भारतद्वारा अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहयोग गर्ने

भारत, २९ भदौ । भारतले अफगानिस्तानलाई थप एक अर्ब अमेरिकी डलर सहायता प्रदान गर्ने भएको छ । यसअघि नयाँदिल्लीले काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै एक अर्ब अमेरिकी डलर सहायता प्रदान गरेको थियो । पछिल्लो सहयोग पनि अफगानिस्तानको शैक्षिक तथा स्वास्थ्य सेवाको गुणस्तरका लागि खर्च गरिने अफगानिस्तानले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अफगान राष्ट्रपति असरफ घानीबीच भएको भेटपछि भारतले उक्त सहयोगको घोषणा गरेको हो । सहयोगको घोषणा दुवै नेताद्वारा हस्ताक्षर गरिएको संयुक्त वक्तव्यमार्फत भएको हो । वक्तव्यमा दुई नेताले कसैलाई नतोकिकन तर पाकिस्तानलाई सङ्केत गर्दै इस्लामिक स्टेट पक्षधर समुदायमा आर्थिक लगानी तथा अन्य सहायता पु¥याएको बताएका छन् । तर उक्त सहयोग सही उद्देश्यका लागि प्रयोग नहुने गरेको दुवै देशको दावी छ । भेटका क्रममा दुई देशका उच्च नेताले आतङ्कवादविरुद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस/एएफपी

१४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी

काठमाडौं, ३० भदौ । १४ प्रतिशत अमेरिकी जनता गरिबीको रेखामुनी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकी जनगणना रिपोर्टका अनुसार ४ करोड ३० लाख अमेरिकी जनता गरिबीको रेखामुनी रहेका छन् । यो संख्या भनेको अमेरिकी जनसंख्याको १४ प्रतिशत हो । सन २०१४ मा पछल्लो १६ वर्षमा सबै भन्दा बढि गरिबी बढेको पनि सो रिपोर्टले उजागर गरेको छ । सन २०१४ मा भन्दा १ दशमलब २ प्रतिशतले १३ दशमलब ५ प्रतिशत अमेरिकीहरु गरिबीको रेखामुनी पुगेका हुन् । विश्वको सबै भन्दा ठुला अर्थतन्त्रका रुपमा रहेको अमेरिकामा ४ करोड ३० लाख जनता गरिबीको रेखामुनी पुग्नु गम्भिर संकटको संकेत भएको बताईन्छ ।

इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण शुरु

इरान, २५ भदौ । इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण शुरु गरेको छ । इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि शुरु गरिएको यो ठूलो आणविक परियोजना हो । आणविक विद्युत् परियोजना निर्माणका लागि आठ अर्ब पाँच करोड अमेरिकी डलर लाग्ने बताइएको छ । परियोजनाबाट जम्मा एक हजार ५७ मेगावाट विद्युत् उत्पादन गरिनेछ । इरानको दक्षिणी बन्दरगाह सहर बुसेहरमा निर्माण हुने यो आणविक परियोजनाअन्तर्गत दुईवटा ‘पावर प्लान्ट’ निर्माण गरिनेछन् । उक्त ‘पावर प्लान्ट’ निर्माण आगामी १० वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको बताइएको छ । परियोजनाअन्तर्गत दोस्रो प्लान्ट निर्माण सन् २०१८ पछि शुरु गरिनेछ । इरानमा यो बृहद् विद्युत् परियोजनाको निर्माण इरानले आणविक सम्झौताबाट पाएको सुविधाको परिणाम मानिएको, इरानी वरिष्ठ उपराष्ट्रपति इशाक जहानगिरीले उक्त परियोजनाको समुद्घाटन समारोहमा बताए । उनले आगामी दिनमा यस्ता सामरिक महत्वका परियोजना निर्माणमा रसियासँग हातेमालो गर्दै अघि बढ्ने बताए । इरानले रसियासँग सहकार्य गर्दै यसअघि सन् २०११ मा पनि करिब एक हजार मेगावाट विद्युत् उत्पादन गरेको छ । इरानसँग कोइला तथा अन्य पेट्रोलियम पदार्थको प्रयो गरी ७५ हजार मेगावाट विद्युत् निर्माण निर्माण गर्न सक्ने क्षमता रहेको छ । इरानले आगामी १५ वर्षभित्र २० हजार मेगावाट विद्युत् आणविक शक्तिद्वारा निर्माण गर्ने लक्ष्य राखेको छ । रासस/एपी