काठमाडौं । विगतका केही वर्षमा भिनिसियस जुनियरले आफू विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक भएको प्रमाणित गरिसकेका छन् ।
ब्राजिलियन क्लब फ्लामेङ्गोको एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका भिनिसियस धेरै समय नबित्दै युरोपका ठूला क्लबहरूको नजरमा परे । उनी त्यतिबेलाका सबैभन्दा रोमाञ्चक युवा प्रतिभामध्ये एक थिए।
भिनिसियस केवल १६ वर्षको हुँदा नै स्पेनिस महारथी रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्न पहल गर्यो । तत्काल स्पेन जान उमेर नपुगे पनि उनले १८ वर्ष पूरा गरेपछि २०१८ मा क्लबमा आबद्ध हुने सहमतिसहित रियलले उनको लागि ३ करोड ८० लाख पाउन्ड ट्रान्सफर शुल्क तिरेको थियो ।
त्यो स्थानान्तरण निकै चर्चित बन्यो । त्यसबेला भिनिसियस ब्राजिलका इतिहासकै दोस्रो सबैभन्दा महँगा फुटबलर बने । उनीभन्दा महँगो ट्रान्सफर केवल नेयमारको थियो, जो आफ्नो बाल्यकालको क्लब सान्तोसबाट करिब ४ करोड ८६ लाख पाउन्डमा बार्सिलोना पुगेका थिए ।
त्यसबाहेक १९ वर्षभन्दा कम उमेरका खेलाडीका लागि कुनै क्लबले तिरेको त्यो त्यतिबेलासम्मकै सबैभन्दा ठूलो ट्रान्सफर रकम पनि थियो । रियल म्याड्रिडलाई उनी भविष्यका सुपरस्टार बन्नेमा गहिरो विश्वास थियो ।
रियलको त्यो विश्वास सही सावित भयो । भिनिसियसले अहिलेसम्म ला लिगामा २४२ खेल खेल्दै ७७ गोल गरेका छन् भने ४१ गोलका लागि अवसर सिर्जना गरेका छन् । यसअनुसार उनले प्रत्येक ९० मिनेटमा औसत ०.६४ गोल योगदान दिएका छन् ।
उपाधिको हिसाबले पनि उनको उपलब्धि प्रभावशाली छ । उनले तीन ला लिगा उपाधि, दुई कोपा डेल रे, दुई युइएफए च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । साथै व्यक्तिगत रूपमा पनि उनले थुप्रै सम्मान प्राप्त गरेका छन् ।
उनले खेलेका दुवै च्याम्पियन्स लिग फाइनलमा निर्णायक प्रदर्शन गरेका छन् । २०२१–२२ मा लिभरपुलविरुद्ध र २०२३–२४ मा बोरुसिया डर्टमन्डविरुद्ध उनले विजयी गोल गर्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले ।
सन् २०२४ को बालोन डीओर जित्ने होडमा पनि उनी निकै नजिक पुगेका थिए । उत्कृष्ट सिजन बिताए पनि अन्ततः उक्त प्रतिष्ठित अवार्ड म्यानचेस्टर सिटीका रोड्रीले जितेका थिए ।
तर २०२६ को फिफा विश्वकपमा भने भिनिसियस उत्कृष्ट लयमा देखिएका छन् ।
यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा उनको यात्रा सधैं यति सहज थिएन ।
यसअघि भएका प्रमुख प्रतियोगिताहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि ब्राजिलका समर्थकहरू उनीप्रति निराश बन्दै गएका थिए । क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट राष्ट्रिय टोलीमा पनि त्यस्तै योगदानको अपेक्षा गरिएको थियो, तर त्यो पूरा हुन सकेको थिएन ।
ब्राजिलियन फुटबल विश्लेषक मार्कस आल्भेसका अनुसार अहिलेसम्म भिनिसियस ब्राजिल राष्ट्रिय टोलीको सबैभन्दा प्रभावशाली खेलाडी बनिसक्नुपर्ने अपेक्षा गरिएको थियो ।
‘तर २०२२ को विश्वकप क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएको चार वर्ष बितिसक्दा पनि उनीबारेका शंका पूर्ण रूपमा हटेका छैनन्,’ उनले भने ।
पूर्व ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि रियल म्याड्रिडमा देखिने उत्कृष्ट प्रदर्शन राष्ट्रिय टोलीमा दोहोर्याउन नसकेको भन्दै सार्वजनिक रूपमा उनको आलोचना गरेका थिए ।
सन् २००३ मा ब्राजिलका लागि एक खेल खेलेका फाबियो लुसियानोले भनेका थिए, ‘भिनीसँग एउटा समस्या छ । दुर्भाग्यवश, नेयमार टोलीमा नहुँदा उनी आफैले नेयमार बन्नुपर्छ भन्ने सोच्न थाल्छन् । त्यो उनको काँधमा धेरै ठूलो जिम्मेवारी हो ।’
‘त्यो बोझ उनले आफ्नो काँधबाट हटाउनुपर्छ र राष्ट्रिय टोलीले पनि त्यो जिम्मेवारी बाँड्नुपर्छ । तपाईं नेयमार हुनुहुन्न । सबै कुरा एक्लैले समाधान गर्न सक्नुहुन्न । हामी सबैले तपाईंलाई सहयोग गर्नेछौं । तपाईंले सबैभन्दा राम्रो गर्न सक्ने काममा ध्यान दिनुहोस् र आफ्नै शैलीमा खेल्नुहोस् ।’
भिनिसियसले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न पनि निकै समय कुर्नुपरेको थियो । उनले सन् २०२२ मा चिलीविरुद्धको विश्वकप छनोट खेलमा आफ्नो १९औं अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेका थिए ।
२०२१ को कोपा अमेरिका, २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिकासहित तीन प्रमुख प्रतियोगितामा उनले कुल ६१७ मिनेट खेल्दै मात्र तीन गोल र दुई असिस्टमात्र गरेका थिए ।
ठूला प्रतियोगिताबाहेक पनि ब्राजिलका लागि उनको समग्र प्रदर्शन समर्थकहरूले राखेको उच्च अपेक्षाअनुसार थिएन । यस विश्वकपअघि उनले खेलेका ४९ अन्तर्राष्ट्रिय खेलमा औसत प्रत्येक दुई खेलमा एकपटक मात्र गोलमा प्रत्यक्ष योगदान दिएका थिए ।
तथ्याङ्कका हिसाबले हेर्दा पनि उनले प्रत्येक ९० मिनेटमा औसत २.५ पटक शट सिर्जना गर्ने अवस्थासम्म बल पुर्याएका थिए भने १.५ स्पष्ट गोल अवसर सिर्जना गरेका थिए ।
तर २०२६ विश्वकपमा लगभग हरेक तथ्याङ्कमा उल्लेखनीय सुधार देखिएको छ । यसपटक उनले आफ्नो देशका लागि निर्णायक भूमिका खेल्न थालेका छन् ।
ब्राजिलका लागि विश्वकपका सुरुआती चार खेलमै उनले चार गोल र एक असिस्ट गरेका छन् । यससँगै उनी विश्वकप गोल्डेन बुटको बलियो दाबेदार बनेका छन् । यो लेख तयार पार्दासम्म केवल केलियन एम्बाप्पे (६), लियोनल मेसी (६), अर्लिङ हालान्ड (५) र ह्यारी केनले (५) ले मात्र उनीभन्दा बढी गोल गरेका छन् ।