दादुराविरुद्ध बङ्गलादेशको आपतकालीन अभियान

काठमाडौं । एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी फैलिएको दादुरा प्रकोप नियन्त्रण गर्न बङ्गलादेशले देशव्यापी आपतकालीन खोप अभियान सुरु गरेको छ । तीव्र रूपमा बढ्दो सङ्क्रमणलाई नियन्त्रणमा लिन सरकारले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर उच्च जोखिम क्षेत्रबाट अभियान अघि बढाइरहेको छ ।      सरकारले विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र गाभी खोप गठबन्धनसँगको सहकार्यमा आइतबारदेखि १८ उच्च जोखिममा रहेका जिल्लाहरूमा छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरेको जनाएको छ । यो अभियान अर्को महिनादेखि चरणबद्ध रूपमा देशभर विस्तार गरिने योजना रहेको छ । युनिसेफका प्रतिनिधि राणा फ्लावर्सले सङ्क्रमण तीव्र गतिमा बढिरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरे । उनका अनुसार यो प्रकोपले विशेष गरी खोप नलगाइएका वा न्यून खोप लगाइएका बालबालिकामा रहेको प्रतिरक्षात्मक खाडल उजागर गरेको छ । साथै, नौ महिनाभन्दा कम उमेरका शिशुहरूमा सङ्क्रमण देखिनु झन् चिन्ताजनक भएको उनले बताए, किनकि उनीहरू नियमित खोपका लागि अझै योग्य हुँदैनन् ।      सरकारी तथ्याङ्कअनुसार करिब १७ करोड जनसङ्ख्या रहेको देशमा मार्च १५ यता सात हजार ५०० भन्दा बढी शङ्कास्पद सङ्क्रमित फेला परेका छन् । तीमध्ये ९०० भन्दा बढीमा दादुरा पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दादुरा अत्यन्तै सङ्क्रामक वायुजन्य रोग हो, जसले ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरमा विशेष प्रकारको बिमिरा ल्याउँछ । साना बालबालिकामा यसले गम्भीर जटिलता र मृत्यु समेत निम्त्याउन सक्छ ।      रोगको फैलावट रोक्न कम्तीमा ९५ प्रतिशत जनसङ्ख्यामा खोप कभरेज आवश्यक हुने बताइएको छ । तर बङ्गलादेशमा खोप पहुँचमा असमानता कायम रहँदा जोखिम अझै उच्च रहेको देखिएको छ ।      स्वास्थ्यमन्त्री सरदार मोहम्मद सखावत हुसेनले संसद्मा जवाफ दिँदै वर्तमान प्रकोप विगतका सरकारहरूको कमजोर व्यवस्थापनको परिणाम भएको बताए । उनका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अघिल्लो सरकार र त्यसपछिको अन्तरिम प्रशासनले खोप भण्डारण र आपूर्ति व्यवस्थापनमा आवश्यक निर्णय लिन नसक्दा दादुरासहित अन्य छ रोगका खोप अभाव सिर्जना भएको हो ।      हालैको राजनीतिक अस्थिरताले पनि खोप अभियानमा अवरोध पुर्‍याएको थियो । सन् २०२४ मा भएको जनविद्रोहपछि शेख हसिना सत्ताच्युत हुनुभएको थियो भने त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । उक्त सरकारले फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गरेको थियो ।     स्वास्थ्य अधिकारीहरूले अभिभावकलाई बालबालिकामा दादुराको लक्षण देखिए तत्काल अस्पताल लैजान आग्रह गरेका छन् । ढाकास्थित सङ्क्रामक रोग अस्पतालकी उपनिर्देशक एफए आसमा खानले उच्च ज्वरो देखिएमा औषधि पसलबाट आफूखुसी औषधि नलिन सुझाव दिँदै समयमै अस्पताल पुर्‍याउन आग्रह गरे । उनका अनुसार अस्पतालमा उपलब्ध चिकित्सकीय सेवाले उचित उपचार सुनिश्चित गर्न सक्छ ।      बङ्गलादेशले सन् १९७९ देखि खोप अभियान सञ्चालन गर्दै आएको छ, जसले खोप कभरेज दुई प्रतिशतबाट बढेर ८१६ प्रतिशत पुर्‍याउन सफल भएको छ । तर युनिसेफले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा देशले प्रगति गरे पनि खोप पहुँचमा गहिरो असमानता अझै कायम रहेको चेतावनी दिएको थियो । रासस  

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

काठमाडौं । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव संकलन गरेका छन् ।      चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव कल्पनाभन्दा पर रहेको उल्लेख गर्दै त्यसलाई ‘अविश्वसनीय’ अनुभवका रूपमा वर्णन गरे ।      उडानका क्रममा टोलीले चन्द्र सतहका सूक्ष्म संरचनाहरूलाई नजिकबाट नियालेका थिए भने चन्द्रमाले सूर्यलाई ढाक्दा देखिने सूर्य ग्रहणको दृश्य पनि प्रत्यक्ष देखेका थिए । त्यस्तै, चन्द्र सतहमा देखिएका उज्याला चमकहरू उल्का प्रहारका सङ्केत भएको उनीहरूले बताएका छन् । आर्टेमिस द्वितीयका प्रमुख वैज्ञानिक केल्सी यङले यस अभियानबाट प्राप्त वैज्ञानिक जानकारी अत्यन्तै मूल्यवान रहेको बताउँदै अन्तरिक्ष यात्रीहरूको योगदानको प्रशंसा गरे ।      ऐतिहासिक दूरी पार गर्दै टोलीले सन् १९७० को अपोलो १३ अभियानले कायम गरेको कीर्तिमानसमेत तोडेको छ । उनीहरू पृथ्वीबाट करिब दुई लाख ५२ हजार ७६० माइल (चार लाख छ हजार ७७८ किलोमिटर) टाढा पुगेका थिए, जुन अघिल्लो रेकर्डभन्दा चार हजार १०५ माइल बढी हो । अन्तरिक्ष यात्री जेरेमी ह्यानसेनले यो उपलब्धिले भावी पुस्तालाई अझ अगाडि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।      यात्राका क्रममा उनीहरूले करिब ४० मिनेटसम्म पृथ्वीसँग सम्पर्क गुमाउनुपरेको थियो, जुन अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्दा स्वाभाविक रूपमा हुने ‘ब्ल्याकआउट’ हो । यो क्षण ५० वर्षभन्दा बढीपछि पहिलोपटक मानवले पृथ्वीसँग सम्पर्कविहीन भएको घटना बनेको छ । पुनः सम्पर्क स्थापित भएपछि अन्तरिक्ष यात्री क्रिस्टिना कोचले पृथ्वीको आवाज फेरि सुन्न पाउँदा निकै सन्तोष मिलेको बताए ।      यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूसँग फोनमार्फत संवाद गर्दै उनीहरूलाई ‘आधुनिक समयका अग्रगामी’ भन्दै प्रशंसा गरे । उनले यस्तो साहसिक अभियानले विश्वलाई प्रेरित गरेको उल्लेख गर्दै अन्तरिक्ष अन्वेषणमा अमेरिका अग्रपङ्क्तिमा रहने धारणा व्यक्त गरे । संवादका क्रममा केही समय सङ्केत अवरोधसमेत देखिएको थियो, जसलाई उनले दूरीको कारण भएको टिप्पणी गरे ।      ओरियन क्याप्सुलमार्फत फर्किंदै गरेको टोली अब स्वतः पृथ्वी फर्किने बाटो (फ्री–रिटर्न प्रक्षेपवक्र) मार्गमा पृथ्वी आइपुग्न करिब चार दिन लाग्नेछ । रिड वाइसम्यानको नेतृत्वमा रहेको यस मिसनमा विविध ऐतिहासिक उपलब्धि पनि समावेश छन् । ग्लोभर चन्द्रमाको वरिपरि पुग्ने पहिलो अश्वेत अन्तरिक्ष यात्री बनेका छन् भने कोच पहिलो महिला र ह्यानसेन पहिलो गैर–अमेरिकीका रूपमा इतिहासमा दर्ज हुने तयारीमा रहेका छन् ।      मिसनका क्रममा टोलीले दुई नयाँ चन्द्र क्रेटरको नाम प्रस्ताव गर्ने निर्णय गर्दा एउटा भावनात्मक क्षण पनि देखा पर्‍यो । पहिलोलाई अन्तरिक्षयानको उपनाम ‘इन्टिग्रिटी’ बाट नामकरण गर्न प्रस्ताव गरिएको छ भने दोस्रो ‘क्यारोल’ नाम रिड वाइसम्यानकी स्वर्गीय पत्नीको सम्झनामा राख्न सुझाव दिइएको छ, जसको क्यान्सरका कारण निधन भएको थियो । उक्त क्षणमा टोली भावुक बनेको थियो र ह्युस्टनस्थित मिसन कन्ट्रोलले पनि मौन धारण गरेको थियो ।      नासाका अनुसार यी नामहरू औपचारिक स्वीकृतिका लागि अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनसमक्ष पेश गरिनेछन्, जुन खगोलीय संरचनाहरूको नामकरण गर्ने आधिकारिक निकाय हो ।       

इरानलाई ढुङ्गेयुगमा पुर्‍याइदिने ट्रम्पको चेतावनी, भन्छन्– भोलि राति नै देश समाप्त हुनसक्छ !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा समाप्त गर्न सकिने चेतावनी दिएका छन् ।उनले इरानले आफूले दिएको समयसीमाभित्र अमेरिकासँग सम्झौता गर्न असफल भयो भने त्यो समय मंगलबार राति (अमेरिकी समय) नै हुन सक्छ । ट्रम्पको प्रस्तावअनुसार इरानले होर्मुज स्ट्रेट खोल्नुपर्नेछ, जहाँबाट विश्वभरको करिब २० प्रतिशत तेल आपूर्ति ओसारपसार हुन्छ । ट्रम्पले दिएको यो डेडलाइन मंगलबार वाशिङ्टन डीसी समयअनुसार राति ८ बजे (नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे) समाप्त हुँदैछ । ह्वाइट हाउसमा ट्रम्पले इरानका वर्तमान नेताहरू सद्भावनाका साथ वार्ता गरिरहेका छन्, तर नतिजा अझै अनिश्चित रहेको बताए । यसैबीच इरानले अस्थायी युद्धविरामका प्रस्तावहरू अस्वीकार गरेको छ । यसको सट्टा उसले द्वन्द्वको स्थायी अन्त्य र प्रतिबन्ध हटाउन माग गरेको छ । अमेरिकी संयुक्त सेना प्रमुखका अध्यक्ष जनरल डान केन र रक्षा मन्त्री पीट हेगसेथ पनि ट्रम्पसँगै उक्त प्रेस सम्मेलनमा उपस्थित थिए । गत साता मात्र अमेरिकी सुरक्षा बलहरूले दक्षिणी इरानमा खसालिएको एक एफ–१५ लडाकु विमानका दुई चालक सदस्यलाई सफलतापूर्वक उद्धार गरेका थिए । ट्रम्पको प्रेस सम्मेलनको ठूलो भाग सोही उद्धार अभियानमा केन्द्रित थियो । उनले यसलाई ‘साहसी अभियान’ भन्दै प्रशंसा गरे । तर साथै यदि मंगलबारको डेडलाइनसम्म होर्मुज स्ट्रेट खोलिएन भने अमेरिका ईरानको ऊर्जा र यातायात पूर्वाधारमा आक्रमण गर्न सक्ने चेतावनी दिए । उनले सोमबार भने, ‘पूरै देशलाई एकै रातमा समाप्त गर्न सकिन्छ र त्यो रात सायद भोलि नै हुन सक्छ ।’ ट्रम्पले थपे कि डेडलाइन सकिएपछि इरानलाई ‘स्टोन एज’ (पाषाण युग) मा फर्काइनेछ । उनले भने, ‘उनीहरूसँग कुनै पुल बाँकी रहने छैन । कुनै पावर प्लान्ट पनि रहने छैन ।’ इरानले पहिले अमेरिकी मागहरू अस्वीकार गरिसकेको भए पनि ट्रम्पले अझै अमेरिकी र इजरायली आक्रमणमा इरानका धेरै नेताहरू मारिएपछि पनि इरान सद्भावनाका साथ वार्ता गरिरहेको बताए । एक अधिकारीका अनुसार युद्धविराम बिना कुनै पनि वार्तामा ठोस प्रगति सम्भव छैन । उनका अनुसार इरानी अधिकारीहरूसम्म सन्देश पुर्याउन र त्यहाँबाट जवाफ पाउन कठिन भइरहेको छ किनकि त्यहाँको सञ्चार प्रणाली अवरुद्ध छ । उनले भने, ‘इरानसम्म सन्देश पुर्‍याएर उचित समयमा जवाफ पाउनु सम्भव छैन । औसतमा जवाफ आउन करिब एक दिन लागिरहेको छ ।’ यसैबीच पाकिस्तान, टर्की र मिस्रले मध्यस्थताको प्रयास गरिरहेका छन् । आगामी रणनीतिबारे ट्रम्पले धेरै जानकारी दिएनन् । उनले केवल यति भने कि उनीसँग ‘सबैभन्दा उत्कृष्ट योजना’ छ, तर त्यसलाई सार्वजनिक गर्ने छैनन् । कानुनी विज्ञहरूले चेतावनी दिएका छन् कि इरानको पूर्वाधारमा जानाजानी र निरन्तर आक्रमण गर्नु युद्ध अपराधको श्रेणीमा पर्न सक्छ । बाराक ओबामा प्रशासनकालीन राष्ट्रिय सुरक्षा परिषद्का एक पूर्वकानुनी सल्लाहकारले सीबीएस (बीबीसीको अमेरिकी साझेदार) सँग भने, ‘सबै पावर प्लान्ट नष्ट गर्नु र नागरिकमाथि दबाब सिर्जना गरेर सरकारलाई वार्तामा ल्याउने धम्की दिनु पूर्ण रूपमा गैरकानुनी हो ।’ तर प्रेस सम्मेलनअघि युद्ध अपराधबारे प्रश्न उठ्दा ट्रम्पले आफू चिन्तित नभएको बताएका थिए । सम्मेलनमा उनको जोड थियो, ‘इरानका जनता स्वतन्त्रताका लागि दुःख सहन तयार हुनेछन्, चाहे मेरो उद्देश्य ईरानको सरकार गिराउनु नहोस् ।’ राष्ट्रपतिले अमेरिकाका प्रमुख सहयोगीहरू (नाटो, बेलायत र दक्षिण कोरिया) माथि पनि आलोचना दोर्होयाए । उनका अनुसार द्वन्द्वका बेला उनीहरू अमेरिकालाई सहयोग गर्न अघि आएनन् । उनले भने, ‘यो नाटो माथि यस्तो दाग हो जुन कहिल्यै मेटिने छैन । अमेरिकालाई बेलायतको आवश्यकता छैन ।’ अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार २८ फेब्रुअरीमा युद्ध सुरु भएदेखि अमेरिकी बलहरूले इरानमा १३ हजारभन्दा बढी आक्रमण गरिसकेका छन् । ट्रम्पको यस धम्कीको जवाफमा इरानले ‘अस्थायी युद्धविराम’ अस्वीकार गर्दै द्वन्द्वको ‘स्थायी अन्त्य’ को माग गरेको छ । आफ्नो आधिकारिक समाचार एजेन्सी आईआरएनएका अनुसार उसका प्रस्तावमा आफूमाथि लगाइएका प्रतिबन्ध हटाउन, होर्मुज स्ट्रेटबाट जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न सहयोग गर्न र आक्रमणबाट क्षतिग्रस्त नागरिक संरचनाहरूको पुनर्निर्माणमा सहयोग गर्न रहेका छन् । इरानले अमेरिकी–इसराइली आक्रमणको जवाफमा इसराइल र आसपासका क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)