काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी शक्तिबीच हुने सम्भावित एकता दिगो हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाली कांग्रेस विभाजित भइसकेको टिप्पणी गर्दै वामपन्थी शक्तिले एकता गरेपछि फेरि विभाजन हुन नहुने बताएका छन् ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले एकता गर्नभन्दा त्यसलाई जोगाएर लैजान अझ बढी जिम्मेवारी आवश्यक पर्ने बताए ।
‘कांग्रेस त फुटिसक्यो । एकता गर्दा ठूलो मिहिनेत गर्नुपर्छ । तर, विभाजित हुन सजिलै हुन्छ । त्यसैले हामी मिल्यौं भने फेरि फुट्नु हुँदैन,’ उनले भने ।
ओलीले नेकपा एमाले अहिले पनि एकताबद्ध रहेको दाबी गर्दै पछिल्लो निर्वाचनको परिणामलाई पराजय नभई अस्थायी धक्का मात्र भएको बताए ।
‘नेकपा एमाले एकताबद्ध छ । अहिले चुनावमा धक्का खाएका छौं । यो धक्का हो, तर हामी समाप्त भएका छैनौं,’ उनले भने ।
उनले एमाले पुनः सशक्त रूपमा उदाउने विश्वास व्यक्त गर्दै राजनीतिक प्रतिस्पर्धामा आफ्नो पार्टीले पुनः सफलता हासिल गर्ने दाबी गरे ।
‘हामी लडेका छौं, तर मरेका छैनौं । फेरि उठ्छौं हामी र फेरि उठेर प्रक्रियावादीहरूसँग लड्छौं र पराजित गर्छौं,’ उनले भने ।
ओलीले वामपन्थी आन्दोलनलाई बलियो बनाउन संगठनात्मक एकता, वैचारिक स्पष्टता र दीर्घकालीन सहकार्य आवश्यक रहेको उल्लेख गर्दै एकतापछि विभाजन दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।