स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न उक्त सहायता उपलब्ध गराउने भएको हो । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले बिहीबार स्वीकृत गरेको हो । बैंकको प्रधानकार्यालय मनिलाबाट बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो । उक्त वित्तीय प्याकेजअन्तर्गत ६० करोड रुपैयाँ अनुदान सहायता हो । सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् । रासस

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

काठमाडौं । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ। यसै गरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ । यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिँउले सेताम्य भएका छन् । रासस

अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

अस्ट्रेलिया । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो । यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ । एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो । अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घन्टाको कूल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ । रासस