काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
सोमबारबाट संघीय संसद भवनमा शुरु भएकाले पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् ।
बैठकपछि मंगलबार सञ्चारकर्मीहरसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको जानकारी दिए ।
उनले सानो पुँजीबाट पनि कसरी जनतामुखी कार्यक्रम र योजना ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । उनले बजेटका सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरुले आफ्नो राय दिएको र पछि परेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरुले माग राखेको बताए ।
‘महिला, आदिवासी, जनजाती दलित, पिछडीएको क्षेत्र, पिछडीएको वर्ग, युवा लगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदहरुले सुझाव दिएका छन्, बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्,’ उनले भने ।
त्यस्तै नेपाली काँग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभुत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिनेगरी बजेट निर्माण गर्न सुझाव दिएको बताए । उनले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताए ।
सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भएपनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताए । ‘मुलुकमै रोजागारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुनुे ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको छ,’ उनले भने ।