चीनले जापानी सिफुडमाथि लगाएको प्रतिबन्ध आंशिक रूपमा हटायो, किन लगाएको थियो ?
काठमाडौं । चीनले जापानका अधिकांश क्षेत्रहरूबाट सीफुड (समुद्री खाद्यपदार्थ) आयातमा लगाइएको प्रतिबन्ध हटाएको छ । यो प्रतिबन्ध दुई वर्षअघि फुकुशिमा परमाणु संयन्त्रबाट उपचार गरिएको दूषित पानी समुद्रमा फालिँदा हुन सक्ने असरको चिन्ताका कारण लगाइएको थियो । बेइजिङले अब जापानबाट आयात ‘शर्तसहित फेरि सुरु गर्ने बताएको छ, तर यो निर्णय जापानका ४७ मध्ये १० प्रान्तमा लागू नहुनेछ- जसमा टोकियो र फुकुशिमा पनि समावेश छन् । चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सले जुन २९ मा फुकुशिमाको दूषित पानीमाथि लामो समयसम्म गरिएको निगरानीमा संकलित नमूनाहरूमा कुनै गडबडी नभेटिएको जनाएको छ । सन् २०११ मा जापानको उत्तरपूर्वी क्षेत्रमा आएको सुनामीले फुकुशिमा परमाणु संयन्त्रका तीन रिएक्टरहरू डुबाइदिएको थियो । यो दुर्घटनालाई चेर्नोबेलपछिको विश्वकै सबैभन्दा ठूलो परमाणु दुर्घटना मानिन्छ । फुकुशिमा संयन्त्रका छमध्ये तीन परमाणु रिएक्टर सन् २०११ को सुनामीका क्रममा गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । त्यसयता त्यहाँ एक मिलियन टनभन्दा बढी उपचार गरिएको दूषित पानी जम्मा भएको थियो ।
बीआईएसको ९५औं वार्षिक बैठकमा सहभागी भए गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल स्विट्जरल्याण्डको बासेलमा सम्पन्न बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स (बीआईएस) को ९५औं वार्षिक बैठकमा सहभागी भएका छन् । जुन २७ देखि २९ सम्म सञ्चालन भएको उक्त बैठकमा बीआईएस सदस्य राष्ट्रहरूका गभर्नरहरू तथा उच्च अधिकारीहरूको व्यापक सहभागिता रहेको थियो । सन् १९३० मा स्थापना भएको बीआईएस विश्वका ६३ केन्द्रीय बैंकहरू आबद्ध अन्तर्राष्ट्रिय वित्तीय संस्था हो, जसले वैश्विक मौद्रिक र वित्तीय स्थायित्वलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ । बैठकको क्रममा गभर्नर डा. पौडेलले ‘सीपीएमआईस उदाउँदा बजार र विकासोन्मुख अर्थतन्त्रहरू- खाडल पुर्याउने पहल: वित्तीय समावेशीकरण, क्षेत्रीय एकीकरण र सीमापार भुक्तानी’ र ‘बीआईएस इनोभेसन हब सेमिनार: कृत्रिम बाैद्धिकता र सुरक्षासम्बन्धी विषयवस्तु’ शीर्षकका अन्तरक्रिया सत्रहरूमा सहभागिता जनाएका थिए । यी सत्रहरूमा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका नवीनतम उपलब्धिहरू, उत्पन्न चुनौतीहरूका साथै बैंकिङ क्षेत्रमा एआईको प्रयोगबाट उत्पन्न जोखिम र तिनको समाधानका लागि आवश्यक नीतिगत संयन्त्रहरूबारे गहिरो छलफल भएको थियो । गभर्नर डा. पौडेलले 'नियमन र प्रतिस्पर्धात्मकता' विषयक अर्को अन्तरक्रिया कार्यक्रममा पनि सहभागी जनाएका थिए । यसै सन्दर्भमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले बैठकमा संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए भने प्रख्यात अर्थशास्त्री प्रा. मोरिस ओब्स्टफेल्डले ‘अन्तर्राष्ट्रिय मौद्रिक प्रणालीस् दोसाँधमा उभिएको यात्रा’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । वार्षिक बैठकको अवसरमा गभर्नर डा. पौडेलले बीआईएस महाप्रबन्धक कार्सटेन्स, बैंकिङ विभाग प्रमुख लुइस बेङ्गोचासहित उच्च अधिकारीहरूसँग छुट्टाछुट्टै बैठक गरेका थिए । भेटघाटहरूमा विदेशी विनिमय सञ्चिति व्यवस्थापनलाई सुरक्षित, लाभदायक र प्रभावकारी बनाउन सहकार्य विस्तार गर्ने, सुन खरिद तथा विविध लगानीका नयाँ विकल्पहरूबारे छलफल गरिएको थियो । त्यस्तै, भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँगको भेटमा दुई केन्द्रीय बैंकबीच भुक्तानी प्रणाली सुधार, जनशक्ति विकास तथा समग्र द्विपक्षीय सहकार्य विस्तारका विषयमा सहमति जुटाइएको थियो । यस्तै, चीनको पीपल्स बैंक अफ चाइना (पीबीसी) का गभर्नर पान गोङ्गशेङ्गसँगको भेटमा पनि बैंकिङ कारोबार तथा भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउने विषयमा निरन्तर सहकार्यको प्रतिबद्धता जनाइएको थियो । गभर्नर डा. पौडेलको साथमा राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालय निर्देशक एवं सञ्चालक समितिका सचिव शरणकुमार अधिकारी पनि सहभागी थिए।
चीनबाट खनिज आपूर्ति विस्तारै खुल्दै, अझै टरेन संकट
काठमाडौं । जसरी चीनबाट दुर्लभ खनिज चुम्बकहरू पुनः प्रवाहित हुन थालेका छन्, त्यससँगै अटोमोटिभ आपूर्ति शृंखलामा ठूलो स्तरका बन्दको खतरा घट्दै गएको छ । तर अटोमोकर र आपूर्तिकर्ताहरूको भनाइमा उत्पादन योजनाहरू अझै अनिश्चितता र अभावको जोखिममा छन् । युरोपेली आपूर्तिकर्ताहरूले यस महिनाको सुरुमा अनुमान गरिएजस्ता व्यापक अवरोध टार्न पर्याप्त अनुमतिपत्रहरू प्राप्त गरेका छन्, तर सयौं अनुमतिहरू अझै बाँकी रहेको आपूर्तिकर्ता संघ सीएलईपीएका बजार मामिला प्रमुख निल्स पोलले बताए । उनका अनुसार अनुमतिपत्र वितरणको दर ‘तीव्र गतिमा’ बढेको छ- २५ प्रतिशतबाट ६० प्रतिशतसम्म । तर अमेरिकामा अन्तिम प्रयोगकर्ताहरू रहेका वा भारतजस्ता तेस्रो मुलुक हुँदै पठाइने उत्पादनहरूको हकमा प्रक्रिया अझै ढिलो भइरहेको वा प्राथमिकता दिइएको छैन । ‘समग्रमा महसुस गर्न सकिन्छ कि सायद जुलाईमा पनि उत्पादन जारी रहनेछ र असर व्यवस्थापन योग्य हुनेछ,’ पोलले भने, ‘कताकता उत्पादन लाइन प्रभावित हुन सक्छ, तर हाललाई त्यो अवस्था टारिएको छ ।’ शुक्रबार फर्डका प्रमुख कार्यकारी अधिकृत जिम फार्लीले कोलोराडोमा बोल्दै गत तीन हप्तामा चुम्बक अभावका कारण कम्पनीले आफ्ना केही कारखाना बन्द गर्नुपरेको बताएका थिए तर विस्तृत विवरण भने दिएनन् । फक्सवागनले दुर्लभ खनिज सामग्रीहरूको आपूर्ति स्थिर रहेको उल्लेख गरेको छ भने प्रतिद्वन्द्वी स्टेलान्टिसले तत्कालीन उत्पादन चुनौती समाधान भइसकेको जनाएको छ । चीनले अप्रिलमा अमेरिकाले लगाएको ट्यारिफको प्रत्युत्तरमा सातवटा दुर्लभ खनिज र चुम्बकहरूको निर्यातमा प्रतिबन्ध लगाएको थियो । तीन महिना बितिसक्दा पनि चीनले आफ्नो अपारदर्शी र जटिल निर्यात अनुमतिको प्रणाली कसरी नियमन गर्छ भन्ने विषयमा अझै ठूलो अनिश्चितता छ । प्रतिबन्धपछि चीनबाट दुर्लभ चुम्बकहरूको निर्यात करिब ७५ प्रतिशतले घटेको छ, जसका कारण एसिया, युरोप र अमेरिका केही कार उत्पादन लाइनहरू रोकिएका छन् । ह्वाइट हाउसले बिहीबार चीनसँग दुर्लभ खनिज स्वीकृति प्रक्रिया छिटो पार्ने सम्झौता भएको जनाएको थियो, तर विस्तृत जानकारी दिएको थिएन । त्यसपछि केही घण्टामै बेइजिङले पनि यसै महिनाको सुरुमा लन्डनमा भएको सम्झौता पुष्टि गरेको र निर्यात अनुमतिहरू कानुनअनुसार प्रक्रिया हुने बताएको थियो । दुवै पक्षले हालको निर्यात अनुमति प्रणालीमा के-कसरी परिवर्तन गरिने भन्ने विवरण दिएका छैनन् । अमेरिकी ट्रेजरी सचिव स्कट बेस्सेन्टले फक्स बिजनेस नेटवर्कसँग शुक्रबारको अन्तरवार्तामा भनेका छन् कि बिहीबार घोषणा गरिएको सम्झौताअनुसार अघिल्लो पटक नियमितरूपमा आपूर्ति प्राप्त गरिरहेका सबै कम्पनीहरूलाई चीनबाट दुर्लभ खनिज आपूर्ति छिटो गरिनेछ । ‘म अहिले ढुक्क छु । चुम्बकहरू प्रवाह हुनेछन्,’ उनले भने, ‘यो स्थिति सहज बनाउने संकेत हो ।’ दुई साताअघि अटो उद्योग ‘पूर्ण आत्तिएको’ अवस्थामा थियो, तर चीनले अनुमतिपत्रहरू दिन गति बढाएको र अब आकस्मिक बन्दको खतरा घटेको एकजना प्रमुख अमेरिकी अटो आपूर्तिकर्ता र एकजना युरोपेली कार कम्पनीका स्रोतले जानकारी दिए । दुवैले संवेदनशीलताका कारण नाम नखुलाउन भनेका थिए । युरोपेली एक अधिकारीका अनुसार चीनले युरोपेली कम्पनीहरूको उत्पादन रोकावट टार्नका लागि न्यूनतम मात्र महत्त्वपूर्ण अनुमति स्वीकृत गर्दै आएको छ । डेक्स्टर म्याग्नेटिक टेक्नोलोजिजका सीईओ जो स्टपफेलले कम्पनीले अप्रिलदेखि हालसम्म १८० मध्ये मात्र ५ वटा अनुमति पाएको जानकारी दिए, जुन पनि गैर–रक्षा क्षेत्रका लागि मात्र थिए । ‘यो लामो ढिलाइ हो,’ उनले भने, ‘पहिले आपूर्तिकर्ताका लागि कागजात मिलाउन ४५ दिन लाग्छ अनि त्यसपछि झण्डै ४५ दिनपछि मात्र अनुमति आउँछ ।’ सान्दर्भिक सामग्री : ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व टेस्लामा फेरि व्यवस्थापकीय संकट, शीर्ष कार्यकारी र मस्कका विश्वासपात्रले कम्पनी छाडे चीनको ‘डलरमुक्त अभियान’ : विश्व बजारमा छाउने तयारी गर्दै युआन अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान