इराकको हवाई क्षेत्र अन्तर्राष्ट्रिय उडानका लागि पुनः खुला

काठमाडौं । इराकको नागर विमान प्राधिकरण (आईसीएए) ले पछिल्लो सुरक्षा अवस्था सन्तोषजनक रहेको निष्कर्ष निकाल्दै, अन्तर्राष्ट्रिय हवाई उडानहरूका लागि हवाई मार्ग पुनः खोलिएको घोषणा गरेको छ ।  प्राधिकरणले मङ्गलबार बिहान जारी गरेको विज्ञप्तिमा यो निर्णय सुरक्षाको व्यापक मूल्याङ्कन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायहरूसँगको समन्वय पश्चात् गरिएको जनाएको छ  ।  प्राधिकरणका अध्यक्ष बाङ्गिन रेकार्नीका अनुसार, इराकको हालको सुरक्षा स्थिति हवाई उडान सञ्चालनका लागि पर्याप्त विश्वसनीय रहेको छ ।  उनले भने, ‘हवाई मार्ग पुनः सञ्चालनमा आएसँगै इराकको भौगोलिक महत्व थप मजबुत हुने विश्वास गरिएको छ, जसले पूर्व र पश्चिमलाई जोड्ने सुरक्षित र छोटो मार्गको रूपमा इराकको भूमिका बढाउनेछ । साथै, यसले वैश्विक उडानहरूको समय र इन्धन खर्च पनि घटाउनेछ ।’ इराकले यसअघि जुन १३ मा सुरु भएको इजरायल–इरान द्वन्द्वपछि सम्भावित जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरूका लागि हवाई मार्ग अस्थायी रूपमा बन्द गरेको थियो ।  हाल सुरक्षात्मक मूल्याङ्कनका आधारमा सकारात्मक सुधार देखिएको भन्दै प्राधिकरणले हवाई मार्ग पुनः सञ्चालनमा ल्याउने निर्णय लिएको हो ।

अनेकन प्रतिबन्धको बाबजुत पनि रुसी अर्थतन्त्रको धमाकेदार उडान

काठमाडौं । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि पश्चिमी देशहरूले रुसमाथि विभिन्न किसिमका प्रतिबन्धहरू लगाए । विश्वमा सबैभन्दा बढी प्रतिबन्ध रुसमाथि नै छन् । तर यस्ता कडा प्रतिबन्धका बाबजुद पनि यसको अर्थतन्त्र अझै बलियो बनेको छ । सरकारी तथ्यांकअनुसार २०२४ मा रुसको अर्थतन्त्र ४.३ प्रतिशतले बढेको छ, जुन जी-७ समूहका सबै देशहरूभन्दा धेरै हो । जी-७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका समावेश छन् । गत वर्ष बेलायतको अर्थतन्त्र १.१ प्रतिशत र अमेरिकाको अर्थतन्त्र २.८ प्रतिशतले मात्र वृद्धि भएको थियो । प्रश्न उठ्छ- पश्चिमी प्रतिबन्धहरूका बाबजुद रुसको अर्थतन्त्र कसरी चाँडो बढ्यो ?   रुसले युरोपतर्फ जाने तेलको आपूर्ति चीन र भारततर्फ मोडिदिएको छ । भारत र चीन दुबैले ठूलो परिमाणमा रुसबाट तेल आयात गरिरहेका छन् । पछिल्ला वर्षहरूमा रुस भारतको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । साथै रुसको मुद्रा ‘रुबल’ यस वर्ष विश्वकै उत्कृष्ट प्रदर्शन गर्ने मुद्रामध्ये एक बनेको छ । बैंक अफ अमेरिकाका अनुसार यसको मूल्यमा ४० प्रतिशतभन्दा बढीको वृद्धि भएको छ । तर बीबीसीको एउटा रिपोर्टअनुसार यस वर्ष रुसका लागि अवस्था त्यति राम्रो छैन । देशभित्र महँगी लगातार बढ्दो क्रममा छ । रुसमा महँगी दर ९.९ प्रतिशत पुगेको छ । साथै ब्याजदर बढेर २० प्रतिशतसम्म पुगेको छ ।  कम्पनीहरूले आवश्यक कर्मचारी पाउन सकेका छैनन् । रुसका वित्तमन्त्रीले चेतावनी दिएका छन् कि देश ओभरहीटिङ (अत्यधिक वृद्धि) पछि मन्दीको नजिक पुगेको छ । पश्चिमी प्रतिबन्धहरूले आयातको मूल्य बढाएको छ भने श्रमिकको अभावका कारण मजदुरी पनि महँगो भएको छ । सरकारी तथ्यांकअनुसार २०२४ को अन्त्यसम्म देशमा झण्डै २६ लाख श्रमिकको कमी थियो । यसको मुख्य कारण ठूलो संख्यामा मानिसहरू युक्रेनसँगको युद्धमा पठाइएका छन् वा युद्धबाट जोगिन विदेश भागेका छन् ।  केन्द्रीय बैंकले बढ्दो महँगीलाई नियन्त्रण गर्न यस वर्ष ब्याजदर रेकर्ड स्तरसम्म बढाएको छ । तर यसले कम्पनीहरूले लगानीका लागि आवश्यक पुँजी जुटाउन झन् महँगो बनाएको छ ।  प्रतिबन्ध र कमजोर मूल्यका कारण रुसको तेल र ग्यासबाट हुने आम्दानीमा गिरावट आएको छ । सरकारी तथ्यांकअनुसार मे महिनामा यो गत वर्षको तुलनामा ३५ प्रतिशत कम भएको छ ।

इरानबाट दोहोरो खतरा समाप्त भएको इजरायलको दावी, युद्धविराममा सहमति

काठमाडौं । इजरायल सरकारले घोषणा गरेको छ कि उसले इरानमाथिको पछिल्लो सैन्य अपरेशनबाट आफ्ना प्रमुख उद्देश्यहरू प्राप्त गरिसकेको छ र त्यसपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको युद्धविराममा सहमति जनाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इजरायलले युद्धविरामको कुनै पनि उल्लङ्घन भएको खण्डमा कडा जवाफ दिनेछ । हाम्रो अपरेशनले इरानबाट आउने परमाणु हतियार र ब्यालिस्टिक मिसाइलको दोहोरो खतरा समाप्त पारेको छ ।’ इजरायली सेनाले ‘अपरेशन राइजिङ लायन’ नाम दिइएको कारबाहीअन्तर्गत इरानी सैन्य नेतृत्वमाथि ठूलो क्षति पु‍र्याएको, दर्जनौं सैन्य संरचनाहरू ध्वस्त पारेको र एक वरिष्ठ परमाणु वैज्ञानिकलाई समेत मारिएको जनाएको छ । इजरायली सरकारका अनुसार यस अपरेशनपछि देशले ऐतिहासिक सफलता हात पारेको छ र आफूलाई विश्वका शक्तिशाली राष्ट्रहरूको पहिलो पंक्तिमा राखेको छ ।  नेतन्याहूको कार्यालयले एक्समार्फत जनाउँदै भनेको छ, ‘प्रधानमन्त्री नेतन्याहूले रक्षा मन्त्री, आइडीएफ प्रमुख र मोसाद निर्देशकसँग सोमबार राति सुरक्षा क्याबिनेट बैठक गरेका थिए। यस बैठकमा अपरेशनका सबै उद्देश्य सफलतापूर्वक पूरा भएको प्रतिवेदन पेस गरिएको छ ।’ इजरायलले यस अवसरमा अमेरिकी सरकार र पूर्व राष्ट्रपति ट्रम्पलाई इरानी परमाणु खतरा अन्त्य गर्ने कार्यमा सघाएकोमा धन्यवाद पनि दिएको छ । इरान र इजरायलबीचको शत्रुता नयाँ होइन । विगत केही दशकदेखि इजरायलले इरानको परमाणु कार्यक्रमलाई आफ्नो अस्तित्वका लागि ठूलो खतरा मान्दै आएको छ । इरान भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ । हालैका दिनहरूमा इजरायलले इरानका विभिन्न सैन्य र परमाणु अनुसन्धान केन्द्रहरूमा लक्षित आक्रमणहरू गरिरहेको छ । यसै क्रममा ‘अपरेशन राइजिङ लायन’ सञ्चालन गरी इजरायलले इरानको सामरिक क्षमतामा गम्भीर क्षति पुर्‍याएको हो । युद्धविराम पछि पनि दुबै पक्षका समर्थक र प्रतिद्वन्द्वी मुलुकहरू यस क्षेत्रमा स्थायित्व कायम रहन्छ कि रहने छैन भन्ने विषयमा सतर्कताका साथ निगरानी गरिरहेका छन् । हवाई आक्रमणमार्फत ‘शान्ति’ ल्याउने अजीव समय