आर्थिक मन्दीको बीचमा भोकमरीसँग संघर्ष गर्दै अफगानी नागरिक
काठमाडौं । अफगानिस्तानमा लाखौं मानिसहरू डरलाग्दो भोकमरीको सामना गरिरहेका छन् । दशकौंको युद्ध, विस्थापन, लामो खडेरी, उच्च बेरोजगारी, र अफगान सम्पतीहरूमा अमेरिकी प्रतिबन्धहरूपछि आर्थिक पतनलगायतले देशको गम्भीर खाद्यान्न अभावमा योगदान पुर्याएकाे छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार अफगानिस्तानमा चारमध्ये एक जना भोकमरीको सामना गरिरहेका छन् । अफगान रेड क्रिसेन्ट सोसाइटीका प्रवक्ता मौलावी मुदस्सिर हमराजले अन्तर्राष्ट्रिय सहयोगको महत्त्वपूर्ण आवश्यकतामा जोड दिए । विश्व बैंकको दस्तावेजअनुसार अफगानिस्तानको वास्तविक कुल ग्राहस्थ उत्पादन (जीडीपी) पछिल्लो दुई आर्थिक वर्षमा २६ प्रतिशतले संकुचित भएको छ ।
विश्व बैंकको प्रतिवेदन : विवाहपछि ६८ प्रतिशत महिलाले छाड्छन् जागिर, यस्तो छ कारण
काठमाडौं । विश्व बैंकको एक प्रतिवेदनले विवाहपछि जागिर गर्ने भारतीय महिलाको संख्या घटेको देखाएको छ । अर्थात् महिलाले ‘म्यारिज पेनाल्टी’ को सामना गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ । विवाहपछि पुरुषले कुनै काम गरेमा त्यसलाई राम्रो मानिन्छ । तर, महिलाको हकमा भने अवस्था बिल्कुल उल्टो रहेको विश्व बैंकको उक्त प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार अधिकांश परिवारले आफ्ना नवविवाहित बुहारीलाई जागिर गर्न दिँदैनन् । विवाहअघि महिलाले बाबुआमाको घरमा काम गरिरहेको भए पनि विवाहपछि भने जागिर छोड्न लगाइने गरेका कारण महिलाको रोजगारी दर निरन्तर घट्दै गएको छ । प्रतिवेदनका अनुसार भारतमा विवाहपछि महिला रोजगारी दर १२ प्रतिशतले घटेको छ, जुन सन्तान नभएको अवस्थामा पनि विवाहपूर्व महिला रोजगारी दरको झण्डै एक तिहाइ हो । उल्टो विवाहपछि पुरुषको रोजगारीको दर १३ प्रतिशतले बढेको छ । ‘भारत र माल्दिभ्समा बच्चा नभएका महिलाहरूमा विवाहको नियम विवाहपछि पाँच वर्षसम्म कायम रहन्छ । अर्कोतर्फ महिलालाई बालबालिकाको जिम्मेवारीसँग पनि जोडिएको देखिन्छ । जसका कारण महिलाले काम गर्न पाएका छैनन् वा जागिर छाड्नुपरेको छ,’ प्रतिवेदनमा उल्लेख छ । भारतमा मात्रै नभई सम्पूर्ण दक्षिण एसियामा महिलाको रोजगारी दरमा गिरावट आएको छ । प्रतिवेदनले दक्षिण एसिया ‘महिला, रोजगारी र विकास’ मा केन्द्रित रहे पनि महिलाको रोजगारी दर घटेको देखाएको छ । सन् २०२३ मा दक्षिण एसियामा काम गर्ने उमेरका महिलामध्ये ३२ प्रतिशतमात्रै कार्यरत थिए । जहाँ पुरुषको रोजगारी दर ७७ प्रतिशत थियो । यस्तो अवस्थामा महिलाको सहभागिता निकै कम रह्यो । प्रतिवेदनमा महिलाको श्रमशक्ति सहभागिता दरलाई पुरुषको बराबरीमा पुर्याउने हो भने कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा वृद्धि हुने उल्लेख छ । यसो गर्दा दक्षिण एसियाको क्षेत्रीय कुल ग्राहस्थ उत्पादन १३ देखि ५१ प्रतिशत बढी हुने प्रतिवेदनले जनाएको छ । एजेन्सी
बम राखिएको हल्लापछि भारतीय आकाशा एयरको विमान ‘डाइभर्ट’ गरियो
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट दक्षिणी बेङ्गलोरका लागि उडेको विमानमा बम राखिएको चेतावनीपछि बुधबार एक भारतीय यात्रुवाहक विमानलाई ‘डाइभर्ट’ गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीबाट दक्षिणी शहर बेङ्गलोरका लागि उडेको अकाश एयरको विमानलाई ‘सुरक्षा सतर्कता’ प्राप्त भएको र ‘सावधानी’ का रूपमा विमानलाई दिल्ली फर्कन आदेश दिइएको थियो । विमानस्थलको आपतकालीन टोलीले विमानलाई निगरानी गरेको र क्याप्टेनले दिल्लीमा सुरक्षित अवतरणका लागि आवश्यक सबै आपतकालीन प्रक्रियाको पालना गरेको आकाश एयरले जनाएको छ । विमानमा तीन शिशुसहित १८४ जना सवार रहेको एयरलाइन्सले जनाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन । स्थानीय सञ्चारमाध्यम र एयरलाइन्सले यस हप्ता कम्तीमा पनि छ वटा यस्ता चेतावनी आएको जनाएका छन् । मङ्गलबार पनि एयर इन्डिया एक्सप्रेसको विमानमा बम हुन सक्ने इमेलमार्फत चेतावनी दिएपछि सिङ्गापुरको लडाकु विमानले एयर इन्डिया एक्सप्रेसको विमानलाई सुरक्षा प्रदान गरेको थियो । मङ्गलबार राति चाङ्गी विमानस्थलमा सुरक्षित अवतरण गर्नुअघि दुई वटा एफ–१५ जेट विमानलाई ‘जनघनत्व भएको स्थानबाट टाढा’ सुरक्षा प्रदान गर्न तैनाथ गरिएको थियो । एयर इन्डियाले नयाँ दिल्लीबाट शिकागोका लागि उडेको आफ्नो एउटा विमानलाई क्यानडामा आपतकालीन अवतरण गर्नुपरेको बताएको छ । त्यो विमान पनि सकुशल अवतरण भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार साउदी अरबको जेद्दाह र ओमानको मस्कटका लागि उडान भर्ने दुई उडानका बारेमा भारतको कम लागतको अपरेटर इन्डिगोलाई पनि यसै साता यस्तै हल्ला प्राप्त भएको थियो । रासस