विषाक्त खानाका कारण भारतमा एक सयभन्दा बढी विद्यार्थी बिरामी
भारत । भारतको मध्यप्रदेशस्थित एक सरकारी शारीरिक शिक्षा संस्थानका एक सयभन्दा बढी विद्यार्थीलाई विषाक्त खानाका कारण बिरामी भएर अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब चार सय ३२ किलोमिटर टाढा ग्वालियरमा लक्ष्मीबाई राष्ट्रिय शारीरिक शिक्षा संस्थानमा उक्त घटना भएको हो । वाकवाकी लाग्ने, पेट दुख्ने र वान्ता भएको गुनासो गरेपछि १८ देखि २५ वर्ष उमेर समूहका ती विद्यार्थीलाई मङ्गलबार तत्काल सरकारी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका सुपरिटेन्डेन्टका अनुसार गम्भीर अवस्थामा रहेका एक विद्यार्थीलाई भेन्टिलेटरमा राखिएको छ भने अन्यको अवस्था स्थिर रहेको छ । प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान सुरु गरेको बताइएको छ । रासस
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई
एजेन्सी । परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिहरूका लागि उनीहरूलाई सम्मान गरिएको जुरीले बताएको छ । एटोसेकेन्ड यति छोटो हुन्छ कि एक सेकेन्डमा त्यति नै सेकेन्ड हुन्छ जति ब्रह्माण्डको उत्पत्तिपछि भएको थियो । जुरीका अनुसार पुरस्कृत वैज्ञानिकहरूले प्रकाशको अत्यन्त सानो पल्सहरू बनाउने तरिकाको प्रदर्शन गरेका छन् जसबाट इलेक्ट्रोन सञ्चालन हुने वा ऊर्जा परिवर्तन हुने तीव्र प्रक्रियाहरू नाप्न प्रयोग गरिन्छ । ‘पुरस्कृतहरूको योगदानले अत्यन्त तीव्रताका कारण पहिला पालना गर्न असम्भव प्रक्रियाहरूको अनुसन्धानलाई सक्षम बनाएको छ’, जुरीले भनेको छ । अगोस्टिनी अमेरिकामा ओहायो स्टेट युनिभर्सिटीमा प्रोफेसर हुन् भने क्राउज जर्मनमा म्याक्स प्लान्क इन्स्टिच्युटका निर्देशक हुन् । त्यसैगरी स्विडेनको लुन्ड विश्वविद्यालयकी प्रोफेसर एलहुइलियर सन् १९०१ पछि भौतिकशास्त्रमा नोबेल पुरस्कार जित्ने पाँचौँ महिला हुन् ।
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा : राष्ट्रसङ्घ
नैरोबी । सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपत्काल’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । ती मध्ये ९० प्रतिशत शरणार्थीको धेरै दिन खानाबिना बितिरहेको राष्ट्रसङ्घले बताएको छ । सुडानका सेना प्रमुख अब्देल फत्तह अल–बुर्हान र उनका पूर्वसहायक मोहम्मद हाम्दान दाग्लोप्रति बफादार सेनाहरू बीचको लडाइँका कारण पछिल्लो पाँच महिनामा करिब तीन लाख दक्षिण सुडानी नागरिकहरू घर फर्कन बाध्य भएको राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बताएको छ । सो संस्थाका अनुसार यो सङ्कटले पाँच वर्षमुनिका २० प्रतिशत बालबालिका कुपोषित हुनुका साथै कम उमेरका पीडितहरूलाई गम्भीर असर पुगेको छ । मध्य अप्रिलदेखि सुरु भएको द्वन्द्वयता कम्तीमा सात हजार पाँच सय मानिसले ज्यान गुमाइसकेका छन् । हिंसा रोक्ने धेरै युद्धविराम असफल भएका छन् । जसका कारण हजारौँ मानिस सुडानका सीमातिर धकेलिएका छन् भने धेरै क्षेत्रमा मानवीय सङ्कटको त्रास उत्पन्न भएको छ । दक्षिण सुडानीहरू पहिले नै व्यापक मानवीय आवश्यकताहरूको सामना गरिरहेको मुलुकमा फर्किरहेको डब्लुएफपीले जनाएको छ । ‘आज आइपुगेकाहरू द्वन्द्वको सुरुको साताहरूमा भागेका परिवारभन्दा पनि अझ धेरै कमजोर अवस्थामा छन्’, डब्लुएफपीले भनेको छ । विश्वको सबैभन्दा गरिब मुलुकमध्येको एक दक्षिण सुडान सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको थियो । तर स्वतन्त्र भएको केही समयमै हिंसात्मक द्वन्द्वको चपेटामा पर्दा भर्खरै जन्मेको देश विभाजित हुँदै आघातमा पर्यो । सन् २०१८ मा औपचारिकरूपमा गृहयुद्ध अन्त्य हुनुभन्दा अघिको पाँच वर्षको रक्तपातमा यो मुलुकमा तीन लाख ८० हजार मानिसको मृत्यु भएको थियो । साट्ठीभन्दा बढी जातीय समूह र एक करोड २० लाख जनसङ्ख्या भएको दक्षिण सुडानले घातक हिंसा, प्राकृतिक विपत्ति र लगातारको राजनीतिक अन्तरविरोधको सामना गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घले रक्तपातलाई प्रश्रय दिएको, राजनीतिक स्वतन्त्रतामा लगाम लगाएको र सार्वजनिक सम्पत्ति लुट्नमा भूमिका खेलेको भन्दै दक्षिण सुडानको नेतृत्वको आलोचना गरेको छ । सन् २०१८ को विश्व बैंकको तथ्याङ्कअनुसार दक्षिण सुडानमा तेलको ठूलो भण्डार भए पनि पाँचमध्ये चार दक्षिण सुडानी ‘निरपेक्ष गरिबी’ मा रहेका छन् । रासस