सन् २०२५ मा बीवाईडीले बेच्यो २२ लाख ६० हजार ईभी, कार बिक्रीको नयाँ रेकर्ड

काठमाडौं । चिनियाँ विशाल विदूतीय कार निर्माता बीवाईडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । यसले विश्वव्यापी रूपमा कुनै पनि फर्मले भन्दा बढी कार बिक्रीको नयाँ रेकर्ड स्थापित गरेको छ ।  यो तथ्याङ्कले बीवाईडीलाई पहिलो पटक वार्षिक रूपमा एलोन मस्कको टेस्लालाई उछिन्ने अवस्थामा ल्याएको छ। टेक्सासमा रहेको टेस्लाले सन् २०२५ सेप्टेम्बरको अन्त्यसम्म १२ लाख २० हजार विद्युतीय सवारी साधन (कार) बिक्रीको घोषणा गरेको थियो । टेस्लाले शुक्रबार सन् २०२५ को लागि आफ्नो कुल विद्युतीय कारको बिक्री सङ्ख्या घोषणा गर्ने अपेक्षा गरिएको छ । हाइब्रिड कार पनि उत्पादन गर्ने शेन्जेनमा मुख्यालय रहेको बीवाईडीले हङकङ स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा तथ्याङ्क सार्वजनिक गरेको हो । चिनियाँ भाषामा ‘बियादी’ वा अंग्रेजी ‘बिल्ड योर ड्रिम्स’ को सारांश विवाइडी सन् १९९५ मा मूल रूपमा ब्याट्री निर्माणका लागि विशेष स्थापित फर्म भएको थियो ।  विश्वको सबैभन्दा ठूलो विद्युतीय कार निर्मातामध्येको एक बीवाईडीले चीनको अत्यधिक प्रतिस्पर्धी नयाँ ऊर्जा वाहन बजारमा प्रभुत्व जमाएको छ । अब यसले विदेशमा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको छ । चीनमा बढ्दो मूल्यसँग सचेत उपभोग ढाँचाले नाफामा असर गरिरहेको छ । बीवाईडी र यसका चिनियाँ प्रतिस्पर्धीहरूले संयुक्त राज्य अमेरिकामा भारी करको सामना गरिरहेका छन् । बीवाईडीको सफलता दक्षिणपूर्व एशिया, मध्य पूर्व र युरोपमा पनि बढ्दै गएको छ, जसले यूरोप महाद्वीपका परम्परागत उद्योगको लागि चिन्ता सिर्जना गरेको छ।  टेस्लाले सन् २०२४ मा वार्षिक विद्युतीय कार बिक्रीमा बीवाईडी झिनो अन्तरले पछि पारेको थियो । सन् २०२४ मा टेस्लाले १७ लाख ९० हजार कार बिक्री गर्दा विवाडीको बिक्री १७ लाख ६० हजार पुगेको थियो । 

सन् २०२५ मा १ हजार ५०० इरानीलाई मृत्युदण्ड

काठमाडौं । इरानले गत वर्ष कम्तीमा १ हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले जनाएको छ । यो धेरै चिन्ताजनक बिषय भएको समूहका निर्देशक महमुद अमिरी–मोगद्दामले बताए ।  मृत्युदण्डको सङ्ख्याको अकल्पनीय वृद्धिबारेमा उनले भने, ‘विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो । इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो सङ्ख्या निकै धेरै हो ।’  इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी ९इसिपिएम०’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो ।  आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ । कम्तिमा १ हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ । अमिरी–मोगद्दामले भने, ‘देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लङ्घनको आरोपमा पक्राउ परेकी इरानी–कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको सङ्ख्या बढेको छ ।’ सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो सङ्ख्या सन् २०२४ मा ९७५ भएको थियो ।  इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्याङ्क आएको हो । इरानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार प्रदर्शनकारी र सुरक्षा फौजबीच झडप भएको थियो र प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।  ‘इरानी अधिकारीहरूले मृत्युदण्डलाई डर सिर्जना गर्ने साधनको रूपमा प्रयोग गर्छन्,’ अमिरी–मोगद्दामले भने, ‘यी मृत्युदण्डको उद्देश्य नयाँ प्रदर्शनहरू रोक्नु हो । तर पछिल्ला दिनहरूमा तपाईंले देख्नु भएको छ उनीहरू सफल भएका छैनन् ।’ यद्यपि भर्खरका प्रदर्शनहरू सन् २०२२ को विरोध प्रदर्शनको स्तरको नजिक पुगेका छैनन् । 

स्वीट्जरल्याण्डमा नयाँ वर्ष मनाउने क्रममा विस्फोट हुँदा करिब ४० जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं ।   स्वीट्जरल्यान्डको एक स्की रिसोर्टस्थित बारमा भएको विस्फोटमा करिब ४० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । स्वीस अधिकारीहरूले बिहीबार जानकारी दिएअनुसार उच्चस्तरीय स्की रिसोर्ट क्रान्स–मोन्टानामा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित पार्टीका क्रममा भीडभाड भएको एक बारमा विस्फोट भएको हो । दक्षिण–पश्चिम स्वीट्जरल्यान्डस्थित उक्त रिसोर्टको ‘ले कन्स्टेलेसन​​​​​’  नामक बारमा राति करिब १:३० बजे आगलागी भएको थियो । विस्फोटको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । ‘हालको अवस्थामा हामी यसलाई आगलागीको घटनाका रूपमा हेरिरहेका छौं र आक्रमणको सम्भावनालाई विचार गरिरहेका छैनौं,‍’ वरिष्ठ सरकारी वकिल बिट्रिस पिल्लोले पत्रकार सम्मेलनमा भनिन् । उनले घटनाबारे पूर्ण अनुसन्धान सुरु गरिएको पनि जानकारी दिइन् । भाले क्यान्टनका सुरक्षा प्रमुख स्टेफान गान्जरका अनुसार पीडितमध्ये केही विदेशी नागरिक पनि रहेका छन् । क्यान्टनका प्रहरी प्रमुख फ्रेडरिक गिस्लरले पीडितका आफन्तका लागि हेल्पलाइन सञ्चालनमा ल्याइएको बताए। ‘क्रान्समा राति भएको घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ,’ गिस्लरले पत्रकार सम्मेलनमा भने । ‘हाम्रो तथ्यांकअनुसार करिब १०० जना गम्भीर रूपमा घाइते भएका छन् र दर्जनौं मानिसको मृत्यु भएको आशंका गरिएको छ,’ उनले थपे ।  उनका अनुसार घाइतेहरूलाई सिओन, लुजाने, जेनेभा र ज्युरिखका अस्पतालहरूमा पठाइएको छ । इटालीको विदेश मन्त्रालयले स्वीस प्रहरीबाट प्राप्त जानकारीका आधारमा करिब ४० जनाको मृत्यु भएको जनाएको छ । तर गिस्लरले ठोस संख्या दिन अस्वीकार गरे । यसअघि प्रहरीले धेरै मानिसले जलनको उपचार गराइरहेको र घटनास्थल पूर्ण रूपमा सिल गरिएको जानकारी दिएको थियो । क्रान्स–मोन्टानामाथि ‘नो–फ्लाइ जोन’ पनि घोषणा गरिएको छ । उद्धार कार्यका लागि १० वटा हेलिकप्टर र ४० वटा एम्बुलेन्स परिचालन गरिएको अधिकारीहरूले बताएका छन् । ‘खुशीको क्षण हुनुपर्ने समय नयाँ वर्षको पहिलो दिनमै क्रान्स–मोन्टानामा सम्पूर्ण देश र देशबाहिरसम्म शोकमा परिणत भयो,’  स्वीस संघीय राष्ट्रपति गाइ पार्मेलिनले एक्समा समवेदना व्यक्त गर्दै भने । प्रहरीका अनुसार मृतकका शव परिवारजनसम्म पुर्‍याउने प्रयास भइरहेको छ ।