नेपालबाट संसारले सिक्न सक्छ- परराष्ट्रमन्त्री डा. महत

काठमाडौं, २३ मंसिर । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाटै द्धन्द्धको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकोले यसबाट विश्वले नै सिक्न सक्ने बताएका छन् । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले भने— संसारका अरु देशमा पनि द्धन्द्ध व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ । शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै परराष्टमन्त्री डा. महतले यस संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशिल बन्न सिकाएको धारणा राखेका छन् । नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधान सभामार्फत आफै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्धारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको पनि बताए । मन्त्री डा महतले भने- हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । उनले अगाडि भने, हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहेका छन् । समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुका लागि अघि बढेको जानकारी पनि उनले सो सम्बोधनका क्रममा दिए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राखेका छन् । सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्महरुबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रही आएको स्मरण गरेका छन् । नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले भने-प्रजातन्त्र, कानुनी शासन, बहुलबाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्टिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए । नेपाल संसार नै एउटा परिवार हो भन्ने बसुधैव कुटुम्बकम मान्यतामा विश्वास गर्छ भन्दै एसिया नै यस्तो क्षेत्र हो जुन गौतम बुद्ध, महात्मा गान्धी, कन्फ्युसियस र अरु कैयौं महान दार्शनिकहरुको जन्मस्थल हो । एसिया यस्तो धार्मिक र सांस्कृतिक बहुलताको धनी क्षेत्र हो भन्दै नेपालजस्तै इन्डोसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताए । समाजका हरेकखाले चुनौतीहरुको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैं धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतंकवादको विरुद्धमा रहदै आएको प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरेका छन् । नेपाल सधैं शान्ति, प्रजातन्त्र र मानवअधिकारका पक्षमा रहेको भन्दै नेपालले हरेक नागरिकको मौलिक तथा नैसर्गिक अधिकारको सम्मानको पक्षमा रहेको उनले उल्लेख गरेका छन् ।

जर्मनीमा ८१ प्रतिशत जनता मोबाइलफोनको इन्टरनेट प्रयोगकर्ता

बर्लिन, २२ मंसिर । जर्मनीमा ८१ प्रतिशत जनताले मोबाईलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ । सङ्घीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको सन् २०१६ को पहिलो चौमासिक विवरणमा ६९ प्रतिशतले भने ल्यापटप वा नेटबुकबाट इन्टरनेट चलाउने गरेको जनाएको छ । त्यसैगरी डेस्कटप कम्युटरबाट इन्टरनेट प्रयोग गर्नेहरुको संख्या ६५ प्रतिशत रहेको बताइएको छ । साथै १९ प्रतिशत जनताले स्मार्ट टेलिभिजनबाट र १७ प्रतिशतले इबुक रिडर लगायतका अन्य साना डिभाइसबाट इन्टरनेटको प्रयोग गर्ने गर्दछन् । तथ्याङ्कले यो पनि देखाएको छ की, १० बर्ष देखि ४४ बर्ष सम्मका करिब शतप्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्दछन् भने ४५ बर्षदेखि ६४ बर्ष सम्मको उमेर समूहका ९३ प्रतिशत नागरिकले इन्टरनेट प्रयोग गर्ने गरेको छन् । तुलनात्मक रुपमा ६५ बर्षदेखि माथिको उमेर समूहमा भने निकै थोरैले मात्रै इन्टरनेट प्रयोग गर्ने गरेको तथ्यांक छ । सो उमेर समूहका प्रयोगकर्ता अघिल्लो बर्षको तुलनामा भने अहिले बढेका छन् । ६५ बर्षदेखि माथिको समूहले सन् २०१५ मा ४९ प्रतिशत थिए भने, सन् २०१६ मा यो भन्दा माथिको ५५ प्रतिशत जर्मन नागरिकले इन्टरनेट प्रयोग गर्न थालेका छन् । रासस ÷सिन्ह्वा

वार्षिक ६ करोड मानिस एक देशबाट अर्कोमा विस्थापित, हरेक ११३ जनामध्ये एक जना शरणार्थी

काठमाडौं २२, मंसिर । विश्वमा वार्षिक ६ करोडमा मासिन एक देशबाट अर्को देशमा स्थानान्तरण हुने गरेका छन् । । विश्व बिपद् प्रतिवेदनका अनुसार ६ करोड ५३ लाख मानिस सन् २०१५ को एक वर्षमा आफ्नो मुलुकमा अन्य देशमा विस्थापित भएका छन् । ४ करोड भन्दा वढी मानिसहरू आफ्नै देश भित्र संघर्ष तथा हिंसाको कारण स्थानान्तरण हुन पुगेको प्रतिवेदनले औल्याएको छ । सन् २०१५ मा विश्वमा हरेक ११३ जना मध्ये एक जना शरणार्थी, शरण खोज्ने वा विस्थापित हुने अवस्थामा पुगेका थिए । सो वर्ष हालसम्मकै सवैभन्दा वढी तापक्रम भएको तातो वर्षको रुपमा रहेको थियो । अन्य देशहमा जस्तै विश्व विपद् प्रतिवेदन २०१६ आज नेपालमा पनि एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । प्रतिवेदनले विपद्पूर्व तयारीमा थप लगानी गर्न विश्वलाई आव्हान गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनर र नेपाल सरकार गृह मन्त्रालयका सहसचिव कृष्ण राउतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन । यस वर्षको प्रतिवेदनले उत्थानशीलतालाई जोड दिएको सोसाइटीका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । नेपालमा सञ्चालित विपद् पूर्वतयारी गतिविधिको झल्को पनि विश्व प्रतिवेदनमा राखिएको छ । प्रतिवेदन सार्वजनिकको क्रममा नेपालमा गत भूकम्प पश्चात् १८ महिनाको अवधिमा गरिएका भूकम्प पूनःलाभका गतिविधिहरुका विषयमा भूकम्प पुनःलाभ कार्यक्रम प्रमुख उमेश ढकाल र विश्व विपद प्रतिवेदनका विषयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनरले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा रेडक्रस अभियानका तीनवटै अङ्गहरुका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकार गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयका प्रतिनिधि, विभिन्न साझेदार निकायका प्रतिनिधि तथा पत्रकारहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।