दक्षिण कोरियाको आर्थिक वृद्धिदर २.७ प्रतिशत, छ वर्ष यताकै सबैभन्दा कम

सियोल । दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ । यो वृद्धि विगत छ वर्ष यताकै सबैभन्दा कम हो । एसियाकै चौथो ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको सन् २०१७ मा आर्थिक वृद्धिदर ३.१ प्रतिशत थियो । सन् २०१२ यता यो सबैभन्दा कम वृद्धि हो । सन् २०१२ मा आर्थिक वृद्धिदर २.३ प्रतिशत थियो । केन्द्रीय बैंकले जारी गरेको मुलुकको पछिल्लो वित्तीय विवरणमा गत वर्ष प्रतिव्यक्ति आयमा अघिल्लो वर्षको तुलनामा सुधार भई ३१ हजार अमेरिकी डलर पुगेको उल्लेख छ । सन् २०१७ मा प्रतिव्यक्ति आय २९ हजार ७४५ डलर थियो । सन् २०१८ मा निजी उपभोग, सरकारी खर्च र निर्यातमा वृद्धि भएको छ, जबकी निर्माण र लगानीमा शिथिलता आएको छ । उपभोगमा सात वर्षयता सबैभन्दा बढी अर्थात् २.८ प्रतिशतले वृद्धि भएको छ । सरकारी खर्चमा पनि ५.६ प्रतिशत वृद्धि भएको छ । सन् २००७ यता सरकारी खर्चमा लगातार वृद्धि भइरहेको छ । दक्षिण कोरियाको अर्थतन्त्रको मुख्य आधारका रुपमा चिनिएको निर्यातमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ । तर, कर्पोरेट लगानीमा कमी आएको छ । गत वर्ष निर्माणका क्षेत्रमा हुने लगानी ४ प्रतिशतले घटेको छ । सन् २००८ को एसियाली वित्तीय सङ्कट यताको यो सबैभन्दा ठूलो गिरावट हो । कूल आन्तरिक आयमा गत वर्ष १.१ प्रतिशतले वृद्धि भएको छ । इन्धनको मूल्यमा वृद्धि भएका कारण सन् २००८ यताकै यो सबैभन्दा कमजोर वृद्धि हो । केन्द्रीय बैंकका महानिर्देशक पार्क याङ-सूले गत वर्षको अन्तिम चौमासिक अवधिमा निर्यातमा भएको नकारात्मक वृद्धिमा सुधार ल्याउन सरकारले प्रयत्न गरेको बताए । “यसबाहेक, कृषि र निर्माण उद्योगको उत्पादनमा पनि मौसम अनुकूल भएका कारण अक्टोबरमा निकै प्रगति भएको छ ।” रासस/योनहाप

विश्वव्यापी वृद्धिदरमा थप कटौति हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण

डाभोस, स्वीट्जरल्याण्ड । अमेरिका-चीन व्यापार विवाद, बेलायतको यूरोपेली संघ (इयू)बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने खतरा देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमबार प्रक्षेपण गरेको छ । मुद्रा कोषको विश्वव्यापी आर्थिक वृद्धिदर अनुमानबारे अद्यावधिक तथ्याङ्कमा भनिएको छ, “विश्वव्यापी आर्थिक वृद्धिदरमा यस पहिले आशा गरिएभन्दा थप खराब अवस्था आउनसक्ने देखिएको छ ।” मुद्रा कोषले करिब तीन महिना पहिले (गत बर्षको अक्टोबरमा) सार्वजनिक तथ्याङ्कमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको बताएको थियो । अन्तराष्ट्रिय आर्थिक प्रक्षेपणले सन् २०१९ को विश्वको कुल ग्राहस्थ उत्पादनमा ३.७ को वृद्धि हुने जनाइएकोमा सोमबार सार्वजनिक प्रक्षेपणमा थप कटौति गरी कुल ग्राहस्थ उत्पादनमा ३.५ मात्रले वृद्धि हुनसक्ने खतरा देखिएको जनाएको छ । मुद्रा कोषले सन् २०२० मा पनि आर्थिक वृद्धिदर मात्रै ३.६ प्रतिशत हुने अनुमान गरेको छ । विश्वव्यापी आर्थिक वृद्धिदरमा ह्रास आउनुमा एक महिना लामो अमेरिकी राष्ट्रपति र डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको विवादका कारण संघीय कार्यालयहरूमा सेवामा अवरूद्धता, फ्रान्समा पहेलो पहिरनधारीको लामो हडताल, अमेरिका–चीन व्यापार विवाद, बेलायतको इयूबाट हुने बहिर्गमन प्रक्रियामा अन्योलता इटाली, जर्मनी र मेक्सिकोले भोग्नुपरेका आप्रबासी समस्याहरूका कारण आर्थिक वृद्धिदरमा ह्रास आउने देखिएको मुद्रा कोषको भनाइ रहेको छ । तथ्याङ्क अनुसार विश्वकै दुई ठूला अर्थतन्त्र अमेरिका र चीनमा पनि आर्थिक वृद्धिदरमा कटौति हुने देखिएको छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा सन् २०१९ मा २.५ र सन् २०२० मा १.५ प्रतिशतको वृद्धि हुने बताइएको छ । त्यसैगरी चीनको आर्थिक वृद्धि दरमा ६.२ प्रतिशतको विस्तार हुने अनुमान मुद्रा कोषको छ । वल्र्ड इकोनोमिक आउटलुकले बेलायतमा सन् २०१९ मा आर्थिक वृद्धि १.५ प्रतिशत रहने देखाएको छ । यो तीन महिना पहिलेको तथ्याङ्कसँग दुरुस्तै रहेको छ । यद्यपि बहिर्गमन प्रक्रियामा देखिएको अन्यौल थप बढेमा यसको थप प्रभाव पर्ने र आर्थिक वृद्धिदरमा कमी आउने बताइएको छ । त्यसैगरी मेक्सिकोको आर्थिक वृद्धिदर गत बर्षको ०.५ रहेको र अघिल्लो बर्ष ०.४ रहेकोमा आगामी दुई बर्षमा २.१ र २.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । भेनेजुयलाको अवस्थामा आन्तरिक राजनीतिक विवादकै कारण थप सङ्कुचन आउने प्रक्षेपण गरिएको छ । रासस/एएफपी

लेवनानी सरकारको ५० करोड डलर बराबरको ऋणपत्र कतारले किन्ने

काठमाडौं । आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ । कतारी इमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको कतारले लेवनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारको भनाई रहेको छ । कतार सरकारले लेवनानी सरकारको ५० करोड बराबरको ऋणपत्र किनेर आर्थिक सङ्कटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको हो । कतारका इमिर शेख तामिम विन हमाद अल–थानी र लेबनानी राष्ट्रपति मिसेल आउनबीच सोमबार भएको भेटवार्तापछि ‘लेबनानको अर्थतन्त्रलाई मजबुत’ पार्ने विश्वाससहित कतारले ऋणपत्र खरिद गर्ने निर्णय लिएको  कतारी विदेशमन्त्रीले बताएका छन् । कतारले सधैँ गणतन्त्र लेबनान र त्यहाँका जनताको स्थायित्व र सम्वृद्धि चाहन्छ, र लेबनानको अर्थतन्त्र छिट्टै सुदृढ हुँदै पूर्व अवस्थामा आउनेमा विश्वास गरेको छ । लेबनानी सरकारले कठिन एवम् ठूलो आर्थिक सङ्कट व्यहोरेका समय कतारले यो निर्णय लिएको हो । लेबनानका अर्थमन्त्रीले यसै महिना राज्यको सार्वजनिक ऋणबारे दिएको अभिव्यक्तिले यहाँको बजारलाई त्रसित तुल्याएको थियो । उक्त घोषणाले लेवनानलाई विश्वका खराब अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा रहेको पुष्टि गरेको छ । गत बर्षको अप्रिलमा पेरिसमा भएको लेबनानको सहयोग र विकासका लागि अन्तराष्ट्रिय सम्मेलन (सीइडीआरइ) मा फ्रान्सले ११ अर्ब अमेरिकी डलर बराबरको सहयोग घोषणा गरिएको थियो । तर लेवनानमा करिब आठ महिना पहिले भएको निर्वाचनपछि पनि राजनीतिक विवादका कारण नयाँ सरकार स्थापना हुन नसक्दा सरकारविहीन अवस्था रहेको भन्दै राजनीतिक विवाद जारी रहेमा सहयोग रोकिने गत महिना चेतावनी दिएको थियो । रासस/एएफपी