जब मालिक खुसी भएपछि दिए १ करोड ६० लाख रुपैयाँ पर्ने रोलेक्स घडी
काठमाडौं । भन्ने गरिन्छ कि कसैको मन खुसी बनायो भने उसले जे पनि उपहार दिनसक्छ । पञ्जाबका एक व्यापारी गुरदीप देव बाथले पनि यस्तै गरेका छन् । हो, उनले पञ्जाबको जिरकपुरमा आफ्नो हवेली बनाइरहेका थिए । ठेकेदारले लगनशीलताका साथ समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गरे । जब बाथले आफ्नो हवेली देखे तब उनको मन खुसीले भरियो । त्यसपछि उनले ठेकेदारलाई एक करोड भारु (एक करोड साठी लाख रुपैयाँ) को रोलेक्स घडी उपहारस्वरूप दिए । एनडीटीभीको रिपोर्टअनुसार गुरदीप देव बाथले पञ्जाबको जिरकपुरमा नौ एकड क्षेत्रफलमा आफ्नो हवेली बनाइरहेका थिए । यसलाई हवेली नभई सानो किल्ला पनि भन्न सकिन्छ । बनाउने जिम्मा राजिन्दर सिंह रुपरालाई दिइएको थियो । उनले दुई वर्षमा परम्परागत राजस्थानी शैलीमा हवेली निर्माण गरेका थिए । यो किल्ला देखेपछि गुरदीप सिंह चकित भए । गुरदीप सिंह बाथले पञ्जाबको शाहकोट निवासी ठेकेदार राजिन्दर सिंहलाई रोलेक्स घडी उपहार दिए । यो घडी ( रोलेक्स ओलिस्टर पर्पेटुअल स्काई ड्वेलर) १८ क्यारेट गोल्डमा बनेको छ । यसको मूल्य एक करोड ६० लाख रुपैयाँ छ, जुन संसारभरका धनीहरूले मात्र लगाउन सक्छन् । दुई वर्षमा आयोजना सम्पन्न जिरकपुरमा बनेको गुरदीप सिंहको विशाल हवेली बनाउन दुई वर्ष लागेको थियो । दैनिक २०० भन्दा बढी मजदुर हवेली बनाउने काममा लागेका थिए । यो घर मात्र नभई भव्यताको प्रतीक भएको गुरदीप बताउँछन् । रिपोर्टका अनुसार गुरदीप सिंहको यस परियोजनाका वास्तुकार रणजोध सिंह हुन् । यस हवेलीमा विशाल हल, बगैंचा र धेरै वास्तुकला तत्व समावेश छन् । यति ठूलो र परिष्कृत परियोजनामा काम गर्नु चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको भनाइ छ ।
चीन, रुस र भारतको गठबन्धनबाट अमेरिका चिन्तित, खतरा बन्न सक्छ ब्रिक्स र जी-७
काठमाडौं । भारत, चीन र रुसको त्रिपक्षीय गठबन्धनबाट अमेरिका र त्यसका युरोपेली सहयोगीहरू असन्तुष्ट छन् । यी तीनसँग ब्रिक्समार्फत विश्वव्यापी व्यापारको गतिशीलता परिवर्तन गर्ने शक्ति छ । त्यसैले अमेरिका र युराेपेली देशहरू असन्तुष्ट भएका हुन् । इवाई इन्डियाले बुधबार विश्वव्यापी व्यापारमा ब्रिक्स प्लस समूहको प्रभुत्व बढ्दै गएको जनाएकाे छ । सन् २०२६ सम्म ब्रिक्स समूहले जी-७ देशहरूलाई विश्वव्यापी व्यापारमा पछाडि पार्न सक्छन् । ब्रिक्स प्लस देशमा भारत, रुस र चीनको भूमिका प्रमुख छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको ब्रिक्समा अब पाँच देश थपिएका छन् । जसमा इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स पर्छन् । इवाईको ‘इकोनोमी वाच’ प्रतिवेदनअनुसार विश्वव्यापी आयात-निर्यातमा ब्रिक्स प्लस देशहरूको हिस्सा द्रूत गतिमा बढिरहेको छ । विश्वव्यापी व्यापारिक वस्तु निर्यातमा ब्रिक्स प्लस समूहको हिस्साले २०२६ सम्ममा जी-७ समूहलाई उछिन सक्छ । इवाई भारतका मुख्य रणनीति सल्लाहकार डीके श्रीवास्तवले ब्रिक्स प्लस समूहले विश्वव्यापी व्यापारिक वस्तु निर्यातमा जी-७ समूहलाई २०२६ सम्म उछिन्ने दावी गरे । श्रीवास्तवका अनुसार ब्रिक्स प्लस समूहले अन्तर्राष्ट्रिय व्यापार र लगानी लेनदेनलाई सहज बनाउन नयाँ प्लेटफर्म सिर्जना गरिरहेको छ । यो प्लेटफर्म अहिलेकाे स्वीफ्ट प्लेटफर्मको सस्ताे विकल्प बन्न सक्छ । इवाई इकाेनाेमी वाचकाे अक्टोबर संस्करणले विश्वव्यापी व्यापार स्थितिमा महत्त्वपूर्ण परिवर्तनहरू आउने संकेत गरेकाे छ । निर्यात र आयातमा आफ्नो हिस्सा बढाउँदै ब्रिक्स प्लस प्रतिवेदनका अनुसार ब्रिक्स प्लस समूहले वस्तु निर्यात र आयातमा आफ्नो हिस्सा द्रूत गतिमा बढाइरहेका छन् । सन् २००० देखि २०२३ सम्म विश्वव्यापी व्यापारिक निर्यातमा ब्रिक्स प्लस समूहको अंश १०.७ प्रतिशतबाट २३.३ प्रतिशतमा पुगेको छ । यो १२.६ प्रतिशतको उत्कृष्ट वृद्धि हो । यसको विपरित जी-७ को हिस्सेदारी घटेको छ । ४५.१ प्रतिशतबाट घटेर २८.९ प्रतिशतमा झरेको हाे । यसैबीच, बाँकी विश्वले अपेक्षाकृत स्थिर हिस्सेदारी कायम गरेको छ । याे ४४.२ प्रतिशतबाट बढेर ४७.९ प्रतिशत पुगेको छ । इवाईले यो प्रवृत्तिले विश्वव्यापी व्यापार क्षेत्रमा ब्रिक्स प्लस समूहको बढ्दो महत्त्वलाई झल्काउने उल्लेख गरेकाे छ । यसले बहुध्रुवीय विश्वव्यापी आर्थिक परिदृश्यतर्फ सम्भावित परिवर्तनलाई सङ्केत गर्छ । ब्रिक्सको १६औं वार्षिक ब्रिक्स शिखर सम्मेलन रुसकाे तातारस्तानको कजान सहरमा सम्पन्न भइसकेकाे छ । के हो ब्रिक्स समूह ? सन् २००१ मा गोल्डमन स्याक्सका एक अर्थविद् जिम ओ’नीलले ब्राजिल, रुस, भारत र चीनलाई बुझाउन संक्षिप्त रूपमा ‘ब्रिक’ शब्द दिएका थिए । उनले यी देशहरू सन् २०५० सम्म विश्वको अग्रणी अर्थतन्त्र बन्ने भविष्यवाणीसमेत गरेका थिए। यी ठूला र मध्यम आय भएका तर द्रूत आर्थिक वृद्धि भइरहेका देशहरू हुन् । सन् २००६ मा ती चारवटा देश मिलेर ब्रिक समूह गठन गर्ने निर्णय गरे । सन् २०१० मा दक्षिण अफ्रिका आबद्ध भएपछि त्यो ‘ब्रिक्स’ बनेकाे हाे । ब्रिक्समा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) पनि सम्मिलित भएका छन् । आईएमएफ र विश्व ब्याङ्कजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको सुधार गर्ने उपायको खोजी गर्नु र उदीयमान अर्थतन्त्रहरूको ‘आवाज र प्रतिनिधित्व’ सिर्जना गर्नु ब्रिक्सको उद्देश्य हो । सन् २००९ देखि ब्रिक्स राष्ट्रले वार्षिक रूपमा औपचारिक शिखर सम्मेलन गर्दै आएका छन् । जसमा सदस्य राष्ट्रहरूले पालैपालो आयोजना गर्दै आएका छन् । पहिलो पाँच सदस्यीय ब्रिक्स शिखर सम्मेलन सन् २०११ मा भएको थियो ।
एडिबीद्वारा पाकिस्तानलाई जलवायु प्रकोप व्यवस्थापन गर्न ५० करोड डलर ऋण स्वीकृत
काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले मङ्गलबार पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न ५० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । जलवायु र विपद् व्यवस्थापन कार्यक्रमले योजना, तयारी र प्रतिक्रियाका लागि पाकिस्तानको संस्थागत क्षमतालाई बलियो बनाउने बैङ्कको पाकिस्तानस्थित शाखाले कार्यालयले जनाएको छ । बैङ्कका अनुसार यस कार्यक्रमले विपद् जोखिम न्यूनीकरण र जलवायु प्रकोप व्यवस्थापनमा समावेशी लगानी बढाई जोखिम–स्तरित दृष्टिकोणबाट आवाश्यक वित्त पोषण गर्नेछ । पाकिस्तान जलवायु परिवर्तन र प्रकोपको सबैभन्दा जोखिममा रहेका देशहरूमध्ये एक हो, जहाँ जलवायु प्रकोप जन्य घटनाबाट औसत क्षति वार्षिक दुई अर्ब अमेरिकी डलरभन्दा बढी हुन्छ । कार्यक्रम पाकिस्तानमा जलवायु र विपद् जोखिम घटाउन र प्रभावकारी विपद् व्यवस्थापनलाई समर्थन गर्न एडीबीको लामो समयदेखि चलिरहेको काममा आधारित रहेको एडीबीका मध्य तथा पश्चिम एसियाका महानिर्देशक येवगेनी जुकोभले बताएका छन् । कार्यक्रमको उद्देश्य विकास र लगानी निर्णयहरू मार्गनिर्देशन गरी जोखिम व्यवस्थपनलार्ई अगाडि बढाएर पाकिस्तानमा विपद् प्रभावलाई सुदृढ पार्नु हो । कार्यक्रमले कृषि बिमासहित जोखिम हस्तान्तरण समाधान प्रवर्द्धन गर्न एकता कोषलाई थप सहयोग गर्ने र भविष्यमा विपद् प्रभावितलाई सहायता प्रदान गर्न उत्तरदायी सामाजिक सुरक्षा कार्यान्वयन गर्ने जनाइएको छ ।