काठमाडौं । धनगढी उप-महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाहरू सात दिनभित्र आफैं हटाउन निर्देशन दिएको छ । उप-महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो ।
सूचना अनुसार धनगढी उप-महानगरपालिका वडा नं. १८ डिपो बजारमा पर्ने साविक जिल्ला कैलाली, फुलवारी वडा नं. ५, सिट नं. ०२७-१०५७ को कित्ता नम्बर १०१, १०२, १०३ र ५५३ को जग्गामा अवैध रूपमा भौतिक संरचनाहरू निर्माण गरिएको पाइएको छ ।
क्रमशः २०९.२५, २०७.७५, १३५.४५ र ३९१.२५ वर्गमिटर क्षेत्रफल रहेका यी जग्गाहरू नेपाल सरकारको सरकारी तथा सार्वजनिक (ग्रीनबेल्ट, गाउँ विकास समितिको कार्यालय र चन्द्रोदय निम्न माध्यमिक विद्यालय) को स्वामित्वमा रहेका छन् ।
उप-महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्वारा जारी सूचनामा भनिएको छ, ‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ।’
तोकिएको समयसीमा भित्र अवैध संरचनाहरू नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित ऐन कानून बमोजिम उप-महानगरपालिका आफैंले ती संरचनाहरू भत्काउने र कानूनी कारबाही प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ ।
उप-महानगरपालिकाले यस कार्यको प्रभावकारी कार्यान्वयन र आवश्यक समन्वयका लागि नगर प्रमुखको सचिवालय, नगर उप-प्रमुखको सचिवालय, जिल्ला प्रशासन कार्यालय कैलाली (शान्ति सुरक्षाका लागि), १८ नम्बर वडा कार्यालय र उप-महानगरपालिकीय प्रहरी बललाई समेत बोधार्थ पठाइसकेको छ ।
