दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफको सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै सहयोग गरेको हो । नवनिर्मित आवासीय भवनले ६० जना सम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र स्नेहपूर्ण बसोबासको वातावरण प्रदान गर्नेछ । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएका छन् । यसअघि फाउन्डेसनले सानो भाडाको घरबाट सीमित स्रोत–साधनका बीच सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले भने, ‘ त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ अग्रसर हुने अभियानमा सहकार्य गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौँ ।’ नेपाल लाइफ नेपालको अग्रणी जीवन बीमा कम्पनी हो । जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत कम्पनीले जीवन सुरक्षासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।
देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह
काठमाडौ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आज झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व र पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाभएर साना नदीले बाढीको जोखिम बढाउने बताएको हो । विभागका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको जलस्तर जोखिमरेखाभन्दा तल छ ।
‘प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक मूल्य र जनताको अपमान’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् । आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औं वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताएका हुन् । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे । तीन दलीय सरकार बनाउनु जनताले दिएको म्याण्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे । उनले नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै अब सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे । सत्तालाई नै सबैथोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ । राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताए । सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको पनि उनले बताए । सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको बताए । उनले कांग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमान्दार रहनुपर्नेमा जोड दिए । कांग्रेस सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्छ सभापति थापाले नेपाली कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताए । उनले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका हुन् । पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको उल्लेख गर्दै थापाले नेपाली कांग्रेसले विगतमा सबै जातजाति र भाषाभाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैं अब सबै पुस्तालाई जोड्ने सामथ्र्य पनि राख्नुपर्ने बताए । सका लागि नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता पनि बुझ्नुपर्ने उनको भनाइ छ । नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सिमित राख्न नहुने उनको तर्क छ । पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउँदै थापाले ६०–६५ वर्ष नाघेका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच गलत भएको बताए । यस्ता नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको उनको भनाइ छ । विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै सभापति थापाले कांग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दाबीसमेत गरे ।
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौ । देशभर मनसुनको प्रभाव बढेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास छ । हाल देशभर बदली भएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली हुनेछ । हिमाली,पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति पनि देशभर अधिकांश बदली हुनेछ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति नै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र कटानको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।
एम्बाप्पे बने विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी
काठमाडौं । फ्रान्सका स्ट्राइकर किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । आइतबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग ६-४ ले पराजित हुने क्रममा उनले दुई गोल गर्दै उनी सर्वाधिक गोलकर्ता बनेका हुन् । २७ वर्षीय एम्बाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पुर्याउँँदै अर्जेन्टिनाका लियोनेल मेसी (२१ गोल) लाई पछि पारे । मेसीले आइतबार राति स्पेनविरुद्ध फाइनल खेल खेल्दैछन्, जुन सम्भवतः उनको अन्तिम विश्वकप खेल हुनेछ । त्यसको विपरीत एम्बाप्पेले भने कम्तीमा अर्को एक विश्वकप खेल्ने सम्भावना छ । तेस्रो विश्वकप यात्रा सकिँदा एम्बाप्पेले प्रतियोगितामा १० गोल गर्दै गोल्डेन बुटको दौडमा शीर्ष स्थान कायम राखेका छन् । उनी मेसीभन्दा दुई गोलले अघि छन् । यदि मेसीले फाइनलमा दुई वा त्यसभन्दा बढी गोल गरे भने उनले फेरि विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको स्थान पुनः कब्जा गर्नेछन् । रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले २२ खेलमा २२ गोल गर्ने उपलब्धि हासिल गरेका हुन् । उनले २०१८ विश्वकपमा ४ गोल र २०२२ विश्वकपमा ८ गोल गरेका थिए । ती दुवै संस्करणमा फ्रान्स फाइनल पुगेको थियो, जसमा २०१८ मा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो भने चार वर्षपछि अर्जेन्टिनासँग फाइनलमा पराजित भएको थियो । यति कम समयमा विश्वकपको सर्वाधिक गोलकर्ता बन्नु आफैमा असाधारण उपलब्धि मानिन्छ । अर्कोतर्फ फ्रान्सका महान् स्ट्राइकर जस्ट फन्टेनको नाममा रहेको अर्को ऐतिहासिक कीर्तिमान भने अझै अटुट छ । उनले १९५८ को विश्वकपको एउटै संस्करणमा १३ गोल गरेका थिए, जुन आजसम्म पनि कुनै पनि खेलाडीले एकै विश्वकप संस्करणमा गरेको सर्वाधिक गोलको कीर्तिमान हो । एम्बाप्पेले भने, ‘मेस्सीले आइतबार गोल गर्नेछन्, त्यसमा मलाई कुनै शंका छैन । म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको छु । विश्वकपमा धेरै गोल गर्नु भनेको तपाईंलाई एउटा विशेष स्तरमा पुर्याउँछ ।’ उनले थपे, ‘म विश्वकपको सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि भोलिको खेल खेलिरहेको भए राम्रो हुन्थ्यो । इतिहासका हिसाबले यो ठूलो उपलब्धि हो, तर अहिले मेरो दिमागमा सबैभन्दा पहिले यही कुरा छैन ।’
तेस्रो स्थानको खेलमा इंग्ल्यान्डको ऐतिहासिक प्रदर्शन, फ्रान्समाथि ६–४ को सनसनीपूर्ण जित
काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै कांस्य पदक जितेको छ । मियामी स्टेडियममा भएको खेल विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बनेको थियो । इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो । त्यसपछि १८औं मिनेटमा एज्री कोन्साले अर्को गोल थप्दै टोलीलाई २–० को बलियो अवस्थामा पु‍र्याए । पहिलो हाफको ३७औं मिनेट र इन्जुरी समयमा बुकायो साकाले लगातार दुई गोल गर्दै इंग्ल्यान्डको अग्रता अझ फराकिलो बनाए । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास ग‍र्यो । किलियन एमबाप्पेले ४८औं र ६६औं मिनेटमा दुई गोल गरे भने ब्राड्ली बार्कोलाले ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने प्रयास गरे । तर, साकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरे । फ्रान्सका लागि उस्मान डेम्बेलेले इन्जुरी समयमा एक गोल फर्काए । त्यसलगत्तै जुड बेलिङ्घमले एक गोल गर्दै इंग्ल्यान्डको जित पक्का गरे । दुवै टोलीले फाइनल पुग्ने अवसर गुमाएपछि तेस्रो स्थानका लागि भएको खेलमा खुला आक्रमणात्मक शैली अपनाएका थिए । खेलमा कुल १० गोल भएको यो भेट विश्वकप २०२६ कै सबैभन्दा रोमाञ्चक तथा धेरै गोल भएको खेलमध्ये एक बनेको छ । यस जितसँगै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्यो भने फ्रान्स चौथो स्थानमा सीमित भयो ।
शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई-टिकेटिङ सेवाको सफल परीक्षण सुरु
काठमाडौं । सेवाहरु डिजिटल मैत्री बनाउन सरकारको लक्ष्य अनुसार कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा ई-टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई-टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो । परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ । यस कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार, जस्तै कम्प्युटर, थर्मल प्रिन्टर, स्क्यानर लगायतका उपकरण उपलब्ध गराइनेछ । विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोष्टहरूमा समेत ई-टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ । मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई-टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यस प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने मन्त्री चौधरीले बताइन् ।
एलपी ग्यास विस्थापन र ईभी प्रवर्द्धन गर्ने लक्ष्य
काठमाडौं । सरकारले विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । त्यसको खास उद्देश्य नै विद्युत् खपत वृद्धिका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु हो । खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारीसाधनको प्रयोगलाई वृद्धि गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई जोड दिइएको छ । विद्युतीय पूर्वाधार निर्माणका लागि ८० अर्ब रुपैयाँ लगानी गरिँदैछ । भरपर्दो प्रसारण, वितरण, आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको मन्त्री श्रेष्ठले बताए । ‘नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ । उद्योग व्यवसायको विस्तार भएको छ । देशभर नै विद्युतीय उपकरणको प्रयोगमा बढोत्तरी भएको छ । विद्युतको माग तीव्र गतिमा बढिरहेको छ । जीर्ण तथा न्यून क्षमताका प्रसारण र वितरण पूर्वाधारलाई अत्याधुनिक बनाउने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने, प्रसारण प्रणालीमा पछिल्ला प्रविधिको उपयोग गर्ने नीतिअनुसार नै मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ’, उनले भने । यसैबीच, प्राधिकरणले आफ्नै स्रोतबाट प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नतिमा लगानी गर्दै आएको जनाएको छ । चालु आर्थिक वर्षभित्रै विशेष प्राथमिकताका १२ वटा प्रसारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ काम थालिएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी वा सोभन्दा माथिका प्रसारण लाइनको कूल लम्बाइ सात हजार ८४८ सर्किट किलोमिटर पुग्ने छ । हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत करिब ४६० किलोवाट घण्टा रहेको छ । आगामी १० वर्षभित्र यसलाई एक हजार ५०० किलोवाट घण्टा पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । प्राधिकरणका अनुसार हाल राष्ट्रिय माग दुई हजार ३१९ मेगावाट बराबर छ । प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी र निजी क्षेत्रका आयोजना यतिबेला पूर्ण क्षमताका सञ्चालन भइरहेका छन् ।