मर्जरमा जान तीन बीमा कम्पनीलाई प्राधिकरणको पत्र, छलफलमा पनि बोलायो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कम्पनीलाई पत्र काटेको छ । प्राधिकरणले नेपाल इन्स्योरेन्स, आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरको सम्बन्धमा पत्र काटेको हो । प्राधिकरणले क्रसहोल्डिङ भएका यी कम्पनीलाई पत्र काट्दै मर्जर जाने हो वा होइन ? भन्ने विषयमा जवाफ मागेको छ । साथै, यस विषयमा थप छलफल गर्न यी तीन वटै कम्पनीका अध्यक्षलाई आगामी बुधबार अर्थात माघ १८ गते बीमा प्राधिकरणमा बोलाइएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । बीमा प्राधिकरणले एकै व्यक्ति वा समूहको दुई वा सोभन्दा बढी ठाउँमा सेयर भएका (क्रसहोल्डिङ) कम्पनीलाई मर्जरमा जान जोड दिँदै आएको छ । यससँगै यी तीन कम्पनीलाई पनि प्राधिकरणले बारम्बार पत्राचार गर्दै एक आपसमा मर्ज हुन जोड गरेको छ । यद्पि निर्देशन भने दिइसकेको छैन । स्रोतका अनुसार यी कम्पनीबीच स्वाप रेसियोको विषयमा कुरा मिलिनसकेकोले मर्जरको प्रकृया अघि बढ्न नसकेको बुझिन्छ । स्वाप रेसियोमा कुरा मिलेमा छिट्टै मर्जरको प्रक्रिया अघि बढाइने उक्त श्रोतले विकासन्युजसँग भन्यो । हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २४ करोड रूपैयाँ छ । आइएमई जनरल इन्स्योरेन्सको १ अर्ब १५ करोड र प्रुडेन्सियल जनरल इन्स्योरेन्सको १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी छ । यी तीन कम्पनी एक आपसमा बराबर हैसियतमा मर्ज भएमा मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी साढे तीन अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो । आगामी चैत मसान्तसम्म निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम साढे २ अर्ब र जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) को निर्देशन छ । प्राधिकरणले गत २०७८ चैत १० गते नै एक वर्षभित्र तोकिएको पुँजी पुर्याउन निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार चुक्ता पुँजी पुर्याउन अधिकांश कम्पनीले मर्जरको बाटो रोजेका छन् । त्यसैले पनि पछिल्लो समय बीमा क्षेत्रमा मर्जरको दौडधुप बढी देखिन्छ । केहीले भने मर्जरको प्रकृया सकेर एकीकृत कारोबार समेत गरिसकेका छन्, केही एकीकृत कारोबार गर्ने तयारीमा छन् भने केहीले मर्जरको प्रकृया नै शुरु गरेका छैनन् ।

मर्जर भंग भएपछि प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्जले कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो । अजोड इन्स्योरेन्ससँगको मर्जर गर्ने सम्झौता भंग भएपछि कम्पनीको आधारभुत सेयरधनीको सेयर कारोबार फुकुवा गरिएको हो । प्रभु र अजोडबीच मर्जर किन भंग भयो भन्ने विषय भने अझै खुलाइएको छैन ।

सरकारी बैंक पनि मर्जरमा जानुपर्छ, संस्थानको खर्च कटौती गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सरकारी बैंकहरु पनि अहिलेको आवश्यकतालाई बुझेर मर्जरमा जानुपर्ने बताएका छन् । निजी बैंकहरु धमाधम मर्ज भएको अवस्थामा बजारमा प्रतिस्पर्धी बनेर अघि बढ्नको लागि तीन सरकारी बैंकहरु स्वेच्छिक रुपमा मर्जरमा जान उपयुक्त हुने उनले बताए । ‘बैंक मर्जरमा राष्ट्र बैंकले बाध्यात्मक व्यवस्था गरेको थिएन, बैंकहरु आफैँले व्यवसायिक आवश्यकता बुझेर मर्जर गरिरहनुभएको छ, कतै सरकारी बैंकहरु यो आवश्यकता बुझ्न पछाडि हुनुहुन्न ? भन्ने हामीलाई शंका लागिरहेको छ, यो आवश्यकतालाई पनि महशुस गरेर छलफल नेपाल सरकारसँग र तीनवटा सरकारी बैंकहरु हुनुहुन्छ, सबैसँग छलफल गरेर वास्तविक आवश्यकता हो भने राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुन्छ,’ उनले भने । तर राष्ट्र बैंकले कुनै पनि बैंकलाई मर्जरको बाध्यत्मक व्यवस्था नगरेको उनी बताउँछन् । साथै, उनले बैंकिङ व्यवसाय चुनौतिपूर्ण रहेको स्पष्ट पारेका छन् । ‘एउटा बैंकको ६ अर्बको कर्जा ६ महिना ओभर ड्यु भयो भने ३ अर्बको प्रोभिजम प्रवन्ध गर्नुपर्छ, बैंकको एक वर्षको प्रोभिजन सकियो, त्यसैले बैंक त्यति चुनौतिपूर्ण छ, बैंकका कर्मचारीहरु संवेदनशील भएर बैंकको व्यवस्थापनमा लाग्नुपर्छ,’ उनले उदाहरण दिँदै भने । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा बोल्दै गर्भनर अधिकारीले साे बताएका हुन् । कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी कार्यालय तथा सार्वजनिक संस्थानले फजुल खर्च कटाउनु पर्ने बताएका छन् । अहिलेको आर्थिक अवस्थालाई चित्रण गर्दै उनले सार्वजनिक संस्थाहरुलाई आर्थिक मितव्ययिता अपनाउँदै खर्च कटौती गर्न आग्रह गरेका हुन् । ‘यतिबेला हामीले सरकारी कार्यालय, मन्त्री तथा मन्त्रालयले मात्रै होइन, सार्वजनिक संस्थानहरुले पनि मितव्ययीता अपनाउनुपर्ने, फजुल खर्च कटाउनुपर्ने र श्रोतहरुको उचित उपयोग गर्नुपर्ने अवस्थामा छौं,’ उनले भने । अर्थतन्त्रमा भएका समस्याहरुका बावजुत अर्थतन्त्र चलायमान बनाउन, रोजगारी श्रृजना गर्न, आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्रीले पौडेलले सरकारी बैंक नाफामा मात्र केन्द्रित नभई विपन्न समुदायको उत्थानका लागि बैंकले आफ्नो भरपुर आधार तय गर्नुपर्ने बताएका छन् । उत्पादनशील क्षेत्रमा पुँजी प्रवाह गर्न बैंकले सहयोग गर्ने र नाफामा भन्दा पनि गुणस्तरीय सेवाको सेवाको रुपमा उत्कृष्ट बन्न बैंकलाई शुभकामना दिएका छन् । सरकारी बैंक कमजोर नभएको र यसलाई कसरी प्रतिस्पर्धी बनाउन सक्छौं, लक्षित वर्गसम्म सेवा कसरी अघि बढाउन सक्छौं त्यसमा जोड दिनुपर्नेमा उनको सुझाव छ । त्यस्तै, उनले कम्पनी तथा कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट बाहिर निस्किन आग्रह गरेका छन् । र, व्यवसासिक दृष्टिकोणले बजारमा भएका सक्षम पात्रहरुलाई प्रतिस्पर्धाबाट ल्याउनुपर्ने मान्यतामा आफू रहेको बताउँदै आफू अर्थमन्त्रालयमा रहदासम्म सरकार तथा कुनैपनी क्षेत्रबाट राजनीतिक हस्तछेप नहुने समेत प्रतिवद्धता गरेका छन् । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले मर्ज भएका निजी बैंकसँग जुध्न आरबीबीले उपयुक्त रणनीति बनाउन आवश्यक रहेको बताएका छन् । सीइओ श्रेष्ठले ‘क’ वर्गका बैंकहरु मर्ज हुँदा आकार र क्षमता ठूलो हुन गएकाले अर्थमन्त्रालयले पनि सरकारी बैंकका लागि रणनीति बनाएर अगाडि बढ्नु पर्ने बताएका हुन् । ‘‘क’ वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्दर्भमा यस बैंकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।

मर्जरबिनै ठूला बैंकलाई टक्कर दिँदै एभरेष्ट, नाफामा कुन बैंकको प्रतिस्पर्धा को सँग ?

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा सामान्य बढेको छ । पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ११ प्रतिशत मात्रै वृद्धि भएको हो । बैंकहरुको खराब कर्जा दर बढेपछि नाफामा असर गरेको हो । दोस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा दर बढेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा खासै प्रगति गर्न नसकेका बैंकहरु दोस्रो त्रैमासदेखि भने बढ्ने अपेक्षा गरेका थिए । तर, दोस्रो त्रैमासको वित्तीय विवरण हेर्दा बैंकहरुको नाफा वृद्धिदर सुस्ताएको देखिन्छ । पछिल्लो समय बैंकहरुले रिकभरीमा जोड दिएपनि कर्जा उठ्न नसक्दा नाफामा प्रभाव पारेको बैंकरहरु बताउँछन् । निक्षेप संकलनका लागि ब्याजदर बढाएपनि कर्जा प्रवाह शून्य जस्तै भएकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा वृद्धिदरमा ठेस लागेको हो । पुस मसान्तसम्मको वित्तीय विवरण २१ वटा वाणिज्य बैंकले सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाहेक अन्य सबै बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । ६ महिनामा वाणिज्य बैंकहरुले ३१ अर्ब १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्म २८ अर्ब ३ करोड ३१ लख रुपैयाँ खुद नाफा कमाएका थिए । गत वर्षको तुलनामा ११.१० प्रतिशत बढी नाफा आर्जन गरेका हुन् । यस अवधिमा १५ वाणिज्य बैंकको नाफा बढेको छ भने आधा दर्जन बैंकको नाफा घटेको छ । कृषि विकास बैंक नोक्सानीमा रहेको छ । बैंकले १२ करोड ८९ लाख रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको छ । यस्तै, सिटिजन्स बैंकको ३२.११ प्रतिशत, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत, सनराइज बैंकको १२.२८ प्रतिशत, प्रभु बैंकको ४.९१ प्रतिशत र प्राइम बैंकको १.८५ प्रतिशत नाफा घटेको हो । समीक्षा अवधिमा प्रतिशतका आधारमा नाफा वृद्धिमा एभरेष्ट बैंक आक्रामक बनेको छ । बैंकले सबैभन्दा धेरै ८९.२९ प्रतिशत नाफा बढाएको हो । तर, सबैभन्दा धेरै नाफा कमाउने नबिल बैंक बनेको छ । नम्बर वानको दौडमा रहेको नबिल बैंकले ५६.६७ प्रतिशत बढाएर ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकको ३६.२७ प्रतिशत बढेर ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ, तेस्रोमा ग्लोबल आइएमई बैंकको ४.४६ प्रतिशत बढेर २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ, चौंथोमा राष्ट्रिय वाणिज्य बैंकको ४१.२७ प्रतिशत बढेर २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ र पाँचौमा एनएमबि बैंकको ११ प्रतिशत बढेर १ अर्ब ९० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सिभिल बैंकले गत वर्ष भन्दा नाफा उल्लेख्य बढाए पनि समिक्षा अवधिमा पुच्छारमा रहेको छ । बैंकको २६.३९ प्रतिशत बढाएर ६३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको हो । यस्तै, ६ महिनाको अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६१.३६ प्रतिशत बढेर १ अर्ब ७५ करोड रुपैयाँ, सानिमा बैंकको १९.३४ प्रतिशत बढेर १ अर्ब २८ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ५०.३९ प्रतिशत बढेर १ अर्ब १७ करोड रुपैयाँ, लक्ष्मी बैंकको ३१.७७ प्रतिशत बढेर १ अर्ब ७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १.४२ प्रतिशत बढेर १ अर्ब २ करोड रुपैयाँ, कुमारी बैंकको ६.१२ प्रतिशत बढेर १ अर्ब १ करोड रुपैयाँ र हिमालयन बैंकको २८.४२ प्रतिशत बढेर ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका हुन् । यस्तै, सनराइज बैंकको १२.२८ प्रतिशत घटेर ६५ करोड ३९ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३२.११ प्रतिशत घटेर ८४ करोड १३ लाख रुपैयाँ, प्राइम बैंकको १.८५ प्रतिशत घटेर १ अर्ब ६५ करोड रुपैयाँ, प्रभु बैंकको ४.९१ प्रतिशत घटेर १ अर्ब १९ करोड रुपैयाँ, नेपाल बैंकको १७.३९ प्रतिशत घटेर १ अर्ब १७ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २६.३८ प्रतिशत घटेर १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

मर्जरमा रहेको सिभिल बैंक झनै चम्किँदै, नाफा र ईपीएस दुवै बढ्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६.३९ प्रतिशत बढेर ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेर २ अर्ब २५ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेर २ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २८.५० प्रतिशत बढेर ९४ करोड ९ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ । चलु आर्थिक वर्षको ६ महिनामा बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष २४.१५ प्रतिशत बढेर ३ अर्ब २६ करोड रुपैयाँ, निक्षेप ०.२३ प्रतिशत बढेर ९४ अर्ब ७१ करोड रुपैयाँ र कर्जा १.२७ प्रतिशत बढेर ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ । पुस मसान्तसम्ममा बैंकको खराब कर्जा १.४७ प्रतिशत बढेर २.४१ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ९.४९ प्रतिशत, आधार दर ११.७३ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत र सीडी रेसियो ८७.०५ प्रतिशत रहेको छ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको छ । दुवै बैंकको पुस २८ गतेको वार्षिक साधारणसभा मर्जर प्रस्ताव पारित गरिसकेको छ । हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०।२८ कित्ता सेयर हुनेछ ।

बिग मर्जर : विवाहसँगै बिमार बोक्दै बैंकहरु

काठमाडौं । अहिले बैंकहरुबीच मर्जरको लहर छ । ३२ वटामा रहेका वाणिज्य बैंक घटेर २२ वटामा झरिसकेका छन् भने अझै दुइटा बैंक घटेर २० वटामा झर्ने निश्चित छ । हिमालयन–सिभिल बैंक र लक्ष्मी–सनराइज बैंकले मर्जर सम्झौता गरेर एकीकृत कारोबारको तयारी गरिरहेका छन् । ती चार बैंकबीच मर्ज भइसकेपछि वाणिज्य बैंकहरुको कुल संख्या २० वटा कायम हुनेछ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजानुको मुख्य कारण भनेको पुँजी बढाएर संस्थालाई बलियो बनाउने, लागत घटाउने र बैंकिङ बजारको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्नु नै हो । सुरुमा यस विषयमा ‘कन्भिन्स’ नभएका र मर्जरमा जान खासै चासो नदेखाएका बैंकहरु यस पटक भने हतार–हतारमा एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा सामले भए । यसअघि मर्जरको विषय बैंकहरुका लागि टाउको दुखाइको विषय बन्थ्यो । महिनौंसम्म मर्जरकै प्रक्रियामा रहेर अन्तितमा मर्जर भाडिएको विषय पनि ताजै छन् । तर, यस पटक भने मर्जर सम्झौता गरेको दुई/तीन महिनामै बैंकहरु एकीकृत कारोबार गर्न सफल भए । सेयर स्वाप रेसियोमा खासै ध्यान दिइएन । सञ्चालक समितिमा को–को बस्ने र कस्तो व्यक्ति बस्ने भन्दा पनि एउटा बैंकबाट कति संचालक बस्ने भनेर संख्या तोक्ने काम भयो । यसको दीर्घकालिन प्रभावको विषयमा भने न राष्ट्र बैंकले चासो देखायो नत बैंकहरु नै सजग भए । हतार–हतारमा काम गर्न खोज्दा बैंकहरु गाभ्ने र गाभिने मात्रै भएनन्, ती बैंकहरुमा भएका विवादहरु पनि गाभिए । केही सूचकमा ठूलो भएपनि गाभिने बैंकले कस्तो बैंकसँग गाभिदै छु भन्ने सोचनन् । क्रस होल्डिङ भए मात्रै पुग्ने किसिमले बैंकहरुबीच मर्जर भयो । बैंकको छवि कस्तो हो ? त्यो बैंकमा भएका सञ्चालकको चरित्र कस्तो हो ? बैंकमा काम गर्ने कर्मचारीको उत्पादकत्व र क्षमता के कस्तो छ ? लगायतका विषयले खासै प्राथमिकता पाएन । बस्, मर्जरलाई एउटा प्रक्रियाका रुपमा लिइयो । राष्ट्र बैंकको मर्जरको डण्डामा बैंकहरु निरिह भएर अनुशाशित भएको भान देखाए । धेरैले बैंक मर्जरलाई विवाहका रुपमा लिए । बैंक–बैंकबीचको इनर्जीलाई सिनर्जीका रुपका परिभाषित गरे । जसरी विवाहसँगै दुलाहा या दुलहीमा कुनै रोग देखिन्छ नी, त्यो रोग दुवैको लागि असह्य हुन्छ । जब निको नहुने रोग लाग्छ, जीवनभर पछुताउनु बाहेकको विकल्प त्यो जोडीसँग रहन्न । सक्नेले सम्बन्ध विच्छेद गर्छन् । हो, अहिलेको बैंकहरुबीचको विवाह पनि त्यस्तै किसिमको परिस्थिति सिर्जना नहोला भन्न सकिन्न । बैंकहरुबीच विवाहसँगै बिमार पनि ‘ट्रान्सफर’ भएको छ । हिजो एउटा सानो वाणिज्य बैंकमा भएको बिमार अब ठूलो बैंकमा पनि प्रवेश गरेको छ । केही उदाहरणहरु हेरौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्यो । नेपाल बैंक गाभिनुभन्दा अगाडि तत्कालीन नेपाल बंगलादेश बैंकमा कर्जा अनियमिततादेखि सञ्चालकको व्यवस्थापनमाथि बाराम्बार हस्तक्षेप भएका विषय सार्वजनिक रुपमै आउँथे । नबिल बैंकसँग गाभिनै लाग्दा पनि एनबी बैंकका सञ्चालक लक्ष्मी बहादुर श्रेष्ठ मर्जर प्रक्रिया भाड्न भन्दै अदालत पुगे । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड समेत आईएफआईसी बैंकसहितलाई विपक्षी बनाएर सर्वोच्च अदालत पुगे । पछि अदालतले कारण देखाउ आदेश जारी गर्यो । यस्तै, एनबी समूहकै लगानी रहेको एनसीसी बैंक कुमारी बैंकसँग मर्जरमा गयो । यो विषयले पनि अदालतमा प्रवेश गर्यो । लक्ष्मी बहादुर श्रेष्ठले नै कुमारी बैंकमा मर्ज भएपछि सञ्चालक समितिमा आफ्नो छोरालाई राख्न माग गरे भने एनसीसी बैंकको नाममा रहेको हरिसिद्धिको १२५ रोपनी जग्गा आफूलाई फिर्ता गरिदिन माग गरे । पछि उनले सो मुद्दा फिर्ता लिए । बैंक कुमारीसँग मर्ज भयो । त्यति मात्रै होइन, एनसीसी बैंकमा सञ्चालकको मिलोमतोमै धेरै कर्जा प्रवाह भएको र त्यो कर्जा असुल हुन नसकेको विषय अहिले पनि छ । एनसीसी बैंकले डिएन एस इन्भेष्टमेन्टलाई दिएको कर्जाको विषय पनि सर्वोच्चमै विचाराधीन अवस्थामा छ । अब एनसीसी कुमारीसँग मर्ज भइसकेपछि एनसीसीको यो सबै झमेला कुमारी बैंकले झेल्नु पर्ने हुन्छ । यद्यपि, कुमारी बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिृकत रामचन्द्र खनाल एनसीसी बैंकले डीएनएस इन्भेटमेन्टलाई दिएको ७ करोड कर्जा असुल गरिसकेको र मुद्दा भने खेप्नु पर्ने बाध्यता रहेको धारणा राख्छन् । प्रभु बैंकले पनि सेञ्चुरीलाई गाभ्यो । सेञ्चुरीमा पनि त्यस्तै विवाद छ । तत्कालीन सेञ्चुरी बैंकले मौरिससको एक रेमिट कम्पनीबाट पाउनुपर्ने ६ लाख अमेरिकी डलर (करिब ७ करोड रुपैयाँ) प्राप्त गर्न नसकेपछि बैंकका सञ्चालकहरू नै विवादमा तानिए । यो विषय अझै टुङ्गिन बाँकी छ । अब यस विषयलाई सल्ट्याउनु पर्ने दायित्व प्रभु बैंकको काँधमा आइपुगेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके)बीच पनि मर्ज भयो । ग्लोबलको कमलादीमा निर्माण हुन लागेको भवनको विषयमा पनि एकताका ठूलै विवाद भयो । बैंक अफ काठमाण्डूको रकम मेलम्ची खानेपानीमा पनि डुब्यो । बिओकेले मेलम्चीको मुद्दा जितिसकेको छ । तर, पनि यी र यस्तै अनेकन विषय किनारा लगाउनका लागि ग्लोबल आइएमई बैंकले भिड्नु पर्नेछ । यस्तै, हिमालयन बैंक पनि सिभिल बैंकलाई गाभ्ने प्रक्रियामा छ । सिभिल बैंकमा पनि त्यस्तै विवाद छ । सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङले बैंकबाट सिभिल सहकारीमा पैसा लगानी गरेको विषय पनि बाहिरिएको छ । उनी अहिले सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा थुनामामा छन् । सिभिल सहकारीले सिभिल बैंकको पैसा प्रयोग गरेकै हो भने अब त्यसको असुलीमा हिमालयन बैंक लाग्नु पर्ने देखिन्छ । हुनत मर्जर प्रक्रियामा सामेल भएर एकीकृत कारोबार गरिसकेका यी बैंकहरुले विभिन्न सूचकहरु देखाएर नम्बर वानको ढोल बजाइरहेका छन् । प्रत्येक बैंकको एकीकृत कारोबार कार्यक्रमा ‘हामी नम्बर वान बन्छौं’ नभनेको कुनै बैंक छैन । तर, बैंकभित्र लामो समयदेखि रहेका विवाद सुल्झ्याउन र समाधानको बाटो खोज्ने विषयमा भने न कुनै सञ्चालकको आवाज सुनिन्छ नत बैंकका सीईओहरुको नै । नेपाल राष्ट्र बैंक पनि यस विषयमा रमिते बनेको छ । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल यो गम्भीर विषय भएको धारणा राख्छन् । ‘यस विषयमा राष्ट्र बैंकले धेरै सोच्नु पर्ने आवश्यकता छैन, बैंकहरुबीच मर्ज हुनु भनेको एक हुनु हो, हिजो एउटा बैंकमा भएको विवाद या कुनै मुद्दा मामिला नयाँ बन्ने बैंकले व्यहोर्छ, सबै सम्पत्ति गाभिसकेपछि ती विवाद तथा अल्झनहरु पनि स्वतः अवलम्बन गरेर अपनत्व महसुस गरेर काम गर्नु पर्छ,’ पोखरेलले विकासन्युजसँग भने । बैंक मर्ज भएपछि अघिल्लो बैंकमा भएका विवादहरु झन बल्झियो भने मर्ज भइसकेको बैंकले त्यो विवाद सल्ट्याउन नचाहेर त्यसबाट पछि हट्यो भने बैंकहरुबीच ‘डिमर्ज’ हुने सम्भावना कतिको हुन्छ भन्ने विकासन्युजको प्रश्नमा पोखरेलले जवाफ दिए, ‘अहिलेसम्म त्यस्तो घटना भएको छैन, त्यसको परिकल्पना गर्नु पनि हुँदैन, नभएको घटनालाई यस्तो हुन्छ भनेर भन्न सकिँदैन ।’ बैंक सञ्चालक के भन्छन् ? बैंक मर्ज भइसकेपछि सबै विषयहरुको मर्ज हुने बैंकका सञ्चालकहरु बताउँछन् । उनीहरुका अनुसार विभिन्न वित्तीय सूचक मात्रै नभई बैंकका सबै (असल र खराब) चिजहरु पनि आफ्नै ठानेर गाभ्ने वा गाभिन्छन् । प्रभु बैंकका अध्यक्ष लिलाप्रकाश सिटौला बैंकले असुल गर्नु पर्ने ऋण, भएको नाफा लगायत सबै सम्पत्ति र दायित्वमा आइसकेको हुनाले यस विषयमा पछि कुनै थप विवाद नहुने धारणा राख्छन् । ‘सबै विषयहरु सम्पत्ति तथा दायित्वमा आइसकेको हुन्छ, केही विवाद भएपनि मिलेर समाधान गर्ने हो, नयाँ बनेको बैंकले आफ्नै विवाद हो भनेर लाग्नु पर्छ, मर्ज नै भइसकेपछि सबै कुराहरु मर्ज हुन्छन, बैंकमा मेरो या तेरो भन्ने हुन्न,’ उनले भने । उनका अनुसार बैंक नै एउटा भइसकेको अवस्थामा कुनै सेयरधनीलाई मन नपरेको खण्डमा बैंकबाट बाहिरिन सक्छन् तर बैंकनै डिमर्ज भएर पहिलेकै अवस्थामा फर्किने अवस्था भने नहुने धारणा राख्छन् । यस्तै, तत्कालीन एनसीसी बैंकका अध्यक्ष तथा कुमारी बैंकका सञ्चालक उपेन्द्र केशरी न्यौपाने बैंक तथा वित्तीय संस्था मर्जरले सबै हक अधिकार ग्रहण गर्ने भएकोले विवाद आयो भनेर चुप लागेर बस्न नहुने बताउँछन् । ‘मर्जरपछि हुने नाफा/नोक्सान सबै ग्रहण गर्नु पर्ने हुन्छ, व्यक्तिगत मुद्दा तथा विवाद भएको खण्डमा व्यक्तिले नै लड्छ तर संस्थागत भयो भने नयाँ संस्थाले नै लड्छ, ती सबै प्रक्रिया नयाँ बैंकले नै गर्छ, यसमा कुनै समस्या हुँदैन,’ वरिष्ठ अधिवक्ता समेत रहेका न्यौपानेले भने ।

मर्जर पश्चात् यी ५ बैंकको प्रतिस्पर्धी परिवर्तन, को बन्ला नम्बर वान ?

काठमाडौं । मर्जर भएका बैंकहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६  वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका छन् । वाणिज्य बैंकहरुमा पछाडि रहेका बैंकहरु मर्ज हुँदै टप फाइभ भित्र पुगेका छन् । मर्जरपश्चात् ठूला बनेका यी बैंकहरुले आगामी दिनमा कस्तो व्यवसाय गर्लान् त्यो भने हेर्न बाँकी नै छ । तर मर्जर पश्चात् भने अबका मुख्य प्रतिस्पर्धी बैंकका रूपमा उनीहरू उदाएका छन् । साथै, हिमालयन बैंक र सिभिल बैंक र लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेका छन् । यी बैंक मर्जर पश्चात् भने प्रतिस्पर्धा झनै रोचक बन्ने छ । नबिल बैंक नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गत असारमा गाभेर  सबैभन्दा ठूलो बैंकको रूपमा उदाएको थियो । त्यसपछि भएका मर्जहरूले नबिल बैंकको पहिलो स्थान खोसिने सम्भवाना रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको कूल निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बैंकको २४० वटा शाखा कार्यालय र २७५ वटा एटिएम रहेका छन् । कुमारी बैंक  कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक पुस १७ गतेदेखि एकीकृत भएर कुमारी बैंकको नामबाट कारोबार भएको हो । यी दुई मर्जर हुनुअघि अधिकांश सूचकमा पछाडि थिए । तर, मर्जर पश्चात् भने टप फाइभ भित्र परेका छन् । कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ र जगेडा कोष १० अर्ब भन्दा बढी रहेको छ । यस्तै, कुमारी बैंकको कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कुमारी बैंकको शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । साथै कर्मचारीको संख्या ३ हजार २६७ जना रहेका छन् । ग्लोबल आइमएई बैंक  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भएको हो । मर्जरअघि पनि केही सूचकहरूमा नम्बर वान रहेको ग्लोबल आइएमई बैंक मर्जर पश्चात् भने धेरै सूचकमा पहिलो बैंक बनेको छ । ग्लोबल आइएमई बैंकको कूल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ र कूल पूँजी ५७ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ र जगेडा कोष २२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकको कूल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कूल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको ३६५ शाखा कार्यालय, ३६७ एटिएम मेसिन, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालय रहेका छन् । बैंकमा ४ हजार ४ सय जना कर्मचारी कार्यरत छन् भने ४० लाखभन्दा बढी ग्राहकलाई सेवा बैंकले दिइरहेको छ । प्रभु बैंक  प्रभु बैंक र सेञ्चुरी बैंकको पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू भएर प्रभु बैंकको नामबाट कारोबार भएको हो । केही सूचकमा अघि रहेको प्रभु बैंकले पुच्छारमा रहेको सेञ्चुरी बैंकलाई प्राप्ति गरेपश्चात् टप फाइभ भित्र पुगेको छ । प्रभु बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र कूल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष ८ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ र कूल कर्जा २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुगेको छ । प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५५५ जना कर्मचारीले ३० लाख ग्राहकलाई सेवा दिइरहेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पुस २७ गते मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरिरहेको छ । मर्जर पश्चात् यस बैंकको प्रतिस्पर्धी नै परिवर्तन भएको छ । बैंकले जहिल्यै पनि टप थ्री भित्र रहने लक्ष्य लिएको छ । केही सूचकमा नम्बर वान र अधिकांश सूचकमा दोस्रो र तेस्रो रहेको यस बैंकले आगामी दिनमा झनै बलियो बन्ने देखिन्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ । बैंकको कूल कर्जा ३२९ अर्ब रुपैयाँ र निक्षेप ३०७ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा कार्यालय २९६, एटिएम मेशिन २७९ र एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । बैंकका ३ हजार ३१५ जना कर्मचारीले नेपालको जनसंख्याको १० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको बैंकले जनाएको छ ।

प्रिमियर इन्स्योरेन्सको मर्जर प्रस्तावसँगै १५ प्रतिशत लाभांश पनि पारित

काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २९ औं वार्षिक साधारण सभाले संचालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित गरेको हो । संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल काय चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले २०७८/७९ मा कुल बीमा शुल्क दुई अर्ब ११ करोड ७२ लाख २९ हजर आर्जन गरी खुद मुनाफा ३६ करोड ४८ लाख ९६ हजार आर्जन गरेको छ । यस्तै, सभाले सिद्धार्थ इन्स्योरेन्ससँग १:१ अनुपातमा मर्ज भई नयाँ कम्पनी सिद्धार्थ प्रिमियर इन्सर्योरेन्स बन्ने प्रस्ताव पनि पारित गरेको छ ।

वाणिज्य बैंकमा ‘बिग मर्जर’ बहार, आठ बैंक गाभिए

काठमाडाैं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने पर्ने व्यवस्था गरे । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्इ बैंक मर्जरको चरणमा छन् । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड एकापसमा गाभिनका लागि बुधबार आयोजित कार्यक्रममा अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्त गरेकाे धारणाले पनि सरकारको नीति कार्यान्वयनमा वाणिज्य बैंकहरू लागिपरेको स्पष्ट बुझ्न सकिन्छ । उनले बैंक तथा वित्तीय संस्था सबल बन्दा वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई समेत मर्जरका लागि प्रेरित गरेको बताएका थिए । दुई बैंकबीच सेयर स्वाप अनुपात १००ः९० छ । एकापसमा गाभिएपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंककै अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् । नयाँ सञ्चालक समितिमा दुवै बैंकको सञ्चालकको प्रतिनिधित्व रहने गरी इन्भेष्टमेन्टको तर्फबाट प्रजन्य राजभण्डारी, कविकुमार टिबडेवाला र मेगाको तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् । साविक इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रूपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् । मर्जरपश्चात् बैंकको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल पुँजी ५८ अर्बभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रहेको छ । त्यसैगरी कुल निक्षेप ३६० दशमलव दुई अर्ब तथा कर्जा लगानी ३२९ दशमलव ०६ अर्ब पुगेको छ । कुल ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा देशकै ठूला वाणिज्य बैंकमध्येको अग्रणी बैंक बनेको छ । अध्यक्ष पाँडेका अनुसार बैंकले कुल जनसङ्ख्याको १० प्रतिशत नागरिकलाई सेवा प्रदान गर्दै आएको छ । पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । आठ वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबारसमेत सुरु गरिसकेका छन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भएका हुन् । एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी २६ अर्ब २३ करोड, कुल निक्षेप तीन खर्ब २ अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुगेको छ । मर्जरपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । अमिरप्रताप राणाको अध्यक्षतामा चन्द्र बाँस्तोला, इमानसिङ लामा, कृष्णप्रसाद ज्ञवाली र महेश पोखरेल सञ्चालक समिति सदस्य रहेका छन् । नेपालमा ‘बिग मर्जर’मा बहार ल्याउने बैंकका रूपमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । बैंकले पछिल्लोपटक बैंक अफ काठमाण्डूलाई गाभेको छ । यही पुस २५ देखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा कृष्णप्रसाद शर्मा, देवेन्द्रप्रताप शाह, क्याविनेट श्रेष्ठ, रामबहादुर भण्डारी, राधेश पन्त र मदनलाल जोशी सञ्चालक समिति सदस्य बनेका छन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड पुगेको छ । यस आधारमा पनि यो बैंक सबैभन्दा ठूलो भएको छ । एकीकृत कारोबारपछि बैंकको कुल पुँजीकोष ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कुल सम्पत्ति पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकका अध्यक्ष ढकाल बैंक तथा वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने उद्देश्य हालसम्म विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति गरेर ग्लोबल आइएमई देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको बताउँछन् । उनले भने, ‘हालसम्म पाँच वाणिज्य, १० वटा विकास बैंक र छवटा फाइनान्स गरेर २१ संस्था गाभिएर यो संस्था बनेको हो । ग्लोबल बैंक अहिले पुँजी, निक्षेप, कर्जा र शाखा सञ्जालमा अधिकांश वित्तीय सूचकमा नेपालको पहिलो बैंक भएको छ ।’ त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर यही पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच एक बराबर एक सेयर रहने गरी एकापसमा गाभिएका हुन् । मर्जरपश्चात् बैंकको चुक्ता पुँजी २३ अर्ब ५२ करोड पुगेको छ । एकीकृत कारोबारपछि प्रभु बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब, चुक्ता पुँजी २२ अर्ब, कुल निक्षेप दुई खर्ब ८४ अर्ब र कुल कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब पुगेको छ । त्यस्तै ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी, शाखा सञ्जाल तीन सय ६५, एटिएम सञ्जाल तीन सय नौ र एक्सटेन्सन काउन्टर ७२ वटा पुगेको बैंकले जनाएको छ । एकीकृत कारोबार सुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ । प्रभु बैंकबाट चार जना र सेञ्चुरी बैंकबाट तीन जना गरी कुल सात सदस्यीय सञ्चालक समिति बनेको छ । प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा रमेशसिंह खड्का, शङ्करप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, मनबहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक समिति सदस्य रहेका छन् । यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई-दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ । दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मइ बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड छ । रासस

दोस्रो चरणको मर्जरपछि बैंक ६ वटामा झर्छन् : बैंकर पाँडेको विचार

अहिले बैंक तथा वित्तीय संस्थामा मर्जरको लहर छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्याएपछि अहिले बैंकहरु धमाधम मर्ज भइरहेका छन् । तत्कालिन गभर्नर चिरञ्जीवी नेपाललाई मर्जरको नीतिबारे मैले पनि केही सल्लाह दिएको थिएँ । सोही नीति अनुसार अहिले बैंकहरु मर्ज भएर १९ वटा कामय भएका छन् । जुन पहिलो चरणको मात्रै मर्जर हो । दोस्रो चरणको मर्जर प्रक्रिया सुरु हुन बाँकी नै छ । अब दोस्रो चरणको मर्जर आवश्यक छ । नेपाल राष्ट्र बैंकले दोस्रो चरणको मर्जर प्रक्रिया सुरु गरेर वाणिज्य बैंकहरुको संख्या ६÷७ वटामा झार्न आवश्यक छ । आज पृथ्वी जयन्तीको दिनमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । मर्जर पश्चात् नयाँ सञ्चालक समिति पनि गठन भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक नाम हुनुअघि इन्डोस्वेज बैंक थियो । सन् १९८६ मा फ्रेन्च ज्वाइन्ट भेञ्चरमा १५ प्रतिशत लगानीमा इन्डोस्वेज बैंक स्थापना भएको थियो । इन्डोस्वेज बैंकका अध्यक्ष सन् १९८३ मा चीन हुँदै नेपाल भ्रमणमा आउनु भएको थियो । उहाँले एक दिन पनि नेपालमा बिताउनु भएन । तर, त्यो थोरै समयमा एउटा बैंक नेपालमा खोल्ने निर्णय गर्नु भयो । सन् १९८६ फेव्रुअरी २६ मा इन्डोस्वेज बैंकले नेपालमा वित्तीय कारोबार सुरु गर्याे । सन् २००२ सम्म इन्डोस्वेज बैंक त्यति धेरै ठूलो पनि थिएन र आक्रामक व्यापार पनि गरेको थिएन । सन् २००२ मा इन्डोस्वेज बैंकको केन्द्रिय कार्यालयमा छलफल भयो । एशियन देशहरु बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, क्यम्बोडिया लगायत नेपाल देशबाट आफ्नो बैंक फिर्ता गर्ने निर्णय गर्याे । कारण थियो वित्तीय विवरणमा जति नाफा कमायो त्यति नै प्रोभिजन राख्नुपर्ने पर्ने व्यवस्था गर्याे । त्यसपछि मलाई खरिद गर्न प्रस्ताव आयो । मैले पनि प्राइभेट इक्वीटी ग्रुप लिएर ५० प्रतिशत सेयर खरिद गरेँ । त्यो बेलामा नेपालइ न्डोस्वेज बैंकलाई छोटकरीमा एनआईबिएल भनिन्थ्यो । त्यो नाम हामीलाई दिनुस् भन्दा दिइएन । । तर, एनआईबिएललाई निरन्तरता दिन नेपाल इन्भेष्टमेन्ट बैंक नाम राखेका थियौं । नेपाल इन्भेष्टमेन्ट बैंक भएपछि ३ वटा संस्थालाई प्राप्ति गर्यौं । यो बिचमा एस डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स र सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्यौं । मेगा बैंकको स्थापना सन् २०१० सालमा स्थापना भएको हो । मेगा बैंकले १२ वर्षमा ठूलो ग्रोथ गरेको छ । एनआईबिएल बैंकले स–साना संस्था मात्रै गाभ्यो भने मेगा बैंकले समान हैसियतका संस्थालाई पनि प्राप्ति गर्याे । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकलाई पनि मेगाले प्राप्ति गर्यो । हालसम्म नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले प्राप्ति मात्रै गरेको छ । यो एनआईबिएल बैंक र मेगा बैंकबीच पहिलो मर्ज हो । प्राप्ति गर्दा संस्था सञ्चालन गर्न सजिलो हुन्छ तर मर्ज गर्दा सजिलो हुँदैन । जुन चुनौति सञ्चालक समितिमा पर्छ । अब ठूल्ठूला बैंक मर्ज हुँदा धेरै सिनर्जी आउँछ । नेपालमा नेपालीबाटै लगानी गरेर सुरु गरेको पहिलो बैंक हिमालयन हो । त्यो बेला राष्ट्र बैंकले तपाइले बैंक सञ्चालन गर्नुभयो भने हामी डुब्छौं भन्थे । हामीले बैंक सञ्चालन गरेपछि बैंक, बीमा कम्पनी, होटलहरुको वृद्धि भयो । राष्ट्र बैंकले जथाभावी लाइसेन्स वितरण गर्याे । अस्वस्थ प्रतिस्पर्धा बढ्यो । नेपालको ३६ बिलियन डलरको जिडीपी छ । प्रतिबैंक जिडीपी १.१७३ मिलियन डलर मात्रै छ । भारतको जिडीपी २० हजार ५३४ बिलियन डलर छ । ३३ वटा बैंकको प्रतिबैंक जीडीपी १००.७ बिलियन डलर छ । बङ्गलादेशमा ५२ बैंक छन् । नेपालको जस्तै संख्या धेरै छन् । तर, बंगलादेशमा नेपालको भन्दा प्रतिबैंक ७ गुणा बढी जीडीपी छ । बङ्गलादेशमा प्रतिबैंक जिडीपी ८ बिलियन डलर छ । थाइल्याण्डमा प्रति बैंक जिडीपी १४ बिलियन डलर, पाकिस्तानमा २१ वटा बैंकमध्ये प्रति बैंक जीडीपी १६ बिलियन डलर, श्रीलङ्कामा २४ वटा बैंकहरुमध्ये प्रतिबैंक जीडीपी ३.४१ बिलियन डलर छ । मलेसिशयामा केन्द्रिय बैंकले फोर्सफुल्ली मर्ज गरेको थियो । केन्द्रिय बैंकले ६/७ बैंक भए पुग्छ भनेपछि ८ वटा बैंकमा झारेको थियो । यी सबै देशसँग नेपालका बैंकहरुको तुलना गर्ने हो भने धेरै तल छ । अब केन्द्रिय बैंकलाई मर्जरका लागि बैंकहरु आफैले सहयोग गर्नुपर्छ । सुदृढ अर्थतन्त्र, ग्राहकको सेवामा गुणस्तरीयता, लगानीकर्ताको प्रतिफल वृद्धि गर्न सबैले सहयोग गर्नुपर्छ । मर्ज भएर ठूलो पूँजी भयो भने चुनौतिलाई कम गर्न सकिन्छ । लगानी गर्ने क्षमतामा वृद्धि हुन्छ । बैंक ठूलो भयो निक्षेपकर्ताको रकम झनै सुरक्षित हुन्छ । लगानीका लागि नयाँ ढोका खुल्ला हुन्छन् । स्वस्थ प्रतिस्पर्धा हुन्छ । नयाँ–नयाँ श्रृजनात्मक काम गर्न सकिन्छ । नयाँ टेक्नोलोजीमा जान सकिन्छ । राष्ट्रिय स्तरको आयोजनामा लगानी गर्न सकिन्छ । ठूला आयोजना बनाउनु पर्याे भने लगानीको सुनिश्चितता हुन्छ । अहिले कुनै आयोजना बनाउनु पर्याे भने लगानी नै जुटाउन गाह्रो छ । मेरो आफ्नै कम्पनीले एउटा अयोजना बनाइरहेका छौं । तर, मलाई पैसा जुटाउन ७ वर्ष लाग्यो । अब कुनै आयोजना निर्माण गर्नुपर्याे लगानीको स्रोत सुनिश्चित भएको छ । फिनटेक कम्पनी पनि बढ्दै छन् । बैंकहरुको सञ्चालन खर्च कटौति हुन्छ । बैंकहरुले एउटा मोबाइलबाट सबै सेवा दिन सक्नुपर्छ । ठूलो बैंक भएपछि टेक्नोलोजीमा खर्च कम हुन्छ । फेरी टेक्नालोजी तिव्र रुपमा परिवर्तन भइरहेको छ । अहिले केही सिस्टम ल्यायौं भने ६ महिनामा अर्काे आइदिन्छ । टेक्नोलोजीमा पनि नयाँ नयाँ फेज आइरहेको छ । अब शाखा कार्यालय खोलेर मात्रै एक्सपान्स हुँदैन । अब सबै शाखा कार्यालय भनेको मोबाइल बैंक हो । पछिल्लो समय बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ । बैंकहरुको नाफा घट्दै गएको छ । कुनै समय बैंक धेरै राम्रो नाफा कमाउँथे । बैंकहको प्रतिफल ऐभरेजमा २०/२५ प्रतिशत थियो । अब त्यो घट्दा घट्दै १० प्रतिशत भन्दा तल झरेको छ । बैंकहरुको नाफा र सेयर मूल्य पनि घटेको छ । व्यापारीहरुले जहिले पनि बैंकहरुले नाफा कमायो भन्छन् । बैंकहरुले विजनेशम्यानहरु पारदर्शी छैनन् भन्छन् । लगानी गरेपछि नाफा कमाउने हो । बजारमा चुक्ता पूँजीमा नाफा कमाएको भन्ने सन्देश गएको छ । चुक्ता पूँजीमा नाफा कमाएको होइन । बैंकहरुको कोर क्यापिटल कति प्रतिफल आयो भनेर हेर्नु पर्छ । बैंकहरुको नाफा लगानीको आधारमा हुन्छ । कुनै बैंकले ३/४ अर्ब कमाउँछन् । ५८ अर्ब सम्पत्ति हुँदा बैंकले ४/५ अर्ब नाफा पनि कमाउन नपाइने हो ? फेरि बैंकहरुमा जोखिम पनि धेरै हुन्छ । बजारमा बैंकहरुले नाफा कमायो भनेर विरोध हुन आवश्यक छैन । विदेशमा ८/१० प्रतिशत नाफा कमायो भने गजब राम्रो गरेको भन्छन् । किनभने मूल्य वृद्धिदर २/३ प्रतिशत मात्रै हुन्छ । नेपालमा १० प्रतिशत बढी मूल्य वृद्धि छ । केही बैंकहरुले धेरै लाभांश दिए । ती बैंकको विगत हेर्ने हो भने खासै राम्रो छैन । ती बैंकहरुले एसेट वा सम्पत्ति र सेयर बिक्री गरेर पैसा कमाइरहेका छन् । २/३ वटा बैंकको वित्तीय रिपोर्ट राम्रो भएपनि समग्रमा१०/११ प्रतिशत नाफा आउँछ । यो दीर्घकालका लागि धेरै ठूलो मुद्धा हो । मर्जर पश्चात् मर्चेन्ट बैंकको सेवा पनि उच्च हुनेछ । एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटल मर्ज भएर नम्वर वान बन्नेछ । जुन क्यापिटल मार्केट लागि महत्वपूर्ण हो । मर्जर पश्चात् नम्वर वान मर्जर पश्चात् नम्वर वान बन्ने लक्ष्य हो । हामीले नम्बर वान बन्ने लक्ष्य लिएपनि जहिले पनि टप थ्रीमा हुनेछौं । दुई बैंक मर्जर भएर बलियो बनाउने मात्रै होइन ग्राहकको सेवा, नियामक निकायका नीति निर्देशन भित्र रहेर काम गर्ने रसेयरधनीलाई उच्च प्रतिफल दिएर नम्वर वान बन्ने हो । नेपाली बैंकहरु पारदर्शी भएर गुणस्तरीय सेवा दिन सक्ने बनाउने हो । कर्मचारीलाई व्यवस्थापन गर्न सकिएन भनेसेवा गुणस्तर दिन सकिँदैन । कर्मचारीलाई सक्षम,लगनशील, इथिकल स्ट्याण्डर्ड, प्रोफेसनशल र कर्पाेरेट गभर्ननेन्स बनाउनु पर्छ । मर्जर पश्चात् सेयरधनीहरुलाई प्रतिफल उच्च दिने हो । २०/२५ प्रतिशत भन्दा बढी लाभांश दिनुपर्छ भन्ने छैन । तर, १५ प्रतिशत भन्दा कम हुनु हुँदैन । नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर पश्चात् १५ प्रतिशत भन्दा बढी प्रतिफल दिनेछ । मेगा बैंकले साना तथा लघु कर्जा (एसएमईएस) कर्जामा जोड दिएको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकले कर्पाेरेट सेक्टरलाई जोड दिएको थियो । अब दुइवटै क्षेत्रमा सिनर्जी ल्याउने गरी कर्जा प्रवाह गरिनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल पूँजी ५८ अर्ब पुग्नेछ । जुन बैंकिङ्ग क्षेत्रमा पहिलो नम्बरमा हुनेछ । मर्जर पश्चात् चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ रजगेडा कोष २४ अर्ब रुपैयाँ पुग्नेछ । सेयर होल्डरको फण्ड ३९९ अर्ब रुपैयाँ, कूल कर्जा ३२९ अर्ब रुपैयाँ, निक्षेप ३०७ अर्ब रुपैयाँ, कूल सम्पत्ति ४७१ अर्ब रुपैयाँ जुन बैंकिङ्ग क्षेत्रमा दोस्रो स्थानमा हुनेछ । तर, खुद नाफा आर्जनमा भने तेस्रो स्थानमा पुग्नेछ । शाखा कार्यालय २९६ पुग्नेछ । उपत्यकामा ८८ शाखा र उपत्यका बाहिर २०८ शाखा कार्यालय हुनेछन् । एटिएम मेशिन २७९ पुग्नेछन् । कर्मचारी संख्या ३ हजार ३१५ जना, एक्सटेन्सन काउन्टर ५९ वटा पुग्नेछन् । जुन बैंकिङ्ग क्षेत्रमा तेस्रो नम्बरमा हुनेछ । बैंकमा नेपालको जनसंख्याको १० प्रतिशत ग्राहक रहेका छन् । ( बैंकर पाँडे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष हुन् । )

युनाइटेड र अजोड इन्स्योरेन्सले गर्यो मर्जर सम्झौता

काठमाडौं ।  युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्सबीच मर्जर गर्ने सम्झौता भएको छ । दुई कम्पनीबीच मंगलबार मर्जर हुने सम्झौता भएको हो । उक्त सहमति पत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त र अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् । दुवै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।

हिमालयन र सिभिल बैंकबीच आज अन्तिम मर्जर सम्झौता, माघ १८ गते एकीकृत कारोबार

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच आज मर्जरको अन्तिम सम्झौता हुने भएको छ । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका हुन् । अन्तिम सम्झौताका लागि दुवै बैंकको सञ्चालक समितिले स्वीकृति समेत प्रदान गरिसकेको सिभिल बैंकका सञ्चालक अम्बिर बोगटीले विकासन्युलाई जानकारी दिए । साथै, दुवै बैंकको एकीकृत कारोबारको मिति पनि तय भएको छ । सञ्चालक बोगटीले हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको जानकारी दिए । दुवै बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएका छन् । वार्षिक साधारणसभाले पारित गरेपश्चात् एकीकृत कारोबार लागि प्रक्रिया अघि बढाइनेछ । ‘दुवै बैंकको पुस २८ गते वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गर्छन्, वार्षिक साधारणसभाले पारित गरेको ३ साता भित्र अर्थात् माघ १८ गते एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छौं,’ उनले भने । किन ढिलाई भइरहेको छ हिमालयन-सिभिल बैंकको मर्जर ? हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक समितिको अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठलाई बनाउने सहमति भएको छ । साथै फैशल एन लाल्टिन, सुनिल बहादुर थापा, जितेन्द्र धिताल, आशिष शर्मा, विजय बहादुर श्रेष्ठ र राधाकृष्ण पोटे सञ्चालक बन्नेछन् । साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सिभिल बैंकका सीईओ सुनिल पोख्रेल मर्जरपश्चात् बैंकको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०.२८ कित्ता सेयर हुनेछ ।

सबैभन्दा कान्छो सेन्चुरी बैंक प्रभुसँगको मर्जरपछि टप फाइभमा पुग्याे : अध्यक्ष श्रेष्ठ

काठमाडौं । सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले सबैभन्दा कान्छो बैंकको रुपमा स्थापना भएकाे सेन्चुरी बैंक प्रभुसँगको मर्जरपछि टप फाइभमा पुगेको बताए । मंगलबार प्रभु र सेन्चुरी बैंकबीचको एकिकृत कारोबार सुरुवात गर्न गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले १२ वर्ष इतिहास बोकेको सेन्चुरी बैंकले लाखौ ग्राहकलाई सेवा दिँदै आएको बताए । यस्तै, अध्यक्ष श्रेष्ठले साहस गरेर प्रभु बैंकसँग मर्जरमा जाने निर्णय गरेको बताए । ‘कुनै काम गर्दा साहस लिनु पर्छ, साहास गरेर नै प्रभु बैंकसँग मर्जरमा जाने निर्णय गरेको हो, मर्जरमा जाने निर्णय नै उत्तम क्षण हो, एकीकृत कारोबार भएपछि सफल भएका छौ,’ उनले भने । उनले मर्जरपछि प्रभु बैंक एक्लैले मेगा प्रोजेक्ट गर्न सक्ने पनि बताए । ‘दुवै बैंक मर्ज भएपछि बिकासका लागि कोशेढुंगा सावित हुनेछ, सबैका लागि सरल बैंक सेवा दिन सफल हुनेछ,’ उनले भने । अध्यक्ष श्रेष्ठले प्रभु बैंकले मर्जरपछि आफ्नो नाम उज्वल राख्न सक्नुपर्ने पनि धारणा राखे ।

नेपाल एसबिआई बैंकको १०.५३ प्रतिशत लाभांश पारित, मर्जरको लागि खोल्यो बाटो

काठमाडाैं । नेपाल एसबिआई बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे २९औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत वर्षकाे नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीमा १०.५३ प्रतिशत लाभांश (३ प्रतिशत बोनश सेयर तथा ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । साेमबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएकाे सभाले बैंकको आ.व. २०७८/७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकाे छ । सभाले बैंकका सेयरधनीहरुलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश (३ प्रतिशत बोनश सेयर र ७.५३ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग’ को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । उक्त साधारण सभाले आ.व. २०७९/८० मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स एस.ए.आर. एसोसियट्स्, चार्टर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै, उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा प्राप्ति गर्न आवश्यक सहमति र सम्झौता गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

लक्ष्मी र सनराइज बैंकबीच मर्जर सम्झौता, कहिले हुन्छ एकीकृत कारोबार ?

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले सो सम्झौतापत्रमा हस्ताक्षर गरे । यससँगै दुवै बैंकले मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठन समेत गरेकाे छ । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिटका लागि लेखापरिक्षकको नियुक्ति पनि गरिने लक्ष्मी बैंकले जानकारी दिएको छ  । नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएपछि औपचारिक रुपमा दुई बैंकको मर्जर प्रक्रिया सुरु हुनेछ । मर्जर प्रक्रिया यसै आर्थिक वर्षभित्र सम्पन्न हुने बताइएको छ । लक्ष्मी र सनराइज बैंकको स्वाप रेसियो १ः१ अनुपातमा हुने बताइएको छ । मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए । ‘स्वाप रेसियो डीडीएले तय गर्छ, राष्ट्र बैंकको मर्जर विनियमावलीमा १० प्रतिशत भनिएको छ तर ५ प्रतिशत भन्दा बढी भयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण हुनेछ, अहिले समान हैसियत भनिएको छ,’ उनले भने । मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ । ‘धेरै विषयमा कुराकानी हुन बाँकी छ,’ उनले भने, ‘५ जनाको मात्रै सञ्चालक समिति बनाउने योजना छ तर भोलिका दिनमा के हुन्छ त्यहि अनुसार अघि बढ्छौं, जति जनाको सञ्चालक भएपनि बराबर हैसियतमा सञ्चालक समिति बन्छ ।’ सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।  

१३ संस्थालाई गाभेको प्रभुले मंगलबार सेञ्चुरीसँग एकीकृत कारोबार गर्दै, यी हुन् मर्जरपछिका सञ्चालक

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो । प्रभु बैंक र सेञ्चुरी बैंकबीच स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् मर्जर पश्चात् सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १ कित्ता नै सेयर पाउनेछन् । सञ्चालक समिति र व्यवस्थापन समिति मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुंगो लागेको छ । प्रभु बैंकबाट ४ जना र सेञ्चुरी बैंकबाट ३ जना गरी कूल ७ सदस्यीय सञ्चालक समिति बन्ने भएको छ । प्रभु बैंकबाट लिला प्रकाश सिटौला, रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा सञ्चालक बन्नेछन् । प्रभु बैंकबाट ३ जना सञ्चालक बाहिरिने छन् । यस्तै, सेञ्चुरी बैंकबाट मन बहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक बन्नेछन् । सेञ्चुरी बैंकबाट अध्यक्ष रहेका राजेश कुमार श्रेष्ठ र रण बहादुर श्रेष्ठ भने बाहिरिने भएका हुन् । मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष अहिलेसम्म टुंगो नलागेको भएपनि प्रभु बैंकका अध्यक्ष रहेका लिला सिटौला बन्ने सम्भवाना रहेको छ । सञ्चालक मन बहादुर राईका अनुसार सञ्चालक समितिको टुंगो लागेपनि अध्यक्षको भने एकीकृत कारोबार पश्चात् टुंगो लाग्नेछ । मर्जर पश्चात् बन्ने बैंकको व्यवस्थापन नेतृत्वको पनि टुंगो लागिसकेको छ । मर्जर पश्चात् प्रभु बैंकका अशोक शेरचन प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सहमति भएको छ । यस्तै, सेञ्चुरी बैंकका सीईओ रहेका मनोज न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् । तल्लो तहको कर्मचारी व्यवस्थापन आन्तरिक रुपमा भइरहेको उनले बताए । सीईओ न्यौपाने सेञ्चुरी बैंक करारमा नियुक्त भएका थिए । तर, मर्जर पश्चात् उनी डेपुटी सीईओमा स्थायी हुने नियुक्त हुनेछन् । ‘सेञ्चुरी बैंकका सीईओ न्यौपानेलाई सिनियर डेपुटी सीईओमा स्थायी पदमा हालको सेवा सुविधा नघट्ने गरी व्यवस्थापन गरिएको छ, अन्य कर्मचारीलाई पनि हाल जुन पद छ सोही पदमा रहने गरी सेवासुविधा नघट्ने गरी सेञ्चुरी बैंकबाट प्रभु बैंकका कर्मचारी हुनेछन्, उहाँहरुको पदावधि सेञ्चुरीबाट नै गणना हुने सहमति भएको छ, अहिलेसम्म कुनै कर्मचारीले बाहिरिने निर्णय गरेका छैनन्, भिआरएस कर्मचारीले माग गरे भने जारी गर्ने हो तर अहिले कुनै माग आएको छैन,’ उनले भने । मर्जर पश्चात् यस्तो बन्नेछ बैंक मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ । मर्जर पश्चात् बैंकको चुक्ता पूँजी निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ र कूल कर्जा २ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा सञ्जाल ३४१ वटा र २९६ वटा एटिएम मेसिन पुग्नेछन् । सेञ्चुरी बैंकको १ हजार १४३ जना र प्रभु बैंकका २ हजार ४१२ जना कर्मचारी रहेका छन् । मर्जर पश्चात् ३ हजार ५५५ जना कर्मचारी संख्या पुग्नेछ । दुवै बैंकको एकीकृत कारोबा मंगलबार विहान १० बजे प्रभु बैंकको केन्द्रिय कार्यालयमा हुनेछ । प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा संयुक्त कारोबार हुने भएको हो । दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि पुस १९ गते अन्तिम स्वीकृति दिएको थियो । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ । प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवीचन्द्र भट्टचनले दुवै बैंकको संयुक्त कारोबार गर्ने भएका हुन् । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ । प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवीचन्द्र भट्टचनले दुवै बैंकको संयुक्त कारोबार गर्ने भएका हुन् । १३ वटा संस्था मर्ज भएर प्रभु बैंक बन्दै प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । यस्तै, सेञ्चुरी बैंकले हालसम्म विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.स. २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि.सं. २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा २ वटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो ।

प्राइमकाे गुराँस र युनियन लाइफसँगकाे मर्जरमा जाने बाटाे खुल्याे

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने बाटाे खुलेकाे छ । बैंकको आइतबार सम्पन्न वार्षिक साधारणसभाले मर्जर समितिबाट भएका निर्णयहरुकाे अनूमोदन गर्दै मर्जर पूरा गर्नको लागि आवश्यक पर्ने सबै काम गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेसँगै तीन कम्पनी मर्जर हुने बाटाे खुलेकाे हाे । सभाले कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट प्रस्ताव गरेको लाभांश पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ बाट १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । सभाले आर्थिक वर्ष २०७७/७८ विवरणहरु पारित गरेको छ ।  

डेढ दर्जन लघुवित्त मर्जरमा, कुनको कोसँग ?

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ । बैंक तथा वित्तीय संस्थाहरुको संस्था घटाउन राष्ट्र बैंकले मर्जरमा सेवा सुविधा नै प्रदान गरेपछि धमाधम मर्ज हुन थालेका हुन् । राष्ट्र बैंकले विशेषगरी वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउन मर्जरमा जोड दिईरहेको छ । वाणिज्य बैंक र लघुवित्तलाई मर्जरका माध्यमबाट संख्या घटाउन राष्ट्र बैंकले प्रोत्साहन पनि गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा दिने सुविधालाई चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षमार्फत् नै निरन्तरता दिएको थियो । पुस मसान्तभित्र एकीकृत कारोबार गरे वाणिज्य बैंक र वित्तीय संस्थालाई विभिन्न सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुसार पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा पनि मर्जरको लहर चलेको हो । राष्ट्र बैंकले दिने सहुलियत पुस मसान्तमा सकिने भएपनि म्याद थपका लागि लघुवित्तका सञ्चालकहरु लविङ गरिरहेका छन् । लघुवित्तका सञ्चालकहरुले मर्जरमा गएका लघुवित्तलाई सहुलियतको व्यवस्था असार मसान्तसम्म पुर्याउन राष्ट्र बैंक पुग्ने गरेका छन् । हालसम्म १८ वटा लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने तथा गाभिने र प्राप्तिका लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त, साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त, डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त, नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त, धौलागिरी लघुवित्त र खप्तड लघुवित्त, नयाँ सारथी लघुवित्त र विजय लघुवित्त, सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त, नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्त, स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जरका लागि सम्झौता भएको हो । स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच पुस १८ गते प्रारम्भिक सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । तर, डीडीए रिपोर्टमा फरक आएमा सोही बमोजिम मर्ज हुने भनिएको छ । दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । राष्ट्र बैंकको स्वीकृति पश्चात् ६ महिना अर्थात् जेठ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको छ । मर्जरपश्चात् स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे बन्ने छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा समता लघुवित्तका सीईओ डा. मदन घिमिरे रहने सहमति भएको छ । स्वरोजगारका सीईओ मनोज कृष्ण उप्रेती भने डीसीईओ बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १ अर्ब पुग्नेछ । स्वरोजगाकार लघुवित्तको चुक्ता पूँजी ५० करोड रुपैयाँ र समता घरेलुको ३४ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् लघुवित्तको पोर्टफोलियो १० अर्ब भन्दा बढी हुनेछ । १५० वटा शाखा कार्यालय र २ लाख सदस्य पुग्नेछन् । मर्जरपश्चात् केन्द्रिय कार्यालय काठमाडौं उपत्यकामा सार्ने सहमति भएको छ । नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते मर्जर सम्झौता भएको हो । मोरङ्गको बिराटनगरमा केन्द्रीय कार्यालय रहेको नेरूडे लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तबीच १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । डीडीए रिपोर्टमा धेरै तलमाथी भए सोही अनुसार मर्ज हुने जनाइएको छ । मर्जरपश्चात् लघुवित्तको अध्यक्ष मिर्मिरे लघुवित्तका अध्यक्ष टेक बहादुर बोहरा र सीईओ नेरुडे लघुवित्तका सीईओ भोजराज बस्याल बन्ने सहमति भएको छ । मर्जर पश्चात् नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ । हाल नेरूडे लघुवित्तको चुक्ता पूँजी ६० करोड र मिर्मिरे लघुवित्तको चुक्ता पूँजी ५३ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड भन्दा बढी पुग्नेछ । दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका छन् । शैद्धान्तिक स्वीकृति पाएको ६ महिनाभित्र एकीकृत कारोबार गर्ने लक्ष्य लिएको छ । सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तबीच गत पुस १ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तको स्वाप रेसियो भने डीडीए रिपोर्ट अनुसार निर्धारण गरिने बीपीडब्लु लघुवित्तका सीईओ दिलिप पोख्रेलले जानकारी दिए । ‘बिपीलब्ल्यू लघुवित्त धितोपत्र बजारमा सूचीकृत हुन बाँकी छ, आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिइसकेको छ, सर्वसाधारणका लागि सेयर जारी गरेपश्चात् सेयर मूल्यलाई आधार मानेर डीडीए रिपोर्ट तयार गरिनेछ,’ सीईओ पोख्रेलले भने । मर्जर पश्चात् सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्षमा सामुदायिक लघुवित्तबाट र सीईओमा बिपीडब्लु लघुवित्तका सीईओ दिलिप कार्की बन्नेछन् । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्नेछ । सामुदायिक लघुवित्तको हालको केन्द्रिय कार्यालयलाई केन्द्रिय कार्यालयको रुपमा तोकिएको छ । मर्जर लघुवित्तका ४१ वटा शाखा कार्यालय पुग्नेछन् । बैशाख अन्तिमसम्म एकीकृत कारोबार गर्ने लक्ष्य राखेका यी दुवै लघुवित्तले शैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने तयारी रहेको सीईओ पोख्रेलले बताए । नयाँ सारथी र विजय लघुवित्तबीच गत मंसिर २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्त १ः१ स्वाप रेसियो अनुपातमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् । दुवै लघुवित्तबीच बैशाख मसान्तसम्म एकीकृत कारोबार गर्न लक्ष्य लिएको सीईओ घिमिरेले जानकारी दिए । उनका अनुसार शैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन पेश गर्ने तयारी रहेको छ । मर्जर पश्चात् लघुवित्तको नाम विजय लघुवित्त वित्तीय संस्थाको नामबाट उकीकृत कारोबार हुनेछ । नयाँ सारथीको केन्द्रिय कार्यालयलाई मुख्य अफिसका रुपमा तोकिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तका ८८ वटाशाखा कार्यालय र ग्राहक सदस्य १ लाख ३० हजार भन्दा बढी पुग्नेछ । धौलागिरी लघुवित्त र खप्तड लघुवित्तबीच गत मंसिर १८ गते सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले पुस १८ गते शैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारी र सीईओमा खप्तड लघुवित्तका सीईओ सुरेश बहादुर बम रहने सहमति भएको छ । बैशाखसम्म एकीकृत करोबार गर्ने लक्ष लिइएको छ भने स्वाप रेसियो डीडीए रिपोर्ट अनुसार निर्धारण गरिनेछ । धौलागिरी लघुवित्तको केन्द्रिय कार्यालय बागलुङलाई मुख्य कार्यालयका रुपमा तोकिएको छ । मर्जर पश्चात् लघुवित्तको चुक्ता पूँजी १४ करोड ३१ लाख रुपैयाा पुग्नेछ भने ५० वटा शाखा कार्यालय पुग्नेछ । राष्ट्रियस्तरको धौलागिरी लघुवित्तको केन्द्रीय कार्यालय बागलुङमा रहेको छ । सुदूपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ । नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच गत असोज २६ गते मर्जर सम्झौता भएको हो । दुवै लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले शैद्धान्तिक स्वीकृति पनि प्रदान गरिसकेको छ । प्रारम्भिक सम्झौता अनुसार दुवै लघुवित्त १००ः८२ स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् बन्ने लघुवित्तको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त रहने सहमति भएको छ । फागुन भित्र एकीकृत कारोबार गर्ने लक्ष राखिएको छ । मर्जर पश्चात् बन्ने लघुवित्तको अध्यक्ष र सीईओ दुवै नेशनल लघुवित्तले पाउने सहमति भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ । मर्जर पश्चात् चुक्ता पूँजी सवा १ अर्ब भन्दा बढी पुग्नेछन् भने शाखा २०४ वटा कार्यालय पुग्नेछन् । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको हो । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका हुन् । राष्ट्र बैंकले फागुन १८ गतेसम्म मर्जरका लागि अन्तिम समय दिएको छ । मर्जर पश्चात् लघुवित्तको सीईओ शेष प्रसाद आचार्य बन्नेछन् । उनी हाल डिप्रोक्स लघुवित्तका सीईओ हुन् । साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तबीच गत भदौ २ गते सम्झौता भएको हो । दुवै लघुवित्त १००ः८७ को स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् आरएमडिसी लघुवित्तको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता सेयर पाउनेछन् । मर्जर पछि बन्ने कम्पनीको नाम साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाका नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने संचालक समितिमा दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र विशेषज्ञ सञ्चालक, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ले व्यवस्था गरे बमोजिम १ जना नियुक्ति गर्ने सहमति भएको छ । मर्जर पश्चात् लघुवित्तको सीईओमा साना किशान लघुवित्तका सीईओ डा. शिव राम प्रसाद कोइराला बन्नेछन् । सिवाइसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीच गत असार २२ गते मर्जर सम्झौता भएको थियो । सिवाइसी नेपाल लघुवित्तको केन्द्रिय कार्यालय कास्कीमा रहेको छ भने आँधिखोला लघुवित्तको केन्द्रिय कार्यालय स्याङ्जामा रहेको छ ।

यी १० वाणिज्य बैंकको अस्तित्व मेटियो, मर्जर नीतिमा राष्ट्र बैंक सफल

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०६९ को असार मसान्तसम्ममा नेपालमा वाणिज्य बैंकको सङ्ख्या ३२ थियो । पछिल्लो १० वर्षमा त्यो सङ्ख्या २२ मा झरेको छ । हालसम्म १० वाणिज्य बैंकको अस्तित्व सकिएको छ । आगामी माघमा थप दुई बैंक एकापसमा गाभिँदैछन् । राष्ट्र बैंकले लिएको ‘बिग मर्जर’को नीतिअनुसार अन्य केही बैंकले पनि एकापसमा गाभिनका लागि पहल गरिरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ बैंक एकापसमा गाभ्ने/गाभिने (मर्जर) प्राप्ति (एक्विजिसन) प्रक्रियामा गएर चार कायम भए । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार सुरु भइसकेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु एकापसमा गाभिएर ग्लोबल आइएमई बैंकका नामबाट पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुँदैछ । त्यस्तै प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति (एक्विजिसन) गरेर ‘प्रभु बैंक लिमिटेड’ को नामबाट पुस २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछ । मेगा बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एकापसमा गाभिएर पुस २७ गतेबाट ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’ का नामबाट एकीकृत कारोबार गर्दैछन् । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने सुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएका छन् । आगामी माघभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ । नवील बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेर गत आर्थिक वर्षमै एकीकृत कारोबार सुरु गरिसकेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मङ्सिरमा जनता बैंक गाभिसकेको छ । विसं २०७० असारमा एनआइसी बैंक र बैंक अफ एशिया गाभिएर एनआइसी एशिया बैंक बनेको थियो । प्रभु बैंकले २०७१ भदौमा किष्ट बैंक र २०७२ फागुनमा ग्राण्ड बैंक गाभेको थियो । सन् २०१२ अप्रिलमा नेपालमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या दुई सय २० सम्म पुगेको थियो । त्यसमध्ये ३२ वाणिज्य बैंक, ८८ विकास बैंक, ७७ वित्त कम्पनी र २३ लघुवित्त कम्पनी सञ्चालनमा थिए । पछिल्ला वर्षमा राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउँदै लैजाने नीति लिएको छ । राष्ट्र बैंकले २०२२ अप्रिलमा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त सङ्ख्या’ (अप्टिमल नम्बर अफ बैंक्स एन्ड फाइनान्सियल इन्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालका लागि ११ देखि १५ सम्म वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने राष्ट्र बैंकको नीतिका पछाडि मुख्य तीन उद्देश्य रहेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्ट बताउनुहुन्छ । पहिलो पुँजी बढाउँदा संस्था बलियो हुने, दोस्रो–सञ्चालन खर्च घट्ने र तेस्रो– अस्वस्थ प्रतिस्पर्धा घट्ने छ । ‘बैंकको चुक्ता पुँजी बढाएर बलियो संस्था बनाउँदा उनीहरुले ठूला आयोजनामा लगानी गर्न सक्छन्, धेरै बैंकमा छुट्टाछुट्टै सञ्चालक समिति वा व्यवस्थापन रहनुभन्दा एउटै बैंकको संस्था थोरै हुँदा सञ्चालन खर्च घट्छ, अस्वस्थ प्रतिस्पर्धा घटेर उनीहरुले पालना गर्नुपर्न वित्तीय अवस्थाको गुणस्तरमा सुधार आउँछ’, भट्टले भने । वित्तीय स्थायित्व सुदृढ गर्न बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउनुपर्ने राष्ट्र बैंकले बताउँदै आएको छ । सन् १९९७–९८ को एशियाली आर्थिक सङ्कट र सन् २००७–२००८ को विश्व आर्थिक मन्दी पछिको अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाका नियामकले ‘कम सङ्ख्याका तर बलियो’ बैंक बन्नुपर्ने बहस सुरु भएको थियो । वित्तीय पहुँच, बजार प्रतिस्पर्धा र बजार क्षमता, बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता (क्यापिटल एडिक्वसी), प्रविधिको प्रयोगलगायत विभिन्न अवस्थालाई हेरेर बैंक तथा वित्तीय संस्थाको संख्या घटाउनुपर्ने राष्ट्र बैंकको भनाइ छ । त्यस्तै मर्जर वा एक्विजिसन प्रक्रियाबाट बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार विस्तार भई जोखिम बहन गर्नसक्ने क्षमता बढ्ने, सानो पुँजीका आधार भएका धेरै सङ्ख्याका संस्थाको सट्टामा थोरै सङ्ख्यामा सबल र सक्षम बैंक बनाउने नीति राष्ट्र बैंकको छ । बैंक तथा वित्तीय संस्थाको मर्जर र प्राप्तिका हकमा अब नेपाल राष्ट्र बैंकले प्रोत्साहनको नीतिभन्दा नियामकीय भूमिकालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष भुवन दाहाल बताउँछन् । अहिले नेपालमा रहेका वाणिज्य बैंकको सङ्ख्यालाई घटाउन उनीहरुको व्यवस्थापकीय पक्ष र संस्थागत सुशासनलाई हेरिनुपर्ने उनको भनाइ छ । “राष्ट्र बैंकले कुनै निश्चित मानक राखेर त्यसैका आधारमा मर्जरको नीति लिनु उपयुक्त हुन्छ, त्यो मानक भनेको तोकिएका नीतिनियम पालना नगर्ने बैंकलाई मर्जरमा लैजाने र राम्रो सेवा दिइरहेका बैंकलाई त्यसका लागि बाध्यकारी नबनाउने हो”, दाहालले भने । राम्रा बैंक धेरै भए पनि समस्या नहुने तर राष्ट्र बैंकको नीतिनियम पालना गर्न नसकेको बैंकलाई मर्जर वा प्राप्तिमा पठाइनुपर्ने उनको भनाइ छ । कहिलेसम्म मर्जर/प्राप्तिमा जाने संस्थाले सुविधा पाउँछन् ? चालु आव २०७९/८० को मौद्रिक नीतिले “वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा आफ्नै वर्गभित्र गाभिई वा प्राप्तिमा गई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा मात्र नेपाल राष्ट्र बैंकबाट प्रदान हुँदै आएको मर्जर तथा प्राप्तिसम्बन्धी छुट तथा सुविधा उपलब्ध हुने व्यवस्था मिलाइनेछ”, भनी उल्लेख गरेको छ । गत आव २०७८/७९ को मौद्रिक नीतिले उक्त आर्थिक वर्षभित्र एकापसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छुट सुविधा पाउने उल्लेख गरेको थियो । चालु आवको मौद्रिक नीतिले ती सुविधा पाउनका लागि पुस मसान्तसम्मको समय दिएको छ । ‘मौजुदा मौद्रिक नीतिको व्यवस्थाअनुसार मर्जर÷प्राप्तिमा जानेसंस्थाले सुविधा पाउने पुस मसान्तसम्म मात्र हो, पाइरहेको सुविधालाई निरन्तरता दिने वा नदिने भनेर राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय गर्छ’, राष्ट्र बैंकका प्रवक्ता भट्टले भने । मर्जर र प्राप्तिमा जाने बैंक तथा वित्तीय संस्थाका राष्ट्र बैंकले अहिले विभिन्न सुविधा दिइरहेको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एकवर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षभित्र अनिवार्य नगद मौज्दातको सीमामा शून्य दशमलव पाँच प्रतिशत बिन्दुले छुट प्रदान गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा एक प्रतिशत बिन्दुले छुट दिनेलगायत सुविधा पाउने व्यवस्था मौद्रिक नीतिमा राखिएको छ । त्यस्तै राष्ट्र बैंकले तोकेको प्रतिसंस्था निक्षेप सङ्कलन सीमामा पाँच प्रतिशत बिन्दुले थप गर्ने, बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा एक प्रतिशत बिन्दुले छुट दिइने र एकीकृत कारोबार सुरु गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको थप समय दिने सुविधा पनि यस्ता बैंक–वित्तीय संस्थालाई राष्ट्र बैंकले जनाएको छ । सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा छ महिना व्यतित नभई अर्को बैंक तथा वित्तीय संस्थामा आबद्ध हुन नपाउने व्यवस्थामा पनि छुट छ । त्यस्तै वाणिज्य बैंकको शून्य दशमलव १० प्रतिशत वा सोभन्दा कम शेयर धारणा गरेका संस्थापक समूहको शेयर धनीहरुले यस्तो शेयर बिक्री गर्दा ‘फिट एन्ड प्रपर टेस्ट’ अनिवार्य हुनेजस्ता सुविधा राष्ट्र बैंकले दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी मात्र नभइ पूर्वाधार बैंकलाई पनि मर्जरका लागि बाटो खोलिदिएको छ । पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई सञ्चालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिने मौद्रिक नीतिमा उल्लेख छ । डेढ दशकको इतिहास नेपालमा बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने/गाभिने तथा प्राप्तिको इतिहास केलाउँदा करिब डेढ दशक अगाडि फर्किनुपर्छ । लक्ष्मी बैंक लिमिटेड र हाइसेफ फाइनान्स लिमिटेडका बीच २०६१ सालमा मर्जर सम्झौता भएको थियो । यो नै नेपालका बैंक वित्तीय संस्थाको इतिहासमा भएको पहिलो मर्जर रहेको नेपाल राष्ट्र बैंकले २०७४ असारमा सार्वजनिक गरेको ‘गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) को प्रभावकारिता अध्ययन प्रतिवेदन’ उल्लेख छ । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली, २०६८ जारी भएपछि भने हिमचुली विकास बैंक लिमिटेड र वीरगञ्ज फाइनान्स लिमिटेडबीच २०६८ सालमा भएको मर्जर नै पहिलो हो । बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिनेसम्बन्धी विनियमावली २०६८ र बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७० जारी भएपछि हालसम्म दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर एवं प्राप्ति प्रक्रियामा सामेल भइसकेको राष्ट्र बैंकको तथ्याङ्क छ । “वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७९ कात्तिक मसान्तसम्म कूल दुई सय ४७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्, यसमध्ये एक सय ७९ संस्थाको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएका छन्”, राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा भनिएको छ । रासस

लक्ष्मी र सनराइज बैंकको मर्जर पक्का, अध्यक्ष र सीईओ लक्ष्मीले पाउने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकबीच समान हैसियतमा सोमबार मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो । लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम मर्जरका लागि विभिन्न चरणमा छलफल गरेका थिए । धेरै पटक दुई बैंकका मर्जर समितिबीच छलफल भएपछि १ः१ अनुपातमा मर्ज हुने सहमति भएको हो । तर, सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढिको फरक पर्न गएमा सोही अनुसार स्वाप रेसियो निर्धारण हुने लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए । ‘स्वाप रेसियो डीडीएले तय गर्छ, राष्ट्र बैंकको मर्जर विनियमावलीमा १० प्रतिशत भनिएको छ तर, ५ प्रतिशत भन्दा बढी भयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण हुनेछ, अहिले समान हैसियत भनिएको छ,’ उनले भने । मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ । मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । छिटो छरितो काम गर्ने सानो सञ्चालक समिति बनाउने योजना रहेको उनको भनाइ छ । ‘धेरै विषयमा कुराकानी हुन बाँकी छ, एमओयू भएपछि संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो सम्झौता पछि हुनेछ,’ उनले भने, ‘५ जनाको मात्रै सञ्चालक समिति बनाउने योजना छ तर भोलिका दिनमा के हुन्छ त्यहि अनुसार अघि बढ्छौं, जति जनाको सञ्चालक भएपनि बराबर हैसियतमा सञ्चालक समिति बन्छ ।’ सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा, पुसभित्रै सम्झौता हुने सम्भावना कति ?