ईभी युगमा चम्कँदै लिथियमको बजार, भण्डारमा दक्षिण अमेरिकाको वर्चस्व
काठमाडौं । संसारभर विद्युत सवारीसाधन (ईभी) को संख्या तीव्र गतिमा बढेसँगै लिथियमको प्रयोग पनि बढिरहेको छ । विशेषगरी लिथियमको प्रयोग ब्याट्री निर्माणमा गरिन्छ । हाल अधिकांश लिथियमको उत्पादन अष्ट्रेलिया र चीनमा ‘हार्ड रक माइनिङ’ प्रविधिबाट गरिन्छ । अष्ट्रेलियामा सबैभन्दा बढी ४९ प्रतिशत लिथियम उत्पादन हुन्छ भने चीनमा १७ प्रतिशत उत्पादन हुन्छ । बाँकी लिथियम चिली र अर्जेन्टिनामा ‘ब्राइन’ (खनिजयुक्त नुनिलो पानी) प्रविधिबाट उत्पादन गरिन्छ । तर, आउँदो समयमा यो तरिका परिवर्तन हुनसक्छ । हाल ल्याटिन अमेरिका विश्व ऊर्जा रूपान्तरणको केन्द्रको रूपमा उदाउँदैछ, जहाँ विश्वको आधाभन्दा बढी लिथियम भण्डार रहेको छ । लिथियमलाई अहिले ‘नयाँ तेल’ भनिन्छ किनभने यो इलेक्ट्रिक सवारीसाधन र स्वच्छ प्रविधिका लागि अत्यन्तै आवश्यक मानिन्छ । विश्वभर अत्यधिक माग भएकै कारण यसलाई ‘ह्वाइट गोल्ड’ अर्थात् सेतो सुन पनि भन्ने गरिन्छ । दक्षिण अमेरिकाको ठूलो हिस्सा अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएस जिओलोजिकल सर्भे) का अनुसार दक्षिण अमेरिकी देशहरू बोलीविया, अर्जेन्टिना र चिलीले विश्वको सबैभन्दा ठूलो लिथियम भण्डारको हिस्सा ओगटेका छन् । बोलीवियामा अनुमानित २३ मिलियन मेट्रिक टन लिथियम रहेको छ भने अर्जेन्टिनामा पनि लगभग २३ मिलियन टन र चिलीमा ११ मिलियन टन लिथियमको भण्डार रहेको छ । यी तीन देश अहिले स्वच्छ ऊर्जा आपूर्ति श्रृंखला र स्रोत सुरक्षाका विषयमा विश्वव्यापी छलफलको केन्द्र बनेका छन् । संसार जीवाश्म इन्धन (पेट्रोल, डिजेल आदि) को सट्टा ब्याट्रीको विकल्पतर्फ बढ्दै जाँदा भूराजनीतिक ध्यान पनि अब तेल धनी मिडिल इस्टबाट लिथियम धनी देशहरूतर्फ सरेको देखिन्छ । अन्य प्रमुख लिथियम भण्डार भएका देशहरूमा अमेरिका (१९ मिलियन टन), अष्ट्रेलिया (९ मिलियन टन) र चीन (६.८ मिलियन टन) रहेका छन् । मूल्य कति ? लिथियम संसारकै सबैभन्दा नरम र हल्का धातुहरूमध्ये एक हो । यो धातु यति नरम हुन्छ कि चक्कुले सजिलै काट्न सकिन्छ र यो पानीमा पनि तैरन सक्छ । यसको विशेषता भनेको यो रासायनिक ऊर्जालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्न सक्ने क्षमता हो । हाल यसको प्रयोग स्मार्टफोनको ब्याट्रीदेखि लिएर ब्याट्रीले चल्ने लगभग सबै उपकरणमा भइरहेको छ । यही कारणले गर्दा लिथियमको विश्वव्यापी माग निकै उच्च छ । अन्तर्राष्ट्रिय बजारमा एक टन लिथियमको मूल्य १ करोड रुपैयाँसम्म पर्न सक्छ । विश्व बैंकको एक प्रतिवेदनअनुसार सन् २०५० सम्म विश्वभर लिथियमको माग ५०० प्रतिशतले बढ्नेछ । आगामी सम्भावना र चुनौतीहरू विश्वभर लिथियमको माग आकाशिँदै जाँदा यसले वातावरणीय, सामाजिक र राजनीतिक चुनौतीहरू पनि ल्याउने देखिन्छ । ब्राइन प्रविधिबाट लिथियम निकाल्दा जलस्रोतमा असर पर्न सक्छ भने हार्ड रक माइनिङले पारिस्थितिक प्रणालीलाई क्षति पुर्याउन सक्छ । दोस्रो तर्फ लिथियममा निर्भरता बढेसँगै यसको पुनः प्रयोग र वैकल्पिक ब्याट्री प्रविधिमा लगानीको आवश्यकता पनि तीव्र भएको छ । केही वैज्ञानिक समूहहरू ‘सोडियम-आयन’, ‘सोलिड-स्टेट वा ‘हाइड्रोजन सेल जस्ता नयाँ प्रविधिमा अनुसन्धानरत छन् जसले भविष्यमा लिथियममाथिको निर्भरता घटाउन सक्ने सम्भावना छ । लिथियम धातु मात्र नभइ अब अब ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध र प्रविधिको अग्रगामी प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ ।
अमेरिकाद्वारा सुडानमाथि प्रतिबन्धको घोषणा
काठमाडौं । सुडानको रक्तपात पूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ । अमेरिकी सरकारले शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचनामा अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने जनाएको छ । प्रतिबन्ध अन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न वा अन्य कृषि जन्य वस्तु वा उत्पादनबाहेक अन्य सहायता बन्द गरिने अमेरिकाले जनाइएको छ । यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिनेछ किनभने ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा हितको लागि यो आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ। अमेरिकी विदेश मन्त्रालयले गत महिना प्रतिबन्धहरूको घोषणा गर्दै भनेको थियो, ‘लगभग सबै देशहरू द्वारा हस्ताक्षरित एक अन्तर्राष्ट्रिय सन्धिले रासायनिक प्रयोग गर्न निषेध गरेको छ त्यसैले अमेरिकाले सुडान सरकारलाई सबै रासायनिक हतियारको प्रयोग रोक्न र रासायनिक हतियार कन्भेन्सन अन्तर्गत आफ्नो दायित्वहरू पालन गर्न आग्रह गर्दछ।’ न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो । नाम नखुलाइएका अमेरिकी अधिकारीलाई उद्धृत गर्दै पत्रिकाले उक्त हतियार क्लोरिन ग्याँस जस्तो देखिएको र यसले श्वासप्रश्वासमा गम्भीर समस्या भई मृत्युको कारण बन्न सक्ने उल्लेख गरेको छ । खार्तूमले रासायनिक हतियार प्रयोग गरेको आरोपको खण्डन गर्दै आएको छ । व्यावहारिक रुपमा सुडानका सैन्य प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका नेता तथा उहाँका प्रतिद्वन्द्वी तथा पूर्व डेपुटी नेता मोहम्मद हमदान डग्लो दुवै अमेरिकी प्रतिबन्धको चपेटामा परिसकेकाले यसको प्रभाव सीमित हुनेछ । सन् २०२३ को अप्रिलमा सेना र आरएसएफबीचको शक्ति सङ्घर्षपूर्ण युद्धमा परिणत भयो र यसको विनाशकारी परिणाम पहिले नै गरिब मुलुक रहेको सुडानका लागि अभिशाप बनेको छ । यस द्वन्द्वका कारण दसौँ हजार मानिसको मृत्यु भएको छ भने एक करोड ३० लाख विस्थापित भएका छन् । सुडान युद्धलाई संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराबमध्येको एक मानवीय सङ्कटको रूपमा व्याख्या गरेको छ।
ब्राजिलको बेरोजगारी दर विगत १० वर्षयताको सबैभन्दा न्यून
रियो दि जेनेरियो । ब्राजिलमा चालु वर्षको मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर घट्दै ६.२ प्रतिशतमा पुगेको छ, जुन विगत दश वर्षको सोही अवधिमा सबैभन्दा कम हो भन्ने तथ्य ब्राजिलको भूगोल तथा तथ्याङ्क संस्थान (आईबीजिई) द्वारा सार्वजनिक गरिएको छ । संस्थानका अनुसार, डिसेम्बर–फेब्रुअरीसम्मको अघिल्लो त्रैमासिक अवधिमा बेरोजगारी दर ६.८ प्रतिशत थियो। हालको दर अघिल्लो अवधिको तुलनामा ०.६ प्रतिशत बिन्दुले कमी आएको हो। यस्तै, गत वर्षको यही अवधिमा ७.१ प्रतिशत रहेको दर अहिले ०.९ प्रतिशत बिन्दुले घटेको देखिएको छ । उक्त त्रैमासिक अवधिमा करिब ६८ लाख व्यक्तिहरू बेरोजगार रहेको विवरण छ, जुन अघिल्लो त्रैमासिकको ७५ लाखभन्दा ८.६ प्रतिशतले कम हो। यो घटबढको आधारमा करिब ६ लाख ४४ हजार व्यक्तिहरूले रोजगारी प्राप्त गरेको देखिन्छ। त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या करिब नौ लाख ५५ हजारले घटेको छ, जुन १२.३ प्रतिशतको गिरावट हो। आईबीजिईका विश्लेषक विलियम क्राटोकभिलका अनुसार, ‘बेरोजगारी दर घट्नुको प्रमुख कारण रोजगारी प्राप्त गर्ने व्यक्तिहरूको संख्या उल्लेख्य रूपमा बढ्नु हो। साथै, श्रमशक्तिको अपूर्ण उपयोग पनि घटेको पाइन्छ ।’ उनका अनुसार सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्याउने व्यक्तिहरूको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सर्वेक्षणको सन्दर्भ सप्ताहमा १४ वर्ष वा सोभन्दा माथिका ६ करोड ८३ लाख नागरिकहरू कुनै न कुनै प्रकारको रोजगारीमा संलग्न थिए । ‘यसले श्रम बजारको सुदृढीकरणलाई संकेत गर्दछ। औपचारिक रोजगारीमा आबद्ध तथा स्वरोजगारीमा रहेका धेरै व्यक्तिहरू नियमानुसार दर्ता भएका छन्, जसको फलस्वरूप पेन्सन प्रणालीमा योगदान पुर्याउने व्यक्तिको संख्या बढेको देखिन्छ,’ विश्लेषक क्राटोकभिलले थप जानकारी दिए । रासस