भारतका ९ ठूला सहरको घरजग्गा कारोबारमा मन्दी, मूल्य आकासिँदा किन्ने घटे

काठमाडौं । कोरोना महामारीपछि भारतमा घरजग्गा बजारमा आएको उछालमा अब ब्रेक लागेको तथ्यांकले देखाएको छ । लामो समयपछि भारतमा घरजग्गा बिक्री घट्ने अनुमान गरिएको छ । घरजग्गा तथ्यांक विश्लेषक कम्पनी प्रोपइक्विटीका अनुसार जुलाई-सेप्टेम्बरको त्रैमासिकमा देशका ९ प्रमुख सहरमा घर बिक्री १८ प्रतिशतले घटेर १ लाख ४ हजार ३ सय ९३ युनिट हुने अनुमान छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख २६ हजार ८ सय ४८ युनिट बिक्री भएको थियो । यसमा सबैभन्दा बढी गिरावट हैदराबादमा ४२ प्रतिशत हुनसक्छ । यसपछि बेंगलुरुमा २६ प्रतिशत, कोलकातामा २३ प्रतिशत, पुणेमा १९ प्रतिशत, चेन्नईमा १८ प्रतिशत, मुम्बईमा १७ प्रतिशत र ठाणेमा १० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ। तथ्यांकअनुसार, यो वर्ष जुलाई-सेप्टेम्बरमा दिल्ली-एनसीआरमा मात्र २२ प्रतिशत र नवी मुम्बईमा ४ प्रतिशतले घर बिक्री बढ्ने अनुमान गरिएको छ । रियल एस्टेट एक्सपर्ट र प्रोपर्टी ब्रोकरका अनुसार पछिल्लो दुई वर्षमा घरजग्गाको मूल्य ५० देखि ७० प्रतिशतसम्म बढेको छ । घरजग्गा बजारमा किफायती वा कम लागतका प्रोपर्टीहरूको ठूलो अभाव छ । विकासकर्ताहरू लक्जरी परियोजनाहरूमा मात्र केन्द्रित छन् । प्रमुख सहरहरूमा २ बीएचके फ्ल्याटको मूल्य करोड पुगेको छ । जसका कारण मध्यम वर्ग वा मजदुर वर्गले चाहेमा घर किन्न पाउँछन् । लगानीकर्ताहरूले द्रुत रूपमा बढ्दो सम्पत्तिको मूल्यको फाइदा लिन ठूलो मात्रामा पैसा लगानी गरिरहेका छन् । यस्तै, एड यूजर्स बजारबाट गायब हुँदैछन् । लगानीकर्ताको एकल आधारमा कही पनि सम्पत्ति बजार लामो समयसम्म चल्न सक्दैन । त्यसैले अहिले माग घट्दै गएको छ । जनताको आम्दानीमा भएको वृद्धिको अनुपातमा घरजग्गाको भाउ नबढ्ने भएकाले भविष्यमा स्थिति झन् खराब हुनसक्छ । घरजग्गाको मूल्य अव्यवस्थित रूपमा बढेको छ । यसले गम्भीर मन्दी निम्त्याउन सक्छ । समयमै कदम नचाले भारतको घरजग्गा बजारले फेरि एकपटक लामो मन्दीको सामना गर्न सक्ने विज्ञहरूले बताएका छन् । बेंगलुरुमा २५ प्रतिशत गिरावटको आशंका बेंगलुरुमा घर जग्गाबिक्री जुलाई-सेप्टेम्बरमा २५ प्रतिशतले घटेर १३ हजार ३ सय ५५ इकाई हुने अनुमान गरिएको छ जुन अघिल्लो वर्षको अवधिमा १७ हजार ९ सय ७८ इकाई थियो । जबकि चेन्नईमा घर बिक्री १८ प्रतिशतले घटेर ४ हजार ६ सय ३४ इकाई हुन सक्छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ हजार ६ सय २८ इकाई थियो । यस्तै, हैदराबादमा आवासीय सम्पत्तिहरूको बिक्री समीक्षा अवधिमा ४२ प्रतिशतले घटेर १२ हजार ८२ इकाई हुने अनुमान गरिएको छ । कोलकातामा बिक्री गत वर्षको सोही अवधिमा ४ हजार ६ सय ३४ युनिटको तुलनामा २३ प्रतिशतले घटेर ३ हजार ५ सय ९० इकाई हुन सक्ने अनुमान गरिएको छ । मुम्बईमा आवास बिक्री १७ प्रतिशतले घटेर १० हजार ९ सय ६६ युनिट हुने अनुमान गरिएको छ । उही समयमा, नवी मुम्बईमा बिक्री ४ प्रतिशतले बढेर ७हजार ७ सय ३७ इकाई हुने सम्भावना छ । एजेन्सी

जापानमा आफ्नैहरूबाट ठगिन्छन् नेपाली विद्यार्थी, कोठा पाउन मुस्किल

जापान । नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यका रूपमा पछिल्लो समय जापान अग्रस्थानमा आउँछ । जापानमा आएर अध्ययन तथा काम गर्ने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । हाल करिब ६० हजार नेपाली विद्यार्थी जापानका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत रहेको विभिन्न सरकारी तथ्यांकले देखाउँछ । विद्यार्थीले अनुमति लिएर सातामा २८ घण्टासम्म काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सक्ने सुविधा भएकोले पनि जापानमा आउने नेपाली विद्यार्थीको संख्या बढेको हो । यो सुविधाले नै नेपाली विद्यार्थीलाई आकर्षित गरिरहेको छ । भाषा तथा सिप विकास भइसकेपछि रोजगारीका अवसरहरू प्रशस्त भएकोले पनि नेपाली यहाँका विभिन्न शहरमा आउने गरेका छन् । अवसरहरू राम्रो भएपनि पछिल्लो समय विद्यार्थीको संख्या बढेसँगै गलत क्रियाकलापले पनि प्रशय पाइरहेका छन् । पछिल्लो समय नेपाली विद्यार्थीले नेपालीलाई नै ठग्ने गलत क्रियाकलाप जापानमा बढेका छन् । रोजगारीको अभाव, भाषा र सिपको कमीले नेपाली विद्यार्थीले नेपालीलाई नै ठगी गर्ने घटनाहरू बढ्दै गएका हुन् । जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीले आफ्नै देशका नागरिकबाट ठगीमा परेको गुनासो गरेका हुन् । पीडित विद्यार्थीहरूको भनाइअनुसार उनीहरूलाई कोठा खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको हो । उनीहरूले होस्टलबाट कोठा खोज्दा एक नेपाली दिदीको सहयोग मागेको तर उनले ठूलो रकम असुलेर सम्पर्कविहीन भएको पीडित एक विद्यार्थीले भने । ‘हामीले जापानमा सहयोग गर्ने गरेको सुनेर परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग माग्यौं । तर, उनले जनक थापा र उमेश तामाङ नामका व्यक्तिसँग सम्पर्क गराइन्, उनीहरूले हाम्रो जाइरो कार्ड र इनकान समेत लिए । कोठा नखोजेर पैसा लिएर सम्पर्कविहीन बने,’ ती विद्यार्थीले गुनासो गरे । कोठा व्यवस्थापनको क्रममा नक्कली कागजात बनाइ विद्यार्थीहरूलाई कोठा सारिएको थियो । उनीहरूले बैंकबाट भाडा काटिने र पानी निःशुल्क हुने आश्वासनसमेत दिएका थिए । तर, पछि पानीको बिल अरूकै नाममा अएको र रुम भाडा नगदमा मागिएको उनीहरूको भनाइ छ । आफूहरूले आफ्नो गाक्कोमा गएर कागजात देखाउँदा नेपाली शिक्षकले कागजात नक्कली भएको जानकारी दिए । पछि उनीहरूले प्रहरीलाई पनि खबर गरेको बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दा रकम ठगी गर्ने नियतका साथ उनीहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीमा मनलाग्दी नाम राखेको फेला परेको छ । उनीहरूका अनुसार उनीहरूले ४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । पछि प्रहरीको सहयोगमा ठगी गर्नेले पैसा फिर्ता गरिसकेको पनि बुझिएको छ । उनीहरूले अरूलाई पनि यस्तो ठगीबाट बच्न आग्रह गरेका छन् । जापान कानूनी रूपमा निकै सशक्त देश भएकोले ठगीको शिकार भएर चुप बस्नुभन्दा कानूनी सहायता लिनु नै उचित हुने राय उनीहरूको छ । जापानमा नेपाली विद्यार्थीहरू अलपत्र पर्ने, हराउने तथा चोरी डकैतीको शिकार बन्ने गरेका घटनाहरू बेला बखत सार्वजनिक हुने गरेका छन् । यसबाट बच्नका लागि विद्यार्थीलाई सरोकारवालाले सुझाव दिएका छन् ।

यी हुन् विश्वका १० महँगा कलेज, कति लाग्छ शुल्क ?

  काठमाडौं । आजभोलि विश्वभरका विद्यार्थी आफ्नो अध्ययनको सिलसिलामा विभिन्न देशमा पुग्छन् । नेपालका विद्यार्थी पनि आफूलाई मन परेको विषय पढ्न विभिन्न देशमा पुगेका छन् । विशेषगरी नेपाली विद्यार्थीको प्रमुख गन्तव्यमा जापान, अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका देश रहेका छन् । कतिपय विद्यार्थी विश्वका महँगा कलेजमा पनि अध्ययन गरिरहेका छन् । कतिपय विद्यार्थीलाई कुन कलेज कति महँगा छन् र त्यहाँ कस्ता विषयहरू पढाइ हुन्छन् भन्ने थाहा नहुन सक्छ । अझ कतिपयलाई आफूले पढ्न चाहेको विषय पढ्दा कति पैसा लाग्छ भन्नेसमेत थाहा भएको हुँदैन । आउनुहोस् आज हामी विश्वका १० कलेज जहाँ पढाइ हुने विषय र पढ्दा लाग्ने खर्चबारे छाेटकरीमा चर्चा गर्नेछाैं । हार्वी मड कलेज हार्वी मड कलेज संसारको सबैभन्दा महँगो कलेज हो । यो संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाको क्लेयरमोन्टमा अवस्थित निजी लिबरल आर्ट्स कलेज हो । यस कलेजलाई विज्ञान, इन्जिनियरिङ, गणित, र कम्प्युटर विज्ञानमा केन्द्रित शिक्षा प्रदान गर्ने संस्थाको रूपमा चिनिन्छ । यो एउटा यस्तो कलेज हो जसले आफ्ना सबै विषयहरूमा स्नातक तहको विज्ञान बिएस्सी उपाधि प्रदान गर्छ । यो कलेजमा पढ्न वार्षिक शुल्क ८० हजार ३६ अमेरिकी डलर तिर्नुपर्छ । कलेजमा ९ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । ९ सय जना फ्याकल्टीज (संकाय सदस्य) कार्यरत छन् । यहाँ जीवविज्ञान, रसायन विज्ञान, कम्प्युटर विज्ञान, इन्जिनियरिङ, गणित र भौतिक विज्ञान अध्ययन गराइन्छ । यो कलेज सन् १९५५ मा स्थापना भएको हो । कोलम्बिया विश्वविद्यालय कोलम्बिया विश्वविद्यालय संसारको दोस्रो सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्ने विद्यार्थीले वार्षिक ७१ हजार १ सय ७ अमेरिकी डलर तिरिरहेका छन् । यो अमेरिकाको न्यूयोर्क सिटीमा अवस्थित एउटा निजी आइवी लिग अनुसन्धान विश्वविद्यालय हो । यसलाई देशको सबैभन्दा पुरानो र प्रतिष्ठित विश्वविद्यालमध्ये एकमा चिनिन्छ । कोलम्बिया विश्वविद्यालयमा करिब ३३ हजार विद्यार्थी र ४ हजार फ्याकल्टीज छन् । यो विश्वविद्यालय १७५४ मा बेलायतका राजा जर्ज द्वितीयको शाही चार्टरद्वारा किंग्स कलेजको रूपमा स्थापना गरिएको थियो । साथै यो अमेरिकी क्रान्तिअघि स्थापना गरिएका नवउपनिवेशकालीन कलेजहरूमध्ये एक हो । यहाँ वास्तुकला, व्यवसाय, इन्जिनियरिङ, पत्रकारिता ,कानुन, चिकित्सा अध्यापन गराइन्छ । अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामा, अमेरिकाका संस्थापक सदस्य अलेक्जन्डर ह्यामिल्टन र अर्बपति वारेन बफेटले पनि यही कलेजमा पढेका हुन् । ब्राउन विश्वविद्यालय ब्राउन विश्वविद्यालय संसारको तेस्रो सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्न विद्यार्थीले वार्षिक ७० हजार ४ सय २५ डलर तिर्नुपर्छ । यो अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्समा अवस्थित एउटा निजी आइवी लिग अनुसन्धान विश्वविद्यालय हो । यस विश्वविद्यालयलाई यसको लचिलो पाठ्यक्रमको लागि चिन्ने गरिन्छ । कलेजले विद्यार्थीलाई आफ्नै अध्ययन योजना बनाउन अनुमति दिन्छ । ब्राउन विश्वविद्यालयमा करिब १० हजार विद्यार्थी र ७ सय फ्याकल्टीज छन् । यस कलेजको स्थापना १७६४ मा ‘कलेज इन द इङ्ग्लिश कालोनी अफ रोड आइल्याण्ड एण्ड प्रोभिडेन्स प्लान्टेशन’ को रूपमा भएको थियो । यो पनि अमेरिकी क्रान्तिअघि चार्टर प्राप्त नौ उपनिवेशकालीन कलेजहरूमध्ये एक हो । यहाँ मानवशास्त्र,अर्थशास्त्र, इतिहास, स्नायुविज्ञान, दर्शनशास्त्र, मनोविज्ञानको पढाइ हुन्छ । युनिभर्सिटी अफ सिकागो युनिभर्सिटी अफ सिकागो संसारको चौंथो सबैभन्दा महँगो कलेज हो । जसमा वार्षिक शुल्क ६९ हजार ९ सय ६० डलर रहेको छ । यो अमेरिकाको सिकागोमा अवस्थित एउटा निजी अनुसन्धान विश्वविद्यालय हो । यसलाई शैक्षिक कठोरता, बौद्धिक विविधता र नवीनताका लागि चिनिन्छ । यस विश्वविद्यालयमा करिब १ हजार ७ सय विद्यार्थी र २ हजार ३ सय संकाय सदस्य छन् । १८९० मा यो विश्वविद्यालयको स्थापना प्रसिद्ध व्यवसायी र परोपकारी जोहन डी. रकफेलरले गरेका थिए । युनिभर्सिटी अफ सिकागो एसोसिएसन अफ अमेरिकन युनिभर्सिटिजका संस्थापक सदस्यहरूमध्ये एक हो । डार्टमाउथ कलेज यो कलेज विश्वको पाँचौं सबैभन्दा महँगो कलेजका रूपमा चिनिन्छ । यहाँ पढ्न वार्षिक शुल्क ६९ हजार ८ सय ७९ डलर लाग्छ । यो अमेरिकाकाे न्यू ह्याम्पशायरकाे एक निजी आइवी लीग अनुसन्धान विश्वविद्यालय हो । यो उदार कला शिक्षा, स्नातक फोकस र बाहिरी गतिविधिहरूको लागि परिचित छ । यसमा लगभग ७ हजार विद्यार्थी र ६ सय संकाय सदस्य छन् । कलेजको स्थापना १७६९ मा मण्डलीका मन्त्री इलिजर व्हीलकद्वारा गरिएको थियो । यो अमेरिकी क्रान्तिअघि चार्टर्ड नौ औपनिवेशिक कलेजहरू मध्ये एक हो। यो कलेजमा जीवविज्ञान, इन्जिनियरिङ, संगीत, मनोविज्ञान, थिएटर आदिकाे अध्यापन गराइन्छ । प्रख्यात वकिल र राजनेता डेनियल वेबस्टर, अभिनेत्री मेरिल स्ट्रिप, अभिनेत्री र लेखिका मिन्डी कलिङ यो कलेजका पूर्वविद्यार्थी हुन् । क्लेरमन्ट म्याकेना कलेज यो कलेज संसारको छैठौं सबैभन्दा महँगो कलेज हो । जसमा वार्षिक शुल्क मात्र ६९ हजार ७ सय २५ डलर लाग्छ । यो अमेरिकाकाे क्यालिफोर्नियामा रहेको एक निजी उदार कला कलेज हो । यो नेतृत्व, सामाजिक उत्तरदायित्व र सार्वजनिक मामिलाहरूका लागि परिचित छ । यसमा लगभग १ हजार ३ सय स्नातक विद्यार्थी र ९० संकाय सदस्य छन् । कलेज १९९४ मा स्थापना भएको हो र कलेजमा लेखा, अन्तर्राष्ट्रिय सम्बन्ध, दर्शन, विज्ञान व्यवस्थापन, समाजशास्त्र पढाइ हुन्छ । टफ्ट्स विश्वविद्यालय टफ्ट्स विश्वविद्यालय विश्वको सातौं सबैभन्दा महँगो कलेज हो । यहाँ वार्षिक शुल्क ६९ हजार १ सय ९० डलर छ । अमेरिकामा रहेकाे याे निजी अनुसन्धान विश्वविद्यालय हो । यसको अन्तःविषय दृष्टिकोण, शैक्षिक उत्कृष्टता र सिभिक इंग्गेजमेन्टको लागि परिचित छ । यसमा लगभग १२ हजार विद्यार्थी र १ हजार ५ सय संकाय सदस्य छन् । विश्वविद्यालय १८५२ मा क्रिश्चियन युनिभर्सलिस्टहरूद्वारा स्थापित गरिएको थियो ।  यो न्यू इङ्गल्याण्ड स्मल  कलेज एथ्लेटिक कन्फेरेन्सको सदस्यहरूमध्ये एक हो । यहाँ बायोमेडिकल इन्जिनियरिङ, वातावरणीय अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीतिक विज्ञान, मनोविज्ञान, समाजशास्त्र विषय अध्ययापन गराइन्छ । एमहर्स्ट कलेज एमहर्स्ट कलेज संसारको आठौं महँगो कलेज हो । यहाँ वार्षिक ६८ हजार ६ सय ३४ डलर तिर्नुपर्छ । यो पनि अमेरिकाकाे एक निजी उदार कला कलेज हो । यो यसको खुला पाठ्यक्रम, शैक्षिक कठोरता र विविधताको लागि परिचित छ । यसमा लगभग १ हजार ८ सय विद्यार्थी छन् भने २ सय संकाय सदस्यहरू छन् । यसको स्थापना १८८१ मा भएको थियो । यहाँ कला, इतिहास, अर्थशास्त्र, अंग्रेजी, गणित, संगीत र भौतिकशास्त्रको पढाइ हुन्छ । साउथर्न क्यालिफोर्निया विश्वविद्यालय साउथर्न क्यालिफोर्निया विश्वविद्यालय संसारको नवौं सबैभन्दा महँगो कलेज हो । यहाँ अध्ययन गर्ने विद्यार्थी वार्षिक शुल्क २८ हजार ६ सय २८ डलर तिर्नुपर्छ । यो अमेरिकाकाे लस एन्जलसमा अवस्थित छ । यहाँ लगभग ४७ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने ४ हजार संकाय सदस्य छन्। विश्वविद्यालय १८८० मा नागरिक अगुवाको समूहले स्थापना गरेको कलेज हो । यहाँ वास्तुकला, सिनेमा कला, इन्जिनियरिङ, पत्रकारिता, औषधी, साेसल वर्क विषयमा पढाइ हुन्छ । यहाँ फिल्म मेकर जर्ज लुकास, अन्तरिक्षयात्री नेल आर्म्सट्राेङ, कलाकार विल फेररलगायतले अध्ययन गरेका थिए । कार्नेगी मेलन विश्वविद्यालय यो विश्वविद्यालय संसारको दशौं महँगो कलेज हो । यहाँ अध्ययन गर्न वार्षिक शुल्क ६८ हजार ४ सय ७८ तिर्नुपर्छ । यो अमेरिकाको पेन्सिलभेनियामा रहेकाे एक अनुसन्धानात्मक विश्वविद्यालय हो । यो कलेज विज्ञान विषयका लागि उत्कृष्ट मानिन्छ । यहाँ अहिले १४ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने १ हजार ४ सय संकाय सदस्य छन् । यो विश्वविद्यालयको स्थापना  १९०० मा भएको हो । यो विश्वविद्यालयमा कम्प्युटर विज्ञान, नाटक, इलेक्ट्रिकल इन्जिनियरिङ, मनोविज्ञान, रोबोटिक्स, तथ्यांक अध्यापन गराइन्छ । यी कलेजमा अध्ययन गर्न के गर्नुपर्छ ? यदि तपाईं संसारका शीर्ष सबैभन्दा १० महँगा कलेजमा पढ्न इच्छुक हुनुहुन्छ भने विविध विषयमा जान्नुपर्ने हुन्छ । विश्वका धेरैजसो कलेजहरूले एसएटी, एसिटी टफेलजस्ता मानकीकृत परीक्षा दिनुपर्छ । कसैकाे आफ्नै भर्नाको लागि छुट्टै खालकाे परीक्षा लिन्छन् ।  तपाईंले परीक्षामा राम्रो अंक प्राप्त गर्नुका साथै अन्तिम म्यादअघि आफ्नो आवेदन पेश गर्न आवश्यक छ ।