डेरी फर्मलाई साढे २ लाख डलर बढी जरिवाना

वेलिंटन । ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ । भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झुटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो । न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झुटो दाबी गरेको आरोपमा सोमबार दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ । ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दूधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू उत्पादनबारे झट्टा प्रचार गरी ग्राहकलाई भ्रममा पारेको वाणिज्य आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्यूजिल्याण्डको कृषि–सञ्चालित उद्योगले उच्च गुणस्तरको डेरी निर्यातमा गर्व गर्दछ र विदेशी ग्राहकहरू यसको समृद्ध चरनबाट प्राप्त हुने दूध र मक्खनको लागि लालायित हुने गर्छन् । वाणिज्य आयोगका प्रवक्ता भेनेसा होर्नले भने, ‘मिल्कियोले न्युजिल्याण्डमा निर्मित उत्पादनहरू पहिचान गर्न एक विश्वसनीय प्रतीक (फर्नमार्क लोगो) को प्रतिष्ठाको फाइदा उठाउँदै अन्य उत्पादनलाई बढावा दिएको पाइएपछि जरिवाना गरिएको हो । ’ कम्पनीले ‘फर्नमार्क लोगो’ प्रयोगका लागि स्वीकृति प्राप्त गर्न गलत र अपूर्ण जानकारी पनि प्रस्तुत गरेको थियो । मिल्कियोले न्युजिल्यान्डको ‘शुद्ध व्यवसाय ऐन (फेयर ट्रेडिङ एक्ट) को धारा १५ उल्लंघन गरेको स्वीकार गर्दै उचित अनुमति बिना फर्नमार्क लोगो र लाइसेन्स नम्बर प्रयोग गरेको स्वीकारेको छ । होर्नले भने, ‘यो सजायले न्युजिल्यान्ड ब्रान्डलाई झुटो दाबी गर्न खोज्ने अरूका लागि चेतावनीका रूपमा काम गर्नुपर्छ ।’ एजेन्सी

श्रीलङ्काको राष्ट्रपति चुनावमा आर्थिक एजेण्डा, विदेशी पूँजी भित्राउने मार्क्सवादी नेताको घोषणा

काठमाडौं । श्रीलङ्काका प्रमुख मार्क्सवादी नेता तथा आगामी महिना हुने राष्ट्रपतिका उम्मेदवारले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा विशेषगरी हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व कृषिमन्त्री तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायका सन् २०२२ को आर्थिक मन्दीका लागि स्थानीय भ्रष्टाचारबाट आजित मतदातामाझ लोकप्रिय मानिन्छन् । अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीले तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि सेप्टेम्बर २१ मा पहिलो पटक मतदान हुनेछ ।संसदबाट निर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को २.९ अर्ब अमेरिकी डलरको बेलआउट ऋणलाई निरन्तरता दिने बताइरहेका बेला दिसानायकाले उक्त सम्झौताका विविध बुँदामाथि पुनः वार्ता गर्ने प्रतिवद्धता जाहेर गर्दै भारी कर कटौतीको योजना सार्वजनिक गरेका छन् । ‘हामीसँग ठूलो मात्रामा पूँजी लगानी गर्ने क्षमता छैन । त्यसैले हामी नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा विदेशी कम्पनीहरूलाई आमन्त्रण गर्नेछौं,’ दिसानायकाले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै भने । श्रीलङ्कामा ३९ जना उम्मेदवार चुनावी मैदानमा छन्त । तर, मुख्यतया दिसानायका, विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासाबीच प्रतिस्पर्धा हुने देखिएको छ । विक्रमासिङ्घे र प्रेमदासा दुवै एउटै विचारधारासँग जोडिएका व्यक्ति हुन् । दिसानायकाले सन् २०१९ को राष्ट्रपतीय चुनावमा भाग लिएपनि उनले तीन प्रतिशत मात्र मत प्राप्त गरेका थिए । उनले २२५ सदस्यीय संसद्मा तीन सिट रहेको राष्ट्रिय जनसत्ता गठबन्धनको मुख्य घटक पिपुल्स लिबरेशन फ्रन्ट (जेभीपी) को नेतृत्व गरेका छन् । कर कटौती गर्ने उनको आह्वानलाई धेरैले समर्थन गरेका छन् । जेभीपीले सन् १९७१ र सन् १९८७ मा दुई असफल सशस्त्र विद्रोहको नेतृत्व गरेको थियो । दुवै आन्दोलनमा लगभग ८० हजारको ज्यान गुमेपछि पार्टीले हिंसात्मक बाटोलाई त्यागेको छ । दिसानायकाले श्रीलङ्कामा राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाइरहेका छन् । विगत तीन दशकमा श्रीलङ्काका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरेपनि यसलाई पूरा गर्न असफल भएका छन् ।

पाकिस्तानमा गाडी रोकी २२ जनाको हत्या

काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो । मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भने, ‘पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’ उनका अनुसार पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो । काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् । जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गरेका छन् । यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए)का लडाकू जिम्मेवार रहेको देखिन्छ । बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।