Breaking: भारतले ५०० र १००० का नोट बन्द गर्यो, भोलि भारतका सवै बैङ्क बन्द, दुई दिन एटिएम नचल्ने
काठमाडौं, २३ कात्तिक । भारतले ५०० र एक हजारको नोटको कारोबार बन्द गरेको छ। मंगलबार राती १२ बजेदेखि भारतमा यी नोट चल्ने छैनन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती देशबासीका नाममा संबोधन गर्दै नोट नचल्ने घोषणा गरेका हुन्। मोदीले कालोधन, नक्कली नोटका विरुद्ध यो निर्णय लिएको बताउँदै यसबाट हुने केही कठिनाईलाई झेल्न सबै भारतीय तयार रहेको बताए। यदि तपाईँसँग भारु ५ सय र हजारको नोट छ भने आज मध्यरातदेखि त्यो कागजमात्र बन्नेछ। मोदीले मंगलवार टेलिभिजनमा सम्बोधन गर्दै राति १२ बजेदेखि भारतमा यी दुई दरका नोट नचल्ने घोषणा गरेका हुन्। भारतमा बैँक र हुलाक कार्यालयमार्फत् ५ सय र हजारका नोट साट्न ५० दिनको समय दिइएको छ। नोट साट्न परिचय पत्र अनिवार्य गरिएको छ। कालो धनसँग संघर्ष गर्न भारतीय प्रधानमन्त्रीले यस्तो उपाय अपनाएको बताएका हुन्। भारतले अब ५ सय दरको नयाँ र २ हजार रुपैयाँको अर्को नोट पनि चलनचल्तीमा ल्याउने घोषणा उनले गरे। पूरानो नोट अस्पताल र पेट्रोल पम्पमा ११ नोभेम्बरसम्म चल्नेछ। यी नोटमा प्रतिबन्ध लगाएर भारतमा सरकारले दुई हजार रुपैयाँको नयाँ नोट संचालनमा ल्याउने भएको छ। मोदीले भारतीय रिर्जभ बैंकले पाँच हजारको नोट ल्याउन प्रस्ताव गरेपनि दुई हजारको नोट ल्याउन सहमति दिएको जानकारी दिए। उनले दुई हजार सहित नयाँ डिजाईनमा ५०० को नोट समेत प्रचलनमा ल्याउने बताए। भारत सरकारले बुधवार देशैभरी बैङ्कहरु बन्द गर्ने र बुधवार र विहिवार एटिएम नचल्ने जनाएको छ। माेदिले अातंकवाद र कालो बजारी तथा भ्रष्टाचारसंग लड्नका लागि यो कदम उठाएको बताएका छन्।
चीनद्वारा नौ देशका लागि राजदूत नियुक्त, नेपालका लागि यु होङ नियुक्त
चीन, २२ कात्तिक । चीनले नेपाललगायत विभिन्न नौ देशका लागि चिनियाँ राजदूत परिवर्तन गरेको छ । चिनियाँ नेसनल पिपुल्स कँग्रेसको स्थायी समितिले सिफारिस गर्न स्वीकृत दिएका राजदूतलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले नियुक्त गरेकाचीनको राष्ट्रिय व्यवस्थापिकाले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चीनले नेपालका लागि वु चुन्ताइको ठाउँमा यु होङलाई सिफारिस गरी पठाएइको छ । यसअघि गावनका लागि खटाइएका सु जिवेनको ठाउँमा हु चाङचुङलाई पठाएइको छ । यसैगरी नाइजरका लागि झाङ लिजुन, सियरालिअनका लागि वु पेङ, संयुक्त अरब इमिरेट्सका लागि नि जियान, मेसेडोनियाका लागि यिन लिसियान, फिनल्यान्डका लागि चेन ली, क्युबाका लागि चेन सी र डोमिनिकाका लागि लु कुनलाई नियुक्त गरिएको जनाइएको छ । रासस/सिन्ह्वा
देशविदेशमा कार्यरत नेपाली युवाद्धारा ‘बेटर नेपाल अभियान’ शुरु हुँदै
काठमाडौं, २२ कात्तिक । देशविदेशमा फैलिएका ६४ युवाले ‘बेटर नेपाल’नामक बृहत् अभियानको थालनी गरेका छन् । नेपालका अतिरिक्त भारत, जापान, अमेरिका, जर्मनी, अस्ट्रेलिया आदि देशमा अध्ययनरत अथवा कार्यरत नेपाली युवा सो अभियानमा जुटेका हुन् । अभियानका युवाले आफ्नो ज्ञान, सीप, समय र कला र आम्दानीलाई राष्ट्रिय जीवनको सकारात्मक उन्नतिका लागि प्रयोग गर्ने छन् । यही कात्तिक २० र २१ गते धादिङ बेंसीमा चलेको विचारविमर्शपछि जारी गरिएको ‘धादिङ घोषणपत्र’ मार्फत सो अभियानको घोषणा गरिएको हो । अभियानमा चिकित्सा, आयुर्वेद, कृषि, कलासाहित्य, समाजसेवा, विद्युत्प्रविधि, पत्रकारिता आदि विविध क्षेत्रका विद्यार्थी र जानकार समाविष्ट छन् । अभियानको संयोजकका रुपमा धादिङका गणेश ढुङ्गानालाई चयन गरिएको घोषणापत्रमा जानकारी गराइएको छ । यसैगरी सल्लाहकारमा साहित्यकार महेश पौड्याल र नीरा शर्मा तथा उद्यमी गणेशप्रसाद जोशी छन्। अभियानले प्रथम वर्षमा उत्प्रेरणा र सशक्तीकरण, सूचना र प्रविधि तथा साहित्य–संस्कृति क्षेत्रमा देशैभरि कार्यक्रम गर्नेछ । क्रमशः चिकित्सक नवीन भट्ट, सूचना प्राविधिक अनिल खतिवडा र साहित्यकार अमृत अधिकारीलाई सो कार्यक्रमका लागि संयोजक बनाइएको छ । अभियानमा नेपालको मधेस क्षेत्रका रोशनकुमार दास, कौशलकुमार दास, धीरज महतो र सञ्जीव दास तथा विकट कर्णालीका कुबेर सोंडारी, दीपक पौडेल, सागर खड्का लगायत युवा पनि सम्मिलित रहेको सल्लाहकार पौड्यालले जानकारी दिए । अभियानले पहिलो औपचारिक कार्यक्रम आगामी पुस १७ गते गर्ने भएको छ । रासस