प्रदूषण बढेपछि थाइल्याण्डमा घरबाट नै काम गर्न आग्रह

थाइल्याण्ड । थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ । करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्ध–सरकारी, निजी कार्यालय सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन् । वायु निगरानी गर्ने वेबसाइट आईक्यूएयरले बिहीबार बिहान बैङ्ककलाई विश्वका १० सबैभन्दा प्रदूषित शहरको सूचीमा राखेको छ । आईक्यूएयरका अनुसार सबैभन्दा खतरनाक पीएम २।५ कणको स्तर विश्व स्वास्थ्य संगठनको वार्षिक दिशानिर्देशभन्दा १५ गुणा बढी थियो । बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले बुधबार अबेर राति शहरका आफ्ना सबै कर्मचारीले बिहीबार र शुक्रबार घरबाटै काम गर्ने बताएका छन् भने शहरका अन्य सेवा प्रदायी सङ्घसंस्थाहरूलाई पनि सहयोगका लागि आग्रह गरेका छन् । उनले भने, ‘वायु प्रदुषणका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यसैले सरकारी कार्यालय र निजी क्षेत्र गरी करिब १५१ कम्पनी र संस्थाहरूको बीएमए नेटवर्कसँग सहयोगको लागि अनुरोध गर्दछु,’ उनले एक विज्ञप्तिमा भनेका छन् । चाडचार्टका अनुसार बैंककका ५० जिल्लामध्ये कम्तीमा २० जिल्लामा पीएम २।५ कणको अस्वस्थकर स्तर हुने अनुमान गरिएको छ र शान्त मौसमका कारण यो समस्या लम्बिने छ । थाइल्याण्डमा शहर वरपरका किसानहरूले वर्षको प्रारम्भिक महिनाहरूमा मल र न्यानोका लागि खेतबारीमा नल पराल जलाउँदा निस्किने धुवाँले औद्योगिक उत्सर्जन र वाहनबाट निस्किने धुवाँमा हावाको गुणस्तर नियमित रूपमा घट्ने गर्छ । राजधानी बैङ्कक र उत्तरी शहर च्याङ माई गत वर्ष कैयौं दिनसम्म विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेका थिए । प्रदूषणका कारण थाइल्याण्डमा सन् २०२३ मा कम्तीमा २० लाख मानिसलाई उपचारको आवश्यकता परेको थियो । गत अगस्टमा पदभार ग्रहण गरेको प्रधानमन्त्री श्रेता थाभिसिनको सरकारले वायु प्रदूषणको सामना गर्न ‘राष्ट्रिय एजेन्डा’ बनाउने वाचा गरेको थियो र उनको क्याबिनेटले गत महिना स्वच्छ वायु ऐनको मस्यौदा अनुमोदन गरेको थियो । तर यो समस्या कायमै छ र गत महिना च्याङ माईको अदालतले सरकारलाई ९० दिनभित्र वायु प्रदूषण नियन्त्रणका लागि तत्काल योजना ल्याउन आदेश दिएको थियो । रासस

संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु, डेढ करोड बढी घर उज्यालो हुने

काठमाडौं । भारतस्थित संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु भएको छ । देशको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले गुजरातको खावडामा रहेको ५ सय ५१ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा ल्याएको छ । यसबाट राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गरिने छ । यो प्लान्टबाट १ करोड ६० लाखभन्दा बढी घर उज्यालो पार्न सकिने कम्पनीको दाबी छ । साथै, वार्षिक १ं करोड ६० लाख टन कार्बन उत्सर्जन कम गर्न सकिन्छ । यो प्लान्टबाट ८१ अर्ब युनिट बिजुली उत्पादन गर्न सकिन्छ । अडानी ग्रीन इनर्जीका अनुसार यो प्लान्टको काम एक वर्षमा सम्पन्न भएको हो । कच्छको रणमा अवस्थित यस विशाल प्लान्टको तयारीका लागि सडकलगायत आवश्यक सबै सुविधा विकास गरिएको छ । कम्पनीको यो प्लान्टमा करिब ८ हजार कर्मचारी कार्यरत छन् । यो प्लान्टले करिब १५ हजार रोजगारी सिर्जना गर्ने कम्पनीको दाबी छ । यसबाट उत्पन्न हुने कार्बन उत्सर्जन लगभग १ करोड २६ लाख युनिट कार सडकबाट हटाए बराबर हुनेछ । यो प्लान्टलाई ३० गिगावाट क्षमतामा पुर्याउने कम्पनीको योजना छ । यसका लागि ५ वर्षको लक्ष्य राखिएको छ । यो लक्ष्य पूरा भएसँगै खावडा प्लान्ट विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्लान्ट बन्ने छ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले अडानी ग्रीन इनर्जीले विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा इकोसिस्टम सिर्जना गरिरहेको र  खावडा आयोजना त्यसकै प्रयासको हिस्सा भएकाे बताए । भारतले सन् २०३० सम्ममा ५ सय गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । यो लक्ष्य हासिल गर्न अडानी समूहले पूर्ण सहयोग गर्नेछ । अडानी ग्रीन इनर्जीसँग हाल ९ हजार २९ मेगावाट क्षमतामा सञ्चालित प्लान्टहरू छन्, जुन १२ राज्यमा फैलिएका छन् । कम्पनीको कुल उत्पादन क्षमता २० हजार ८ सय ४४ मेगावाट छ । कच्छको रणले नवीकरणीय ऊर्जाको लागि उत्तम वातावरण प्रदान गर्दछ । यहाँ वायु र सौर्य ऊर्जा सजिलै उत्पादन गर्न सकिन्छ । अडानी ग्रीन इनर्जीले यस प्लान्टको लागि व्यापक अनुसन्धान गरेको छ । कम्पनीले ग्रीड जडान भएको सौर्य, हावा र हाइब्रिड नवीकरणीय ऊर्जा केन्द्रहरू सञ्चालन गर्दछ । यसले हालै राजस्थानको जैसलमेरमा २ हजार १ सय ४० मेगावाटको विन्ड सोलार हाइब्रिड प्लान्ट निर्माण गरेको थियो । कम्पनीले सन् २०३० सम्ममा आफ्नो क्षमता ४५ गिगावाट पुर्याउने लक्ष्य राखेको छ । एजेन्सी

चीन र सिंगापुरका नागरिकले एक अर्का देशमा भिसामुक्त यात्रा गर्न पाउने

काठमाडौं । चीन र सिङ्गापुरबीच भएको ३० दिने भिसामुक्त यात्रालाई दुवै पक्षका नागरिकले स्वागत गरेका छन् । भिसामुक्त नीति गत शुक्रबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लागू भएको थियो । यस प्रयासले दुई देशबीचको सम्बन्ध बढाउने विश्वास लिइएको छ । उनीहरुले एक अर्का देशका नागरिकलाई आफ्नो देशमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।