मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाट जस्ता गतिविधिलाई वैधानिकता दिने काम भयो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई वैधानिकता दिने काम भएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बर्बाद भएको र त्यसै कारण खेलकुद लगायतका कुनै पनि क्षेत्र गतिका साथ अघि बढन नसकेको तर्क समेत गरे ।

अध्यक्ष ओलीले आफूले अनेक क्षेत्रबाट मुलुकलाई अघि बढाउने प्रयत्न गरेको भए पनि वर्तमान सरकारले देशलाई बर्बादीको बाटोमा अघि बढाएको आरोप लगाए । उनले आम जनताले न्याय पाउने गरी आफूहरूले देशलाई फेरि अघि बढाउने दाबी समेत गरे । 

अध्यक्ष ओलीले भने, ‘खेलाडीहरूमा देशभक्ति चाहिन्छ । देशको प्रतिष्ठाका लागि खेलाडीहरूले कसरी ज्यान फालेर खेलेका हुन्छन् । हामी हरेकमा देशभक्ति चाहिन्छ । हामीले त्यसलाई बुझ्नुपर्दछ । देश विकसित भएन भने मलाई खेलसँग मतलब छ अरूथोक भनेर देश नै बर्बाद छ भने खेलमात्रै कसरी अघि बढ्छ र । नेपालको हालत त्यही भएको त हो ।’

अध्यक्ष ओलीले हरेक नागरिकमा देशभक्तिको भावना आवश्यक रहेको पनि बताए ।

Share News