भारतको चर्चित यस बैंक ऋण ठगी मुद्दामा अम्बानीका फर्ममा ईडीको छापा
काठमाडौं । भारतको चर्चित यस बैंक ऋण ठगी मुद्दासँग सम्बन्धित मनी लन्ड्रिङ अनुसन्धानको सम्बन्धमा प्रवर्तन निर्देशनालय (ईडी)ले बुधबार रिलायन्स अनिल अम्बानी ग्रुप एण्ड कम्पनीजसँग सम्बन्धित ३५ भन्दा बढी स्थानका ५० कम्पनीहरूमा छापा मारेको छ । ईडीका अनुसार प्रारम्भिक अनुसन्धानले २०१७ र २०१९ को बीचमा यस बैंकले स्वीकृत गरेको लगभग ३ हजार करोड रुपैयाँ बराबरको ऋण कथित रूपमा शेल फर्महरू र अन्य समूह संस्थाहरूमा डाइभर्ट गरिएको देखाएको फाइनान्सियल टाइमले लेखेको छ । अनुसन्धानकर्ताहरूले यस बैंकका प्रमोटरसहित अधिकारीहरूको सम्भावित घुसखोरीको संकेत गर्ने प्रमाणहरू पनि फेला पारेका बताएको फाइनान्सियल टाइमले आफ्नो अनलाइन संस्करणमा लेखेको छ। एजेन्सीले यस बैंकको ऋण स्वीकृति प्रक्रियामा गम्भीर त्रुटिहरू औंल्याएको छ । पुराना क्रेडिट कागजातहरूको प्रयोग गरेर कमजोर वित्तीय अवस्था भएका फर्महरूलाई ऋण दिइएको र यसले ऋणका सर्तहरूको उल्लङ्घन गरेको ईडीलाई उद्धृत गर्दै फाइनान्सियल टाइमले लेखेको छ ।
ट्रम्पको एक पोस्टले कोकको स्वादमा नयाँ मोड
काठमाडौं । शक्तिशाली देशको राष्ट्रपतिको एउटा पोस्टले संसारकै लोकप्रिय पेयपदार्थ कोकको स्वादमा नयाँ मोड ल्याएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मिडियामा ‘मेक कोक रियल अगेन’ भन्दै पोस्ट गरेका थिए । कम्पनीले उक्त प्रस्ताव स्वीकार्दै उखुको चिनीबाट बनेको नयाँ कोक ल्याउने तयारी गरेको हो । उनले कोका-कोला कम्पनीलाई आफ्नो क्लासिक पेयभित्र प्रयोग हुने हाई‑फ्रुक्टोज कर्न सिरप (एचएफसीएस) हटाएर उखुको शुद्ध चिनी मिसिएको नयाँ संस्करण तयार पार्न बाध्य बनाएका हुन् । कम्पनीले पनि पुष्टि गरेको छ कि चाँडै नै उखुबाट बनेको कोक अमेरिकी बजारमा ल्याइनेछ । विश्वका केही देशमा पहिले नै यस्तो प्रकारको कोक बिक्री हुँदै आएको भए पनि अमेरिकामा भने यो पहिलोपटक हुनेछ । कम्पनीका अनुसार यो नयाँ कोकले उपभोक्तालाई थप विकल्प दिनेछ । मानिसहरू आफ्नो रुचिअनुसार छनोट गर्न सक्नेछन् । कम्पनीका सीईओ जेम्स क्विन्सीले अपेक्षा गरेका छन् कि यो पेयले बजारमा राम्रो प्रतिक्रिया पाउनेछ । उनले पत्रकारहरूसँग भने, ‘हामी उपभोक्तालाई बढी विकल्प दिने यात्रा अघि बढ्दैछौं । उखुबाट बनेको चिनी मिश्रित कोक अमेरिकामा पहिलोपटक ल्याउन पाउँदा उत्साहित छौं ।’ उनका अनुसार कम्पनीले अमेरिका भित्र बिक्री हुने अन्य केही पेयपदार्थजस्तै लेमोनेड र कफीमा पहिलेदेखि नै उखुको चिनी प्रयोग गर्दै आएको छ । कम्पनीका अनुसार विभिन्न प्रकारका स्वीटनर प्रयोग गरेर उपभोक्तालाई फरक स्वादको अनुभव दिन खोजिएको हो । रेसिपी भने पुरानै कम्पनीले कोकको मूल रेसिपीमा भने कुनै परिवर्तन नगर्ने जनाएको छ । अर्थात्, पुरानो कोकमा उच्च फ्रुक्टोज कर्न सिरप नै रहनेछ । कम्पनीले उखुको चिनीबाट अलग नयाँ कोक बनाउने हो । ट्रम्प प्रशासनका स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ केनेडी जुनियर भने उच्च फ्रुक्टोज कर्न सिरपको विपक्षमा छन् । उनी भन्छन्, ‘अमेरिकी खानपानबाट कृत्रिम र अत्यधिक प्रशोधित सामग्री हटाइनु पर्छ ।’ एक पोडकास्टमा उनले भनेका थिए, ‘उच्च फ्रुक्टोज कर्न सिरपले मानिसलाई मोटोपन र मधुमेह ९डायबिटीज० तिर लैजान्छ ।’ किनभने यो सस्तो पर्छ, त्यसैले कोका–कोलाले वर्षौं पहिले नै यसको प्रयोग थालेको थियो । तर स्वास्थ्य विशेषज्ञहरूको चेतावनी के छ भने- कोकजस्तो पेयमा जुनसुकै प्रकारको चिनी भए पनि त्यो स्वास्थ्यका लागि राम्रो हुँदैन । उनीहरू भन्छन्, ‘सरकारको प्राथमिकता चिनीको प्रयोग घटाउनेतर्फ हुनुपर्छ ।’
कतार एयरवेज र इमिरेट्सलाई उछिन्दै पहिलो स्थानमा सिंगापुर एयरलाइन्स
काठमाडौं । विश्वका उत्कृष्ट एयरलाइन्सको कुरा गर्दा धेरैको मनमा इमिरेट्स वा कतार एयरवेजजस्ता पाँचतारे विमान सेवा आउने गर्छ । तर यसपटक एसियाली एयरलाइन्स सिंगापुर एयरलाइन्सले सबैलाई पछि पार्दै नम्बर एकको स्थान हात पारेको छ । ट्राभल प्लस लेजरको २०२५ वर्ल्ड बेस्ट अवार्ड्समा सिंगापुर एयरलाइन्स पहिलो स्थानमा आएको हो । दोस्रो स्थानमा कतार एयरवेज रहँदा तेस्रो स्थानमा इमिरेट्स परेको छ । यात्रुहरूले बनाउँछन् नम्बर वान इन्डियन टाइम्सको रिपोर्टअनुसार यो सूची ट्राभल प्लस लेजरका पाठकहरू तथा नियमित हवाई यात्रुहरूले दिएका मूल्यांकनका आधारमा तयार गरिएको हो । उनीहरूले ३५ हजार ००० फिटको उचाइमा प्रदान गरिने सिटको आराम, सेवाको गुणस्तर, खाना तथा समग्र अनुभवको आधारमा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई मूल्यांकन गरेका हुन् । सधैंजस्तै खाडी मुलुकहरूका एयरलाइन्सहरूको प्रभाव रहने मानिए पनि यसपटक ती एयरलाइन्स दोस्रो, तेस्रो र नवौं स्थानमा मात्र सीमित भए । सूचीमा जापानी एयरलाइन्सहरूले पनि शानदार प्रदर्शन गरेका छन् । जापानको अल निप्पोन् एयरवेज (एएनए) चौथो र जापान एयरलाइन्स (जेएएल) पाँचौं स्थानमा परेका छन् । यस सूचीमा भर्जिन अटलान्टिक एयरवेज (यूके) र फिजी एयरवेज (फिजी) जस्ता केही नयाँ एयरलाइन्सले पनि स्थान बनाएका छन् । सिंगापुर एयरलाइन्स नम्बर वान किन ? धेरैको मनमा प्रश्न आउन सक्छ( आखिर किन सिंगापुर एयरलाइन्स नै नम्बर १ ? ट्राभल पब्लिकेसनका अनुसार सिंगापुर एयरलाइन्सको ट्र्याक रेकर्ड लगातार उत्कृष्ट रहँदै आएको छ । यसैले यसले यो वर्ष पनि शीर्ष स्थान पाएको हो । यस एयरलाइन्सले २०२४ को वर्ल्ड् बेस्ट अवार्ड्समा पनि नम्बर १ को स्थान पाएको थियो । लगातार १० वर्षदेखि ‘बेस्ट अफ’ सूचीमा पर्ने एयरलाइन्स भएकाले यसलाई हल अफ फेममा समेत राखिएको छ । उत्कृष्ट केबिन क्रू सिंगापुर एयरलाइन्सलाई २०२४ स्काईट्रयाक्स वल्र्ड एयरलाइन्स अवार्ड्समा विश्वकै उत्कृष्ट केबिन क्रूको मान्यता पनि दिइएको थियो । यो पुरस्कारलाई हवाई उड्डयन क्षेत्रको अस्कर समेत भनिन्छ। यसको हब एयरपोर्ट चांगी एयरपोर्ट (एसआईएन) लाई समेत विश्वकै उत्कृष्ट एयरपोर्टहरूमध्ये एक मानिन्छ । सन् २०२५ का लागि उत्कृष्ट १० एयरलाइन्सको सूची : सिंगापुर एयरलाइन्स कतार एयरवेज इमिरेट्स (यूएई) अल निप्पन एयरवेज (एएनए) जापान एयरलाइन्स (जेएएल) ला कम्पेग्नी (फ्रान्स) एयर न्यूजिल्याण्ड भर्जिन अटलान्टिक एयरवेज (यूके) एतिहाद एयरवेज (यूएई) फिजी एयरवेज