नयाँदिल्लीकाे वायुको गुणस्तर अति खराब

दिल्ली । चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर सूचकाङ्क एक्युआई ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलायई निर्देशन दिएको थियो । देशको राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएपछि यही मङ्सिर १८ गते वायु प्रदूषण हुन नदिने प्रतिकार्य योजनाअन्तर्गत अस्थायीरुपमा भवन निर्माण तथा भत्काउनेलगायत काममा प्रतिबन्ध घोषणा गरेको थियो । यद्यपि राष्ट्रिय प्रतिरक्षा, मेट्रो रेल, विमानस्थल, अस्पताल, विद्युत् प्रसारणका कामलाई भने निरन्तरता दिन परिपत्र गरिएको थियो । शून्यदेखि एक सयसम्मको वायु गुणस्तर सूचकाङ्कलाई राम्रो मानिन्छ भने एक सयदेखि दुई सयसम्म मध्यम, दुई सयदेखि तीन सयसम्मलाई खराब, तीन सयदेखि चार सयसम्मलाई अति खराब तथा चार सयदेखि पाँच सयसम्म जा त्यसभन्दा माथिको स्थितिलाई गम्भीर मानिन्छ । रासस

चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

एजेन्सी । चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन– अरब समुदायबीच सहयोग सुदृढ गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । पहिलोपटक भएको उक्त शिखर सम्मेलनले जारी गरेको रियाद घोषणापत्रमा चीन–अरब राष्ट्रबीच सहयोगका क्षेत्र विस्तार गर्ने, रणनीतिक साझेदारीलाई अझ फराकिलो बनाउन सम्भावनाको खोजी गर्ने तथा चीन–अरब राष्ट्र सहयोग मञ्चको प्रारुपअन्तर्गत आपसी सहयोगलाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । एकचीन सिद्धान्तको पालना, ताइवान चीनको अविभाज्य भूभाग भएको वास्तविकताप्रति दृढ समर्थन चीनको सार्वभौमिकसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका खातिर सहयोग गर्नेमा पनि घोषणापत्रमा विशेष जोड दिइएको छ । सिरिया, लिबिया र यमनलगायत क्षेत्रीय सङ्कटको राजनीतिक समाधान अन्तर्राष्ट्रिय सम्झौता र सिद्धान्तका आधारमा गर्न क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा चीन र अरब लिगका नेताहरूले आह्वान गरेका छन् । शिखर सम्मेलनमा सहभागी नेताले युक्रेन सङ्कटको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय बडापत्रका सिद्धान्त, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका मूल्यमान्यताअनुसार शान्तिसुरक्षा कायम गर्ने वैश्विक प्रयासमा समर्थन गर्ने बताएका छन् ।

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

युक्रेन । ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित हुँदा युक्रेनको ओडेसामा अन्धकार छाएको छ। उक्त बन्दरगाह सहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अलजजिराले उल्लेख गरेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह सहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन्। युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो। अधिकारीका अनुसार शनिबार बिहानको समयमा रुसी आक्रमणले महत्त्वपूर्ण प्रसारण लाइन र मेसिनरीलाई प्रहार गरेको थियो। अहिले अस्पताल र प्रसूति वार्डलगायत महत्त्वपूर्ण पूर्वाधारमा मात्र बिजुलीको पहुँच रहेको बताइएको छ। ‘अहिलेसम्म सहर बिजुलीविहीन छ,’ राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोसेन्कोले मेसेजिङ एप टेलिग्राममा भनेका छन्। युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर ओडेसामा यस वर्षको फेब्रुअरी २४ मा रुसले आक्रमण गर्नुअघि १० लाखभन्दा बढी जनसंख्या थियो। यसैबीच नोभेम्बरमा दक्षिणी युक्रेनको निकोपोल जिल्लामा रुसले आक्रमण गरेको र स्थिति बिग्रँदै गएको जिल्ला सैन्य प्रशासनका प्रमुखले बताएका छन्। ‘करिब ६० गोला र रकेट हतियार शान्तिपूर्ण बस्तीमा खसे,’ निकोपोल जिल्लाका प्रशासन प्रमुख येभेन येभतुसेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । रासस