जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २ सय नाग्यो

जापान । जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ बर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिन सम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् । इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता रहेको बताइएको छ । अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो । जसमा धेरै जसो अति प्रभावित क्षेत्र वाजिमाका मानिसहरू रहेको बुझिएको छ । प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भईरहेको छ । सोमबारसम्म झन्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ । झण्डै ६० हजार घरधुरी खानेपानीविहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ । मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न र प्रभावकारी उद्धार कार्य जारी राख्न निर्देशन दिएका छन् । जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ । यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यतिठूलो क्षति भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ । सन् २०११ को भूकम्पले सुनामी निम्त्याउदा करिब १८ हजार ५०० मानिसको मृत्यु भएको थियो । रासस

धावनमार्गमा जब विमान चिप्लियो…

रुस । रुसको नोर्डस्टार एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७३७-८०० यात्रुवाहक विमान मङ्गलबार साइबेरियाको नोरिल्स्क विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ । तर सो घटनामा कोही घाइते नभएको र खासै ठूलो क्षति नपुगेको स्थानीय अधिकारीहरूले बताएका छन् । संघीय हवाई यातायात एजेन्सीले जनाए अनुसार सो विमान बिहान १०:०० बजे अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएको थियो । उक्त विमानमा चालक दलका आठ सदस्य र १६८ जना यात्रुसहित १७६ जना सवार थिए । यस विषयमा अनुसन्धान जारी छ । रासस

चिसोका कारण दिल्लीका विद्यालयमा जाडो बिदा लम्बियो

काठमाडौं । दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडो बिदा जनवरी १२ सम्म बढाएको छ । नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि चिसो मौसमका कारण दिल्लीका विद्यालयहरूले आगामी ४ दिनका लागि बिदा बढाएका हुन् । यस सम्बन्धमा आइतबार दिल्ली सरकारबाट औपचारिक आदेश पनि जारी गरिएको छ । दिल्ली लगायत उत्तर भारतका धेरै राज्यमा शितलहर चलिरहेको छ ।