ब्रिटिश पेट्रोलियमले इजिप्टमा १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने
काठमाडौं । ब्रिटिश पेट्रोलियमले इजिप्टमा विकास, अन्वेषण गतिविधिका लागि १.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । ऊर्जा विशाल ब्रिटिश पेट्रोलियम (बिपि) योजना १.५-बिलियन-युएस इजिप्टमा विकास र अन्वेषण गतिविधिहरूको लागि नयाँ लगानी गर्ने घोषणा गरिएको हो । इजिप्टका राष्ट्रपति अब्देल-फताह अल-सिसी र बीपीका प्रमुख कार्यकारी अधिकारी मरे अचिनक्लोसबीच कायरोमा भएको बैठकपछि यो घोषणा गरिएको हो । बैठकमा अचिनक्लोसले आगामी वर्षहरूमा थप ५ बिलियन अमेरिकी डलर लगानीको सम्भावना रहेको घोषणा गरे । उनले इजिप्टमा तेल र ग्यास अन्वेषणको क्षेत्रमा आफ्नो लगानीलाई थप प्रवद्र्धन गर्न बीपीको चासोको पुष्टि गर्दै कम्पनीको अन्वेषण लगानीको लागि इजिप्ट प्राथमिकताको गन्तव्यको रूपमा खडा भएको बताए । सिसीले बीपीका गतिविधिहरू ऊर्जा उत्पादन र व्यापारको लागि क्षेत्रीय हबमा रूपान्तरण गर्ने इजिप्टको लक्ष्यसँग मिल्दोजुल्दो रहेको बताए । उनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय कम्पनी र निजी क्षेत्रको सञ्चालनलाई सहजीकरण गर्न राज्यको प्रतिवद्धतालाई जोड दिए । आफ्नो वेबसाइटमा बीपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको बताएको छ ।
जापानमा बेमौसमी तापक्रम बढ्यो
टोकियो । उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी सुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ । होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ । सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो । यसैबीच उत्तरी जापानको अकिता शहरमा पनि तापक्रम २०.१ डिग्री, मध्य जापानको कानाजावा शहरमा २१.८ डिग्री र मध्य टोकियोमा १६.५ डिग्री पुगेको छ । मङ्गलबार जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको छ । मौसम अधिकारीहरूले उत्तरी र पूर्वी जापानका फराकिला क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । एक्कासि तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने अधिक सम्भावना रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ । एजेन्सी
दुई परियोजना कार्यान्वयन गर्न बेलायतले ११ अर्ब ७० करोड अनुदान दिने
काठमाडौं । संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस-एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम-जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब ११ अर्ब ७० करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुने गरी बेलायतले उक्त अनुदान प्रदान गर्न लागेका हो । नेपालको भ्रमणमा रहेका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्र मिचेल र अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गरे । यो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता पनि समावेश गरिएको छ । अर्थ मन्त्रालयका अनुसार एनआइबी कार्यक्रमबाट प्राप्त हुने अनुदान नेपालको समग्र आर्थिक विकास, गरिबी निवारण र समग्र आर्थिक समृद्धिको बाटो निर्धारणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यो कार्यक्रमले साना तथा मझौला उद्यमलाई सहयोग गर्नेछ । साना तथा मझौला उद्यमलाई उत्पादनमा जोड्ने र त्यस्ता व्यवसाय विकासका लागि वित्तपोषण गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी, हरित नेपाल विकास कार्यक्रमले उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न, जलवायु अनुकूलित पूर्वाधार निर्माण गर्न, दिगो आर्थिक नीतिलाई सुदृढ गर्न र आर्थिक सहजीकरण गरी समावेशी विकासका लागि सहयोग गर्नेछ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा सुधार र जलवायु अनुकूल लगानी परियोजना विकासमा योगदान गर्ने बताइएको छ । त्यस अवसरमा अर्थमन्त्री महतले नेपाल-बेलायत सम्बन्धबारे चर्चा गर्दै नेपालको सामाजिक-आर्थिक विकासका प्राथमिकतालाई पूरा गर्न बेलायत सरकारले निरन्तर सहयोग गरेकमा आभार व्यक्त गरे । उनले नेपालको आर्थिक वृद्धि, दिगोपन प्रवर्द्धन, गरिबी घटाउनेलगायत महत्वपूर्ण कार्यक्रम कार्यान्वयनका निम्ति अनुदान उपयोगी हुने विश्वास व्यक्त गरे । ‘आर्थिक रुपान्तरण, जलवायु परिवर्तनका मुद्दा, सामाजिक सेवा तथा समावेशीकरणका लागि पनि अनुदानबाट सञ्चालन हुने कार्यक्रम महत्वपूर्ण छन्’, उनले भने । बेलायतीमन्त्रीले आर्थिक रुपान्तरण, जलावायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय, सबल सामाजिक सेवा प्रवाह, समावेशिता प्रवर्द्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताए । रासस