गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुग्यो

काठमाडौं । जारी इजरायली आक्रमणबाट गाजापट्टीमा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३२ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाले ८१ प्यालेस्टाइनीको हत्या गरेको छ भने ९३ जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३२ हजार ४१४ र ७४ हजार ७८७ घाइते भएको मन्त्रालयले जनाएको छ ।

भारतमा २७१ अर्बपति, मुम्बईमा बढी धनाढ्य

काठमाडौं । भारतमा अर्बपति संख्या बढेर २ सय ७१ पुगेको छ । सन् २०२३ मा अर्बपतिको संख्या ९४ ले बढेको छ । यदि यी सबै अर्बपतिको कुल सम्पत्ति जोड्ने हो भने लगभग १० खर्ब अमेरिकी डलरबराबर हुनेछ, जबकि पाकिस्तानको सम्पूर्ण कुल गार्हस्थ उत्पादन (जीडीपी) १५ खर्ब ७० अर्ब डलर छ । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी २०२४ को ‘हुरुन ग्लोबल रिच लिस्ट’ मा शीर्ष १० अर्बपतिहरूको सूचीमा परेका एकमात्र भारतीय हुन् । मुकेश अम्बानी एसियाकै धनी रिपोर्टका अनुसार ६६ वर्षीय मुकेश अम्बानीको कुल सम्पत्ति ४० प्रतिशतले बढेर १ खर्ब १५ अर्ब डलर पुगेको छ । तर, सम्पत्ति वृद्धि भए पनि अम्बानी विश्वका शीर्ष अर्बपतिको वरियतामा एक स्थान झरेर १०औं स्थानमा पुगेका छन् । उनी एसियाकै धनी व्यक्ति हुन् । १५औं स्थानमा गौतम अडानी अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका धनी व्यक्तिको सूचीमा १५औं स्थानमा छन् र अर्बपतिहरूको सूचीमा अम्बानीपछिका अर्का भारतीय हुन् । ६१ वर्षीय गौतम अडानीको कुल सम्पत्ति ८६ अर्ब डलर छ । अडानी ग्रुपका कम्पनीहरूको सेयर बढेपछि उनको सम्पत्ति ३३ अर्ब डलरले बढेको छ । सेयर बजारका कारण भारतमा थपिए ९४ नयाँ अर्बपति २०२३ भारतका लागि ‘सुपर मजबुत वर्ष’ रह्यो, किनकि यो वर्ष नयाँ ९४ अर्बपति थपिए । यसो हुनुको कारण हो तीव्र गतिमा बढेको सेयर बजार । यसबाहेक प्रमुख भारतीय उद्योगहरूमा औषधी (३९ अर्बपति), अटोमोबाइल र अटो कम्पोनेन्ट्स (२७) र रसायन (२४) अर्बपति समावेश छन् । रिपोर्टका अनुसार यी अर्बपतिको औसत उमेर ६७ वर्ष छ । मुम्बईमा बस्छन् सबैभन्दा धेरै अर्बपति मुम्बई विश्वको सबैभन्दा छिटो बढिरहेको अर्बपतिको राजधानीका रूपमा उभिएको छ। रिपोर्टका अनुसार सन् २०२३ मा मुम्बईमा २६ नयाँ अर्बपति थपिएका छन् । योसँगै मुम्बई सबैभन्दा धेरै अर्बपति बस्ने सहरको सूचीमा तेस्रो स्थानमा पुगेको छ । महाराष्ट्रको राजधानी मुम्बई एसियाको अर्बपति राजधानी हो । नयाँदिल्ली पहिलो पटक अर्बपतिको संख्याका आधारमा शीर्ष १० मा पुगेको छ । पाम बीच, इस्तानबुल, मेक्सिको सिटी र मेलबर्न पनि हुरुनको शीर्ष ३० सहरहरूमा सामेल छन् । एजेन्सी

अमेरिकामा दूध बेच्दै भारतको अमूल

काठमाडौं । भारतको अग्रणी डेरी कम्पनी अमूलले व्यापारको संसारमा अर्को सफलता हात पारेको छ । भारतीय मूलको यो कम्पनीले अब अमेरिकामा दूधको व्यापार गर्ने भएको छ । अमूलले अमेरिकामा ताजा दूध उत्पादन सुरु गर्ने योजना बनाएको छ । जसका लागि गुजरातको यो कम्पनीले मिशिगन मिल्क प्रोड्युसर एसोसिएसन ९एमएमपीए० सँग अमेरिकाको पूर्वी तट र मध्यपश्चिमी बजारहरूमा ताजा दूध बेच्नका लागि सम्झौता गरेको छ । गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडेरेसनका प्रबन्ध निर्देशक जयन मेहताले अमूलले अमेरिकामा ताजा दूध उत्पादन लन्च गर्ने जानकारी दिन पाउँदा खुसी लागेको बताए । उनले अमेरिकाको १ सय ८ वर्ष पुरानो डेरी सहकारीसँग सम्झौता गरेको बताए । मिशिगन दूध उत्पादक संघसँग सम्झौता मार्च २८ मा आयोजित वार्षिक बैठकमा घोषणा गरिएको थियो । अमूल मिल्क भारत बाहिर र अमेरिका जस्ता बजारमा प्रवेश गर्न लागेको यो पहिलो पटक हो । यसको मूल्य पनि राम्रो हुने मेहताले बताए । अमूलले अमेरिकामा अमूल ब्रान्डअन्तर्गत एक ग्यालन (३.८ लिटर) र आधा ग्यालन (१.९ लिटर) प्याकमा ताजा दूधको चेन लन्च गर्ने छ । यसमा ६ प्रतिशत दूध फ्याट भएको अमूल गोल्ड, ४।५ प्रतिशत दूध फ्याट भएको अमूल शक्ति, ३ प्रतिशत दूध फ्याट भएको अमूल फ्रेस र २ प्रतिशत दूध फ्याट भएको अमूल स्लिम समावेश छ । भारतमा अमुल ताजा ५ सय मिलिलिटर (एमएल) को २७ रुपैयाँ, १ सय ८० एमएलको १० रुपैयाँ, एक लिटरको ५४ रुपैयाँ, २ लिटरको १ सय ८ रुपैयाँ र ६ लिटरको ३ सय २४ रुपैयाँमा बिक्री भइरहेको छ। जहाँ एक लिटर अमूल गोल्डको मूल्य ६६ रुपैयाँ, ५ सय एमएलको ३३ रुपैयाँ, अमूल गोल्ड ६ लिटरको मूल्य ३ सय ९६ रुपैयाँ छ । त्ययस्तै अमूल गाईको दूध ५ सय एमएलको मूल्य २८ रुपैयाँ र १ लिटरको ५६ रुपैयाँ छ । जबकि अमूल ए२ भैंसीको दूध ५ सय एमएलदेखि ६ लिटरसम्मको मूल्य ३५ रुपैयाँदेखि ४ सय २० रुपैयाँसम्म रहेको छ । एजेन्सी