कुनै पनि कम्पनी र व्यक्तिलाई गैरकानुनी तरिकाले डाटा दिन बाध्य पारिएको कुरा झुटो : चीन

काठमाडौं । चीन सरकारले ‘कहिल्यै पनि’ कम्पनी वा व्यक्तिहरूलाई कानुनविपरीत डाटा संकलन गर्न वा आफूलाई डाटा उपलब्ध गराउने आरोप झुट रहेको बताएकाे छ । चीनको विदेश मन्त्रालयका प्रवक्ताले टिकटक, शीइन, श्याओमी लगायत छ चिनियाँ कम्पनीहरूको बारेमा सोधिएको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । अष्ट्रियाली एडभोकेसी समूह एनओवाईबी दायर गरेको गोपनीयता उजुरीमा यी कम्पनीहरूले युरोपेली संघका प्रयोगकर्ताहरूको डाटा गैरकानुनी रूपमा चीनमा पठाइरहेको भनी दाबी गरिएको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । फसलामा खानलाई १४ वर्षको जेल सजाय सुनाएको छ । न्यायाधीश नासिर जावेद राणाले फैसलाबारे भने, ‘अभियोजन पक्षले आफ्नो मुद्दा प्रमाणित गरेको छ । खानदोषी ठहरिएका छन् ।’ खानकी पत्नी बीबीलाई सात वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचार विरोधी अदालतले खानलाई राखिएको राजधानी इस्लामावाद नजिकैको जेलमा भएको सुनुवाईपछि फैसला सुनाएको हो । उनीहरूले मिलेर स्थापना गरेको अल–कादिर ट्रस्ट नामक कल्याणकारी फाउन्डेसनका नाममा भएको आर्थिक अनियमितताका कारण उनीहरूलाई दोषी ठहर गरिएको फैसलामा उल्लेख छ । खान सन् २०२३ को अगष्टदेखि जेलमा छन् र उनीमाथि करिब २०० वटा मुद्दा लगाइएका छन् । ती मुद्दा उनीलाई सत्तामा फर्कनबाट रोक्नका लागि राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दावी खानले गरेका छन् । उनकी पत्नी बुशरा बीबी हालसालै जेलबाट रिहा भएको थियो भने उनलाई फैसलापछि शुक्रबार अदालतबाटै पक्राउ गरिएको छ । शुक्रबार बिहान अदालतको सुनुवाइमा भाग लिन उनी खानलाई राखिएको जेलमा उपस्थित भएका थिए ।

इटालीको सार्वजनिक ऋण पहिलो पटक ३ हजार अर्ब भन्दा बढी

काठमाडौं । इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो (३ हजार ८७ अर्ब अमेरिकी डलर) नाघेको छ । बैंककाअनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५.२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ । यो वृद्धि उच्च खर्चका कारण भएको हो । साथै नोभेम्बर २०२३ को तुलनामा कर राजस्वमा ०.१ प्रतिशतको सामान्य गिरावट आएको छ । वर्षको शुरुमा देशको सार्वजनिक ऋण २ हजार ८६० अर्ब युरो रहेको थियो । इटाली यसको अर्थतन्त्रको सम्बन्धमा विश्वव्यापी रूपमा सबैभन्दा ऋणी देशहरूमध्ये एक रहेको छ । जसको ऋण यसको कुल गार्हस्थ्य उत्पादनको लगभग १३६.६ प्रतिशत बराबर छ ।