साढे ४ करोडको लागतमा गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो
गुल्मी । गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा चार करोड ५० लाखको लागतमा १६ कोठाको दुईतले भवन निर्माण थालिएको छ । आगामी २०८४ वैशाख १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए । आफ्नै कार्यालय भवन नहुँदा सेवा प्रवाहमा पालिकालाई कठिनाइ भएको थियो । स्थानीय म्यालपोखरी माध्यमिक विद्यालयसँग समन्वय गरी पालिकाको नाममा जग्गा व्यवस्थापन भएपछि भवन निर्माण थालिएको हो ।
ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत चयन
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गते काठमाडौंमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । निर्वाचन अधिकृत राजकुमार चुडालका अनुसार खुलातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलाश राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत चयन भएका छन् । महिलातर्फ रनमाया गुरुङ, मीना केदेम, प्रमिला खनाल र टीका सुवेदी चयन भएका छन् । युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन भएको छ ।
नेपाल उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रुपमा भारतमा सम्मानित
काठमाडौं । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम) मा नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यका रूपमा सम्मान गरिएको छ । यही नोभेम्बर २७ देखि २९ सम्म आयोजित आईआईटीएममा अवार्डस् नाइट, ०२५ मा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको जनाइएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नारायण बस्यालले ग्रहण गरेका थिए । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रिजेन्टेशन’ सत्रमा बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको श्रव्यदृश्य प्रस्तुति गरेका थिए । जसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय पदयात्रा तथा हिमाल आरोहण अवसरहरू र रोमाञ्चक साहसिक खेलहरू प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको हो । आइआइटीएम पुणे, २०२५ मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवर्द्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताए । आइआइटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल व्यापार कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए । तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका विभिन्न ट्राभल व्यापार प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता छ । बोर्डले आइआइटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य, र अतिथिसत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । यस किसिमका अन्तरराष्ट्रिय मञ्चहरुमा भएको बोर्डको सक्रिय सहभागिताले नेपाललाई भारतीय पर्यटकहरूको प्राथमिक गन्तव्यका रूपमा थप सशक्त बनाउने सीईओ जोशीको विश्वास छ ।
सफ्टवेयर अपडेट समस्याका कारण एयर न्यूजील्यान्डका १२ उडान प्रभावित
काठमाडौं । एयर न्यूजील्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागू गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ । एयर न्यूजील्यान्डका प्रमुख सुरक्षा अधिकारी नेथन म्याकग्रोका अनुसार, यो सफ्टवेयर अपडेट समस्या देशभित्र र अन्तर्राष्ट्रिय उडानमा सञ्चालन हुने ३७ वटा एयरबस विमानलाई प्रभावित गरिरहेको छ । उनले यो अपडेट पूरा गर्न करिब दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको बताएका छन् । न्यूजील्यान्ड नागरिक उड्डयन प्राधिकरणका अनुसार उनीहरू एयरबस ए–३२० विमानको अवस्थाबारे पूर्ण रूपमा अवगत छन् र यूरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सीले जारी गरेको आपत्कालीन सुरक्षा निर्देशन कार्यान्वयन गर्न एयर न्यूजील्यान्ड र अन्य सम्बन्धित निकायहरूसँग मिलेर काम गरिरहेका छन् । यस निर्देशनअनुसार सबै ए–३२० विमानमा आवश्यक सफ्टवेयर अपडेट गर्नु अनिवार्य गरिएको छ । रासस
रोसिङटन र निशमको अर्धशतकमा पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लि (एनपिएल)अन्तर्गत शनिबारको पहिलो खेलमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई जीतका लागि १५१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनायो । पोखराले पारीको सुरुआत राम्रो गरेन । पोखराले १५ रनमा दिनेश खरेललाई पहिलो विकेटका रुपमा र दोस्रो विकेटका रुपमा कप्तान कुशल भुर्तेललाई गुमायो । त्यसपछि आएका सुमित बर्मा खाता खोल्न सकेनन् भने तिर्तराज दासले पनि जम्मा एक रन बनाए । सातौ ब्याटरका रुपमा आएका जिमी निशम र ओपनर एडम रोसिङटनको जोडीले पाँचौ विकेटका लागि ९२ रनको महत्वपूर्ण साझेदारी गर्यो । रोसिङटनले ६३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ८१ रन बनाए भने निशमले ५१ रन बनाए । अर्धशतक बनाउने क्रममा निशमले तीन छक्का र तीन चौका प्रहार गरे । लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई/दुई विकेट लिए भने गुलबदिन नाइबले एक विकेट हात पारे ।
पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण
तनहुँ । पोखरा–मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् । सडक आयोजना कार्यालयका अनुसारम्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण भएका हुन् । उक्त खण्डमा १०५ वटा कल्भर्ट पनि निर्माण भएका छन् । हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ र वित्तीय प्रगति ४७.८० प्रतिशत भएको छ । करिब ३० किलोमिटर दुईतर्फी (चार लेन) र आठ किलोमिटर एकतर्फी (दुई लेन) कालोपत्र भएको छ । पूर्वी खण्ड (जामुने–मुग्लिन) को ४३ किलोमिटर सडक निर्माण भने अन्तिम चरणमा पुगेको छ ।
चार महिनामा १६ हजार पर्यटक मनाङमा
मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् ।
एनपिएल : लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनीले टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भूर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलमध्ये एक खेल मात्र जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । आज अपराह्न ४ः०० बजे हुने अर्को खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।