चीनको प्राकृतिक ग्यास उत्पादन ५.८ प्रतिशतले वृद्धि

बेइजिङ । चीनको प्राकृतिक ग्यास उत्पादनले सन् २०२३ मा स्थिर वृद्धि दर्ता गरेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ । चीनले सन् २०२३ मा २२९।७ अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास उत्पादन गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ५.८ प्रतिशत बढी हो । विभागका अनुसार सन् २०२३ मा कुल ११ करोड ९९ लाख ७० हजार टन प्राकृतिक ग्यास आयात गरिएको थियो । यो अघिल्लो वर्षको तुलनामा ९.९ प्रतिशतले वृद्धि हो । डिसेम्बरमा मात्रै चीनको प्राकृतिक ग्यास आयातमा २३ प्रतिशत अर्थात् एक करोड २६ लाख ५० हजार टन प्राकृतिक ग्यास आयात गरेको छ । वृद्धि दर नोभेम्बरको तुलनामा १६.४ प्रतिशत बढी रहेको विभागले जनाएको छ ।

१५० वटा बोइङ जहाज किन्दै आकास एयर, भारतमा नयाँ तरङ्ग

भारत । भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेट विमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ । आकास एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए । सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।’ यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् । देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो । रासस

पाकिस्तानको आर्थिक सं‌कट : अण्डाको मूल्य ४०० रुपैयाँ, प्याज किलोको २५०

काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायत धेरै ठाउँबाट सहयोग प्राप्त गरेको छ । तर, देशको अवस्था भने उस्तै छ । मुद्रास्फीतिको अवस्था यस्तो छ कि कुखुराको मासु छाड्नुहोस्, जनताको थालबाट अण्डासमेत गायब हुँदैछ । एक रिपोर्टका अनुसार पाकिस्तानको लाहोरमा १२ अण्डाको मूल्य ४ सय रुपैयाँ पुगेको छ । पाकिस्तानी समाचार एजेन्सी एआरवाईको रिपोर्टअनुसार पाकिस्तानमा आगामी महिना चुनाव हुन लागेको छ तर मुद्रास्फीतिको अराजकता जारी छ । जसका कारण देशको मात्रै होइन यहाँका जनताको अवस्था पनि दयनीय बन्दै गएको छ । जनवरी १५ मा लाहोरमा एक दर्जन अण्डाको मूल्य ४ सय पाकिस्तानी रुपैयाँ पुगेको बताइएको छ । अण्डा मात्र होइन प्याजले पनि पाकिस्तानीहरुको आँसु निकालिरहेको छ । पाकिस्तानमा प्याजको भाउ २ सय ३० देखि २ सय ५० रुपैयाँ प्रतिकिलो पुगेको छ । जबकि, सरकारले तोकेको प्याजको मूल्य प्रतिकिलो १ सय ७५ रुपैयाँ छ । अण्डा र प्याज मात्रै होइन, पाकिस्तानमा कुखुराको मासुको मूल्य पनि आकाशिएको छ र घट्ने कुनै संकेत देखिएको छैन । रिपोर्टका अनुसार लाहोरमा एक किलो कुखुरा ६ सय १५ रुपैयाँमा पाइन्छ । यसका साथै दैनिक उपभोग्य वस्तुदेखि लिएर खाद्यवस्तुसम्मको मूल्यवृद्धिको मार देशका जनता निरन्तर भोगिरहेका छन् । यहाँ दूध प्रतिलिटर २ सय १३ रुपैयाँ र चामल प्रतिकिलो ३ सय २८ रुपैयाँमा बिक्री भइरहेको छ । फलफूलको कुरा गर्ने हो भने एक किलो स्याउको मूल्य २ सय ७३ रुपैयाँ पुगेको छ भने टमाटर २ सय रुपैयाँमा बिक्री भइरहेको छ । एआरवाईका अनुसार, गत महिना देशको आर्थिक समन्वय समिति (ईसीसी) ले राष्ट्रिय मूल्य अनुगमन समिति (एनपीएमसी) लाई मूल्य स्थिरता सुनिश्चित गर्न र भण्डारण रोक्नका लागि उपाय अपनाउन प्रदेश सरकारहरूसँग समन्वय गर्न निर्देशन दिएको थियो । पाकिस्तानको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यो बैठकको अध्यक्षता कार्यवाहक संघीय अर्थ, राजस्व र आर्थिक मामिला मन्त्री डा. शमशाद अख्तरले गरेका थिए । पाकिस्तानको अर्थतन्त्र विगत केही वर्षदेखि तीव्र गतिमा ओरालो लागिरहेकाे छ र नियन्त्रण बाहिर रहेको मुद्रास्फीतिले विशेष गरी गरिब जनताको अवस्था दयनीय बनाएको छ र उनीहरूलाई बाँच्न गाह्रो भइरहेको छ। अर्कोतर्फ मुलुकमा नगद संकट निरन्तर बढिरहेको छ । पाकिस्तानको यो अवस्था यस्तो बेला भएको छ जब आईएमएफले ३ अर्ब डलरको बेलआउट प्याकेजको दुई किस्ता स्वीकृत गरेको छ । यसअन्तर्गत आईएमएफले सन् २०२३ को जुलाईमा १ अर्ब २ करोड अमेरिकी डलरको प्रारम्भिक किस्ता जारी गरेको थियो भने अहिले दोस्रो किस्ता ७० करोड अमेरिकी डलर पनि स्वीकृत भएको छ । एजेनसी