बिटकोइन र डोजकोइनलाई पछि पार्दै रिपलले दियो एक वर्षमा ३ सय प्रतिशत प्रतिफल
काठमाडौं । क्रिप्टोकरेन्सीमा पैसा जसरी छिटो बढ्छ, त्यस्तैगरी छिटो घट्न पनि सक्छ । धेरै विशेषज्ञहरूको भनाइ छ कि यदि तपाईं क्रिप्टोकरेन्सीमा लगानी गर्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंले उत्कृष्ट क्रिप्टोकरेन्सीमा मात्र लगानी गर्नुहोस् । यसका लागि महत्त्वपूर्ण कुरा भनेको लगानी कम्तीमा पनि एक वर्षको लागि गर्नु हो । एक वर्षमा त्यस्ता धेरै क्रिप्टोकरेन्सीहरू छन् जसले राम्रो रिटर्न (प्रतिफल) दिएका छन् । त्यसै क्रममा एक क्रिप्टोकरेन्सीले अद्भूत काम गरेको छ । यसले प्रतिफलकाे मामिलामा बिटकोइन र डगकोइनजस्ता क्रिप्टोकरेन्सीलाई पछाडि पारिदिएको छ । यस क्रिप्टोकरेन्सीको नाम रिपल हो । एक वर्षमा बिटकोइन र डोजकोइनले पनि लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिएका छन्, तर यीमध्ये कुनै पनि क्रिप्टोले ५० प्रतिशतको प्रतिफल पार गर्न सक्दैनन् । तर रिपलले एक वर्षमा अत्यधिक प्रतिफल दिएको छ । यो प्रतिफल ५० वा १०० प्रतिशत होइन, बरु करिब ३०० प्रतिशत छ । यसको मतलब रिपल क्रिप्टोकरेन्सीले एक वर्षमा १ लाख रुपैयाँबाट लगभग ४ लाख रुपैयाँ बनाएको छ । बिटकोइनको कति रिटर्न ? बिटकोइन अहिलेसम्मको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी हो । कोइनमार्केटक्यापअनुसार यसको मूल्य ८४ हजार डलरभन्दा बढी छ । पछिल्लो एक महिनाको कुरा गर्ने हो भने यसमा १३ प्रतिशतभन्दा बढी घाटा भएको छ । यद्यपि, एक वर्षमा यसले लगानीकर्ताहरूलाई राम्रो प्रतिफल दिएको छ । एक वर्षमा यसको प्रतिफल ३० प्रतिशतभन्दा बढी रहेको छ । डोजकोइनबाट कति फाइदा ? डोजकोइनको मूल्य निकै कम (एक डलरभन्दा कम) छ । कोइनमार्केटक्यापअनुसार ०.१६ डलर रहेको छ । एक महिनामा यसको मूल्य ३० प्रतिशतभन्दा बढी घटेको छ । यदि एक वर्षको कुरा गर्ने हो भने यसले लगानीकर्ताहरूलाई केही फाइदा भएको छ । एक वर्षमा यसले लगभग ११ प्रतिशत प्रतिफल दिएको छ । रिपलको कति ? रिपल क्रिप्टोकरेन्सी हालका केही समयदेखि लगानीकर्ताहरूको मनपर्ने क्रिप्टो बनेको छ । यसले यो महिनामा लगानीकर्ताहरूलाई निराश बनाए पनि एक वर्षमा यसको प्रतिफल आश्चर्यजनक रूपमा राम्रो रहेको छ । एक वर्षमा यसले लगभग ३०० प्रतिशत प्रतिफल दिएको छ ।
व्हाट्सएपमा नयाँ फिचर : एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ सेयर गर्न पाउने
काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई व्यक्तिगत च्याट, समूह र च्यानलमा ‘मोशन फोटो’ साझेदारी गर्न अनुमति दिने नयाँ सुविधा विकास गर्दैछ । मोशन फोटो एक मिडिया ढाँचा हो, जसले स्थिर तस्बिर खिच्नु अघि र पछि दुवै गतिको छोटो क्षण कैद गर्दछ । परम्परागत तस्बिरभन्दा फरक, मोशन फोटोहरूमा केही सेकेन्डको भिडियो र अडियो समावेश हुन्छ । ‘वाबबीटाइन्फो’ का अनुसार मोशन फोटोहरूको लागि एपको मिडिया–साझेदारी क्षमताहरू विस्तार गर्ने लक्ष्य व्हाट्सएपले राखेको छ । व्हाट्सएपमा फोटो र भिडियो ग्यालरी खोल्दा मोशन फोटोहरूको लागि समर्पित नयाँ बटन देखा पर्नेछ, जसले प्रयोगकर्ताहरूलाई छविको स्थिर वा गति संस्करण पठाउने विकल्प प्रदान गर्दछ । यो सुविधा विशेष गरी केही मोबाइल उपकरणमा लोकप्रिय छ, किनकि यसले स्थिर तस्बिरहरूमा गतिको स्पर्श थपेर स्थिर तस्बिर र भिडियोहरू बीचको खाडललाई कम गर्छ । मोशन फोटो सुविधा सामान्यतया विभिन्न स्मार्टफोनहरूमा उपलब्ध छ, जस्तै सामसुङ ग्यालेक्सी । यो सुविधा हाल आईफोनका लागि आइओएसमा उपलब्ध भएपनि एन्ड्रोइडका लागि व्हाट्सएपमा मोशन फोटो–सेयरिङ सुविधा अझै विकासको क्रममा छ । रासस
न्यायाधीशको ‘स्टोर रूम’मा भेटियो ठूलो परिमाणको नगद, घरमा आगलागी भएपछि बाहिरियो रहस्य
काठमाडौं । भारतकाे दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरमा ठूलो परिमाणमा अवैध नगद भेटिएको छ । केही दिनअघि उनको घरको स्टोर रुममा आगलागी भएपछि ठूलो परिमाणको कालोधन भएको भेटिएको हो । अहिले सामाजिक सञ्जालमा उनको घरको कोठामा ठूलो परिमाणको नगद जलिरहेको भिडियो र फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । १४ मार्चमा उनको निवासको एउटा स्टोर रुममा आगलागी भएको थियो, जहाँ ठूलो मात्रामा नगद फेला परेको भनिएको थियो । अहिले प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । न्यायाधीश वर्माले दिल्ली उच्च अदालतका मुख्य न्यायाधीशलाई बुझाइएको आफ्नो लिखित स्पष्टीकरणमा आफू उक्त भिडियोको सामग्री देखेर स्तब्ध भएको बताएका छन् । ‘म उक्त भडियोको सामग्री देखेर स्तब्ध भएँ, मैले यो घटना मलाई फसाउन र बदनाम गर्न गरिएको षड्यन्त्र जस्तो लागेको बुझेको छु,’ उनले स्पष्टीकरण दिँदै भनेका छन् । वर्माले आफूले र आफ्नो परिवारको कुनै पनि सदस्यले कहिल्यै पनि उक्त भण्डारण कोठामा नगद वा कुनै मुद्रा नराखेको बताएका छन् । उनले आगलागी भएको भण्डार कोठा सामान्यतया प्रयोग नभएका फर्निचर, बोतलहरू, भाँडाकुँडा, गद्दा, प्रयोग भएका कार्पेट, पुराना स्पिकरहरू, बगैंचाका सामग्रीहरू र केन्द्रीय लोक निर्माण विभाग का सामानहरू राख्न प्रयोग गरिने गरेको पनि जानकारी दिएका छन् । वर्माले सो कोठामा सबै पहुँच रहेको पनि बताएका छन् । उनले यो कोठा आफ्नो मुख्य निवाससँग नजोडिएको र उनको घरको कोठा नभएको पनि स्पष्ट पारेका छन् । आगो निभाउने क्रममा सुरक्षा कारणले सबै स्टाफ र परिवारका सदस्यलाई घटनास्थलबाट टाढा सारिएको थियो । आगो निभाएपछि स्टाफ र परिवारका सदस्यहरूले घटनास्थलमा कुनै नगद वा मुद्रा नदेखेको बताएका छन् । शुक्रबार भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाले न्यायाधीश वर्माविरुद्ध छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् । पञ्जाब तथा हरियाणा उच्च अदालतका मुख्य न्यायाधीश शील नागु, हिमाचल प्रदेश उच्च अदालतका मुख्य न्यायाधीश जीएस संधवालय र कर्नाटक उच्च अदालतका न्यायाधीश अनु शिवरामन छानबिन समितिमा छन् । साथै दिल्ली उच्च अदालतका न्यायाधीश वर्मालाई कुनै पनि न्यायिक काम नगर्न पनि निर्देशन दिइएको छ । भारतीय सञ्चार माध्यमको सहयोगमा ।