युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिए अमेरिकालाई गम्भीर क्षति पुर्याउने पुटिनको कडा चेतावनी
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को-वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारे । कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस-अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए । तर, उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे । ‘यस्ता मिसाइलहरूले केही क्षति पुर्याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन,’ पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे । हामी नाटो ब्लकसँग लडिरहेका छौँ साढे ३ वर्षभन्दा लामो युद्धपछि पनि सानो छिमेकी युक्रेनलाई पराजित गर्न नसकेको भन्दै रूसलाई कतिपय पश्चिमी विश्लेषकहरूले ‘कागजी बाघ’ भनेर व्यङ्ग्य गरेको प्रसङ्गमा पुटिनले प्रतिवाद गर्दै भने, ‘हामी केवल युक्रेनसँग मात्र होइन, सम्पूर्ण नाटो गठबन्धनसँग लडिरहेका छौँ । आत्मविश्वासका साथ हामी अघि बढिरहेका छौँ । यदि कोही भन्छन् रूस ‘कागजी बाघ’ हो भने, त्यसो भए गएर आफैंले त्यस ‘कागजी बाघ’ सँग व्यवहार गरेर देखाउनुस् ।’ यसैबिच, नाम नखुलाउने सर्तमा बोल्ने एक ह्वाइट हाउस अधिकारीले पुटिनले आफ्नै हितका लागि अनुकूल शान्ति सम्झौता प्रस्तावलाई बारम्बार अस्वीकार गरेका कारण रूस आर्थिक र कूटनीतिक रूपमा क्षतिग्रस्त भएको टिप्पणी गरे । ट्रम्पसँगको शिखर बैठकको प्रशंसा राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत अगस्टमा अलास्कामा सम्पन्न शिखर सम्मेलनलाई फलदायी भन्दै विशेष प्रशंसा गरे । उनले ट्रम्पसँग संवाद गर्न सहज महसुस भएको भन्दै युक्रेनी सङ्कट समाधानका सम्भावित उपायबारे चर्चा गर्न पाउनु सकारात्मक भएको टिप्पणी गरे । त्यस्तै उनले सन् २०१० को न्यु-स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुने भएपछि त्यसलाई अझ एक वर्षका लागि विस्तार गर्ने आफ्नो प्रस्तावलाई पुनः दोहोर्याए । उक्त सन्धिले अमेरिका र रूस दुवैलाई १ हजार ५५० भन्दा बढी तैनाथ आणविक हतियार तथा ७०० तैनाथ मिसाइल र बम वर्षकमा सीमित गरेको छ । ‘यदि अमेरिकालाई यो आवश्यक छैन भने हामीलाई पनि आवश्यक छैन,’ पुटिनले भने, ‘तर हामी हाम्रो आणविक क्षमताप्रति पूर्ण रूपमा आत्मविश्वासी छौँ ।’ तेल ट्याङ्कर, ‘समुद्री डकैती’ र फ्रान्समाथि कटाक्ष युक्रेनलाई सहयोग गर्ने पश्चिमी मुलुकहरूले रूसी तेल बोक्ने ट्याङ्करहरू नियन्त्रण गर्ने प्रयासलाई राष्ट्रपति पुटिनले ‘समुद्री डकैती’ को संज्ञा दिए । यस्तो कदमले विश्व तेल बजारलाई अस्थिर पार्ने मात्र नभई बलियो प्रतिक्रिया प्राप्त गर्ने चेतावनी पनि दिए । फ्रान्सको एटलान्टिक तटमा एक तेल ट्याङ्कर रोकिएको घटनाबारे प्रश्न सोधिँदा उहाँले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई लक्षित गर्दै भने, ‘म्याक्रोनले आफ्ना आन्तरिक समस्याबाट ध्यान मोड्न यस्ता नाटक गर्नुभएको हो ।’ उनले व्यङ्ग्य गर्दै म्याक्रोनलाई ‘नेपोलियन’ सँग तुलना गरे । डेनमार्क ड्रोन घटना र नेटो आरोपको उपहास हालै डेनमार्कको आकाशमा देखिएको अज्ञात ड्रोन तथा युरोपका अन्य मुलुकहरूले लगाएको आरोपलाई पुटिनले ‘नाटोले रक्षा खर्च बढाउन र तनाव चर्काउन गरेको प्रयास’ भन्दै खारेज गरे । गत महिना मात्र पोल्यान्डमा रूसी ड्रोनको झुण्ड देखिएको, एस्टोनियामा रूसी लडाकू विमानले सीमा उल्लङ्घन गरेको र डेनमार्क–जर्मनीसहितका देशमा अज्ञात ड्रोनहरू देखिएको खबर बाहिरिएका थिए । पश्चिमी अधिकारीहरूले यसलाई रूसले नाटोको प्रतिक्रिया परीक्षण गर्ने रणनीति भएको दाबी गरेका थिए । तर, पुटिनले यस्तो दाबीलाई ‘मूर्खतापूर्ण’ भन्दै अस्वीकार गर्दै भने, ‘हामी युरोपको सैन्यीकरणलाई ध्यानपूर्वक हेरिरहेका छौँ । यदि आवश्यक भयो भने रूसको प्रतिक्रियात्मक कदम आउन ढिलो लाग्ने छैन ।’ चार्ली किर्कको हत्या र पुटिनको प्रतिक्रिया अमेरिकी राजनीतिक कार्यकर्ता चार्ली किर्कको हत्याबारे प्रश्न उठ्दा पुटिनले यसलाई ‘जघन्य अपराध’ भन्दै अमेरिकाको समाजभित्र रहेको गहिरो विभाजनको प्रतिबिम्ब बताए । उनले किर्कलाई परम्परागत मूल्यहरूको पक्षमा लड्ने नायकका रूपमा चित्रण गर्दै प्रशंसा गरे । उनले सन् २०२४ मा युक्रेनमा युद्धरत अवस्थामा मारिएका सिआइएका पूर्व उपप्रमुखका छोरा माइकल ग्लोसको पनि स्मरण गरे । उनले ग्लोसलाई पदक प्रदान गरिएको जानकारी दिँदै उक्त पदक राष्ट्रपति ट्रम्पका दूत स्टिभ विटकफमार्फत परिवारलाई हस्तान्तरण गरिएको बताए । ‘ग्लोसले रूसका सैनिकका रूपमा परम्परागत मूल्यहरूको रक्षा गर्दै जीवन अर्पण गरे र किर्कले अमेरिकाभित्रै उस्तै मूल्यहरूको लागि लड्दै ज्यान गुमाए । उनीहरू समान उद्देश्यका नायक हुन्,’ पुटिनले भने । यस विषयमा सिआइएले विज्ञप्ति जारी गर्दै माइकलको निधनलाई निजी पारिवारिक विषयका रूपमा सम्मान गरिएको र यसलाई राष्ट्रिय सुरक्षा मुद्दा नबनाउने जनाएको छ । पुटिनको व्यङ्ग्यात्मक ठट्टा ४ घण्टा लामो प्रत्यक्ष कार्यक्रमका क्रममा पुटिनले अतीतमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस तथा उनका प्रशासनिक अधिकारीहरूसँगको भेट स्मरण गर्दै आफैंलाई हाँसोको शैलीमा ‘सिआइए निर्देशक’ भनेर सम्बोधन गरे ।
रुसको तेल खरिद गर्ने देशमाथि कडा कदम चाल्ने जी-७ को कडा चेतावनी
काठमाडौं । युक्रेनमाथि मस्कोले गरेको आक्रमणलाई तीन वर्ष पूरा हुँदै गर्दा सात प्रमुख अर्थतन्त्रहरूको समूह (जी-७) का अर्थमन्त्रीहरूले रुसबाट तेल खरिद बढाउँदै लैजाने मुलुक र संस्थाहरूमाथि अब कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन् । बुधबार सम्पन्न भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले ‘रुसको तेल निर्यातमा अधिकतम दबाब दिनुपर्ने समय आएको’ स्पष्ट उल्लेख गरेका छन् । यसले युद्धका लागि अत्यावश्यक रहेको मस्कोको राजस्वलाई कमजोर पार्ने लक्ष्य राखिएको हो । मन्त्रीहरूले भनेका छन्, ‘युक्रेनमाथि आक्रमण भएपछि पनि लगातार रुसको तेल खरिद गर्दै आएका तथा त्यसलाई सहज बनाउनेहरूलाई हामी अब प्रत्यक्ष रूपमा लक्षित गर्नेछौँ ।’ उनीहरूले रूसी तेलको कारोबार घटाउने उद्देश्यले भन्सार शुल्कसहितका व्यापारिक उपाय, आयात तथा निर्यातमा प्रतिबन्ध जस्ता विकल्पहरूमा सहमति भएको जानकारी दिए । साथै, ‘रूसबाट उत्पादित परिष्कृत पेट्रोलियम पदार्थ खरिद गरेर युद्ध प्रयासलाई अप्रत्यक्ष आर्थिक सहयोग गर्ने मुलुक र संस्थाहरूमाथि समेत गम्भीर रूपमा प्रतिबन्ध वा व्यापारिक अवरोध लागू गर्ने’ चेतावनी दिएका छन् । गत महिना मात्रै संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घ (इयु) सँग सहकार्य गर्दै यस्तो कदम चालेमा रुसका तेल खरिदकर्तालाई लक्षित गरी थप भन्सार शुल्क विस्तार गर्न तयार रहेको सङ्केत दिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीन र भारतजस्ता ठूला खरिदकर्तामाथि ५० देखि १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने सम्भावना रहेको बताएका थिए । युरोपेली आयोगले समेत ट्रम्पको कडा दबाबबीच ब्लकभित्र रूसी तेल आयातमा सम्भावित भन्सार शुल्क लगाउने कार्य चलिरहेको पुष्टि गरेको थियो । अमेरिकाले भने युरोपका नेताहरूसँग प्रतिबन्धमा सहमत हुनुअघि नै मस्कोबाट ऊर्जा आयात पूर्ण रूपमा बन्द गर्न माग गर्दै आएको छ । जी-७ का अर्थमन्त्रीहरू यसै महिना वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको वार्षिक बैठकको अवसरमा पुनः प्रत्यक्ष भेला भई प्रतिबन्ध र व्यापारिक उपायहरूलाई थप ठोस बनाउने तयारीमा रहनेछन् । यसरी, जी-७ को ताजा चेतावनीले अब रुसबाट बढ्दो तेल खरिद गर्ने मुलुक र कम्पनीहरूलाई थप दबाबमा पार्ने स्पष्ट सङ्केत गरेको छ ।
विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने इतिहास रच्दै एलन मस्क
काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोर्ब्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो २ अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका हुन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै ५ खर्ब डलर नाघेको थियो । यद्यपि, उनको विद्युतीय गाडी कम्पनी टेस्लाको सेयरमा उतार-चढावका कारण बुधबार बिहान ५ खर्ब १० अर्ब डलर पुगेको सम्पत्ति केही समयमै झरेर ४ खर्ब ९९ अर्ब १० करोड डलरमा पुगेको फोर्ब्सको रियल-टाइम बिलियनेयर्स ट्र्याकर मा उल्लेख छ । विश्वका अन्य धनी व्यक्तिहरू मस्कपछि दोस्रो स्थानमा ओरेकलका सिइओ ल्यारी एलिसन ३ खर्ब ५० अर्ब ७० करोड डलर नेटवर्थसहित रहेका छन् । तेस्रो स्थानमा मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्ग २ खर्ब ४५ अर्ब ८० करोड डलर सम्पत्तिसहित अगाडि छन् । मस्कको यात्रा: विद्यार्थीदेखि उद्यमीसम्म पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक र स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन सुरु गरे पनि पूरा नगरेका मस्कले सन् १९९९ मा पहिलो ठूलो सफलता पाए । उनले आफ्नै अनलाइन प्रकाशन सफ्टवेयर कम्पनीलाई अमेरिकी कम्प्युटर निर्माता कम्प्याकलाई ३० करोड डलरभन्दा बढीमा बेचे । त्यसपछि सुरु गरिएको अर्को कम्पनी पछि पेपालसँग मर्ज भयो । त्यो उद्यम छोडेपछि दक्षिण अफ्रिकामा जन्मेका यी टेक उद्यमीले सन् २००२ मा अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स स्थापना गरे । त्यसपछि सन् २००४ मा विद्युतीय कार निर्माता टेस्लाको अध्यक्ष बने कम्पनीलाई विश्वकै अग्रणी प्रविधि व्यवसायमध्ये एकमा उभ्याए । २ अङ्कको खर्बपति बन्ने सम्भावना विशेषज्ञहरूको भनाइमा मस्कको सम्पत्ति वृद्धि टेस्ला, स्पेसएक्स र अन्य प्रविधि व्यवसायको तीव्र विस्तारसँग जोडिएको छ । हालको प्रगति हेर्दा उनलाई विश्वकै पहिलो २ अङ्कको खर्बपति बन्ने सम्भावना निकट देखिएको छ । मस्कले आफ्नो व्यवसायिक साहस, नवीन सोच र प्रविधिमा लगानीमार्फत सम्पत्ति मात्र नभई विश्व अर्थतन्त्रको भविष्यलाई समेत पुनः परिभाषित गरिरहेको फोर्ब्सले टिप्पणी गरेको छ ।