विषाक्त मदिराले भारतको बिहार राज्यमा ३७ जनाको मृत्यु

एजेन्सी । विषाक्त मदिरा पानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । त्यसक्षेत्रमा जहाँ रक्सी प्रतिबन्धित छ । विभिन्न सञ्चार माध्यमले मदिरापानबाट मृत्यु हुनेको सङ्ख्या ६० भन्दा बढी रहेको बताएका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ । पछिल्लो दुःखद घटनाका पीडित परिवारले सोमबार विवाह र अन्य कार्यक्रममा विभिन्न गाउँका मानिसहरूले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिउने गरेको बताएका छन् । त्यसपछि धेरैले पेट दुख्ने र दृष्टि गुम्ने र वान्ता हुने गरेको बताएका छन् । बिहीबारसम्म २० भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको थियो र शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्। गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्, प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । अहिलेसम्म ३७ जनाको ज्यान गएको छ। उनले ६२ जनाको मृत्यु भएको स्थानीय मिडिया सञ्चार माध्यमले बताए पनि पुष्टि भने हुन सकेको छैन् । प्रहरीले पछिल्लो तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा संलग्न एक सयभन्दा बढीलाई पक्राउ गरेको छ भने ६ सय लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ । स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् ।

दुर्घटनामा टर्किएमा छ जना आप्रवासीको मृत्यु

एजेन्सी । टर्किएको दक्षिणपूर्वी सानलिउर्फा प्रान्तमा शुक्रबार एउटा मिनीबस सिँचाइ नहरमा खस्दा कम्तीमा छ जना गैरकानुनी आप्रवासीको मृत्यु हुनाका साथै अन्य पाँच जना घाइते भएका स्थानीय गभर्नरले बताएका छन्। घाइते आप्रवासीहरूको उपचार भइरहेको छ र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको गभर्नर सालिह आयहानले बताएका छन् । मिनिबसबाट केही घाइते आफैं बाहिर निस्केका थिए भने केहीको घटनापछि स्थानीयको सहयोगमा उद्धार गरिएको गभर्नरले जानकारी दिएका छन् । मिनिबसमा जम्मा ३१ जना आप्रवासी सवार रहेको बुजीएको छ । घटनास्थलबाट भाग्न खोज्ने गाडीका चालकलाई स्थानीय अधिकारीहरूले समातेर हिरासतमा राखेका छन् । आठ करोडभन्दा बढी जनसङ्ख्या भएको टर्किएले ४० लाखभन्दा बढी शरणार्थीहरूलाई आप्रवासन सुविधा दिएको छ । केही आप्रवासीहरू वरपरको क्षेत्रको द्वन्द्वबाट भागेर टर्किएमा आउँछन् भने कोही टर्किएबाट युरोप जाने उद्देश्यले आउने गर्छन् । टर्कीको आन्तरिक मन्त्रालयले यस महिनाको शुरुमा सार्वजनिक गरेको जानकारी अनुसार हालसम्म सन् २०२२ मा दुई लाख १९ हजार ४५५ अनियमित आप्रवासीलाई पक्राउ गरेको छ।

विहारमा विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु

विहार । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ । अवैधरूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य मानिन्छ । अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलायत रसायन प्रयोग गरिन्छ । यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ । कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ । यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियोभने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए । रासस