आतंकवादी दाउद इब्राहिमको सम्पत्ति कति छ ?

एजेन्सी । सन् १९९३–मुम्बई बम विस्फोट र २६–११ आतंकवादी हमलाका मास्टरमाइन्ड ६७ वर्षीय डन दाउद इब्राहिम फेरि एकपटक चर्चामा आएका छन् । कराँचीमा दाउदलाई विष खुवाइएको खबर आएको छ । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ । त्यहाँ उनको अवस्था गम्भीर छ । तर, यो खबरको पुष्टि भने भइसकेको छैन । दाउद ३० वर्षदेखि पाकिस्तानमा लुकेर बसेका छन् र त्यहीँबाट उनी विश्वभरि आफ्नो अवैध व्यापार चलाइरहेका छन् । दाउदको अवैध व्यापार विश्वका धेरै देशमा फैलिएको छ, जसका कारण उनले अर्बौं रुपैयाँको सम्पत्ति कमाएका छन् । कतिपय रिपोर्टका अनुसार उनकी श्रीमती मेहजबीन र भाइ अनीस मिलेर दाउदको बिजनेस चलाउँछन् । द गार्डियनको रिपोर्टअनुसार सन् १९८० र १९९० को दशकको सुरुमा दाउदले वेश्यावृत्ति, जुवा र लागुऔषध कारोबारमार्फत अर्बौं रुपैयाँको कालो व्यापार गरेका थिए । अहिले दाउदलाई विश्वव्यापी आतंकवादी संगठन डी कम्पनीको प्रमुख मानिन्छ । कति छ दाउद सम्पत्ति ? फोर्ब्सका अनुसार दाउद इब्राहिम अहिलेसम्मकै सबैभन्दा धनी ग्याङ्गस्टरमध्ये एक हुन् । २०१५ मा फोर्ब्सले दाउदको कुल सम्पत्ति ६ अर्ब ७० करोड अमेरिकी डलर (लगभग ६ खर्ब ६६ अर्ब भारु) रहेको अनुमान गरेको थियो। मिडिया रिपोर्टका अनुसार दाउदको पाकिस्तानी सहरमा ३ वटा आलिशान घर पनि छन् । दाउद कराँचीको डी–१३, ब्लक–४, क्लिफ्टनमा रहेको ६ हजार वर्गफिटमा फैलिएको आलिशान बंगलामा बस्ने दाबी गरिएको छ । यहाँ कराँचीको नो–ट्रेस जोन हो र यसलाई पाकिस्तानी रेन्जर्सले कडा सुरक्षा दिएको छ। धेरै सहरहरूमा सम्पत्ति दाउदको देशका धेरै सहरमा करोडौंको सम्पत्ति रहेको विश्वास गरिन्छ । दाउदको नाममा एउटा होटल (दाउद इब्राहिम होटल) पनि छ, जुन अहिले जफत गरिएको छ । मुम्बई र अन्य सहरहरूमा दाउदको धेरै सम्पत्ति जफत गरिएको छ । दाउदको दुबईमा पनि धेरै सम्पत्ति छ । दाउदसँग मुम्बईमा हुन्डाई एक्सेन्ट सेडान कार पनि थियो, जुन सरकारले जफत गरेको छ। आईपीएल म्याच फिक्सिङबाट पनि कमाएका थिए पैसा दाउद इब्राहिमलाई क्रिकेट हेर्न निकै मनपर्थ्यो । म्याच हेर्नका साथै सट्टेबाजी पनि गर्थे । पछि म्याच फिक्सिङमा उनको नाम बाहिर आयो । यसबाहेक, दाउद टूजी स्पेक्ट्रमलगायत धेरै घोटालामा संलग्न छन् । सन् १९९३ को मुम्बई बम विस्फोट गराउनुबाहेक दाउदको ओसामा बिन लादेन र प्रतिबन्धित आतंकवादी संगठन अल कायदाका अयमान अल जवाहिरीसँग पनि घनिष्ठ सम्बन्ध थियो। दाउदलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आइएस र अल–कायदा प्रतिबन्ध समितिले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । बेलायतमा ४५ करोड डलरको सम्पत्ति दाउद इब्राहिमको युरोप, अफ्रिका र दक्षिण एसियाका एक दर्जनभन्दा बढी देशमा सम्पत्ति छ। बेलायतमा मात्रै उनको ४५ करोड अमेरिकी डलरबराबरको सम्पत्ति छ । दाउदले विश्वका विभिन्न देशमा ५० भन्दा बढी व्यवसायमा लगानी गरेको बताइएको छ । दाउदको व्यापार भारत, पाकिस्तान, बेलायत, जर्मनी, टर्की, फ्रान्स, स्पेन, मोरक्को, साइप्रस, संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्म फैलिएको छ।

बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २० अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं । दुई वैश्विक ऋणदाताको ऋण केन्द्रीय बैंकको खातामा जम्मा भएपछि बङ्गलादेशको विदेशी मुद्रा भण्डार २० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसबाट लामो समयदेखि विदेशी मुद्राको सञ्चितिमा भएको गिरावट रोकिएको छ । बङ्गलादेश बैंकका कार्यकारी अधिकृत तथा प्रवक्ता मोहम्मद मेजबुल हकले आइतबार पत्रकारहरूसँग ६८ करोड ९० लाख डलर अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) र ४० करोड डलर एसियाली विकास बैंक (एडिबी) बाट आएको जानकारी दिए । उनका अनुसार वैश्विक ऋणदाताबाट केन्द्रीय बैंकको खातामा एक अर्ब नौ करोड डलर ऋण प्राप्त हुनुअघि बिहीबार मुलुकको वैदेशिक मुद्रा सञ्चिति १९ अर्ब १७ करोड डलर थियो । विश्वव्यापीरूपमा आयात लागतमा उल्लेख्य वृद्धि हुनुका साथै विप्रेषण र निर्यातबाट हुने आम्दानी अपेक्षाकृत कम हुँदा विदेशी मुद्रा सञ्चिति घट्ने क्रम जारी छ । बङ्गलादेशको सबैभन्दा उच्च वैदेशिक मुद्रा सञ्चिति सन् २०२१ मा ४८ अर्ब डलर थियो । यद्यपि अन्तर्राष्ट्रिय उथलपुथलका कारण २०२२ को सुरुआतदेखि नै सञ्चितिको दर घट्दै गएको देखिन्छ । खुम्चिँदै गएको वैदेशिक मुद्रा सञ्चिति बढाउनका लागि केन्द्रीय बैंकले गत वर्ष धेरै उपाय अवलम्बन गरेको थियो । बैंक अन्तर्राष्ट्रिय कारोबारमा चिनियाँ युआनको प्रयोगसहित वैकल्पिक मुद्रा व्यवस्थामनमा लागेको छ । यद्यपि केन्द्रीय बैंकका अधिकारीहरूले वर्तमान सञ्चितिसँगै बङ्गलादेश करिब चार महिनाको आयातको भुक्तानी गर्ने स्थितिमा रहेको बताएका छन् । बङ्गलादेशजस्तो बढ्दो अर्थतन्त्रका लागि छ महिनाको आयात भुक्तानी बराबर वैदेशिक मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । रासस

भारतमा बन्ने ८ धावनमार्गको एसियाकै ठूलो नोएडा अन्तर्राष्ट्रिय विमानस्थल कहिले तयार हुन्छ ?

एजेन्सी । भारतको उत्तर प्रदेशमा निर्माण भइरहेको एसियाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल (जेआईए) करिब डेढ महिनापछि अर्थात फेब्रुअरीमा सञ्चालनमा आउने भएको छ । जेवर इन्टरनेशनल एयरपोर्ट (जेआईए) वा नोएडा इन्टरनेशनल एयरपोर्ट भनिने यो विमानस्थल निर्माण र सञ्चालनको जिम्मा स्वीटजरल्याण्डको जुरिच इन्टरनेशनल एयरपोर्ट एजीले पाएको छ । जुरिचले ४० वर्षसम्म यो विमानस्थल सञ्चालन गर्न पाउने ठेक्का पाएको छ । जुरिचका अनुसार २०२४ बाट दुईवाटा धावनमार्ग (रनवे) सञ्चालनमा ल्याइने छ भने भविष्यमा थप २ हजार ९ सय हेक्टर क्षेत्रफल ओगटेर धावनमार्ग संख्या ८ पुर्‍याइने छ । विमानस्थल सञ्चालनमा आएपछि यसले वार्षिक १ करोड २० लाख यात्रु व्यवस्थापन गर्ने छ । आगामी ३० वर्षभित्र विमानस्थल विस्तार गर्दै लगेर ८ धावनमार्ग बनेपछि यसले वार्षिक ६ करोडदेखि १२ करोडसम्म यात्रु व्यवस्थापन गर्ने जुरिचले जनाएको छ । संयुक्त समन्वय समिति (जेसीसी) को पाँचौं बैठकमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थल (जेआईए) को काम तीव्र गतिमा भइरहेको आश्वासन दिइएको थियो । अहिले विमानस्थल निर्माण कार्य तीव्र गतिमा चलिरहेको छ । विमानस्थल समयमै तयार हुने अपेक्षा गरिएको छ । अर्को वर्षदेखि यहाँ विमानहरू उडान सुरु हुनेछन्। विमानले फेब्रुअरी २०२४ बाट अभ्यासका रूपमा उडान सुरु गर्ने विमानस्थल निर्माणसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् । उत्तर प्रदेशका प्रमुख सचिव दुर्गाशंकर मिश्राले शुक्रबार नोएडा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्यको निरीक्षण गरेका थिए । त्यसपछि संयुक्त समन्वय समितिको पाँचौं बैठक बस्यो । बैठकमा केन्द्रीय निकायका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । बैठकमा मिश्रले विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने अपेक्षा गरिएको बताए । ‘यो महत्वपूर्ण आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर छ,’ उनले भने । यो बैठकमा विमानस्थल निर्माणसँग सम्बन्धित अधिकारीहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए । जुरिच इन्टरनेशनल एयरपोर्ट एजी र यमुना इन्टरनेशनल एयरपोर्ट प्राइभेट लिमिटेडका अधिकारीका अनुसार निर्माण कार्यमा प्रयोग हुने मेसिनरी र आयोजनामा ​​काम गर्ने मजदुर पनि बढाइएको छ । यसबाट समयमै निर्माण कार्य सम्पन्न हुने अपेक्षा छ ।