अमेरिकी विदेशमन्त्रीद्धारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरे । उनले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गरेको बताए । हालै अमेरिका तथा विश्वका ती देशहरु पनि कोभिड १९ महामारीको समस्याबाट गुज्रिरहेको भन्दै यसबाट निकासका साथै आपसमा के कसरी सहयोग गरेर अघि बढ्ने भन्ने बारेमा सो छलफलका क्रममा कुराकानी भएको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री पोम्पेओले कोभिड १९ महामारीबाट बच्नका लागि ती देशहरुले के कसरी समन्वय गरेर अघि बढिरहेका छन् भन्ने बारेमा जानकारी लिएका थिए । साथै त्यस कुराकानीका क्रममा ती देशहरुलाई यो महामारीबाट बच्नका लागि अमेरिकाले पनि आवश्यक सहयोग गर्ने आश्वासन विज्ञप्तिमा जानकारी दिइएको छ । त्यस छलफलका क्रममा ती विदेशमन्त्रीहरुले आगामी दिनमा पनि महामारीको रोकथाम र नियन्त्रणका लागि सहयोग र समन्वयका साथ अघि बढ्दा के कस्तो फाइदा हुन्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए । त्यस छलफलका क्रममा अमेरिका चीन सम्बन्ध तथा अरु क्षेत्रीय विषयहरुका साथै आगामी दिनमा कोभिड महामारीबाट मुक्ति के कसरी हुने र त्यसपछिको विश्वको आर्थिका विकासको अवस्थालाई के कसरी अघि बढाउने भन्ने विषयका पनि विदेशमन्त्री पोम्पेओले विदेश मन्त्रीहरुसँग आवश्यक मात्रामा कुराकानी गर्नेछौं । रासस/एएनआई

दक्षिण कोरियामा जनसङ्ख्या घट्दो

साेउल । दक्षिण कोरियाको जनसङ्ख्या क्रमिकरूपमा घटेको छ । दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको एक तथ्याङ्कअनुसार गएको डिसेम्बरमा ५१.८५१ मिलियन रहेकोमा मे अन्तिमसम्ममा जनसङ्ख्या ५१.८४१ मिलियनमा झरेको छ । मृत्युदर्ता, जन्मदर्ता तथा बसाइँसराइलाई आधार मानि सार्वजनिक गरिएको सो तथ्याङ्कमा १० हजार ५६ ले घटेको हो । उक्त अवधिमा सबैभन्दा धेरै गत फेब्रुअरीमा दुई हजार ८ सय ८२ ले घटेको छ भने सबैभन्दा कम अप्रिलमा ७ सय ७१ ले घटेको छ । कोरियामा यसभन्दा अघि सन् २००८ को मार्च र २००९ को अप्रिलमा पनि जनसङ्ख्या केही घटेको थियो भने एक दशकयता भने निरन्तर बढ्दो क्रममा थियो । तथ्याङ्कका अनुसार जनसङ्ख्या घट्नुको कारण कोरोनाका कारण भने न्यून विन्दुमा देखिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण कोरियामा २ सय ७१ जनाको मात्र मृत्यु भएको छ । स्थायी बसोबास गर्नेले पुनः प्रवेशाज्ञा लिनुपर्ने कोरोना रोकथामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यहाँ स्थायी बसोबास गर्ने सम्पूर्ण विदेशी नागरिक जुनसुकै देशमा भए पनि कोरिया फर्कंदा जुन १ तारिखदेखि स्थानीय अध्यामनबाट पुनः प्रवेश अनुमति लिनुपर्ने नियम बनाइएको छ । सो नियमानुसार यहाँ स्थायी बसोबास गर्ने नेपाली नेपाल वा कोरियाबाहेक अन्य मुलुकमा बसी कोरिया प्रवेश गर्न लागेको छ भने स्थानीय अध्यागमनबाट अनिवार्य प्रवेशआज्ञा लिनुपर्नेछ । यहाँको न्याय मन्त्रालयका अनुसार यहाँ लामो समय बसोबास गरी केही समयका लागि बाहिर गएका विदेशी नागरिकले सरकारले तोकेका निश्चित मापदण्ड पूरा गरी स्थानीय अध्यागमनबाट पुनः प्रवेशाज्ञा लिनुपर्ने भएको हो । मापदण्डअनुसार प्रवेशाज्ञा लिँदा ४८ घण्टाभित्र अनिवार्यरूपमा उक्त देशको सरकारी मान्यता प्राप्त अस्पतालबाट स्वास्थ्य जाँच गरेको रिपोर्ट बुझाउनु पर्ने जनाइएको छ । रिपोर्टमा ज्योरो, रुघाखोकी, शरीर चिलाउने, टाउको दुख्ने, स्वासप्रस्वाससम्बन्धी समस्या आदिको लक्षण भए/नभएको अनिवार्यरूपमा खुलेको हुनुपर्ने छ । रिपोर्ट कोरियन वा अङ्ग्रेजी भाषामा लेखिएको हुनुपर्ने र मान्यताप्राप्त चिकित्सकको हस्ताक्षरसमेत भएको हुनुपर्ने प्रावधान छ । तर कूटनीतिक भिसा, अफिसियल भिसा, सन्धि सम्झौतासम्बन्धी भिसा तथा विदेशमा बस्ने कोरियन नागरिकका लागि भने भिसाको लागि यो नियम लागू नहुने जनाइएको छ । रासस

ट्रम्पले आन्दोलनकारीलाई हटाइ बाइबल लिएर फोटो खिचाएकाेमा प्रमुख पादरीले गरे आलोचना

काठमाडाैं ।  वासिङ्गटनको क्याथोलिक चर्चका प्रमुख पादरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गम्भीर आलोचना गरेका छन् । प्रहरीकाे हिरासतमा अश्वेत व्यक्ति जर्ज फ्लोइडको ज्यादतीका कारण निधन भएपछि रंगभेद विरुद्ध आन्दोलन चर्किएका बेला राष्ट्रपतिले आन्दोलनकारीलाई पाखा लगाएर बाइबल लिएर फोटो खिचाउनका लागि चर्चमा गरेको भ्रमणको प्रमुख पादरीले आलोचना गरे । ट्रम्पले राष्ट्रपति कार्यालयबाट नजिकै रहेको आन्दोलनकारीलाई हटाइ बाइबल लिएर फोटो खिचाएका थिए । शान्तिपूर्ण प्रदर्शनमा रहेकाहरुलाई सुरक्षाकर्मीले जबरजस्ती हटाएकाे हुन् । राष्ट्रपतिको कार्य निन्दनीय रहेकाे भन्दै सेन्ट जोन पल द्वितिय नेशनल शरिनका प्रमुख पादरी विल्टन डी ग्रेगोरीले राष्ट्रपति ट्रम्पको भ्रमणलाई शक्तिको ‘दुरुपयोग’ र ‘म्यानुपुलेटेड’ कार्यको संज्ञा दिएका छन् । जर्ज फ्लोइडको निधनले अमेरिकामा संस्थागत रुपमा रहेको रंगभेद र अन्याय विरुद्धको आवाजलाई वुलन्द पारेको बताइन्छ। ४६ वर्षका फ्लोइडको निधनपछि प्रहरी ज्यादती र रंगभेद विरुद्ध अमेरिकाभर प्रदर्शन भइरहेको छ । विगत एक हप्तादेखि जारी प्रदर्शनले केही स्थानमा हिंसात्मक रुपमा पनि लिएको छ । (बीबीसी)