चरम गर्मी लहरले विश्वव्यापी रूपमा जलवायु सङ्कटको चेतावनी

काठमाडौं । युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ ।  राष्ट्रिय मौसम विज्ञान सेवाका अनुसार इरानमा आइतबार तेहरानको तापक्रम ४० डिग्री सेल्सियसमा पुगेको छ र यो वर्षको सबैभन्दा तातो हप्तामा ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चर्को गर्मीको लहर जारी रहँदा राजधानीलाई आपूर्ति गर्ने बाँध भण्डारहरू ‘एक शताब्दीकै सबैभन्दा तल्लो स्तरमा’ पुगेको चेतावनी दिँदै तेहरानको पानी प्राधिकरणले बासिन्दाहरूलाई कम्तीमा २० प्रतिशतले खपत घटाउन आग्रह गरेको छ । तेहरानबाट करिब तीन हजार पाँच सय किलोमिटर पश्चिममा ग्रिसको राजधानी एथेन्सले पनि यस गर्मीको पहिलो लामो गर्मी लहर सहन गरिरहेको छ । उत्तरी अफ्रिकाबाट आउने तातो हावाको मात्रा यस गर्मीको सुरुमै आइपुगेको छ र ग्रिस र बाल्कनमा तातो गुम्बज बनेको छ । यसले तापमानलाई मौसमी मानकभन्दा १० डिग्री सेल्सियस माथि धकेलेको नेसनल अब्र्जरभेटरीले बताएको छ ।  यस हप्ता औसत उच्च तापक्रम ३८ डिग्री सेल्सियस नजिक पुग्ने र केही क्षेत्रमा ४४ डिग्री सेल्सियसमा पुग्ने पूर्वानुमानका साथ ग्रिक दैनिक द नेसनल हेराल्डले अवस्थालाई ‘नरकभन्दा तातो’ भनेर वर्णन गरेको छ । यस्तो सुक्खापन, आँधीसँग मिलेर ग्रीसलाई गम्भीर डढेलोमा पारेको छ । बिहीबार दमकलकर्मीहरूले क्रेट टापुमा डढेलोको सामना गरेका थिए । डढेलोले एक हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गर्न बाध्य पार्दै जङ्गल र जैतुनका बगैँचाहरू जलाएको थियो । यसैबीच, एथेन्स नजिकैको नयाँ आगलागी आवासीय क्षेत्रहरूको नजिक खतरनाक रूपमा फैलिएको छ । अन्यत्र, टर्कीले जुन २६ पछिका १० दिनमा ७६१ वटा डढेलो रेकर्ड गरेको छ । पश्चिमी इजमिर प्रान्त र वरपर भड्किएको आगोले एक वृद्ध पुरुष र एक वन कर्मचारीको ज्यान लिएको छ । युरोपभरि, स्पेन र इटाली लगायत देशहरूमा गर्मीसँग सम्बन्धित कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । युरोप महाद्वीप पनि गर्मीको लहरमा डुबेको छ । 'हामी हाल बलियो उच्च–चाप प्रणालीको प्रभावमा छौँ, यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई यस क्षेत्रमाथि फसाएको छ र हामीले देख्न सक्छौँ, यसले हामीले महसुस गर्ने तरिकामा निकै ठूलो प्रभाव पारेको छ', विश्व मौसम विज्ञान सङ्गठनका प्रवक्ता क्लेयर नुलिसले पहिले भनेका थिए । उनले जलवायु परिवर्तनको परिणामस्वरूप मानिसहरूले अधिक बारम्बार र तीव्र गर्मी लहरहरूसँग बाँच्न सिक्नुपर्ने बताए ।  युरोपेली सङ्घ (इयु) द्वारा वित्त पोषित कोपर्निकस जलवायु परिवर्तन सेवाले हालैको एउटा लेखमा भनेको छ, 'चरम मौसम घटनाहरूबाट निर्मित वातावरणमा हुने क्षति जलवायु परिवर्तनका कारण मात्र शताब्दीको अन्त्यसम्ममा दश गुणा बढ्ने अनुमान गरिएको छ ।' यस्ता व्यापक जलवायु प्रभावहरूले अधिक लचिलोपन निर्माणको महत्त्वलाई उजागर गर्छ भन्दै सेवाले पानी पुनर्चक्रण, वर्षाको पानी र फोहोर पानीको विभाजन, जलवायु–प्रतिरोधी भवन डिजाइन, जोखिम म्यापिङ र प्रारम्भिक चेतावनी प्रणाली जस्ता भौतिक र प्राविधिक उपायहरूको आह्वान गरेको छ । 'सबै क्षेत्र र शासन स्तरहरूमा अनुकूलन आवश्यक छ र कार्यहरूले वर्तमान जलवायु प्रभावहरू र भविष्यका जोखिमहरू विरुद्ध सुरक्षा दुवैलाई सम्बोधन गर्नुपर्दछ', कोपर्निकस जलवायु परिवर्तन सेवाले भनेको छ । रासस

न धेरै पैसा, न साझेदारी : रिलायन्स इन्डस्ट्रीज एक्लै किन अघि बढ्न खोज्दैछ ?

काठमाडौं । क्विक कमर्स बजारमा तीव्र रूपमा विस्तार भइरहँदा मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रीजले भने निकै सावधानीपूर्वक पाइँला चालिरहेको छ । कम्पनीले यो क्षेत्रमा धेरै पैसा नलगाई र कुनै साझेदारी नगरी आफ्नै नेटवर्क निर्माणमा केन्द्रित हुने रणनीति अगाडि सारेकाे छ ।  कम्पनीका अनुसार हालको बजार विश्लेषणबाट देखिएको छ कि क्विक कमर्समा सक्रिय केही कम्पनीहरूको खरिद आर्थिक रूपमा लाभदायक नदेखिएकाले रिलायन्सले आत्मनिर्भर योजना रोजेको हो । भारतीय इकोनॉमिक टाइम्सका अनुसार रिलायन्स रिटेलका मुख्य वित्त अधिकृत दिनेश तालुजाले एक बैठकमा भने, 'हामी कुनै पनि यस्तो अवसर छुटाउन चाहँदैनौं, जहाँ हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । अर्ग्यानिक (प्राकृतिक) वृद्धि र इनअर्ग्यानिक (कम्पनी खरिद) विस्तारबारे चाखलाग्दो बहस छ । तर अरू कम्पनीलाई आफ्नै नेटवर्कमा समाहित गर्नु चुनौतीपूर्ण हुन्छ । त्यसैले हामी आफ्नै बलियो नेटवर्क निर्माणमा केन्द्रित छौं, र हामीसँग पहिलेबाटै ठूलो ग्राहक समूह पनि छ ।' तालुजाका अनुसार, रिलायन्सले ‘डार्क स्टोर’ भनिने विशेष गोदामहरू स्थापना गरिरहेको छ, जुन स्थानहरूमा माग उच्च छ तर हालको स्टोर सञ्जालले पर्याप्त सेवा दिन सक्दैन, वा जहाँ कम्पनीको उपस्थिति अझै पुगेको छैन । उनले भने, 'यो रणनीति हाम्रो लागि लाभदायक छ, किनकि हामी पहिले नै भएका पूर्वाधारहरूलाई सदुपयोग गर्न सक्छौं । हाम्रा अधिकांश डार्क स्टोरहरू पहिलो दिनदेखि नै नाफामा चलिरहेका छन् ।' भारतमा ई-कमर्स बिक्रीमा क्विक कमर्सको योगदान वर्षेनी दोब्बर दरमा बढिरहेको छ, यद्यपि यसको बजार हिस्सा अहिले पनि ३.६ प्रतिशत सीमामा सीमित छ । सुरुमा किराना वा दैनिकीका उपभोग्य सामग्रीमा केन्द्रित यो च्यानल अहिले प्रिमियम उत्पादनहरूसमेत समेट्दै तीव्र गतिमा फैलिएको छ । हालैको अध्ययनअनुसार, भारतको क्विक कमर्स बजार लगभग १० अर्ब अमेरिकी डलरसम्म पुगेको छ, जसमा झन्डै ३० मिलियन ग्राहक मासिक रूपमा किनमेल गर्छन् । यद्यपि, यसको झन्डै ८० प्रतिशत कारोबार अझै महानगरहरूमा सीमित छ, र साना शहरतिर मुनाफासहितको विस्तार अझै चुनौतीपूर्ण देखिएको छ । जीयोमार्ट, फ्लिपकार्ट र अमेजनजस्ता ठूला खेलाडीहरूको उपस्थितिपछि पनि ब्लिंकिट, इंस्टामार्ट, जेप्टोजस्ता स्टार्टअपहरू क्विक कमर्सको अगुवा बनेका छन् । यिनको तुलनामा रिलायन्सले साझेदारी वा खरिदको बाटो रोज्ने भन्दा पनि आफ्नो पूर्वाधारमा आधारित अर्ग्यानिक मोडेलमा विश्वास राखिरहेको देखिन्छ । बढ्दो अर्डर र आन्तरिक वृद्धिदर रेडसियरको पछिल्लो रिपोर्टअनुसार, २०२५ को पहिलो पाँच महिनामा भारतको क्विक कमर्स उद्योग १५० प्रतिशतले वृद्धि भएको छ । यसको पछाडि मुख्य कारणहरूमा डार्क स्टोरहरूको वृद्धि, सामानको विविधता र उपलब्धता, र प्रतिस्पर्धात्मक मूल्य छन् । रिलायन्सको हकमा, २०८२ सालको पहिलो त्रैमासमा कम्पनीले दैनिक अर्डर संख्यामा अघिल्लो त्रैमासिकको तुलनामा ६८ प्रतिशत वृद्धि गरेको छ भने गत वर्षको तुलनामा यो दर १७५ प्रतिशत पुगेको जनाएको छ।

म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता

काठमाडौं । म्यानमारको अन्तर्राष्ट्रिय अटो एक्स्पोमा चिनियाँ ईभीहरूको बाहुल्यता छ । याङ्गुन कन्भेन्सन सेन्टरमा चिल्लो विद्युतीय सवारी साधनहरू प्रदर्शन गरिएका थिए । चम्किलो ड्यासबोर्डहरू, एआई सुविधाहरू र उत्सुक भीडले सफा अटोमोटिभ भविष्यमा म्यानमारको बढ्दो चासोलाई उजागर गरेको छ । तीन दिने म्यानमार अन्तर्राष्ट्रिय अटो एक्स्पो २०२५ मा ३० भन्दा बढी ब्राण्डहरू रहेका थिए । जसमध्ये धेरैजसो चिनियाँ थिए ।