काठमाडौं । स्वतन्त्र आमा नेपालले बलात्कारपछि हत्या भएकी गरिमा चौधरीलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन गरेको छ ।
संस्थाले शनिबार दोषीलाई कडा कारबाही र पीडितलाई न्यायको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध कडा कानुन बनाउन सरकारसँग माग गरेका छन् । उनीहरूले बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने मागसमेत गरेका छन् ।
प्रदर्शनकारीले ‘बलात्कारी र हत्यारालाई कडा कानुनी कारबाही गर’, ‘पीडितलाई न्याय देऊ’, ‘बलात्कारीलाई फाँसी देऊ’, ‘चाहिँदैन ठूला र चिल्ला सडक, छोरीलाई सुरक्षित हिँड्न सक्ने गल्ली बनाइदेऊ सरकार’ र ‘न्याय पाउन के हामीले सरकारको दैलोबाट लास निस्किने दिन कुर्नुपर्ने हो ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको थियो । साउन ३१ गते घरबाट हराएकी उनी भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् ।
प्रहरीले घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।