अमेरिकी क्यापिटलमा आक्रमण गर्ने १ हजार ५०० समर्थकलाई ट्रम्पले दिए माफी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल आक्रमणमा संलग्न भएको आरोपमा १ हजार ५०० जनालाई माफी दिएका छन् । उनले पुन: राष्ट्रपति बनेको पहिलो दिन यो निर्णय गरेका हुन् । ट्रम्पले न्याय विभागको इतिहासमा सबैभन्दा ठूलो अनुसन्धान र अभियोजन अन्त्य गर्न आफ्नो व्यापक क्षमाशील शक्ति प्रयोग गरेका छन् । मार्च २५ मा अमेरिकी क्यापिटलमा भएको भीडको आक्रमणमा १०० भन्दा बढी प्रहरी अधिकारीहरू घाइते भएका थिए र शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणलाई खतरामा पारेको थियो । एपी रिपोर्टका अनुसार डोनाल्ड ट्रम्पको माफीले आक्रमणमा संलग्नहरूलाई जवाफदेही बनाउन खोजिरहेको न्याय विभागको प्रयासलाई ठूलो धक्का दिएको छ । उक्त आक्रमणलाई अमेरिकी इतिहासको सबैभन्दा कालो दिन भनिएको थियो । ट्रम्पले ओथ किपर्स र प्राउड ब्वाइजका नेताहरूको सजाय पनि घटाएका छन् । यी नेताहरूलाई देशद्रोहको षड्यन्त्र रचेकोमा दोषी ठहराइएको थियो । अभियोजकहरूका अनुसार २०२० को चुनाव हारेपछि ट्रम्पलाई सत्तामा राख्न उनीहरूले षड्यन्त्र गरिरहेका थिए । माफी दिने संकेत पहिला नै ह्वाइट हाउस फर्कनुअघि नै डोनाल्ड ट्रम्पले जनवरी ६ का अभियुक्तहरूको मुद्दालाई केस-दर-केस आधारमा विचार गर्ने संकेत गरेका थिए । आक्रमणकारीहरूलाई देशभक्त र बन्धक भन्दै ट्रम्पले न्याय विभागले उनीहरूलाई अनुचित व्यवहार गरेको दाबी गरेका थिए । डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै यस विषयमा आदेश जारी गरेका छन् । जनवरी ६ मा ट्रम्प विरुद्धको मुद्दा खारेज भएको केही हप्तापछि नै यो माफी आएको हो । न्याय विभागको नीति अनुसार बहालवाला राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन, त्यसैले मुद्दा खारेज गरियो । यदि ट्रम्पले २०२४ को चुनाव हारेको भए उनीमाथि पनि संघीय अदालतमा मुद्दा चलाउन सकिन्थ्यो, जहाँ जनवरी ६ का मुद्दाहरू विगत चार वर्षदेखि चलिरहेका छन् । २०२० को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पराजयपछि उनका समर्थकहरू अमेरिकी क्यापिटलमा प्रवेश गरी तोडफोड गरेका थिए । यस मुद्दामा १ हजार ५०० भन्दा बढी अभियुक्तहरू मुद्दाको सामना गरिरहेका छन् । २५० भन्दा बढी व्यक्तिहरूलाई अपराधमा दोषी ठहराइएको छ । कुनै पनि निर्णायक मण्डलले क्यापिटल दंगा प्रतिवादीलाई पूर्ण रूपमा निर्दोष मुक्त गरेको छैन ।

अब यस कारण अमेरिकामा ठूलो समस्या भोग्नेछन् नेपाली

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ लिएका छन् । उनले सपथसँगै विभिन्न आदेशहरुमा पनि हस्ताक्षर गरेका छन् । उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले अघि सारेका नीतिहरुको अहिले चौतर्फी बहस भइरहेको छ । त्यसले पार्ने प्रभावका विषयमा पनि चर्चा भइरहेको छ । उनले आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । जसको चर्चा अहिले अमेरिकासँगै अन्य देशमा पनि भइरहेको छ । सन् २०२४ मा इन्स्टिट्यूट फर इन्टिग्रेटेड डिभेलप्मन्ट स्टडिजले सार्वजनिकक गरेको एउटा अध्ययनले अमेरिकामा प्रवासी नेपालीको संख्या एक लाख ८५ हजारदेखि दुई लाख १५ हजारको बीचमा रहेको अनुमान गरेको थियो । त्यसबाहेक नेपालीहरू अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन् । अमेरिकामा पनि धेरै नेपाली हुन सक्ने आँकलन गरिएको छ । ट्रम्पको यो नीतिले धेरै नेपालीहरु प्रभावित हुन सक्ने बुझिएको छ । अमेरिकी विदेश मन्त्रालयको एउटा आँकडाले एशियाली मुलुकहरूमध्ये अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिट्ठा भर्न सबैभन्दा आकर्षण देखिएका देशहरूमा नेपाल दोस्रो स्थानमा रहेको देखाएको थियो । अब धेरै नेपालीहरु ट्रम्प नीतिको सिकार बन्दैछन् । उनले अमेरिका प्रवेशको अवैध बाटो रोक्नका लागि ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ । विसं २०७२ साल वैशाखको भूकम्पपछि १५ हजार नेपालीलाई अमेरिकाले अस्थायी संरक्षित हैसियतमा बस्नका लागि अनुमति दिएको थियो । तर, सुविधा कटौती गर्ने योजनासहित अमेरिका अगाडि बढेपनि अदालतले भने त्यो आदेशलाई कार्यान्वयन गर्न दिएन । सन् २०२३ मा बाइडन प्रशासनले उनीहरुको सुविधा सन् २०२५ को मध्यसम्म दिने निर्णय गरेको थियो । तर, अब ट्रम्प प्रशासनले त्यसलाई रोक्छ वा अगाडि बढाउँछ भन्ने विषय हेर्न बाँकी छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकामा ठूलो सङ्ख्यामा आप्रवासी छन् । त्यहाँ अवैध रूपले बसेका आप्रवासी मात्र एक करोडको संख्यामा छन् । ट्रम्पले ३० लाख आप्रवासीलाई हटाउने घोषणा यसअघि नै गरिसकेका छन् । आप्रवासीलाई हटाउँदै जाने र नयाँ भिसा नीति पनि कडा बनाउने उनको योजना छ । ट्रम्पको यो अनुदार नीतिको सिकार नेपालीहरु पनि बन्न सक्ने विश्लेषण विज्ञहरुले गरिरहेका छन् । अमेरिकाले मात्रै होइन त्यसपछि पुँजीवादी अन्य राष्ट्रले पनि आप्रवासीलाई हटाउँदै जाने नीति अंगिकार गर्न सक्ने विश्लेषण पनि हुन थालेको छ । अहिले नेपालीहरूको गन्तव्य अधिकांश पुँजीवादी देशहरूमा छ । उनीहरुले आप्रवासीलाई हटाउने नीति अघि सारेमा नेपालीहरु ठूलो समस्यामा पर्ने र देशकै अर्थतन्त्रमा गम्भीर प्रभाव पर्न सक्ने अनुमानहरु अहिले हुन थालेका छन् । अहिले नेपालले युवालाई विदेश पठाएर उनीहरूबाट आउने आम्दानीबाट अर्थतन्त्रलाई धान्ने प्रयत्न गरिरहेको छ ।

संसारले पाँच वर्षभन्दा कम समयमै पहिलो खर्बपति पाउने, मस्क, बेजोस, जुकरबर्ग वा अरू कोही ?

  काठमाडौं । आगामी ५ वर्षमा विश्वले आफ्नो पहिलो ट्रिलिनियर पाउनसक्ने विश्वास गरिएको छ । विश्वमा तीनवटा कम्पनीहरू छन् जसको बजार पूँजीकरण एक ट्रिलियन डलरभन्दा बढी छ । अर्बपतिको कुरा अहिले पुरानो भइसकेको छ र अबको समय भनेको खर्बपतिको हो । स्टेटिक्स्टाका अनुसार हाल संसारभर ३ हजार १९४ अर्बपति छन् । अर्को दशकमा खर्बपतिको सूचीमा ५ जना धनी व्यक्तिहरू समावेश हुने अपेक्षा गरिएको छ । आइतबार जारी गरिएको अक्सफामको वार्षिक असमानता प्रतिवेदनमा यो दाबी गरिएको हो । यसमा भनिएको छ कि यदि धनीहरूको सम्पत्ति बढ्दै जाने वर्तमान प्रवृत्ति जारी रह्यो भने आगामी १० वर्षमा कम्तिमा ५ धनी व्यक्तिको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा माथि पुग्नेछ । प्रतिवेदनमा भनिएको छ कि टेस्ला र स्पेसएक्सका मालिक तथा विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क पाँच वर्षभन्दा कम समयमा ट्रिलिनियर बन्न सक्छन् । आगामी दश वर्षमा अमेजनका संस्थापक जेफ बेजोस, ओरेकलका संस्थापक ल्यारी एलिसन, मेटाका सीईओ मार्क जुकरबर्ग र फ्रान्सका सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति पनि १ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । अक्सफामको प्रतिवेदन फोर्ब्सबाट लिइएको तथ्याङ्कमा आधारित छ । कसको कति कुल सम्पत्ति छ ? सन् २०२४ विश्वका धनी व्यक्तिहरूका लागि धेरै अद्भूत रहेको बताइन्छ । अमेरिकी सेयर बजारमा भएको वृद्धिका कारण उनीहरूको कुल सम्पत्ति द्रुत गतिमा बढेको छ । यही कारणले गर्दा अक्सफामले गत वर्षको सूचीलाई परिमार्जन गर्नुपर्‍यो । त्यतिबेला अक्सफामले अर्को दशकमा मात्र खर्बपति बन्ने अनुमान गरेकाे थियो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्क ४४९ अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् । गत वर्ष उनको कुल सम्पत्ति २०३ अर्ब डलरले बढेको थियो । यस वर्ष उनको कुल सम्पत्ति १६.१ अर्ब डलरले बढेको छ । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार ४०० अर्ब डलरको आँकडा पार गर्ने मस्क विश्वकै पहिलो व्यक्तिसमेत हुन् । २४५ अर्ब डलरको कुल सम्पत्तिका साथ बेजोस विश्वका धनी व्यक्तिहरूको सूचीमा दोस्रो स्थानमा छन् । जुकरबर्ग २१७ अर्ब डलरको कुल सम्पत्तिसहित तेस्रो, एलिसन १८८ अर्ब डलरको साथ चौथो र बर्नार्ड अर्नाल्ट १८८ अर्ब डलरको साथ पाँचौं स्थानमा छन् ।