कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

भारत । मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए । खराब मौसमका कारण जम्मु तवी-दिल्ली एक्सप्रेस, हावडा-दिल्ली डोरोन्थो, हावडा-दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर-दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ-दिल्ली राजधानी एक्सप्रेस र पुरी-दिल्ली एक्सप्रेस ढिला भएका थिए । रेवा-आनन्द विहार टर्मिनल, भागलपुर-आनन्दविहार एक्सप्रेस, बनारस-दिल्ली एक्सप्रेस, चेन्नई-दिल्ली एक्सप्रेस, हैदराबाद-दिल्ली एक्सप्रेस र रानीकमलापति-हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् । नयाँ दिल्ली रेलवे स्टेसनमा रेलहरू निर्धारित समयभन्दा ढिलो चल्दा यात्रुहरू समस्यामा परेका थिए । यसैबीच, मङ्गलबार बिहान राजधानीमा घना कुहिरोका कारण दिल्ली विमानस्थलमा उडान पनि अवरुद्ध भएको छ । विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक-अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ । यात्रुहरूलाई उडानको स्थितिसम्बन्धी अद्यावधिक जानकारीका लागि एयरलाइन्सलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ । सोमबार पनि, कुहिरो तथा अधिक चिसोले राजधानीमा रेल तथा हवाई उडानलाई असर गर्दा रेल र उडानहरू ढिलाइ भएका थिए । भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले मङ्गलबार राजधानीका थप्रै भागहरूमा कुहिरो लाग्ने पूर्वानुमान गरेको थियो । रासस

३ खर्ब डलरको ऋणी चीनकै ठूलो घरजग्गा कम्पनी एभरग्रान्ड बन्द गर्न अदालतको आदेश

काठमाडौं । कोरोना भाइरस महामारीपछि चीनको अर्थतन्त्रमा आएको मन्दी अन्त्य हुनुको सट्टा बढ्दै गएको छ । विशेषगरी चीनको रियल इस्टेट क्षेत्रले धेरै नै कठिनाइ सामना गर्नुपरेको छ । चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी अब बन्द हुने अवस्थामा छ । उक्त कम्पनीलाई बिक्री गर्न आदेश दिइएको छ । चीनको रियल इस्टेट संकट यति गम्भीर बन्दै गएको छ कि यसले सबैभन्दा ठूलो घरजग्गा कम्पनी एभरग्रान्डलाई घेरेको छ । एजेन्सी हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको हो । अदालतको आदेशपछि एभरग्रान्ड र यसका सूचीकृत सहायक कम्पनीको सेयर कारोबारमा प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार चीनको घरजग्गा कम्पनी एभरग्रान्ड विश्वको सबैभन्दा धेरै ऋण बोकेको घरजग्गा कम्पनी हो । जसको ३ खर्ब अमेरिकी डलरभन्दा बढी ऋण छ । ऋण तिर्न नसकेपछि कम्पनीले कानुनी प्रक्रियाका लागि आवेदन दिएको थियो । अब हङकङको एक अदालतले ऋणमा डुबेको घरजग्गा कम्पनी एभरग्रान्डलाई बन्द गर्न आदेश दिएको छ । एभरग्रान्डको दुई वर्षअघि नै नगद सकिएको थियो । कम्पनीले सन् २०२१ मा नै डिफल्ट घोषणा गरेपछि अब बन्द गर्न निर्देशन दिइएको हो । अदालतले कम्पनीको सम्पत्ति बेचेर ऋण असुल गर्न आदेश दिएको छ । भारी ऋणको बोझले दबिएको कम्पनीलाई ऋण तिर्नका लागि फुल प्रुफ योजना पेस गर्न भनिएको थियो तर कम्पनीले १८ महिनामा कुनै समाधान दिन नसकेपछि अब कम्पनीको सम्पत्ति बेचेर ३ खर्ब डलर असुली गर्ने आदेश दिइएको छ । एजेन्सी

भारतको विदेशी मुद्रा सञ्चिति घट्यो

काठमाडौं । भारतको केन्द्रिय बैंकको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ । सबैभन्दा ठूलो विदेशी मुद्रा कम्पोनेन्ट भनिने विदेशी मुद्रा सम्पती २ अर्ब ६५३ करोड डलर घटेर ५४५.८५ अर्ब डलर पुगेको तथ्यांकले देखाएको छ । जनवरी १२ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति १ अर्ब ६३४ बिलियन डलर बढेर ६१८.९३७ बिलियन डलर पुगेको थियो । वर्ष २०२३ मा भारतको विदेशी मुद्रा सञ्चितिमा झन्डै ५८ अर्ब डलर थपिएको थियो भने २०२२ मा देशको विदेशी मुद्रा सञ्चिति ७१ अर्ब डलरले घटेको थियो ।