अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा अमेरिकाले अस्ट्रेलियालाई २-० ले हराएको छ ।लगातार दोस्रो जित दर्ता गर्दै अमेरिकाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । सिएटल स्टेडियममा भएको खेलमा अमेरिकाले सुरुवाती अग्रता विपक्षी टोलीको आत्मघाती गोलबाट लिएको थियो । खेलको ११औं मिनेटमा अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गर्न पुगेका हुन् । त्यसपछि खेलको ४३औं मिनेटमा एलेक्स फ्रीम्यानले उत्कृष्ट गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए । पहिलो हाफमा २–० ले पछि परेको अष्ट्रेलियाले दोस्रो हाफमा राम्रो खेले पनि गोल गर्न भने सकेन । २ खेल खेलेको अष्ट्रेलियाको ३ अंक रहेको छ भने समूहका अन्य दुई टोली पाराग्वे र टर्किए अंकविहीन अवस्थामा छन् ।
फिफा विश्वकपको समूह चरणको पहिलो खेलले देखाएको संकेत
उत्तर अमेरिकामा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा समूह ‘ए’ देखि ‘एल’ सम्म रहेका १२ वटै समूहको पहिलो चरणका खेल सकिएका छन् । पहिलो खेल सकिँदा फ्रान्स, अर्जेन्टिना, इङ्ल्याण्ड र जर्मनीजस्ता पूर्वविजेता टिमहरु विजयी हुँदा पाँच पटकको विश्व विजेता ब्राजिल र एक पटकको विजेता स्पेन बराबरीमा रोकिए । ब्राजिल मोरक्कोसँग एक–एक को बराबरीमा रोकिएको छ भने सन् २०१० को विश्वकप विजेता स्पेन पहिलोपल्ट विश्वकप खेल्दै गरेको अफ्रिकी राष्ट्रसँग गोलरहित बराबरीमा रोकिएको छ । क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगलले डिआर कङ्गोसँग एक–एक गोलको बराबरी खेल्यो । यस्तै आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदा अमेरिकाले पाराग्वेलाई सहजै पाखा लगाएको छ । अर्को सहआयोजक क्यानाडाले पनि युरोपेली छनोटमा इटालीलाई हराएर आएको बोस्नियाहर्जगोविनासँग बराबरी खेलेको छ । यसैगरी एसियाली राष्ट्र दक्षिण कोरियाले चेक गणतन्त्रलाई हराउँदा जापानले नेदरल्याण्ड्ससँग दुई–दुई गोलको बराबरी खेलेको छ । कतारले भने स्वीजरल्याण्डसँग एक–एकको बराबरी गर्दै अंक बाँड्दा दुईपटकको विजेता उरुग्वेलाई साउदी अरेबियाले तीन अंक खोस्न दिएन र बराबरी भयो । पहिलो खेल जित्ने टोलीको अन्तिम ३२ को यात्रा सहज भएको छ भने बराबरी गर्ने टोलीको पनि सम्भावना माथि नै छ तर पराजित टिमका लागी बाँकी खेलमा सकारात्मक नतिजा ल्याउनुपर्नेछ । कूल ४८ राष्ट्रबीच १२ समूहबाट आउने प्रत्येक समूहका विजेता र उपविजेता गरी २४ देशले अन्तिम ३२ मा स्थान पक्का गर्नेछन् भने थप आठ देशको टुङ्गो पनि ती १२ समूहका उत्कृष्ट तेस्रोबाट छानेर समावेश गरिनेछ । विजेता र उपविजेतासँगै तेस्रो हुनेहरूबाट पनि उत्कृष्ट आठ देशलाई अन्तिम ३२ मा लगिने हुँदा समूहका एक खेल जित्ने टोलीले पनि उत्कृष्ट तेस्रो हुँदै अर्को चरणमा पुग्ने सम्भावना बनाउन सक्नेछन् । समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया अगाडि मेक्सिको र दक्षिण कोरियाले उत्तर अमेरिकी तीन देशमा जारी २३ औँ संस्करणको विश्वकप फुटबलमा अन्तिम ३२ मा जाने सम्भावना बलियो बनाएका छन् । समूह ए का एक–एक खेल सकिँदा यी दुबै टोलीले आफ्ना पहिला खेल जित्दा अन्तिम ३२ का लागि सहज बाटो बनेको हो । मेक्सिको र कोरिया दुबैको तीन–तीन अंक छ । चार देश रहेको यो समूहमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले भने आफ्नो पहिलो खेल नै हार्दा अर्को चरणमा जान बाँकी खेलमा राम्रो नतिजा ल्याउनुपर्ने भएको छ । पहिलो खेलको नतिजासँगै समान तीन अंक भए पनि गोल अन्तर बढी भएकाले मेक्सिको पहिलो स्थानमा छ । उसले दुई गोल गरेर कुनै गोल खाएको छैन । तीन अंक नै भए पनि दक्षिण कोरिया दोस्रो स्थानमा छ । उसले चेक गणतन्त्रलाई हराएर पनि एक गोल खाएको छ । यो समूहमा चेक गणतन्त्र र दक्षिण अफ्रिका दुबै पहिलो खेलमा पराजित भए पनि एक गोल गरेका आधारमा चेक गणतन्त्र तेस्रो स्थानमा छ । दुई गोल खाएर उसले एक गोल फर्काएको थियो । दक्षिण अफ्रिकाले दुई गोल खाएर एक गोल पनि गर्न सकेको छैन । अफ्रिका तालिकाको चौथो स्थानमा छ । कोरिया र मेक्सिकोका लागि बराबरीले पनि अन्तिम ३२ को यात्रा तय गर्न सक्छ भने चेक र अफ्रिकाका लागि दोस्रो खेलमा जितले यात्रा सहज बन्न सक्छ भने हारले यात्रालाई कठिन मोडमा पुर्याइदिन सक्छ । समूह ‘बी’ मा सबैको समान अंक फिफा विश्वकप २०२६ को समूह बि का एक–एक खेल सकिएका छन् । पहिलो खेल सकिँदा समूहमा रहेका स्वीजरल्याण्ड, क्यानडा, कतार र बोस्नीया हर्जगोविनाले एक–एक अंक बटुलेका छन् । सबै टिमले एक–एक गोल गरेका कारण र अंक पनि बराबर भएका कारण ती सबैको हैसियता बराबर छ । सहआयोजक क्यानाडाले बोस्नियाहर्जगोविनासँग एक–एक को बराबरी गरेको छ भने अर्को खेलमा एसियाली राष्ट्र कतार र युरोपेली राष्ट्र स्वीजरल्याण्डले पनि बराबरी खेल्दै अंक बाँडेका थिए । अब ती चारवटै टिमले दुई–दुई खेल खेल्न बाँकी छ । क्यानाडाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ भने स्वीजरल्याण्डले बोस्नियाहर्जगोविना र क्यानाडासँग खेल्न बाँकी छ । यस्तै बोस्नियाहर्जगोविनाले कतार र स्वीजरल्याण्डसँग खेल्न बाँकी छ । अन्तिम ३२ भित्र अटाउन यी सबै टोलीलाई मुख्य तय जितले सहज हुनेछ भने बराबरीले पनि संभावना हट्ने छैन तर हारले भने संभावना कमजोर बन्नेछ । समूह ‘सी’ मा ब्राजिल मोरक्कोसँग बराबरीमा तेइसौँ संस्करणको विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ का सबै टिमको पहिलो खेल सकिँदा स्कटल्याण्ड तीन अंकसहित शीर्ष स्थानमा छ । स्कटल्याण्डले लामो समय द्वन्द्वबाट गुज्रिएर फेरि फुटबलमा पाइला चालेको हाइटीलाई एक–शून्यले हराउँदै तालिकाको पहिलो स्थानमा उभ्याएको छ । यही समूहको अर्को खेलमा पाँचपल्टको विश्व विजेता ब्राजिल अफ्रिकी देश मोरक्कोसँग एक–एकको बराबरीमा रोकिएको छ । सुरुआती गोल मोरक्कोका इजनेल साइबारीले गरेका थिए । उनले खेलको २१ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ११ मिनेट अग्रता बनाएको मोरक्कोले त्यसलाई निरन्तरता दिन सकेन । विश्व फुटबलकै पहिलोदेखि अहिलेसम्म निरन्तर सहभागी ब्राजिलले कमब्याक गर्दै हारबाट त बचायो तर स्पष्ट तीन अंक लिन सकेन । समूह ‘सी’ मा शीर्षस्थानको स्कटल्याण्डको तीन अंक छ । बराबरी गरेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ भने हाइटी शून्य अंकसहित पुछारमा छ । अब अन्तिम ३२ मा पुग्न स्कटल्याण्डलाई सहज भएको छ भने ब्राजिल र मोरक्को लागि पनि सम्भावना प्रशस्तै छ तर हाइटीका लागि भने आगामी ब्राजिल र मोरक्कोसँगको खेलमा सुखद नतिजा ल्याउन अत्यावश्यक छ । समूह ‘डी’ मा अमेरिका र अष्ट्रेलियाको समान अंक फिफा विश्वकप फुटबलमा अष्ट्रेलियाले टर्कीलाई हराएसँगै समूह ‘डी’मा आयोजक अमेरिका र अष्ट्रेलियाको समान तीन–तीन अंक भएको छ । एशियाली क्षेत्रको प्रतिनिधित्व गर्ने अष्ट्रेलियाले आइतबार विश्वकप फुटबलमा तेस्रो स्थान हासिल गरिसकेको टर्कीलाई दुई–शून्यले हराउन सफल भएको थियो । यसअघि यही समूहको पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई चार–एकले हराएको थियो । समूह तालिकामा अमेरिका समान तीन अंक भए पनि पहिलो स्थानमा छ । उसले चार गोल गरेर एक गोल खाएको छ । तीन अंक नै भए पनि अष्ट्रेलियाले दुई गोल गरेको छ । तसर्थ, गोल अन्तरमा अमेरिका अगाडि छ । यस्तै पराजित भएर पनि कम गोल खाएका कारण टर्की तेस्रो स्थानमा छ । उसले दुई गोल खाएको छ । पाराग्वे भने चार गोल खाएर एक गोल गर्दै तालिकाको पुछारमा छ । अब अन्तिम ३२ भित्र प्रवेश गर्न अमेरिका र अष्ट्रेलियाका लागि बराबरी पनि काफी हुन सक्नेछ भने पाराग्वे र टर्कीका लागि जित आवश्यक देखिन्छ । पाराग्वे र अमेरिकाले अब अष्ट्रेलिया र टर्कीसँग खेल्न बाँकी छ । समूह ‘इ’ मा जर्मनी बलियो, आइभरीकोष्ट पछ्याउँदै नवप्रवेशी कुरासाओलाई भारी अन्तरले हराएपछि समूह ‘इ’ मा जर्मनी बलियो देखिएको छ । सात–एक अन्तरको जित बटुलेको चार पटकको विश्व विजेता जर्मनीको समूहमा पहिलो खेल सकिदा तीन अंक भएको छ । पहिलो खेलमा इक्वेडरलाई एक–शून्यले हराएको अफ्रिकी देश आइभरीकोष्टको पनि तीन अंक छ । पहिलो खेल सकिदासम्म जर्मनी तीन अंकसहित पहिलो स्थानमा छ । समान तीन अंक नै भए पनि गोल अन्तरमा पछि पर्दै आइभरीकोष्ट दोस्रो स्थानमा छ । जर्मनीले सात गोल गरेर मात्र एक गोल खाएको छ भने आइभरीकोष्टले एक गोल गरेर विपक्षीबाट कुनै गोल खाएको छैन । यो समूह ‘इ’ को तालिकामा इक्वेडर तेस्रो स्थानमा छ भने कुरासाओ चौथो स्थानमा छ । इक्वेडरले कुनै गोल गर्न नसकेपनि मात्र एक गोल खाएको छ भने कुरासाओले एक गोल गरेर तीन गोल खाएको छ । अब अन्तिम ३२ मा जान जर्मनी र आइभरीकोष्टलाई सहज भएपनि इक्वेडर र कुरासाओको संभावना सकिएको भने छैन । अबका बाकी खेल कुरासाओ र इक्वेडरका लागि अझ महत्वपूर्ण हुनेछ । जित या बराबरीले अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ । बलियो देखिएको जर्मनीले अब आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ भने कुरासाओले पनि आइभरीकोष्ट र इक्वेडरसँग खेल्न बाँकी छ । यस्तै आइभरीकोष्टले जर्मनी र कुरासाओसँग तथा इक्वेडरले कुरासाओ र जर्मनीसँग खेल्नेछ । विगतका इतिहास हेर्ने हो भने जर्मनी चारपटक विजेता, चारपटक उपविजेता र चारपटक नै तेस्रो भएको छ । कुनै समय फ्रान्सको एक हिस्सा रहेको आइभरीकोष्ट स्वतन्त्र भएपछि सन् २००६ मा पहिलोपल्ट विश्वकप २००६ मा छनोट भएको थियो । उसले सन् २०१० र २०१४ गरी अहिलेसम्म तीन विश्वकपमा सहभागिता जनाएको छ । इक्वेडरले चौथो विश्वकपमा सहभागिता जनाइरहँदा सन् २००६ मा अन्तिम १६ सम्म पुग्न सकेको थियो । कुरासाओ भने पहिलोपल्ट विश्वकपमा सहभागिता जनाउँदैछ । समूह ‘एफ’मा स्वीडेन अगाडि, जापान र नेदरल्याण्ड्स पछ्याउँदै समूह ‘एफ’ मा स्वीडेन तीन अंकसहित पहिलो स्थानमा छ । विश्वकप फुटबलको इतिहासमा तीनपटक फाइनल पुगेर उपविजेतामै चित्त बुझाएको नेदरल्याण्ड्स र एशियाली फुटबलको पावरहाउस जापान एक–एक अङ्कसहित समूहमा दोस्रो स्थानमा छन् । अफ्रिकी देश ट्युनेसिया बिना कुनै अंक समूहमा पुछारमा छ । सन् १९३४ को दोस्रो संस्करणको विश्वकपदेखि सहभागी हुँदै आएको स्वीडेनले जारी विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनेसियालाई पाँच– एक गोल अन्तरले हराएको छ । यो समूह अन्र्तगत जापान र नेदरल्याण्ड्सले दुई–दुई गोलको बराबरी खेलेका छन् । अन्तिम ३२ मा पुग्न स्वीडेनलाई सहज भएको छ भने जापान र नेदरल्याण्ड्सको पनि सम्भावना बलियो छ । तर ट्युनेसियाले भारी अन्तरले हारेका कारण जीतको विकल्प छैन । जापानले अब स्वीडेन र ट्युनेसियासँग खेल्न बाँकी छ । स्वीडेनले जापानसँगै नेदरल्याण्ड्ससँग पनि भिड्न बाँकी छ । यसैगरी नेदरल्याण्ड्सले स्वीडेनसँगै ट्युनेसियासँग खेल्न बाँकी छ । समूहको पुछारमा रहेको टोली ट्युनेसियाले जापान र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्न बाँकी छ । जित या बराबरीले ट्युनेसियाको अर्को खेलसम्म सम्भावनाको प्रशस्तै आधार बन्न सक्छ । हारको नतिजाले भने पहिलो चरणबाटै घर फर्काउने बाटो बन्न सक्छ । स्वीडेनले बाँकीका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पुर्याउन सक्छ । जापान र नेदरल्याण्ड्सका लागि अबको खेलमा जित हासिल गरे अन्तिम ३२ को यात्रा समूह चरणको अन्तिम खेलअघि नै सहज हुनेछ भने हारले चुनौती थप्नेछ । स्वीडेन एक पटकको उपविजेता र दुईपटकको विश्वकपमा तेस्रो भएको टोली हो । नेदरल्याण्ड्स तीनपटक उपविजेता र एकपटक तेस्रो भएको टोली हो । जापान विश्वकपमा अन्तिम १६ भन्दा माथि जान सकेको छैन भने ट्युनेसीयाले समूहचरण पार गर्न सकेको छैन । समूह ‘जी’मा बेल्जियम दबाबमा समूह जीमा रहेका सबै चार वटै देशको एक–एक अंक छ । न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्टको समान एक–एक अंक छ । तैपनि बढी गोल गरेका आधारमा तालिकामा न्युजिल्याण्ड र इरान अगाडि छन् । उनीहरुले दुई–दुई गोल गरेका छन् । पहिलो खेलमा न्युजिल्याण्ड र इरानले दुई–दुई गोलको बराबरी खेलेका थिए । समान एक–एक अंक भएपनि एक–एक गोल मात्र गरेका कारण बेल्जियम र इजिप्ट न्युजिल्याण्ड र इरानभन्दा तल छन् । समान गोल अन्तर भए पनि बढी गोल गरेका आधार बेल्जियम र इजिप्ट तल परेका हुन् । सन् २०१८ को विश्वकपमा तेस्रो स्थान ल्याउन सफल टोली बेल्जियम १५ औँ पटक सहभागिता जनाउने क्रममा दबाबमा छ । अब उसका लागि बाँकी दुबै खेलमा राम्रो नतिजा ल्याउनुपर्नेछ । अरु प्रतिस्पर्धी टिमले पनि नकारात्मक नतिजा ल्याए उ कम दबाबमा रहनेछ तर दोस्रो खेलमा पनि उस्तै बराबरी नतिजा आएको खण्डमा भने अरु देशलाई लक लाग्दै बेल्जियम दुर्भाग्यको शिकार बन्न सक्छ । पहिलो र दोस्रो विश्वकपमै सहभागी थियो बेल्जियम । दोस्रो विश्वकप पछि एकैपल्ट सन् १९९० को विश्वकप र २०१८ को विश्वकप पछि चौथोपल्ट सहभागीे इजिप्टको एक अंक छ । फिफा बरियतामा नवौं स्थानमा रहेको बेल्जियनलाई उपाधि दाबेदारको सूचीबाट हटाउन सकिँदैन । इरानका लागि अबका दुई खेल बेल्जियम र इजिप्टसँग हुनेछ । कमब्याक गरेर हारबाट जोगिएको इरानका लागि अन्तिम ३२ मा जान अबका दुई खेलमा एकमा जित र एकमा बराबरी काफी हुनेछ । इजिप्ट र न्युजिल्याण्डका लागि पनि सुखद नतिजा आवश्यक छ । समूह ‘एच’मा स्पेनसँगै सबैको एक–एक अंक उत्तर अमेरिकी महादेशमा जारी विश्वकपमा समूह ‘एच’ मा रहेका सबै चारवटै देशको एक–एक अंक छ । एसियाली राष्ट्र साउदी अरेबिया, एक पटकको विश्वकप विजेता स्पेन, दुई पटकको विजेता उरुग्वे र नवप्रवेशी अफ्रिकी मुलुक केप भेर्डेको समान एक–एक अंक छ भने साउदी र उरुग्वेले मात्रै एक–एक गोल गरेका छन् । स्पेन र केपे भेर्डे गोलवीहिन छन् । अन्तिम ३२ मा जाने टोलीको टुङ्गो लाग्न समूह चरणमा बाँकी रहेका दुई खेल आवश्यक पर्नेछ । तर अब हुने दोस्रो खेलले पनि को को अगाडि बढ्नेछन् , त्यसको एक खाले छनक दिनेछ । यो समूहको पहिलो खेलमा युरोपको एक अनुभवी एवं विश्व विजेता तथा युरोपियन विजेता भइसकेको स्पेन बराबरीमा रोकेको छ । अब साउदी अरबले स्पेन र केपे भेर्डेसँग खेल्न बाँकी छ भने उरुग्वेले पनि स्पेन र केपे भेर्डेसँग खेल्न बाँकी छ । केर्पे भेर्डे र स्पेनले साउदी अरब र उरुग्वेसँग खेल्न बाँकी छ । समूह ‘आई’ मा फ्रान्स र नर्वे अगाडि समूह चरणको पहिलो खेल सकिदा समूह ‘आई’मा दुई पटकको विश्वविजेता फ्रान्स र २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेको समान तीन–तीन अंक छ । यो समूहको पहिलो खेलमा पराजित सेनेगल र इराकको शून्य अंक छ । समूहको पहिलो खेलमा किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले सेनेगललाई तीन–एक ले हराएको छ भने अर्को खेलमा नर्वेले इराकलाई चार–एक गोल अन्तरले पाखा लगाएको छ । तीन अंक नै भए पनि नर्वे फ्रान्स भन्दा माथि पहिलो स्थानमा छ । हारेपनि कम गोल खाएका कारण सेनेगल तेस्रो र इराक चौथो स्थानमा छ । समूह ‘जे’ मा अर्जेन्टिना र अष्ट्रिया अगाडि समूह चरणको पहिलो खेल सकिँदा समूह ‘जे’ मा तीन पटकको विश्वविजेता अर्जेन्टिना र अष्ट्रियाले तीन–तीन अंक जोडेका छन् । जोर्डन र अल्जेरियाको कुनै अंक छैन । अब अन्तिम ३२ मा पुग्न जोर्डन र अल्जेरियालाई अर्को खेलमा जित आवश्यक छ । पहिलो खेलमा जितेका अर्जेन्टिना र अष्ट्रियालाई बराबरी मात्रले पनि अर्को चरणमा पु¥याउने छ । यो समूहमा लियोनियल मेसीको किितमानी ह्याट्रिकसँगै अर्जेन्टिनाले अल्जेरियालाई तीन–शून्यले हराएको छ । यो खेलको तीन गोलसँगै मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ता जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोल संख्या बराबरी गरेका छन् । यो समूहमा अष्ट्रियाले जोर्डनलाई तीन–एकले हराएको छ । समूह ‘के’ मा पोर्चुगल दबाबमा, कोलम्बिया ढुक्क जारी विश्वकपको समूह ‘के’ मा क्रिस्चियानो रोनाल्डोको टिम पोर्चुगल दबाबमा छ । आफ्नो पहिलो खेलमा डिआर कङ्गोसँग बराबरीमा रोकिएसँगै अब अर्को चरणमा जान बाँकी रहेका खेलमा कम्तिमा एक जित आवश्यक देखीन्छ । यो समूहमा कोलम्बियाले उज्बेकिस्तानलाई तीन–एकले हराएको छ । पहिलो खेल सकिँदासम्म कोलम्बिया तीन अंकसहित पहिलो स्थानमा रहँदा पोर्चुगल र कङ्गोको समान एक–एक अंक छ भने एसियाली राष्ट्र उज्वेकिस्तान बिना अंक पुछारमा छ । कोलम्बियाका लागि बाँकी रहेका खेलमा बराबरी मात्रैले पनि अर्को चरणमा पुर्याउन सक्छ तर उज्वेकिस्तानलाई जीतको विकल्प रहनेछैन । समूह ‘एल’ मा इङ्ल्याण्ड र घाना अगाडि, क्रोयसिया दबाबमा विश्वकप फुटबलको समूह ‘एल’ मा पूर्व विजेता इङ्ल्याण्ड र अफ्रिकी देश घानाले तीन–तीन अंक बनाएका छन् । ह्यारी केनको दुई गोलमा इङ्ल्याण्डले क्रोयसियालाई चार–दुई अन्तरले हराउँदा घानाले पानामालाई एक–शून्यले पाखा लगाएको थियो । अर्को चरणमा पुग्न इङ्ल्याण्डका लागि बराबरी पनि पर्याप्त हुन सक्नेछ भने क्रोयसियाका लागी जित आवश्यक छ । यो समूहमा पानामाका लागि जितको विकल्प रहनेछैन । तुलनात्मक रुपमा पानामा अरु देशभन्दा कमजोर देखिन्छ । रासस
क्रोएसियाविरुद्ध इंग्ल्यान्डको शानदार जित
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि शानदार जित हासिल गरेको छ । अमेरिकाको आर्लिङ्गटन स्टेडियममा बुधबार राति भएको रोमान्चक खेलमा इंग्ल्याण्डले क्रोएसियामाथि ४–२ को शानदार जित निकालेको हो । खेलमा जित निकालेसँगै इंग्ल्याण्डले क्रोएसियासँगको पुरानो हिसाब समेत चुक्ता गरेको छ । कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो । क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरी गोल फर्काए । केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाएका थिए । पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै क्रोएसियालाई २-२ को बराबरी अवस्थामा ल्याए । खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३-२ को अग्रता दिलाए । मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए । खेलमा जित हासिल गरेसँगै इंग्ल्यान्डले तीन अंक जोडेको छ ।
जोर्डनविरुद्ध अस्ट्रियाको जीत
काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘जे’ मा अस्ट्रियाले जोर्डनलाई पराजित गर्दै जीत निकालेको छ । अस्ट्रियाले जोर्डनलाई ३–१ ले हराएको हो । सान फान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा रोमानो स्चमिडले गोल गर्दै अस्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा अलि ओलवानले गोल गर्दै जोर्डनलाई १–१ को बराबरमा ल्याए । खेलको ७६ औं मिनेटमा जोर्डनका याजन अल– अरबले आत्मघाती गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयमा मार्को अर्नौटोभिकको गोल गरे । यससँगै अस्ट्रियाले जोर्डनविरुद्ध सहज ३–१ को जित निकाल्यो ।
पावरहाउस नेदरल्यान्डलाई कडा टक्कर दिने जापानका ‘मास्टरमाइन्ड’ मोरियासु
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा नेदरल्याण्ड्सविरुद्धको रोमाञ्चक २–२ को बराबरी खेलअघि जापानको राष्ट्रिय गान बज्दा उनी भावुक भएर आँसु खसाल्दै गरेका देखिन्थे । उनी एउटा वाइटबोर्डमा ठूला–ठूला अंकहरू कोरेर आफ्ना खेलाडीहरूसँग संवाद गरिरहेका थिए । उनले आफ्नो नोटप्याडमा पनि लगातार केही टिपोट गरिरहेका थिए, जसले गर्दा मानिसहरूबीच उक्त नोटप्याड कतै प्रसिद्ध जापानी मङ्गा (कार्टुन) को पौराणिक ‘डेथ नोट’ त होइन भन्ने आशंकासमेत उब्जायो । २०२६ को फिफा विश्वकप सुरु भएको भर्खरै चार दिन मात्र भएको छ, तर सामाजिक सञ्जालको दुनियाँमा भाइरल भएका घटनाहरूको सूची निकै लामो भइसकेको छ । जापानका प्रशिक्षक हाजिमे मोरियासु अब यस सूचीमा थपिने नयाँ व्यक्ति बनेका छन् । हाजिमे मोरियासु । दोस्रो पटक विश्वकपमा मुख्य प्रशिक्षकको रूपमा जापानको नेतृत्व गरिरहेका ५७ वर्षीय मोरियासुका स्क्रिनसट र भिडियो क्लिपहरू इन्टरनेटभरि छ्यापछ्याप्ती भेटिन्छन् । जसमा उनी र उनका सहयोगी प्रशिक्षकहरूले ठूला अंकहरू लेखिएको ह्वाइट बोर्ड समातिरहेको देखिन्छ । धेरैले यो मोरियासुले आफ्ना खेलाडीहरूलाई हाफ टाइम सकिन कति समय बाँकी छ भनी जानकारी दिने तरिका भएको अनुमान गरे भने कतिपयले यो रणनीतिक परिवर्तनका लागि प्रयोग गरिएको कुनै गुप्त कोड हुन सक्ने बताए । ग्यारी नेभिललाई सोधिएको थियो कि उनी भ्यालेन्सियाको प्रशिक्षक हुँदा आफ्ना खेलाडीहरूलाई खेलको कति औं मिनेट चलिरहेको छ भनेर बताउने इच्छा कहिल्यै भएको थियो ? फुटबल पण्डित नेभिलले ठट्टा गर्दै भने, ‘छैन, त्यो मैले अपनाएको रणनीति थिएन । जब मैले ‘६’ लेखिएको बोर्ड देख्थेँ, त्यो हामीले खाएको गोलको संख्या हुन्थ्यो ।’ डलास काउब्वाइज स्टेडियममा भएको खेलमा जापानले दुई पटक सम्हालिँदै नेदरल्याण्ड्सविरुद्ध एक अंक खोस्न सफल भयो, जुन सम्भवतः यस विश्वकपको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चक खेल हो । खेलपछि जापानी टोली निकै खुसी देखिए पनि मोरियासुले भने जित हासिल गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए । खेलपछिको पत्रकार सम्मेलनमा मोरियासुले भने, ‘नेदरल्याण्ड्स वास्तवमै एक बलियो प्रतिद्वन्द्वी थियो । हामीले मात्र एक अंक पाए पनि खेलाडीहरूले अन्त्यसम्म एकजुट भएर लडे र दुई पटक खेलमा फर्कन सफल भए । मलाई विश्वास छ कि यो खेलले हामीलाई आत्मविश्वास दिएको छ कि यदि हामीले आफ्नो प्रदर्शनलाई कायम राख्यौं भने अंक र जित सुनिश्चित गर्न सक्छौं ।’ यो बराबरीसँगै स्वीडेन र ट्युनिसियासमेत रहेको यस समूहमा दुवै टोली बलियो स्थितिमा रहेका छन् । यस खेलले यी दुवै टोली किन नकआउट चरणमा पुग्ने मात्र नभई त्योभन्दा माथिको महत्त्वाकांक्षा बोकेर उत्तर अमेरिका आएका हुन् भन्ने कुराको झलक दिएको छ । खेलको लामो समयसम्म डच टोली बढी परिष्कृत देखिएको थियो । टोलीले बलमाथि नियन्त्रण राख्ने, स्पष्ट अवसरहरू सिर्जना गर्ने र दुई पटक खेल जितिसकेको जस्तो स्थितिमा पुग्ने काम गरे । तैपनि जापानले आफ्नो आत्मविश्वास, संगठन र दृढताका साथ उनीहरूलाई कडा टक्कर दियो । सन् २०१८ को अगस्टमा जापानको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालेका मोरियासुको नेतृत्वमा जापानी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सन् १९८० को दशकको अन्त्यतिरबाट व्यावसायिक फुटबल सुरु गरेका मोरियासुले आफ्नो खेल जीवनको लामो समय जापानी क्लब ‘सानफ्रेसे हिरोसिमा’ मा बिताए । उनले सन् १९९२ देखि १९९६ सम्म जापानको राष्ट्रिय टोलीबाट ३५ खेल खेल्दै देशका लागि महत्वपूर्ण योगदान दिएका थिए । सन् १९९२ मा जापानले एएफसी एसियन कप जित्दा उनी टोलीका मुख्य सदस्य थिए । सन् २००३ मा खेलाडी जीवनबाट सन्यास लिएपछि उनले प्रशिक्षकको रूपमा आफ्नो दोस्रो इनिङ सुरु गरे । उनले सुरुमा जापानको युथ टोली र आफ्नै पुरानो क्लब सानफ्रेसे हिरोसिमाको सहायक प्रशिक्षक भएर काम गरे। सन् २०१२ मा सानफ्रेसे हिरोसिमाको मुख्य प्रशिक्षक बनेपछि उनको चर्चा एकाएक चुलियो। उनले आफ्नो रणनीति र कुशल नेतृत्वको बलमा क्लबलाई चार वर्षभित्र तीन पटक (२०१२, २०१३ र २०१५) जापानी लिग (जे–लिग) को च्याम्पियन बनाए । घरेलु फुटबलमा देखाएको यही जादुमयी प्रदर्शनका कारण उनलाई सन् २०१७ मा जापानको ओलम्पिक (यु–२३) टोलीको जिम्मेवारी सुम्पियो । त्यसको लगत्तै सन् २०१८ को रसिया विश्वकपमा उनी सिनियर टोलीको सहायक प्रशिक्षक रहे । रसिया विश्वकप सकिएलगत्तै सन् २०१८ को अगस्टमा उनलाई आधिकारिक रूपमा जापानको सिनियर राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो ।
फिफा विश्वकप २०२६ : इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता
चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ । नेपालको समयअनुसार जेठ २९ गते मध्यराति १२ बजेर ४५ मिनेटदेखि शुभारम्भ हुने विश्वकप साउन ४ गते मध्यराति १२ बजेर ४५ मिनेट जाँदा सुरु हुने फाइनल खेलपछि टुङ्गिने खेलतालिका रहेको छ । विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्रीअनुरुप सञ्चालन गरिने विश्वकप फुटबलले समग्र रूपमा विश्वमा आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रको विकासका लागि समेत यथोचित योगदान गर्ने आशा गरिएको छ । विगतभन्दा फरक यसपालि पहिलोपटक तीनवटा देश मिलेर संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन् । अमेरिका, क्यानडा र मेक्सिकोले सञ्चालन गर्ने यस प्रतियोगिताको विशेषता भनेको फुटबलप्रेमी दर्शकहरूले धेरै खेल हेर्ने अवसर प्राप्त गर्नु हो । प्रतियोगिताको उद्घाटन खेल जेठ २९ गते मेक्सिको सिटीमा ‘ए’ समूहमा रहेको विश्वकपको सहआयोजक मेक्सिको तथा दक्षिण अफ्रिकाबीच हुँदैछ । जेठ ३० गते अर्को सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनियासँग टोरोन्टोमा तथा सहआयोजक अमेरिकाले पाराग्वेसँग क्यालिफोर्नियामा पहिलो खेल खेल्ने कार्यक्रम छ । यसरी विभिन्न तीन देशमा आयोजना हुने बेग्लाबेग्लै उद्घाटन खेलले विश्वमा रहेका सम्पूर्ण मुलुकहरूलाई नै फुटबलमय बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ । विश्वकपका सहभागी मुलुकहरूको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि गरिनु सन् २०२६ को अर्को उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । विगतका विश्वकपहरूमा ३२ टोलीको मात्र सहभागिता हुने गर्दथ्यो भने अब ४८ मुलुकका टोलीले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने मौका पाएपछि थप थुप्रै टिम तथा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन् । विश्वकपको इतिहासमा खेल सङ्ख्या पनि अत्यधिक मात्रामा वृद्धि गरिएबाट प्रतियोगिताको रौनक अझ बढन पुगेको छ । प्रतियोगिताको सहभागी मुलुकभित्र व्यापक चासो र चिन्ता हुने गरेको विश्वकपको लहरले सम्पूर्ण विश्वलाई प्रभावित गर्नेछ । यो प्रतियोगिता विश्वकै लामो प्रतियोगिताका रूपमा स्थापित हुँदैछ । यसअघिका विश्वकपमा ६४ वटा खेल हुने गरेकामा अब खेल सङ्ख्या बढेर १०४ खेल हुने भएपछि यसको सकारात्मक असर ती खेल सञ्चालन हुने तीनवटै मुलुकका विभिन्न १६ वटा सहरमा पर्ने देखिएको छ । विभिन्न देशबाट खेल हेर्न ती शहरमा जाने पर्यटकको घुइँचोले समग्र आर्थिक अभिवृद्धिमा प्रभाव पर्न जानेछ । सन् २०२२ को कतारमा भएको विश्वकपमा भन्दा यसपटक ४० वटा बढी खेल हुने भएपछि फुटबलप्रेमीहरूलाई धेरै खेल हेर्न पाउने अवसर जुटेको छ । यसअघि समूहगत खेलका लागि सहभागी टिमहरूलाई आठ समूहमा विभाजन गर्ने गरिएको थियो भने यसपटक समूहको सङ्ख्या बढ्न गई ‘ए’ देखि ‘एल’ समूह गरी १२ वटा समूहमा विभाजन गरिएको छ । यसअनुसार प्रत्येक समूहमा चारवटा टोली रहेका छन् । प्रत्येक टोलीले खेल्ने लिग र नकआउट चरणका सम्पूर्ण खेलहरूले व्यापक रूपमा फुटबलको लहर ल्याउनेछ । सम्भावित प्रतिस्पर्धा प्रतियोगिताका सहभागी टिमहरूमध्ये गत विश्वकप विजेता अर्जेन्टिना यसपालि पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । विपक्षीलाई सन्तुलित रूपमा दबाब दिन यो टिम सफल मानिएको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको कुशल नेतृत्व यो टिमको प्रमुख शक्ति रहेको छ । सन् २०१० मा एकपटकमात्र विश्वकप जितेको स्पेनका खेलाडी पनि राम्रो फर्ममा रहेको विश्लेषकहरूले जनाएका छन् । फिफाको विश्व बरियतामा विभिन्न पटक शीर्षस्थानमा रहन सफल स्पेन वर्तमान युरोपेली च्याम्पियन पनि हो । स्पेनको टिम शक्तिशाली राष्ट्रिय टोलीमध्ये एक मानिएको छ । गत विश्वकपको उपविजेता फ्रान्स पनि विपक्षी टिममाथि आक्रमण गर्न पारङ्गत देखिएको छ । प्रतिभाशाली खेलाडीहरूले भरिएको फ्रान्सेली टिम तेस्रोपटक विश्वकप जित्ने लक्ष्य लिएर मैदानमा उत्रिँदैछ । विपक्षीतर्फ आक्रमण गर्ने सन्दर्भमा इङ्गल्यान्डको टिम पनि कम देखिएको छैन । यो टिम अनुभवी खेलाडीहरूले भरिएका छन् । इङ्गल्यान्डले सन् १९६६ मा एकपटकमात्र आफ्नै गृह मैदानमा विश्वकप जितेको थियो । यस्तै अनुभवी कप्तान क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको टिम यो विश्वकपमा सन्तुलित टिममध्ये एक मानिएको छ । यो टिममा मिडफिल्ड होस् वा फूलब्याकजस्तो महत्त्वपूर्ण स्थानमा यथोचित व्यवस्थापन भएको देखिएको छ । विश्वकपमा बलियो टिमका रूपमा हेरिने गरिएको पोर्चुगलले एकपटक पनि विश्वकप जित्न सकेको छैन । सन् १९६६ मा पोर्चुगल तृतीयसम्म भएको थियो । त्यसैगरी, ब्राजिल पनि विश्वकपका सहभागी टिमहरूमा शक्तिशाली टिमहरूमध्ये पर्दछ । विश्वमा सबैभन्दा धेरैचोटी पाँचपटक विश्वकप जित्न सफल ब्राजिल अहिले छैटौँपटक उपाधि जित्ने दाउमा रहेको छ । अनुभवी खेलाडीहरूको कमी नदेखिएको ब्राजिलले विश्वकप फुटबल प्रतियोगिता आयोजना भएको प्रारम्भिक दिनदेखि नै प्रतिस्पर्धा गर्दै आइरहेको छ । चारपटक विश्वकप जितिसकेको जर्मनीजस्ता टिम पनि विश्वकपका बलिया दाबेदार मान्न सकिन्छ । तर सन् २०१८ तथा २०२२ मा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक त्यस्तो पीडा फेरि नपरोस् भन्नेतर्फ सचेत रहेको छ । विश्वकपमा दुईपटक तृतीय भइसकेको क्रोयसिया तथा सन् २०२२ को विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा क्रोयसियासँग एक गोलअन्तरले मात्र पराजित भएपछि विश्वव्यापी रूपमा चर्चित भएको मोरक्कोजस्ता टिमबाट पनि यसपटक अझ उत्कृष्ट नतिजाका लागि प्रयत्न हुने नै छ । यस्तै नेदरल्यान्डस्, बेल्जियमजस्ता टिमलाई पनि कम आँक्न सकिँदैन । धेरै पटक जित्नेहरू फिफा विश्वकप फुटबल हालसम्म सबैभन्दा धेरैपटक ब्राजिलले जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र सन् २००२ मा गरी पाँचपटक विश्वकप हासिल गरेको थियो । यस्तै जर्मनीले चारपटक उपाधि हात पारिसकेको छ । जर्मनी सन् १९५४, १९७४, १९९० र २०१४ मा विजेता बन्न सफल भएको थियो । उपाधि चारपटक नै जितेको इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा ट्रफी कब्जामा लिएको थियो । तीनपटक जितिसकेको अर्जेन्टिनाले सन् १९७८, १९८६ तथा अघिल्लो विश्वकप २०२२ मा विजेता बनेको थियो । फ्रान्स र उरुग्वेले भने दुईदुईपटक विश्वकप जितेका छन् । फ्रान्सले सन् १९९८ र २०१८ मा तथा उरुग्वेले सन् १९३० तथा १९५० मा उपाधि हात पारेका थिए । अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको पछिल्लो विश्व वरियताक्रममा अर्जेन्टिना सबैभन्दा अग्रपङ्क्तिमा रहेको छ । दोस्रो स्थानमा स्पेन तथा तेस्रो स्थानमा फ्रान्स रहेका छन् । यस्तै इङ्ग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौँ स्थानमा छन् । अत्यधिक गोल फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गरेको इतिहास जर्मनीका मिरोस्लाभ क्लोसले कायम गरेका छन् । उनले सन् २००२, २००६, २०१० र २०१४ गरी चारवटा विश्वकपमा कुल १६ गोल गरेर कीर्तिमान राखेका थिए । विश्वकपमा धेरै गोल गर्नेहरूको सूचीमा दोस्रो स्थानमा रहेका ब्राजिलका रोनाल्डोले कुल १५ गोल गरेका थिए । तत्कालीन पश्चिम जर्मनीका गेर्ड मुलरले कुल १४ गोल, फ्रान्सका जष्ट फोन्टाइनले कुल १३ गोल गरेका थिए । हालसम्म पाँचवटा विश्वकप खेलिसकेका अर्जेन्टिनाका लिओनेल मेस्सीले कुल १३ गोल गरिसकेका छन् । एउटै प्रतियोगितामा सबैभन्दा धेरै १३ गोल फ्रान्सका जष्ट फोन्टाइनले सन् १९५८ को विश्वकपमा गरेका थिए । मेस्सीको छैटौँ विश्वकप अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले छैटौँपटक फिफा विश्वकपमा भाग लिएर इतिहास रच्दै छन् । सम्भवतः यसपालिको विश्वकप उनको लागि अन्तिम विश्वकप हुनेछ । मेस्सीले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा १८ वर्षकै उमेरमा डेब्यु गर्ने अवसर प्राप्त गरेका थिए । उनले त्यतिखेर सर्बियाविरुद्ध पहिलो गोल गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिकामा दोस्रोपटक विश्वकप खेलेका मेस्सीले सन् २०१४ मा ब्राजिलमा विश्वकपको फाइनलमा आफ्नो टिमलाई प्रवेश गराउने अवसर पाए पनि जर्मनीसँगको नमीठो हार व्यहोरेका थिए । आफ्नो टिम फाइनलमा पराजित भए पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा मेस्सीले गोल्डेन बुट जित्नु सामान्य सफलता थिएन । सन् २०१८ मा समेत विश्वकप खेलेका मेस्सीले सन् २०२२ मा कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका थिए । मेस्सीले प्रतियोगितामा सात गोल गर्नुका साथै दोस्रोपटक गोल्डेन बल जितेका थिए । करोडौँ पुरस्कार फिफा विश्वकपको अर्को महत्त्वपूर्ण विशेषता भनेको आकर्षक पुरस्कार पनि मानिएको छ । यसमा विजेता बन्ने टिमले करोडौँ रकम पुरस्कार पाउनेछन् । फिफाले विश्वकपका विजेता टिमलाई पुरस्कारबापत पाँच करोड डलर रकम प्रदान गर्नेछ । उपविजेताले तीन करोड तीन लाख डलर पाउनेछ । तेस्रो स्थान प्राप्त गर्ने टिमले दुई करोड ९० लाख डलर तथा चौथो हुने टिमले दुई करोड ७० लाख डलर पुरस्कार प्राप्त गर्नेछ । यसबाहेक खेलाडीहरूलाई सम्बन्धित मुलुकका सरकार तथा विभिन्न संस्थाका तर्फबाट पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रचलन रहेको छ । फिफा विश्वकप विजेताले प्राप्त गर्ने ट्रफीको मूल्य पनि सामान्य छैन । फिफा विश्वकप ट्रफीको लागत करिब दुई लाख ४२ हजार ७०० डलर भएको अनुमान गरिएको छ । ट्रफीको तौल छ किलोभन्दा बढी रहेको छ । यसको निर्माण १८ क्यारेटको सुनबाट गरिएको हो । उक्त सुनको ट्रफी स्थायी रूपमा फिफाको स्वामित्वमा रहने नियम छ । यस्तो महत्तवपूर्ण ट्रफीलाई राष्ट्र प्रमुखहरू, फिफा अध्यक्ष र पूर्व विश्वकप च्याम्पियनहरूले मात्र छुन पाउने नियम रहेको छ । नयाँ परिवर्तन विश्वकप फुटबलका सिलसिलामा केही परिवर्तनहरू देख्न पाइने भएको छ । खेल सञ्चालनका लागि खटिने रेफ्रीहरूलाई सघाउन भिडियो सहायक रेफ्रीको व्यवस्था गरिएको छ । खेल सञ्चालनका क्रममा रेफ्रीले कुनै खेलाडीले समय खेर फालिरहेको देखेमा थ्रो–इन तथा गोलकिकको लागि पाँच सेकेन्ड काउन्टडाउन गर्न सक्ने नियम बनाइएको छ । त्यो समयभित्र खेल पुनः सुरु गर्न असफल भएमा विपक्षी टोलीलाई अवसर दिइने नियम बनाइएको छ । यसअनुसार खेलाडीले ढिलो गोलकिक प्रहार गरे विपक्षी टिमलाई कर्नर किकको अवसर प्रदान गरिने छ । खेल सञ्चालनका क्रममा रेफ्रीका निर्णयहरूको समीक्षा भिडियो सहायक रेफ्रीले गर्न सक्नेछन् । यसरी रेफ्रीले खेल सञ्चालन हुँदा देखाएका पहेँलो तथा रातो कार्डबारे पनि समीक्षा गर्न सकिने भएको छ । खेलका बेला कुनै पनि खेलाडीलाई मुख ढाक्न प्रतिबन्ध लगाइएको छ । खेलको समयमा कुनै खेलाडीले आफ्नो मुख हातले छोपेमा तुरुन्तै रातो कार्डको सामना गर्नुपर्ने भएको छ । कुनै खेलाडी परिवर्तन गरिँदा १० सेकेन्डभित्र मैदान छोडिसक्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै खेलको बेला घाइते भएका खेलाडीलाई मैदान बाहिर उपचार गरिसकेपछि कम्तीमा ६० सेकेन्डसम्म मैदानबाट बाहिरै रहनुपर्ने नियम बनाईएको छ । गर्मीको चुनौती विश्वकप गर्मीयाममा सञ्चालन गरिने भएकाले खेल सञ्चालनका बेला खेलाडीहरूको सुविधाका लागि प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेटको विश्राम दिइने भएको छ । प्रतियोगिता सञ्चालन गरिने सहरहरूमा हुने गरेको अत्यधिक गर्मी चिन्ताको विषय भएकाले खेल सुरु भएको २२औँ तथा ६७औँ मिनेटमा विश्राम दिइने व्यवस्था मिलाइएको छ । यस्तो विश्राम सबै खेलमा दिइने भएको छ । रङ्गशालाको तापक्रम जस्तोसुकै भए तापनि प्रत्येक खेलमा विश्राम दिइने नियम बनाइएको हो । यस अवधिमा खेलाडीलाई पानी पिउन, आराम गर्न तथा प्रशिक्षकलाई थप रणनीति बनाउन अनुमति दिइने छ । यसअघि तापक्रम ३१ डिग्री सेल्सियस नाघेको अवस्थामा मात्र विश्राम दिइने गरिन्थ्यो । नेपालको सहभागिता नेपालले विश्वकप फुटबलमा सहभागिताका लागि लामो समयदेखि प्रयास गर्दै आएको भए तापनि हालसम्म सफलता मिल्न सकेको छैन । नेपालले हालसम्म नौवटा विश्वकप छनोट प्रतिस्पर्धामा भाग लिए तापनि नतिजा सन्तोषजनक हुनसकेको छैन । नेपालमा फुटबलको संस्थागत विकास भएको लामो समय भइसकेको भए तापनि नेपालका लागि विश्वकप फुटबल ज्यादै कठिन प्रतियोगिताका रूपमा रहेको छ । नेपालमा २००७ साल अगाडि नै तत्कालीन राणा शासनकालमा फुटबल सङ्घको स्थापना भइसकेको थियो । नेपालले अन्तराष्ट्रिय फुटबल महासङ्घ फिफाको सदस्यता लिएको पनि ५० वर्ष नाघिसकेको छ । नेपालले विगत केही वर्षदेखि विश्वकपका लागि छनोट चरणमा खेल्दै आए तापनि त्यसभन्दा अगाडि भने बढ्न सकेको छैन । नेपाल विश्वकप २०२६ को छनोटमा प्रारम्भिक चरणमै रोकिएको थियो । नेपालले फिफाको विश्व वरियताक्रममा लगातार सुधार नगरेसम्म नेपालको फुटबल टिमले विश्वकपका प्रारम्भिक चरणभन्दा अघि बढन कठिनाइ देखिएको छ । विश्वकपमा पुग्न पहिले एसियाली कपमा स्थापित हुनुपर्ने जरुरी देखिएको छ । एसियाकै उज्वेकिस्तान, जोर्डन तथा बहराइनजस्ता मुलुकले एसियाली कपको अनुभवपछि विश्वकपमा सहभागी हुने अवसर पाएका हुन् । नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबललाई विश्वकप लक्षित दीर्घकालीन योजनालाई प्राथमिकतापूर्वक अघि बढाउनुपर्ने आवश्यकता टड्कारो महसुस गरिएको छ । नेपालले पहिलोपटक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् १९८५ को मार्च २ तारिखका दिन काठमाडौँको दशरथ रङ्गशालामा नेपालले गरेको पहिलो प्रतिस्पर्धामा दक्षिण कोरियासँग शून्यका विरुद्ध दुई गोलले पराजय भोगेको थियो । सन् १९९० मा इटलीमा भएको विश्वकपका लागि नेपालले दक्षिण कोरिया, मलेसिया र सिङ्गापुरसँग खेलेका छवटा खेलमा नेपालले कुल २८ गोल खाएर सबै खेलमा पराजित भएको थियो । नेपाल सन् १९९४ को विश्वकपको छनोटबाट बाहिरिएको थियो । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको लागि ओमानमा भएको छनोट खेलमा नेपालले पहिलोपटक अङ्क प्राप्त गरेको थियो । नेपाल तथा मकाउबीच भएको खेलमा दुवै पक्षबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएकाले नेपालले पहिलो अङ्क पाएको थियो । नेपालको तर्फबाट विश्वकप छनोटमा पहिलो गोल प्रहार गर्ने कीर्तिमान हरि खड्काले राखेका हुन् । सो खेल प्रारम्भ भएको २२औँ मिनेटमा हरि खड्काले उक्त ऐतिहासिक गोल गरेका थिए । सोही छनोटका सिलसिलामा जापानमा मकाउसँगको खेल पनि एक–एक गोल भई बराबरीमा सकिएको थियो । दोस्रोपटक मुलुकका लागि गोल हान्ने खेलाडी दीपक अमात्य थिए । सन् २००२ मा दक्षिण कोरिया तथा जापानमा संयुक्त रूपमा आयोजित विश्वकपको छनोट चरणमा नेपालले पहिलोपटक मकाउलाई दुईवटा खेलमा हराउन सफल भएको थियो । नेपालले मकाउलाई पहिलो खेलमा एक गोलका विरुद्ध चार गोलले हराएको थियो । उक्त खेलमा निराजन रायमाझीले दुई तथा हरि खड्का तथा वसन्त थापाले एक–एक गोल गरेका थिए । दोस्रो खेलमा पनि नेपालले मकाउलाई एक गोलका विरुद्ध छ गोलले हराएर विजय हासिल गरेको थियो । उक्त खेलमा नेपालीका लागि निराजन रायमाझीले ह्याट्रिक गरेका थिए भने हरि खड्का, बालगोपाल महर्जन तथा दीपक लामाले एक–एक गोल गरेका थिए । नेपालले इराकविरुद्ध खेलेको पहिलो खेलमा निराजन रायमाझीले एक गोल गरेका थिए भने अर्को खेलमा निराजन रायमाझी र हरि खड्काले एक–एक गोल गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोट चरणमा नेपालले टिमोर लिष्टेलाई अनिल गुरुङ र जुमानु राईको गोलको मद्दतले पराजित गरेको थियो । दोस्रो खेलमा टिमोर लिष्टेलाई शून्यका विरुद्ध पाँच गोलले हराउँदै छनोट चरणको दोस्रो चरणमा प्रवेश गर्दा मुलुकका लागि गोल प्रहार गर्ने खेलाडीहरूमा अनिल गुरुङ, जुमानु राई, भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ थिए । दोस्रो चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग पहिलो खेलमा शून्यका विरुद्ध नौ गोलको भारी अन्तरले हार्न पुगेको थियो भने दोस्रो खेलमा दुवै टिमबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्ग्याउन नेपाल सफल भएको थियो । त्यतिखेर महत्तवपूर्ण गोल गर्न सफल खेलाडी भरत खवास थिए । सन् २०२२ मा कतारमा भएको विश्वकपको छनोट चरणको दोस्रो चरणमा सोझै खेल्ने अवसर पाएको नेपालले चाइनिज ताइपेइलाई दुई खेलमा पराजित गरेको थियो । पहिलो खेलमा अन्जन विष्टले शून्यका विरुद्ध दुई गोल प्रहार गरेका थिए भने दोस्रो खेलमा अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलको मद्दतले नेपाल शून्यका विरुद्ध दुई गोलले विजयी भएको थियो । सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक चरणमा नेपाल र लाओस दुवैतर्फबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएको थियो । नेपालका लागि उक्त गोल अन्जन विष्टले गरेका थिए । दोस्रो खेलमा मनिष डाँगीको गोलद्वारा नेपाल लाओसलाई शून्यका विरुद्ध एक गोलले हराउन सफल भएको थियो । यसरी नेपाल दोस्रो चरणमा प्रवेश गरेपछि यमनसँग दुई–दुई गोल गरेर बराबर गर्न सफल भएको थियो । ती गोल सञ्जीव विष्ट र जिलेस्पी कार्कीले गरेका थिए । तर यमन र बहराईनसँग भने नेपाल भारी गोलको अन्तरले पराजित भएको थियो । नेपालले संयुक्त अरब इमिरेटस युएई, बहराइन र यमन कुनै टिमलाई जित्न नसकी प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल युएईसँग दुवै गोलमा शून्यका विरुद्ध चार गोलको अन्तरले हारेको थियो । नेपाल बहराइनसंँग पनि दुवै खेलमा शून्यका विरुद्ध पाँच गोलले हार्न पुगेको थियो । त्यतिखेर नेपालले आफ्नो गृहमैदान काठमाडौंँको दशरथ रङ्गशालामा खेल्न पाउने एउटा खेलमैदानको स्थिति राम्रो नभएकाले बहराइनमै दुवै खेल खेल्न बाध्य भएको थियो । नेपाललाई यमनले पनि दुवै खेलमा हराएको थियो । नेपाल पहिलो खेलमा शून्यका विरुद्ध तीन गोलले तथा दोस्रो खेलमा शून्यका विरुद्ध चार गोलको अन्तरले पराजय हुनुपरेको थियो । अन्त्यमा, विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबल प्रतियोगिताको अवधि हालसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म सञ्चालन हुँदैछ । यो प्रतियोगिता समग्रमा विगतका प्रतियोगिताहरूभन्दा थप रोचक तथा रोमाञ्चक हुनसक्ने सम्भावना देखिएको छ । फुटबलमा आधिपत्य जमाइरहेका टिमहरूको अग्रता यसपटक पनि जारी रहने आकलन गर्न सकिन्छ तर कम चर्चित टिमलाई नकार्न सकिँदैन । प्रतियोगितामा सहभागी मुलुक धेरै भएकाले अप्रत्याशित नतिजा पनि आउनसक्ने सम्भावना पनि छँदैछ तर समूह चरणमै प्रत्येक टिमले खेल्न पाउने तीन–तीन खेलमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । विश्वकपका खेलहरू सुरु भइसकेपछि टिमहरूले प्रारम्भिक खेलहरूमा देखाउने खेलको आधारमा आगामी नतिजाको आकलन गर्न सकिनेछ । समग्रमा फिफा विश्वकप फुटबल सन् २०२६ ले विश्वभर छरिएका नागरिकहरूलाई फुटबलप्रति आकर्षित गर्दै विश्वलाई एक गाउँको रूपमा परिणत गर्न महत्त्वपूर्ण योगदान गर्नेछ । विश्वकपले फरक भूगोल, फरक भाषा तथा संस्कृति भएका मानिसहरूलाई खेलमार्फत जोड्दैछ । ठूलो होस् वा सानो भूभाग भएको राष्ट्र जोसुकै भए पनि एउटै मैदानमा स्वच्छ खेलको भावना राख्दै खेलिने यस प्रतियोगिताको माध्यमबाट शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह हुनजाने आशा गरिएको छ । रासस
डीजीओ एपमा फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमै
काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि अफर सार्वजनिक गरेको छ । डीजीओले अब मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् । कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी क्वालिटीमा खेलहरूको मजा लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ । डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले दर्शकलाई झन्झटमुक्त अनुभव दिने कम्पनीको दाबी छ । केही क्लिकमै पास सक्रिय गर्न सकिने र सुरक्षित रूपमा आधिकारिक प्लेटफर्मबाटै सेवा लिन सकिने जनाइएको छ । डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । 'दर्शकहरूले कुनै शंकास्पद लिंक वा तेस्रो पक्षको भर नपरी आधिकारिक माध्यमबाट सुरक्षित रूपमा विश्वकप हेर्न सकून् भन्ने हाम्रो चाहना हो,' उनले भने । यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ । यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक डीजीओ एप प्रयोग गर्न सुझाइएको छ । डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
ह्युन्डाई नेपालको ‘फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्युन्डाई फिफा विश्वकप * २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ । ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा ल्याइएको यो अभियान अप्रिल २०२६ सम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शो–रूममा गई कुनै पनि ह्युन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले विश्वकप २०२६ प्रत्यक्ष रूपमा हेर्ने पाउने अवसर जित्ने मौका पाउनेछन् । कम्पनीका अनुसार अभियानले ग्राहकहरूलाई टेस्ट ड्राइभमार्फत ह्युन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर प्रदान गर्नेछ । साथै अभियान अवधिमा ह्युन्डाई गाडी बुक गर्ने ग्राहकहरूले अन्य लाभहरू पनि प्राप्त गर्नेछन् ।
फिफा विश्वकपमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
काठमाडौं । कतारमा सम्पन्न भएको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिना विजेता बनेको हो । यससँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेको थियो । लुसिल स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गर्न सफल भए ।
फिफा विश्वकप फुटबल : सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।
फिफा विश्वकप फुटबल : ब्राजिलले सर्बियालाइ हरायो
काठमाडौं । पाँचपटकको विश्वकप च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ । कतारको लुसाइल स्टेडियममा आज बिहान भएको खेलमा सर्बियालाई २–० गोलअन्तरले हराउँदै ब्राजिलले विजयी सुरुआत गरेको हो । ब्राजिलको जितमा दुवै गोल रिचार्लिसनले गरे । उनले खेलको ६२औँ मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३औँ मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै तीन अङ्क जोडेको छ । कतार विश्वकपमा आज चार खेल हुँदै कतार विश्वकपमा आज चार खेल हुँदैछ । समूह चरणअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । कतार र सेनेगलबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । त्यस्तै चौथो खेलमा समूह ‘बी’ मा रहेको इङ्ग्ल्याण्डले अमेरिकाको सामना गर्नेछ । उक्त खेल राति १२ः४५ बजे सुरु हुनेछ ।
फिफा विश्वकपको पहिलो खेल आज राति पौने दश बजेबाट शुरु हुँदै
एजेन्सी । २२ औं फिफा विश्वकप आजबाट शुरु हुँदैछ । विश्वकपमा विश्वभरबाट ३२ टोली सहभागी हुँदैछन् । अहिलेसम्म खेलिएका सबै विश्वकप जुन र जुलाई महिनामा आयोजना गरिएको थियो तर कतारको हावापानी र गर्मीलाई ध्यानमा राख्दै यसपटकको विश्वकप भने नोभेम्बर र डिसेम्बरमा राखिएको छ । पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा खेलिएको थियो र आयोजक टोली उरुग्वेले जितेको थियो। विश्वयुद्धका कारण सन् १९४२ र १९४६ मा विश्वकप हुन सकेन तर त्यसपछि हरेक चार वर्षको अन्तरालमा फिफा विश्वकप निरन्तर रुपमा सञ्चालन हुँदै आएको छ । आज राती ९ः४५ बजे उद्घाटन विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । त्यस्तै नेपाली समय अनुसार साँझ ७ः४५ बजे उद्घाटन समारोह दोहाबाट ४० किलोमिटर टाढा अल–बैत रंगशालामा हुनेछ । विश्वकपमा पदर्शन दक्षिण कोरियाली ब्यान्ड बीटीएस उद्घाटन समारोहको मुख्य आकर्षण हो। बीटीएसका सदस्य जंगकुक पहिलो पटक विश्वकपको उद्घाटन समारोहमा प्रदर्शन गर्नेछन्। यसबाहेक बलिउड अभिनेत्री नोरा फतेहीले पनि प्रस्तुति दिनेछिन् । सोसँगै अमेरिकी ब्याण्ड ब्ल्याक आइड पिस, कोलम्बियन गायक जे बाल्भिन, नाइजेरियन गायक प्याट्रिक नेमेका ओकोरी र अमेरिकी र्यापर लिल बेबीले प्रस्तुति दिनेछन् ।
हुन्डाई कारको टेस्ट ड्राइभ गर्ने ४ जना फिफा विश्वकप हेर्न कतार जान पाउने
काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गत नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप(२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् । साउन ३ गते बाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिंग लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिष्टर गरी सहभागी हुन सक्नेछन् । यो अफरको अन्त्यमा लक्की ड्र मार्फत दुईजना भाग्यशाली विजेताहरूको छनोट गरिने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । यसरी जम्माजम्मी चारजना हुन्डाईको स्पाेन्सरसीपमा कतार जान पाउनेछन्। हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राम मार्फत ल्याईएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले संयोजन गरेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरीका १७ डिलर र १९ सर्भिस सेन्टर मार्फत आफ्नो सेवा दिइरहेको छ ।
फिफा विश्वकपकाे दोस्रो चरणमा २३ खेलाडी छनोट
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत समूह चरणको तेस्रो खेलका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । यही असोज २३ गते हुने अष्ट्रेलियाविरुद्धको खेलको लागि अखिल नेपाल फुटबल सङ्घले २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने खेलाडीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन् । त्यस्तै, डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । मिडफिल्डरमा रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले छनोटको पहिलो खेलमा कुवेतसँग ७–० को लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइलाई उसकै मैदानमा २–० गोललेले पराजित गरेको थियो । रासस
फिफा विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने आसन्न फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडीको घोषणा गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिदा कुवेतमा नै गएर खेल्ने पक्का भएको छ । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ । छनोट हुने प्रारम्भिक टोलीको गोलरक्षकमा किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु, विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देभेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी र बिमल पाण्डे छन् । त्यसैगरी, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ छन् । स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् । रासस