मोदीले लिए तेस्रो पटक प्रधानमन्त्रीको सपथ, नेपालसँगको सम्बन्धका विषयमा बोले

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । आइतबार राष्ट्रपति भवनमा एक समारोहबीच उनले राष्ट्रपति द्रौपडी मुर्मूसामुबाट शपथ लिएका हुन् । मोदीको शपथ ग्रहणमा नेपालसहित विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख तथा विशिष्ट व्यक्तिहरूको उपस्थिति भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । मोदी तेस्रो पटक प्रधानमन्त्री बनेसँगै उनको छिमेकी देशहरुसँगको सम्बन्धका विषयमा पनि धेरैले चासो राखेका छन् । उनले अब छिमेकी देश नेपाल सहित अन्य देशसँगको कुटनीतिक सम्बन्ध थप बलियो र सुदृढ बनाउँदै जाने बताएका छन् । प्रधानमन्त्री मोदीले ‘नेबरहुड फर्स्ट पोलिसी’ अर्थात् छिमेकीलाई प्राथमिकताको नीति राखेर छिमेकी मुलुकका प्रमुखलाई शपथ ग्रहण समारोहमा आमन्त्रण गरिएको पनि बुझिएको छ । मोदीको शपथ ग्रहण व्यापारी मुकेश अम्बानीसहितका व्यवसायीहरूको पनि उपस्थिति छ । मोदीले प्रधानमन्त्रीको शपथ लिएसँगै संघको मन्त्रीका रूपमा राजनाथ सिंह, अमित शाह, नितिन गडकरी, जगत प्रकाश नड्डा, शिवराज सिंह चौहान, निर्मला सितारमण, एस जयशंकर, एचडी कुमार स्वामी, मनोहर लाल खट्टर, पियुष गोयल, धर्मेन्दर प्रधान, जीतनराम माझी, राजिब रञ्जन सिंह लगायतले शपथ ग्रहण गरेका छन् । त्यस्तै सर्वानन्द सोनोवाल, वीरेन्द्र कुमार, राममोहन नायडू, गिरिराज सिंह, जुएल ओराम, प्रल्हाद जोशी लगायतले पनि शपथ ग्रहण गरेका छन् ।

भारतको जीडीपी ७.२ प्रतिशत हुने प्रक्षेपण

काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सन् २०२४/२५ मा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) वृद्धदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । ग्रामीण क्षेत्रहरूमा बढ्दो खपत र मागको पुनरुत्थानलाई उद्धृत गर्दै आरबीआईले जीडीपी वृद्धिदर ७ प्रतिशतबाट बढेर ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । आरबीआईले देशको कुल गार्हस्थ्य उत्पादन अनुमानमा वृद्धि गरेको यो लगातार चौथो पटक हो । अर्थतन्त्रको मोर्चामा निरन्तर राम्रो तथ्यांक र मुद्रास्फीति नियन्त्रणमा रहेको कारण विश्वभरिका धेरै रेटिङ एजेन्सीहरूले चालू आर्थिक वर्षमा भारतको वृद्धिदर पनि बढाएको जनाइएको छ । आरबीआईका गभर्नर शक्तिकान्त दासले जीडीपी पहिलो त्रैमासमा ७.३ प्रतिशत, दोस्रोमा ७.२ प्रतिशत, तेस्रोमा ७.३ प्रतिशत तथा अन्तिम त्रैमासमा ७.२ प्रतिशत हुने अनुमान गरेका थिए । एजेन्सी

अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

वासिङ्टन डिसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए । शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए । डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए । चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरुद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्बिर’हरूको सूचीमा समावेश गरिएको थियो। । ‘सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो,’ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए । सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिएको एन्डर्सले अन्तरिक्ष यात्रीका रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाले । उनी विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए ।