भारतमा लक्जरी अपार्टमेन्ट किन्ने बढे, कम मूल्यका घर हुँदैनन् बिक्री

काठमाडौं । भारतका ८ प्रमुख सहरहरूमा जनवरी-मार्च त्रैमासिकमा ६० लाख रुपैयाँसम्मको किफायती घरको बिक्री ४ प्रतिशतले घटेर ६१ हजार १ सय २१ युनिटमा झरेकाे छ । लक्जरी अपार्टमेन्टहरूको उच्च मागले किफायती घरहरूको बिक्रीमा गिरावट आएको बताइएको छ । रियल इस्टेट डाटा विश्लेषण गर्ने कम्पनी प्रोपइक्विटीका अनुसार जनवरी-मार्च २०२३ मा मुम्बई महानगर क्षेत्र, बैंगलोर, दिल्ली–एनसीआर, हैदरावाद, पुणे चेन्नई, कोलकाता र अहमदाबादमा ६३ हजार ७ सय ८७ किफायती घरहरू बिक्री भएका थिए । तथ्यांकअनुसार सन् २०१९ मा २ लाख २६ हजार ४ सय १४ किफायती घर बिक्री भएको थियो । २०२० मा कोभिड महामारीको बीचमा १ लाख ८८ हजार २ सय ३३ इकाईमा बिक्री घटेको थियो । यद्यपि, २०२१ र २०२२ मा बिक्री बढेर क्रमशः २ लाख १७ हजार २ सय ७४ र २ लाख ५१ हजार १ सय ९८ इकाई पुगेको थियो । तथ्यांकअनुसार सन् २०२४ को जनवरी-मार्चसम्ममा देशका यी आठ सहरमा ६० लाख रुपैयाँसम्मको नयाँ घरको आपूर्ति ३७.९० प्रतिशतले घटेर ३३ हजार ४२० युनिट पुगेको छ । गत वर्षको सोही अवधिमा यी सहरहरूमा कुल ५३ हजार ८ सय १८ नयाँ किफायती घरहरू उपलब्ध गराइएको थियो । एजेन्सी

अडानी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट निर्माण गर्ने

काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट निर्माण गर्ने भएको छ । अडानी ग्रुपका मालिक गौतम अडानीले यस विषयमा केन्द्रित रहेर आइतबार भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक तथा प्रधानमन्त्री दाशो शेरिंग तोबगेसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा अडानीले भुटानको चुखा प्रान्तमा ५७० मेगावाटको हरित हाइड्रो प्लान्ट स्थापनाका लागि ड्रक ग्रीन पावर कर्पोरेशन लिमिटेडसँग सम्झौता गरेका छन् । अडानीले भेटघाटको फोटो एक्समा सेयर गर्दै भुटानका प्रधानमन्त्री र राजासँगको भेटघाट विशेष रहेको र भुटानको उर्जा क्षेत्रमा मिलेर काम गर्न उत्साहित रहेको बताएका छन् । यसअघि अडानी ग्रुपले श्रीलंकाको नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । एजेन्सी

नर्वेले युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग गर्ने

नर्वेले युक्रेनलाई उसको ऊर्जा पूर्वाधार मर्मत र अर्को जाडोअघि देशको बिजुली आपूर्ति सुरक्षित र मद्दत गर्न १० करोड ३० लाख डलर प्रदान गर्ने भएको छ । ‘रूसले पावर ग्रिडलाई निष्क्रिय बनाउन ठूलो आक्रमणहरू गरिरहेको छ । तर युक्रेनीहरू आवश्यक बिजुली आपूर्ति कायम गर्न दिनरात काम गरिरहेका छन्,’ प्रधानमन्त्री जोनास गाहर स्टोरले एक विज्ञप्तिमा भने । नयाँ अनुमानअनुसार युक्रेनको विद्युत उत्पादन क्षमताको ५० प्रतिशतभन्दा बढी नष्ट भएको सरकारले जनाएको छ । प्रधानमन्त्री स्टोरले भने, ‘हामी युक्रेनसँग कसरी यी कोषहरू सबैभन्दा प्रभावकारीरूपमा प्रयोग गर्न सक्छ भन्ने बारे घनिष्ठ संवादमा छौँ ।’ रुसी आक्रमणबाट विशेषरूपमा प्रभावित खार्किभ क्षेत्रमा मर्मतका लागि १२ करोड क्रोनर खर्च गर्ने नर्वेले यसअघि नै बताइसकेको छ । खार्किभ क्षेत्रका सात प्रसूति एकाइ र अपरेटिङ थिएटरहरूमा सौर्य प्यानलहरू जडान गरिने स्टोरले बताए । यो जुन स्विट्जरल्यान्डमा युक्रेन शान्ति शिखर सम्मेलनमा भाग लिएको बेला जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सन् २०२२ मा नर्वेले युक्रेनी ऊर्जा क्षेत्रलाई २ अर्ब १० करोड क्रोनर र गत वर्ष एक अर्ब ९० करोड क्रोनर अनुदान उपलब्ध गराएको थियो । स्क्यान्डिनेभियाली देश नर्वेले युक्रेनलाई सन् २०२३ देखि २०२७ को पाँच वर्षको अवधिका लागि ७५ अर्ब क्रोनर सैन्य र नागरिक सहायताको वाचा गरेको छ ।