ट्रम्प ‘संविधानदेखि टाढिएको’ पूर्वसैनिक प्रमुख पावलको आरोप

काठमाडाैं । अमेरिकी पूर्वविदेशमन्त्री कोलिन पावलले जातीयताविरोधी प्रदर्शनप्रति अपनाएको रवैयालाई लिएर राष्ट्रपति डोनल्ड ट्रम्पको चर्को आलोचना गर्दै उनी ‘संविधानदेखि टाढिएको’ बताएका छन् । पूर्व उच्च सैनिक अधिकारी समेत रहेका रिपब्लिकन नेता ट्रम्पको रवैयालाई लिएर आलोचना गर्नेहरूको सूचीमा पछिल्लो पटक थपिएका छन् ।प्रदर्शनहरूलाई दबाउनका निम्ति सेना परिचालन गर्ने लगायत चेतावनी ट्रम्पले दिएका थिए । पावलले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा आफूले डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई मत दिने बताएका छन् । ट्वीट गर्दै ट्रम्पले पावललाई ‘आवश्यकताभन्दा बढी महत्त्व पाएको व्यक्ति’ भनेका छन् । अफ्रिकी/अमेरिकी पावल ज्वाइन्ट चीफ्स अफ स्टाफ रहिसकेका छन् ।ट्रम्पको आलोचना गर्ने अमेरिकी पूर्व वरिष्ठ सैनिक अधिकारीहरूको पङ्क्तिमा उनी पनि उभिएका छन् । प्रहरी नियन्त्रणका क्रममा अफ्रिकी/अमेरिकी पुरुष जोर्ज फ्लोइडको मृत्युपछि जातीयता र प्रहरी दमनविरुद्ध प्रदर्शनहरू हुँदै आएको केही दिनपछि पछिल्लो विकासक्रम भएको हो । तनाव मत्थर हुँदै जाँदा आइतवारदेखि अमेरिकाभरि सुरक्षाका कदमहरू खुकुलो पारिएका छन् । न्यूयोर्कमा हप्तादेखि लगाइएको कर्फ्यू हटाइएको छ र ट्रम्पले वाशिङ्गटन डीसीबाट फर्कन न्याश्नल गार्डलाई आदेश दिन लागेको बताएका छन् । पावलले के भनेर ? सीएनएनको स्टेट अफ युनियनमा आइतवार बोल्दै पावलले भने, ‘हामीसँग एउटा संविधान छ र हामीले त्यसलाई मान्नुपर्छ । तर राष्ट्रपति संविधानदेखि टाढिएका छन् ।’ ट्रम्पलाई इङ्गित गर्दै अवकाशप्राप्त चारतारे सैनिक जनरल पावलले भने, ‘उनी झूट बोल्छन् र त्यसबाट फुत्किन्छन् । किनकि मानिसहरूले उनलाई जवाफदेही बनाउँदैनन् ।’ अमेरिकी लोकतन्त्रका लागि ट्रम्पका अभिव्यक्तिहरू खतरनाक भएको भन्दै पावलले भने, ‘यस पटक चुनावमा म राष्ट्रपति ट्रम्पलाई निश्चित रूपमा कुनै प्रकारको सहयोग गर्न सक्दिनँ ।’ उनले थपे, ‘सामाजिक र राजनीतिक हिसाबले म जो बाइडनसँग निकै नजिक छु । मैले उनीसँग ३५, ४० वर्ष काम गरेको छु । अहिले उनी उम्मेदवार छन् र म उनलाई मत दिनेछु ।’ मध्यमार्गी रिपब्लिकनका रूपमा चिनिने पावलले सन् २०१६ मा ट्रम्पलाई मत दिएनन् । आफ्नो अन्तर्वार्तामा उनले पछिल्ला दिनमा ट्रम्पको आलोचना गरेका सैनिक नेतृत्त्वहरूप्रति समर्थन पनि जनाए । तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा ज्वाइन्ट चीफ्स अफ स्टाफ रहेका जनरल मार्टिन डेम्प्सेले राष्ट्रपति ट्रम्पका शब्दले अमेरिकी नागरिक र सैनिकबीचको सम्बन्धमा आघात पुगेको एबीसीको द वीक कार्यक्रममा आइतवार बताए । (बीबीसी नेपालीबाट)

ती चार नेता जसले आफैं तोडे लकडाउनको नियम

काठमाडौं । बृद्ध वृद्धाहरु आफ्नै नाती नातिनीलाई काखमा राख्नका लागि लालायित छन्, आफन्तहरु आफ्ना प्रियजनहरुको अन्तिम संस्कारमा उपस्थित हुन पाइरहेका छैनन् । वास्तवमै लकडाउनको नियमले कोरोना भाइरसलाई फैलनमा कम त गरेको छ तर यो क्रममा मानिसहरुले ठूलो संख्यामा बलिदान पनि दिएका छन् । लकडाउनको नियम कडाइका साथ पालना गर्नेहरु सुरक्षित रहँदै आएका छन् भने यो नियमको पालना नगर्नेहरु चाहिँ खराब परिस्थितीको सामना गरिरहेका छन् । यत्ति हुँदाहुँदै पनि कतिपय राजनेताहरुले चाहिँ आफैंले बनाएको नियम तोडेको पाइएको छ । यहाँ हामी चर्चा गर्दैछौं ती ४ चर्चित नेताहरुको वारेमा जसले आफैंले बनाएको नियमलाई तोड्दै गरेको पाइएको छ । डोनाल्ड ट्रंप, अमेरीका कोरोना भाइरस महामारीका कारण दुनियाँभरमा भएको कूल मृत्युको ३० प्रतिशत मृत्यु अमेरीकामै मात्र भएको छ । गत अप्रिल पहिलो हप्ता अमेरीकाको सेंटर्स फर डिसीज कन्ट्रोल एण्ड प्रिवेंशन (सीडीसी) ले यो सल्लाह दिएको थियो कि कोरोना भाइरससँग जुध्नका लागि सबै अमेरिकीले मास्क लगाउनु पर्छ । यो सल्लाहका बाबजुद राष्ट्रपति ट्रंपले मास्क लगाउन चाहेनन् । त्यसैगरी २१ मईमा उनले फोर्ड प्लान्टको भ्रमण गरे जसले भेन्टिलेटरको निर्माण गरिरहेको थियो । त्यहाँका कर्मचारीहरुले आफ्नो अनुहार मास्कले ढाकेका भएपनि ट्रंपले चाहिँ त्यसो गरेनन् । भ्लादिमीर पुटिन, रुस रुसका राष्ट्रपति भ्लादिमीर पुटिन कडा मिहिनेतका साथ काम गर्ने नेताका रुपमा चिनिन्छन् । २४ मार्चमा जब कोरोना भाइरसको प्रकोप शुरु भइरहेको थियो तब उनले मस्कोको एउटा अस्पतालको भ्रमण गरेका थिए । उनले अस्पतालको भ्रमणका बखत हेजाड्र्स मेटेरियल सूट लगाएका भएपनि त्यहाँका डक्टरहरुसँग भेट गर्दा चाहिँ कुनैपनि किसिमको प्रोटेक्टिव गियर प्रयोग गरेका थिएनन् । त्यो एउटा जोखिमले भरिएको व्यवहार थियो, खासगरी त्यो वेला जब उनले अस्पतालका चिफ डक्टर डेनिस प्रोत्सेनकोसँग हात मिलाए । केही दिन पछि मात्र डक्टर प्रोत्सेनकोमा कोरोना पोजिटिभ देखिएको थियो । बिन्यामिन नेतन्याहु, इजरायल इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहु तथा राष्ट्रपति रुवेन रिवलिन त्यो समय आलोचनाको शिकार भए जब तिनीहरुले आफ्ना ब्यस्क बच्चाहरुका साथ पासोवर चाडको भोज आयोजना गरे । केही दिन अघि मात्र उनले लकडाउनको घोषणा गर्दै देशवासीहरुसँग कुनैपनि किसिमको भोज आयोजना नगर्नका लागि अपिल गरेका थिए । यो घटनालाई लिएर इजरायलका मिडियाहरुले प्रश्न खडा गरेका थिए । योगी आदित्यनाथ, भारत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चका दिन दुनियाँको सवैभन्दा ठूलो लकडाउनको घोषणा गरे जसले १ अर्ब ३५ करोडको आवादी वाला देशलाई पूर्ण रुपमा रोकिदिएको थियो । यो क्रममा पूजा तथा प्रार्थनास्थलहरु पनि बन्द गरिएको थियो । यत्ति हुँदाहुँदै पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लकडाउन लागू भएको पहिलो दिन नै यसको उल्लंघन गरिदिए । अयोध्याको विवादित स्थलमा मन्दिर निर्माणका लागि गरिएको धार्मिक अनुष्ठानमा उनले भाग लिँदै गरेको तस्विर बाहिरियो । श्रोतः बीबीसी

उत्तरी नाइजेरियामा भिषण सैनिक कारबाहीमा, ७० जना बन्दुधारी मारिए

अबुजा । नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर बसेको कासिया जंगलमा सेनाले गरेको कारबाहीमा ती व्यक्ति मारिएको बताए । कडुनाको ठूलो क्षेत्रमा बन्दुकधारीहरुले स्थानीय गाउँलेको सम्पत्ति र गाईवस्तु लुटपाट गर्नुका साथै प्रतिरोध गर्ने स्थानीयवासीको हत्या गर्ने गरेका छन् । लगातार त्रासको वातावरण सिर्जना गरेको भन्दै नाइजेरियाली सेनाले सो क्षेत्रमा अहिले अपरेशन एकर्ड नामको सैनिक अभियान सञ्चालन गरेको छ । सेनाले पैदल सहित हेलिकप्टरबाट बन्धुकधारीहरु लुकेका स्थानमा कारबाही गरेको प्रवक्ताले जानकारी दिए। कारबाहीमा अरु धेरै घाइते व्यक्ति फरार भएको पनि सेनाको भनाई छ । सेनाले अझै पनि जंगल क्षेत्रमा कारबाही जारी राखेको जनाएको छ । एक साता अघि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले कुडुना क्षेत्रमा सक्रिय बन्दुकधारीलाई पूर्ण रुपमा निर्मूल गर्नेगरी सैन्य कारबाही तिब्र बनाउन आदेश दिएका थिए ।  रासस–सिन्ह्वा