विकासन्युज

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध, ९ बजे पछि मात्रै सञ्चालन गर्ने

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान २:२० बजे पहिरो गएसँग सवारी आवागमन ठप्प भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ९ बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।  अत्यधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालन हुनेछ  ।       स्थानीय प्रशासनले पहिरोको जोखिम हुनसक्ने भन्दै आइतबार राति १० बजेदेखि सवारीसाधन आवागमनमा रोक लगाएको थियो । नारायणगढ मुग्लिन सडक हुँदै पोखरातर्फ जाने गाडी भने सञ्चालनमा आएका छन् ।

आज देशका धेरै क्षेत्रमा मेघगर्जनसहित भारी वर्षाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरुमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वकप विजेता

काठमाडौं । स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्युयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेनन् । खेल अतिरिक्त समयमा पुगेपछि फेरान टोरेसले १०६औं मिनेटमा गरेको निर्णायक गोलले स्पेनलाई दोस्रो पटक विश्वकप च्याम्पियन बनायो । यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो । अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए । त्यसपछि अर्जेन्टिनाले बाँकी खेल १० खेलाडीमा सीमित हुँदै खेल्नुपरेको थियो । स्पेनले खेलभर बलमाथि नियन्त्रण कायम राख्दै निरन्तर दबाब सिर्जना गरे पनि अर्जेन्टिनाको रक्षापंक्तिले लामो समयसम्म गोल हुन दिएको थिएन । अतिरिक्त समयमा टोरेसले अवसरको सदुपयोग गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाएका हुन् । यससँगै स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि जित्दै विश्व फुटबलमा पुनः आफ्नो प्रभुत्व स्थापित गरेको छ । अर्कोतर्फ कतार २०२२ को विजेता अर्जेन्टिना लगातार दोस्रो विश्वकप जित्ने लक्ष्यमा असफल भयो । संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप २०२६ इतिहासकै सबैभन्दा ठूलो संस्करण हो । यस प्रतियोगितामा पहिलो पटक ४८ टोली सहभागी भएका थिए भने कुल १०४ खेल खेलाइएका थिए । स्पेन प्रतियोगिताभर नै उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखाउन सफल भएको हो ।

साउने सोमबार पशुपति दर्शनको रूट तय, कुन ढोकाबाट कसरी छिर्ने ?

काठमाडौं । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विषेश पूजा व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी र विभिन्न धार्मिक तथा  सामाजिक सङ्घ-संस्थाको विशेष सेवा एवं सहभागिता रहने छ ।  साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए ।  दर्शनार्थीका लागि तयारी भइरहेको र आज रातिसम्ममा सबै तयारी पूरा हुने उनले बताए । पशुपतिनाथ मन्दिरको चारै ढोका सोमबार बिहान तीन बजेदेखि भक्तजनका लागि खुला गरिने छन् । बेलुका आरतीपछि राति आठ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी छ ।  “विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने छ”,  सदस्य सचिव श्रेष्ठले भने । आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि चारै ढोकामा चारतिर बाट चार लाइन रहने छन् । पहिलो मार्ग गुह्येश्वरी, गौरीघाट, उमाकुण्ड, दक्षिणामुर्ति कैलाश हुँदै एक नं ढोकाबाट प्रवेश गरेर त्यहाँ रहेको जुत्ता चपल कक्षमा जुत्ता राखेर रुद्रगारेश्वर माथिको बाटो भएर बासुकी मन्दिर हुँदै भगवान्को उत्तर ढोकाबाट दर्शन र पूजा गरेर पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको सदस्य सचिव श्रेष्ठले बताए । मार्ग नं १ बाट नै अर्को दोस्रो लाइन मात्र बोलबमहरुको लागि रहने छ । उक्त लाइन गुह्येश्वरी तिरबाट र जयबागेश्वरी हुँदै दथुटोल, पाचाटोल, बजार मूलढोका भएर कैलाशको सोही ढोकाबाट प्रवेश गरेर रुद्रगारेश्वर भएर उतर ढोकामा जल चढाउने व्यवस्था मिलाइएको छ । सदस्य सचिव श्रेष्ठका अनुसार मार्ग नं २ जयवागेश्वरी, बालकुमारी, भुवनेश्वरी भएर नासल चोकको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर झम्केश्वरी मन्दिरको बायाँको सानो ढोकाबाट प्रवेश गरेर मूल ढोका (पश्चिम) बाट दर्शन पूजा गरेर नन्दीलाई दायाँ पारेर मूलढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मार्ग नं ३ विशेष पूजा र विशेष सुलभ दर्शनका लागि मात्र कोष कार्यालय तथा गौशाला तिरबाट आएर भुवनेश्वरी चोकको भकुन्डोलको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर पूर्वतिर गई दक्षिणको बज्रघरको सानो ढोकाबाट प्रवेश गरेर बज्रघर चोकमा जम्मा हुने र त्यहाँ पास लिएर बज्रघर उत्तरतिरको भर्याङ्गबाट चौसठ्ठी बाहिरबाट दक्षिण ढोका भैरव हुँदै पूर्व ढोकाबाट विशेष पूजा गर्न जाने तथा पूजा सकेर सोही बाटो फर्कने व्यवस्था मिलाइएको छ । विशेष पुजा बिहान ८ः३० बजे देखि मध्याह्न १२ बजेसम्म हुने सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।   मार्ग नं ४ पिङ्गलास्थान, सुमार्गी भवन, राजराजेश्वरी, पञ्चदेवल पूर्वी बाटो हुँदै बज्रघरमा रहेको जुत्ता चप्पल कक्षमा जुत्ता राखेर दक्षिणको सानो ढोकाबाट प्रवेश गरेर चौंसट्ठी घुमेर दक्षिण ढोकाबाट प्रवेश गरेर दक्षिणबाट दर्शन गरेर दक्षिणको अर्को बाटोबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।  मार्ग नं ५ विशेष सुलभ दर्शनका लागि मात्र तिलगङ्गा पर्यटक ढोकाबाट विशेष सुलभ दर्शनको टिकेट लिएर राम मन्दिर मुनिबाट वत्सलेश्वरी माताको मन्दिर हुँदै त्यहाँ रहेको लामपाटीमा जुत्ता चप्पल राखेर बागमती हुँदै आर्यघाटको भर्याङ्गबाट उक्लिएर पूर्व ढोकाबाट विशेष सुलभ दर्शन गरेर प्रसादि लिएर सोही बाटो फर्कने व्यबस्था गरिएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । विशेष सहुलियत दर्शन बिहान ३ बजे मन्दिर खोलेदेखि नै सुरु हुनेछ । यो सेवा दिनभर र बेलुका आरतीसम्म नै हुने छ । मार्ग न. ६ भुवनेश्वरी चोकको नासल चोक छिर्ने सानो ढोकाबाट प्रवेश गराएर मूल ढोका लगेर भट्ट र भण्डारी मन्दिर प्रवेश गर्ने सानो बाटोबाट वृद्ध, असक्त, अपाङ्ग र बच्चाबच्चीलाई विशेष दर्शनको व्यवस्था मिलाइएको छ । प्रवेश बज्रघरको सानो ढोकाबाट र तिलगङ्गा हुँदै पूर्वी बागमतीबाट प्रवेश गर्ने व्यवस्था रहेको छ । पञ्चामृत पूजा तीन हजार १०० तिरेर बिहान ८ः३० बजेदेखि १२ बजेसम्म गर्न सकिने कोष सञ्चालक परिषद् सदस्य भण्डारीले बताए । फलफूल मिठाइसहितको पञ्चामृत पूजा रु सात हजार ५०० तिरेर बिहान ८ः३० देखि १२ः०० बजेसम्म मात्र गर्न पाइने व्यवस्था मिलाइएको छ । विशेष सुलभ दर्शन पुजा प्रसादिको शुल्क रु एक हजार तोकिएको छ । यसका लागि बिहान ३ः०० बजे मन्दिर खोलेदेखि बेलुका आरतीसम्म नै हुनेछ ।  विशेष पूजाको रसिद मूल ढोका अगाडिको एसबिआइ बैंकबाट लिन सकिने व्यवस्था गरिएको छ । विशेष सुलभ दर्शन पूजा प्रसादि रसिद प्राप्त गर्ने स्थान  भुवनेश्वरी चोकस्थित लकर सेबा माछापुच्छ्रेबैंक एटिएम रहेको काउन्टरबाट र तिलगङ्गा पर्यटक काउन्टरबाट प्राप्त गर्न सकिने छ । हंशमण्डपमा सबै स्वयमं्सेवक, कर्मचारी, सुरक्षागार्ड र प्रहरीको लागि नास्ता, खाजा, चिया र खानाको प्रबन्ध गरिएको कोषले जनाएको छ । पार्किङ व्यवस्था रहने स्थानका लागि तिलगङ्गा आँखा अस्पताल अगाडि, पिङ्गलास्थान ठूलो पार्किङ,  भण्डारखाल अगाडि तथा कोष परिषद्, सिफल चौंर, उमाकुण्ड पार्किङ, गुह्येश्वरी पार्किङ÷ दिव्य पार्टी पालेस अगाडि, स्वास्थ्य सेवा रहने स्थान, पञ्चदेवल  पूर्व सत्तल, भुवनेश्वर चोक, उमाकुन्ड, जयवागेश्वरीमा व्यवस्था मिलाइएको छ ।  चन्दन प्रसादि वितरण स्थानका लागि पशुपति मूल ढोका अगाडि, भकुन्डोल दक्षिणढोका पाटी र दक्षिणामूर्तिमा व्यवस्था मिलाइएको छ । पशुपतिनाथमा मोबाइल शौचालय, एम्बुलेन्स र प्राथमिक उपचारका लागि  व्यवस्था मिलाइएको कोषका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।

बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो, ऋणको अवधि ५ वर्ष पुग्यो

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूका लागि मोटरसाइकल खरिद प्रक्रियालाई थप सहज र किफायती बनाउन नयाँ फाइनान्सिङ योजना सार्वजनिक गरेको छ ।  हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत अब ग्राहकले बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा पाउनेछन् ।  ऋणको अवधि बढाउनुका साथै कम्पनीले ब्याजदरलाई पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरेको छ । यो व्यवस्थाले मासिक किस्ता (इएमआई) उल्लेख्य रूपमा घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने युवा, जागिरे र सीमित मासिक बजेट भएका परिवारलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ । यो नयाँ फाइनान्सिङ सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलहरूमा लागू हुनेछ ।  कम्पनीका अनुसार यो कुनै सीमित अवधिको छुट योजना नभएर ग्राहकको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको दीर्घकालीन व्यवस्था हो ।  मोटरसाइकल खरिद गर्दा कुल मूल्यभन्दा पनि मासिक किस्ता धेरैका लागि चुनौती बन्ने गरेको यथार्थलाई स्वीकार गर्दै बजाजले ऋणको अवधि विस्तार र ब्याजदर कटौती गर्ने निर्णय गरेको बताएको छ ।  नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भमार्फत उपलब्ध हुने यो सहज किस्ता सुविधा देशभर रहेका एचएच बजाजका आधिकारिक शोरुमहरूबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ । नयाँ व्यवस्थाअनुसार प्लाटिना १००इएसको मासिक किस्ता ३ हजार २५५ बाट घटेर २ हजार १२४ मा झरेको छ । जसबाट ग्राहकले प्रतिमहिना करिब १ हजार १३१ बचत गर्न सक्नेछन् ।  त्यसैगरी, डोमिनार ४०० को मासिक किस्ता पनि ८ हजार २२७ बाट घटेर ५ हजार ३७० पुगेको छ । जसले मासिक करिब २ हजार ८५७ सम्मको बचत दिलाउनेछ ।  यसका साथै बजाजका चर्चित मोडेलहरू पल्सर १२५, एन१२५, १५०, एन१५०, एन१६०, २२०एफ, २००एनएस, एन२५० र एनएस४००जेड लगायतका सम्पूर्ण मोटरसाइकलमा पनि मासिक किस्ता घटाइएको छ, जसले ग्राहकलाई आफ्नो बजेटअनुसार बाइक रोज्न सजिलो बनाउनेछ ।  

अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिका नगरपालिका-४ का ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठको खातामा अमेरिकन डलर ३३ हजार १५० दशमलव ३३ अर्थात् नेपाली ५० लाख ९८ हजार १८९ दशमलव २५ रहेको भेटिएको छ ।  उनको साथबाट एक थान मोबाइलसमेत बरामत गरिएको छ । बरामत गरिएको मोबाइल एपमा रहेको दुई लाख ९७ हजार ६२९ रुपैयाँ र उक्त खातामा रहेका रु १३ लाख ८२ हजार २० समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका श्रेष्ठलाई अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।  

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं । अहिले काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आइतबार (आज) अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ ।  विभागका अनुसार आज अपराह्न गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको थियो । जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो ।  विभागको बाढीविद् सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता दिन नपर्ने बताए ।  ‘अहिले उक्त नदीको जलसतह सतर्कता तह कम छ, जलसतह घटेर २ दशमलव २ मिटर नदीमा जल सतह पुगिसक्यो,’ उनले भने ।  विभागका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गर्नेछ ।  विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।  

सोमबार नेपाल भित्रिँदै १ हजार मेट्रिक टन डिएपि मल

काठमाडौं । नेपालमा सोमबार (भोलि) १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने भएको छ ।  ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि. मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ ।   बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ ।  प्याकेजिङ सम्पन्न भएसँगै आइतबार (आज) अर्को एक रेक वीरगञ्ज चलान भएको छ । बाँकी क्रमशः नेपाल भित्रिने छ ।  त्यस्तै, ३० हजार मेट्रिक टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भइरहेको हुँदा भोलि एक रेक वीरगञ्जका लागि लोडिङ गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ ।