भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै
काठमाडौं । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन् । सबै उडान सुरक्षित अवतरण भए पनि धम्कीहरूको यस शृङ्खलाले विमानहरूलाई क्यानाडा र जर्मनीमा मोड्न तथा बेलायत र सिङ्गापुरको आकाशमाथि लडाकू जेटहरूलाई विमान एस्कर्ट गर्न लगाउनुपरेको छ । भारत सरकार र नागरिक उड्डयन अधिकारीहरूले ‘अत्यन्त कडा कारबाही’ गरिने चेतावनी दिएका छन् । नयाँदिल्लीको नागरिक उड्डयन अधिकारीहरूले गत साता कति धम्की प्राप्त भए भन्नेबारे नखुलाए पनि टाइम्स अफ इन्डिया र न्युज१८ प्रसारकले अक्टोबर १३ देखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानलाई लक्षित गरी ७० भन्दा धेरै झुटो धम्की दिइएको बताएका छन् । शनिबार मात्र कम्तीमा ३० वटा झुटो धम्की दिइएको थियो । उडानमा ढिलाइ र मोडाइको विश्वव्यापी प्रभाव एयरलाइन्स तािलका र लागतमा धेरै परेको छ । भारतमा कम्तीमा एक जना नाबालक पक्राउ परेका छन् । यद्यपि धम्कीहरू जारी छन् । बुधबार पक्राउ परेपछि भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडूले भने, ‘अवरोध सिर्जना गर्ने अन्य सबै जिम्मेबार व्यक्तिको पहिचान गरिनेछ र विधिवत् मुद्दा चलाइनेछ ।’ शुक्रबार र शनिबार कम्तीमा ४० उडानलाई बमको धम्की पोस्ट गरेपछि सामाजिक सञ्जाल एक्समा एक बेनामी खाता निलम्बन गरिएको द इन्डियन एक्सप्रेसको एक रिपोर्टले बताएको छ । यसमा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डका समेत गरी भारतीय र अन्तर्राष्ट्रिय एयरलाइन्स दुवै समावेश थिए । इन्डियन एक्सप्रेसका अनुसार निलम्बित खाताबाट पठाइएका समान सन्देशहरूमा लेखिएको थियो, ‘बोर्डमा बमहरू राखिएका छन्। कोही पनि जीवित बाँच्ने छैन । हतार गर्नुहोस् र विमान खाली गर्नुहोस् ।’ हालै प्रभावित उडानहरूमध्ये शनिबार सुरक्षित अवतरणपछि अमेरिकी सुरक्षा अधिकारीहरूले मुम्बईबाट न्युयोर्कको एयर इन्डिया उडानको जाँच गरेका थिए । प्रभावित अन्य उडानहरूमा नयाँदिल्लीबाट शिकागो जाने एयर इन्डिया विमान थियो । उक्त विमान मंगलबार क्यानाडाको सुदूर उत्तरी शहर इक्वालुइटमा आपत्कालीन अवतरण गर्न बाध्य भएको थियो । क्यानाडाको वायुसेनाले यात्रुहरूलाई उडान गराउनुपरेको थियो । सोही दिन सिंगापुरले एयर इन्डिया एक्सप्रेस विमानलाई एस्कर्ट गर्न लडाकू जेटहरू खटाएको थियो । बिहीबार विमानविरुद्ध धम्की दिइएपछि बेलायती आरएएफ लडाकू जेटहरूले एयर इन्डिया बोइङ ७७७–३०० लाई एस्कर्ट गरेपछि लन्डनमा सुरक्षित अवतरण भएको थियो । शुक्रबार नयाँदिल्लीबाट लन्डन जाने भिस्तारा उडान जर्मनीको फ्रेंकफर्टमा मोड्नु परेको थियो । रासस
युद्धले आक्रान्त अफगानी, ४८ प्रतिशत गरिबीको रेखामुनि
काठमाडौं । दशकौंदेखिको विदेशी आक्रमण, आन्तरिक द्वन्द्व र गृहयुद्धले अफगानिस्तानलाई विनाश, विस्थापन र चरम गरिबीको अवस्थामा पुर्याएकाे छ । युद्धपछि अफगानिस्तानका स्थानीय जनता अझै पनि गरिबीले त्रसित छन् । आफ्नो जन्मभूमि कुन्दुज प्रान्तको द्वन्द्वबाट भागेका जाहिर अहिले काबुलको एउटा बस्तीमा बस्छन् । उनले आफ्नोजस्तै परिवारहरूको लागि भयानक वास्तविकता वर्णन गरे । खाना निरन्तर चिन्ताको विषय बनेको उनले सुनाए । युद्धग्रस्त हेलमाण्ड प्रान्तका गुल १८ वर्षदेखि काबुलमा बस्दै आएका छन् । उनले युद्धले आफूसँग भएको सबै थोक भष्म पारेको बताए । अगस्टमा मानवीय मामिला समन्वय कार्यालयको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देशको आधाभन्दा बढी जनसंख्यालाई (२३.७ मिलियन अफगानीहरूलाई) मानवीय सहायताको आवश्यकता रहेको बताएको छ । ४८ प्रतिशत गरिबीको रेखामुनि बस्ने गरेको खुलासा गरेको छ । अफगानिस्तानको कार्यवाहक प्रशासनले रोजगारी सिर्जना गर्न र गरिबी घटाउन नहर, खानी र सडकलगायत विकास परियोजनाहरू सुरु गरेको छ । तर स्थानीयवासीले चुनौती पार गर्न वर्षौं लाग्ने विश्वास गरेका छन् ।
५० हजारभन्दा बढी रोजगारी थपेपछि सेप्टेम्बरमा अस्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशतमा स्थिर
काठमाडौं । अस्ट्रेलियाको बेरोजगारी दर सेप्टेम्बरमा ४.१ प्रतिशतमा स्थिर रहेको छ । अर्थव्यवस्थाले ५० हजारभन्दा बढी रोजगारी थपेसँगै बेरोजगारी ४.१ प्रतिशतमा स्थिर रहेको हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा प्रकाशित आधिकारिक श्रम शक्ति डेटाले सेप्टेम्बरमा बेरोजगारी ४.१ प्रतिशत रहेको देखाएको छ । अर्थव्यवस्थाले अगस्ट र सेप्टेम्बरमा ६४ हजार एक सय जागिरहरू थपेको छ । जसमा ५१ हजार ६ सय पूर्ण–समय कामहरू समावेश छन् । इतिहासमा पहिलो पटक सेप्टेम्बरमा अस्ट्रेलियामा पूर्ण–समय काम गर्ने मानिसहरूको संख्या १० मिलियन नाघेको छ । रोजगारी–जनसङ्ख्या अनुपात अगस्टमा ६४.३ प्रतिशतबाट बढेर सेप्टेम्बरमा ६४.४ प्रतिशतको समान रेकर्ड उच्चमा पुगेको छ । रोजगारीमा रहेका वा सक्रिय रूपमा कामको खोजीमा रहेका काम गर्ने उमेरको जनसंख्याको अनुपात मापन गर्ने सहभागिता दर ६७.२ प्रतिशतको नयाँ रेकर्ड उच्चमा पुगेको छ । अगस्ट र सेप्टेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गर्ने कुल घण्टाको संख्या ०.३ प्रतिशतले बढेर १.९६८ बिलियन पुगेको छ । तथ्याङ्कको जवाफ दिँदै कोषाध्यक्ष जिम चाल्मर्सले हालको सरकारले २०२२ मा सत्तामा आएदेखि १० लाख रोजगारी सिर्जना गरेको तथ्याङ्कले देखाएको बताए ।