सन् २०१८ मा अमेरिकी मनोरञ्जन उद्योग डिस्नेको आम्दानी सात अर्ब डलर
काठमाडौं । मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको थियो । बक्स अफिसमा वार्षिक ७ अर्ब डलरभन्दा बढी आर्जन गर्ने विश्वकै एकमात्र कम्पनी डिस्नेको सन् २०१६ को आम्दानी ७ अर्ब ६० करोड डलर थियो । डिस्ने, पिक्सार, मार्भेल स्टुडियो र लुकास फिल्मलाई मन पराउने विश्वभरका समर्थकलाई धेरै धेरै धन्यवाद,” वाल्ट डिस्ने स्टुडियोका अध्यक्ष अलान होर्नले बताएका थिए । उत्तर अमेरिकामा डिस्नेले झण्डै ३ अर्ब १० करोड डलर आम्दानी गरेको थियो । डिस्नेका केही चलचित्र अहिले विश्वकै उत्कृष्ट १० स्थानभित्र रहेका छन् । “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार”, “इन्क्रेडिबल २” र “स्टार वार्स” समेतका प्रत्येक चलचित्रले संयुक्तराज्य अमेरिका र क्यानाडामा ६० करोड अमेरिकी डलरभन्दा बढी कमाएका छन् । यी चलचित्रले कूल चार अर्ब ६४ करोड अमेरिकी डलर आम्दानी गरेका छन् । सन् २०१९ मा डिस्नेले अर्को फड्को मार्दैछ । “क्याप्टेन मार्भेल” र “एभेन्जर्सः इन्डगेम” नयाँ स्वरुपमा आउँदैछ भने “फ्रोजेन २” र “स्टार वार्सः इपिसोड नाइन” वर्षको अन्त्यमा बक्स अफिसमा आउनेछ । एनिमेटेड चलचित्रका नयाँ संस्करणका रुपमा “डम्बो”, “अल्लादीन” र “दी लायन किङ” बजारमा आउँदैछन् भने डिस्नेको सहायक कम्पनी पिक्सारको उत्पादनका रुपमा “टोय स्टोरी फोर” पनि यसै वर्ष बक्स अफिसमा आउनेछ । रासस एएफपी
नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त
इस्लामावाद । पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नक्कली भएको अहिले पत्ता लगाएको हो । पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा छ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उहाँको भनाई छ । एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले बताए । रासस/एएफपी
बंगलादेशको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई बहुमत
काठमाडौँ । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग प्रचण्ड बहुमतका साथ विजयी भएको छ । आइतबार भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित दर्ता गर्न सफल भयो । योसंगै प्रधानमन्त्री हसिनाले अर्को कार्यकाल सुरक्षित गर्न सफल भएकी छन् । तर, मुख्य विपक्षी दल बांग्लादेश नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।