शीर्ष धनीको सूचीमा किन पर्न चाहँदैनन् चीनका टाइकुनहरू ? यस्तो छ कारण
ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ । फाइल तस्बिर । तस्बिर: ब्लुमबर्ग । काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यहाँका जनताको सम्पत्ति द्रूत गतिमा बढिरहेको छ तर चिनियाँ टाइकुनहरू अरबपतिहरूको सूचीमा शीर्षमा रहन चाहँदैनन् । यसको कारण हाे- चिनियाँ कम्युनिष्ट पार्टीले अति धनीलाई निशाना बनाउनु । गत महिना ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ चीनको सबैभन्दा धनी व्यक्ति बनेपछि चर्चामा आए । तर उनको नाम चर्चामा आएपछि पीडीडीले नाफाको अनुमानलाई कम गरेर लगानीकर्ताहरूलाई छक्क पार्यो । यसको सेयरमा भारी गिरावट आएको छ । ह्वाङले रातारात १४ अर्ब डलर गुमाए र पेय पदार्थ कम्पनी नोङफु स्प्रिङका संस्थापक शान्सन झोङ फेरि चीनको शीर्ष अर्बपति बने । २४ घण्टाभित्र नोङफु स्प्रिङले अप्रत्याशित रूपमा आफ्नो निराशाजनक आउटलुक जारी गर्यो र झोङ पनि चाँडै धनी सूचीमा पहिलो स्थानबाट झरे । उक्त घटनाबाट सरकारी कारबाहीबाट बच्न कर्पोरेट दिग्गजहरूले कसरी आफ्नो सेयर मूल्यलाई प्रभाव पार्न सक्छन् भनेर चिनियाँ सोशल मिडियामा छलफल सुरु भयो । सी चिनफिङको ‘साझा समृद्धि’ अभियानको मुख्य जोड भनेको उच्च धनीहरूमाथि कारबाही गर्नु हो । एक वाल स्ट्रीट ब्रोकरले ‘चीनमा के कोही पनि धनी व्यक्ति बन्न चाहँदैन?’ भन्ने कुराकाे निष्कर्षमा पुग्न असम्भव भएकाे बताए । पुरानो मानसिकता सन् १९७० को दशकको उत्तरार्धमा देङ सियाओपिङ सर्वोच्च नेता बनेपछि पुरानो माओवादी मानसिकता परिवर्तन गर्न काम सुरु गरे । विशेषगरी धन कमाउने प्रति वैचारिक शत्रुता परिवर्तन हुन थाल्यो । बढ्दो पुँजीवादी राष्ट्रमा धनी बन्नु ठूलो कुरा हो भनी उनले सोचे । धनी बन्नु शानदार थियो तर धेरै धनी बन्नु थिएन । चीनले अन्य विकासोन्मुख देशहरूको तुलनामा धेरै सम्पत्ति आर्जन गरिरहेको थियो, तर पनि नाइजेरिया, मेक्सिको र भारतलगायत साना अर्थतन्त्रहरूको तुलनामा यसको सबैभन्दा ठूलो व्यक्तिगत सम्पत्ति मामूली नै रह्यो । २००० दशकाे आर्थिक छलाङकाे समयमा पनि त्यहाँ एक अलिखित सीमा थियो । उक्त सीमाले कसैको व्यक्तिगत सम्पत्ति १० बिलियन डलरभन्दा बढी बढ्न दिँदैन थियाे । कम्तीमा दुई अर्बपतिहरूको कुल सम्पत्ति २०१० को प्रारम्भमा १० बिलियन डलरकाे नजिक पुगेकाे थियाे । तर चाँडै नै उनीहरू भ्रष्टाचारको आरोपमा जेल परे । आरोप निराधार थिए भन्न सकिँदैन तर यसले शंका भने उब्जाएकाे छ । निशानामा काे छ ? सत्तारूढ दललाई हरेक व्यवसायको सम्पूर्ण जानकारी भएकाले धेरै उद्यमी डरले बाँचिरहेका थिए । सन् २०१२ मा सी जीनपीङ सत्तामा आएपछि उनले कुलीन वर्गहरूमाथि भ्रष्टाचारविरुद्धको अभियान चलाए । सुरुमा सार्वजनिक पदमा रहेका ठूला व्यक्तिहरू उनको निशानामा थिए । तर चीनको अर्थतन्त्र सुस्त भएपछि ठूला टेक कम्पनीहरू पनि सरकारको निशानामा परेका छन् । पछिल्ला वर्षहमा धेरै चिनियाँले १० बिलियन अमेरिकी डलरभन्दा बढीको नेट वर्थ बनाए । यसमा अलिबाबाका संस्थापक ज्याक मा सबैभन्दा अगाडि थिए । यो अवस्था २०२० मा परिवर्तन भयो । चीनले लगभग २४० अरबपतिहरू उत्पादन गर्याे जुन अमेरिकाको दोब्बर संख्या हो । २०२० काे अन्त्यमा ज्याक माले चीनको सरकारको आलोचना गर्दै भाषण दिए । उनीमाथि कडा कारबाही भयो । अलिबाबाको सेयर मूल्य घट्यो । ज्याक मा धनीहरूको सूचीबाट झरे र जनताको नजरबाट गायब भए । अर्को वर्षको सुरुमा सीले आफ्नो ‘साझा समृद्धि’ अभियान सुरु गरे । चिनियाँ नेतृत्वको ‘समानतावादी’ मूल्यमान्यतासँग मेल नखाने सबै कम्पनीहरू विरुद्ध कारबाही गरियो । बढ्दै छ समस्या चीनमा धेरै धनी हुनु खतरनाक छ । दबाबका कारण भेन्चर क्यापिटल वित्त सुक्न थालेपछि युवाहरू इन्भेष्टमेन्ट अनि बैंकिङजस्ता आकर्षक पेशामा करिअर बनाउन डराउँछन् । धनाढ्यहरू द्रूत गतिमा देश छाडिरहेका छन् । कारबाही सुरु भएदेखि चीन छोड्ने करोडपतिहरूको संख्या बढ्दै गएको छ । गत वर्ष यस्ताे संख्या १५ हजारभन्दा बढी पुगेको थियाे । यो कुनै पनि अन्य देशको तुलनामा धेरै हो । यसकाे प्रमाण याे पनि हाे कि निजी क्षेत्र अब चीनमा पछि हटिरहेको छ । यसले चीनलाई महाशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्याे तर चिनियाँ सरकारकाे नीतिले उल्टै असर गरिरहेकाे छ । २०२१ देखि सेयर बजार ओरालो लागेको छ । तर सरकारी कम्पनीहरूले कुल बजार पूँजीकरणमा आफ्नो हिस्सा एक तिहाइभन्दा धेरै बढाएर ५० प्रतिशत पुर्याएका छन् । चीन अहिले विश्वको एक मात्र ठूलो सेयर बजार हो जहाँ सरकारी स्वामित्वका कम्पनीहरूको मूल्य निजी क्षेत्रका कम्पनीहरूको बराबर छ । पछिल्लो तीन वर्षमा व्यक्तिगत सम्पत्तिमा नाटकीय रूपमा गिरावट आएको छ । चीनमा अर्बपतिको संख्या ३५ प्रतिशतले घटेको छ भने बाँकी विश्वमा १० प्रतिशतले बढेको छ । – एजेन्सीहरूकाे सहायताबाट
‘एप्पल’को जागिर छाडेर निर्मितले बनाए ‘९ हजार करोड’को कम्पनी
निर्मित पारेख । फाइल तस्बिर । काठमाडौं । मुम्बईको मायानगरीमा रहेकाे एक साधारण परिवारका निर्मित पारेखले एप्पलजस्तो ठूलो कम्पनीमा जागिर छोडेर ९ हजार करोडको बिजनेश खडा गर्न सफल भएका छन् । उनले ‘अपना’ नामको प्लेटफर्म बनाएका छन् । यसले ब्लु कलर जब (शारीरिक श्रममा आधारित) खोज्नेहरू र कम्पनीहरूलाई जोड्दछ । स्थापना भएकाे २२ महिनामा कम्पनी १.१ बिलियन डलर (लगभग ९ हजार १६ करोड भारु)को भएको छ। आज ‘अपना’ मा १ लाख ५० हजारभन्दा बढी कम्पनी दर्ता भएका छन् । यसमा अनएकेडेमी, बिगब्यास्केट, लिसियस, ह्वाइटह्याट जुनिअर, फ्लिपकार्ट, जाेमाटाे, डेल्हीवेरीजस्ता ठूला नाम समावेश छन्। काे हुन् निर्मित पारेख? उनकाे बारेमा संक्षिप्तमा जानाैं । सानैदेखि केही फरक गर्न चाहना राख्ने पारेखमा सानैदेखि केही फरक गर्ने विचार थियो । ७ वर्षको उमेरमा उनले डिजिटल घडी बनाएका थिए । त्यसपछि १३ वर्षको उमेरमा उनले रोबोटिक्स प्रोग्रामिङ सिके । पारेखले गुजरातको ‘निरमा इन्स्टिच्युट अफ टेक्नोलोजी’बाट बीटेक गरे। २१ वर्षको उमेरमा आफ्नो पहिलो स्टार्टअप सुरु गरे । जसको नाम इन्कोन टेक्नोलोजी थियो । यो कम्पनीले बाढी व्यवस्थापनका लागि समाधान तयार गर्ने गर्दथ्यो । स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए इन्काेनपछि पारेखले क्रक्सबक्स नामको अर्को कम्पनी खोले । पछि उनले यसलाई इन्टेललाई बेचेका थिए । त्यसपछि उनले डाटा एनालिटिक्सको निर्देशकको रूपमा इन्टेलमा काम गर्न थाले । यस अवधिमा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबीए पनि गरे । एमबीए गरेपछि पारेख एप्पल कम्पनीसँग जाेडिए । त्यहाँ उनी आईफोन उत्पादन र रणनीति टोलीको एक हिस्सा बनेका थिए । यसरी सुरु भयो ‘अपना’ भारतमा ब्लु कलर जागिरको क्षेत्रमा देखिएको समस्या देखेर पारेखले एप्पलको जागिर छोडेर भारत फर्कने निर्णय गरेका हुन् । उनको उद्देश्य एउटा प्लेटफर्म सिर्जना गर्नु थियो जसले असंगठित ब्लु कलर जबका कामदारहरूलाई रोजगारदाताहरूसँग जोड्न सकाेस् । उनले कोरोना महामारीअघि नै ‘अपना’ सुरु गरेका थिए । ब्लु कलर जब शारीरिक श्रममा आधारित हुन्छ । २२ महिनामै धमाका स्थापना भएको २२ महिनामा अपनाले निकै धमाका गरिसकेकाे छ । कम्पनी १२५ प्रतिशतकाे प्रभावशाली दरमा बढ्दै गइरहेकाे छ । अहिले भारतमा १ लाख ५० हजारभन्दा बढी कम्पनीहरूले अपनाकाे प्रयोग गरिरहेका छन् ।
सन् २०२५ मा रुसको रक्षा खर्च ‘एक खर्ब ४५ अर्ब डलर’को हुने
रुसले आगामी वर्ष आफ्नो रक्षा खर्चमा करिब ३० प्रतिशतले वृद्धि गर्ने योजना बनाएकाे छ । रुसले युक्रेनमा आफ्नो आक्रामक अभियानलाई वित्तीय सहयोग प्रदान गर्न थप स्रोतहरूको उपयोग गरिरहेको छ । युक्रेनमा आक्रमण गर्न क्षेप्यास्त्र र ड्रोनहरू उत्पादन गरिरहेको र अग्रपङ्क्तिमा लड्ने आफ्ना लाखौं सैनिकलाई लाभदायक तलब प्रदान गरिरहेको मस्कोले पहिलेदेखि नै आफ्नो सैन्य खर्चलाई सोभियत सङ्घको युगपछि नदेखिएको स्तरमा बढाइसकेको छ । सोमबार प्रकाशित बजेट योजनाको मस्यौदाका अनुसार पछिल्लो योजनाबद्ध वृद्धिले रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल (एक खर्ब ४५ अर्ब डलर) को हुनेछ । रक्षा र सुरक्षामा संयुक्त खर्चले रुसको कूल सरकारी खर्चको करिब ४० प्रतिशत हिस्सा ओगट्नेछ । यो सन् २०२५ मा चार सय १५ खर्ब रुबल हुने अनुमान गरिएको छ । रुसको संसदमा मस्यौदा बजेट पठाउनुअघि मस्कोले उच्च सैन्य खर्चका साथै लगानी र सामाजिक कल्याणमा वृद्धिको घोषणा गरेको छ । र्थमन्त्री एन्टोन सिलुआनोभले गत मङ्गलबार एक टेलिभिजन सरकारी बैठकमा बजेटको ‘शीर्ष प्राथमिकता’ ‘नागरिकहरूको सामाजिक समर्थन’ रहेकाे बताएका थिए । ‘राष्ट्रिय रक्षा’ मा योजनाबद्ध खर्च मस्कोले ‘सामाजिक नीति’ भनेर लेबल गरेका क्षेत्रहरूमा विनियोजन गरिएको रकमको दोब्बरभन्दा बढी छ ।