न उद्योग व्यापार व्यवसाय, बैंक तथा बीमा कम्पनीहरुमा लगानी भएकोे प्रगतिशील समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्सको पनि सञ्चालक हुन् ।

नेको इन्स्योरेन्समा काम गर्ने अवसर

काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेको इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक अधिकृत, बरिष्ठ अधिकृत तथा ब्रान्च म्यानेजरको माग गरेको हो । कम्पनीले देशको विभिन्न भागमा रहेको आफ्नो शाखाका लागि बरिष्ठ अधिकृत तथा सहायकको माग गरेको छ । यसैगरी काठमाडौं उपत्यकाभित्र रहेको आफ्नो ब्रान्चका लागि सहायक अधिकृत, अधिकृत र बरिष्ठ अधिकृतको माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।