लण्डनमा पाईलटले मदिरा पिएर विमान उडान भर्न खोजेपछि तनाव
लन्डन, ५ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो । मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको छ । चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो । एयर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए । हामी चालक दलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौँ र रहने छौँ एयर ट्रान्साटका प्रवक्ताले बताए । स्थगित विमानको मङ्गलबार टोरोन्टोका लागि उडान हुने बताइएको छ । रासस÷एएफपी
फुटबल स्टार मेसीलाई २१ महिनाको जेल सजाय
स्पेन, २३ असार । बार्सिलोनाको एक अदालतले विश्व फुटबल स्टार लियोनल मेसी र उनका पिता जर्ज होरासियो मेसीलाई आफ्नो कमाई अनुसार तिनुपर्ने कर नतिरेको अभियोगमा २१ महिनाको जेल सजाय तोकेको छ । मेसी स्पेनी क्लब बार्सिलोनामा रहेर खेल्दा आर्जन गरेको सम्पत्ती बापत तिर्नुपर्ने कर नतिरेको भन्दै स्पेनी अदालतमा मुद्दा परेको थियो । फुटबल स्टार मेसीलाइ लगातार तीन पटकसम्म कर छली गरेको आरोपमा मुद्दा दायर भएको थियो । तर स्पेनी कानून अनुसार उनीहरूले जेल बस्नु पर्ने भने छैन । स्पेनको कानून अनुसार पहिलोपटक दुईबर्ष भन्दा कम जेल सजाय तोकिएका फौजदारी अपराधमा सम्लग्न नभएका अभियुक्तलाई जेलमा बस्नु नपर्ने प्राबधान छ । विश्वविख्यात फुटबल खेलाडी मेसी र उनका पितालाई करछली गरेबापत ४१ लाख अमेरिकी डलरबराबरको जरिवाना तोकिएको छ । जेल जानु नपरेपनि उनीहरूले जरिवाना भने स्पेन सरकारलाई बुझाउनुपर्नेछ । रासस/एएफ्पी
चीनमा बन्यो सबैभन्दा ठूलो टेलिस्कोप, लागत १८० करोड डलर
चीन, १९ असार । चीनमा बनेको विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप परीक्षणका लागि तयार भएको छ । टेलिस्कोपको ठूलो ‘डिस’ को केन्द्रमा चार हजार ४५० प्यानल प्रयोग गरी बनाइएको छ । ‘रिफ्लेक्टर’ का लागि ३० वटा फुटबल मैदान बराबरको क्षेत्र छुट्टाइएको उक्त टेलिस्कोप आगामी सेप्टेम्बरमा ऐतिहासिक रुपमा परीक्षण गरिने तयारी भएको चिनियाँ अधिकारीले जनाएका छन् । चीनको दक्षिण पश्चिमी गइझोउ प्रान्तको पिङताङ्गमा उक्त टेलिस्कोपलाई राख्नका लागि विशेषज्ञ, निर्माणकर्ता, विज्ञानमा रुची राख्ने केही चिनियाँ नागरिक र समाचारदाता गरी करिब ३०० जनाको उपस्थिति रहेको थियो । टेलिस्कोप निर्माणकर्ता सङ्गठन नेसनल एस्ट्रोनोमिकल अब्जर्भेसनका उपप्रमुख झेङ सिआओनियनले भने वैज्ञानिकले अब ५०० मिटर अपर्चर स्फेरिकल टेलिस्कोप ‘फास्ट’ को काममा सुधार तथा परीक्षणको निरीक्षणको काम सुरु हुनेछ । नेसनल एस्ट्रोनोमिकल अब्जर्भेसन चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गत काम गर्ने संस्था हो । करिब एक अर्ब ८० करोड अमेरिकी डलर खर्चेर बनाइएको उक्त टेलिस्कोप निर्माण सन् २०११ देखि सुरु गरिएको थियो । रासस